अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३८ | Colorodo: 23:53

एमसीसी पारित गराउन साथ नदिने भए सरकार छोड्न प्रचण्डलाई बाबुरामकाे आग्रह

बिआरटीनेपाल २०७८ फागुन १४ गते ६:४५ मा प्रकाशित

सत्तासाझेदार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नु भएको छ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष भट्टराईले संसदबाट एमसीसी पास गर्ने बेला आफूहरु बाहिरिने भनेर लटरपटर कुरा नगर्न पनि दाहाललाई चेतावनी दिनुभयो । उहाँले एमसीसी सम्झौंता संसदमा रहेको कूल सदस्य संख्याको स्पष्ट बहुमतबाट पारित गर्न साथ नदिए माओवादी केन्द्र सरकारबाट बाहिरिनु पर्ने र त्यसको ठाउँमा अर्को पार्टी आउने दाबी समेत गर्नु भयो । शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले सरकारमा बसेर तर मार्ने अनि बाहिरबाहिर राष्ट्रवादी भनेर भित्रभित्र राष्ट्रघात गर्न माओवादी केन्द्रले नपाउने बताउनु भयो ।

उहाँले आफूहरु संसदबाट स्पष्ट बहुमत पुर्‍याएर सो सम्झौता पारित गराउन लागि परेको बताउनु भयो । एमसीसी मुलुकको समृद्धि र विकासका लागि पनि नेपालले पारित गरेर जानुपर्ने भट्टराईको तर्क थियो ।  उहाँले एमसीसी पारित नभए नेपाल चीन, भारत र अमेरिकाको भूराजनीतिक चपेटामा पर्ने खतरासमेत औंल्याउनु भयो ।

भट्टराईले नेपालले चीन, भारत र अमेरिकालगायतका सबै देशको सहयोग लिएर मुलुकको विकास, समृद्धि र दीगो शान्तिका लागि काम गर्नुपर्ने दोहोर्‍याउनु भयो । उहाँले एमसीसी सम्झौता आफ्ना लागि नभइ राष्ट्रको हितमा भएकाले यसलाई पारित गर्न आफू लागि परेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू