अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१४ | Colorodo: 03:29

‘देशहित विपरीत एमसीसी पारित गर्ने नै हो भने एमालेसँग गठबन्धन गर्न कांग्रेस स्वतन्त्र छ’– झलनाथ खनाल

बिआरटीनेपाल २०७८ फागुन ११ गते ७:०० मा प्रकाशित

पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको दवावलाई झेल्न नसकेर एमसीसी संसदमा पेश गरेको बताउनुभएको छ । बुधबार सञ्चारकर्मीसँगको कुराकानी पूर्वप्रधानमन्त्री खनालले प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धनको बैठकमा एमसीसीको कुरा बारम्बार गरिरहेको र दवावका कारण चाँडो भन्दा चाँडो टुंग्याउने र एमसीसी नेपालको हितमा रहेको कुरा बताएको पनि उल्लेख गर्नुभयो ।

उहाँले एमसीसीमा रहेका केही शर्तहरू अनावश्यक र आपत्तिजनक रहेको र कार्यदलले अध्ययनका क्रममा एमसीसीका २०१७ को दस्ताबेज र २०१९ को कार्यान्वयन सम्झौता भन्दा अन्य नयाँ ९ वटा सम्झौता फेला पारेको पनि बताउनुभयो ।

संवादको क्रममा पूर्व प्रधानमन्त्री खनालले प्रधानमन्त्री देउवा अमेरिकाको पासोमा पर्नुभएको बताउनुभयो । सत्ता गठबन्धनले चुनावपछि गहन छलफल गरेर निचोडमा पुग्ने प्रस्ताव राख्दासमेत प्रधानमन्त्री देउवाले अस्वीकार गर्नुभएको बताउँदै उहाँले एमसीसी पास गराउन प्रधानमन्त्रीले एमालेसँग साँठगाँठ गर्नुको विकल्प नरहेको बताउनुभयो । पूर्व प्रधानमन्त्री खनालले नेकपा (एकीकृत समाजवादी)ले एमसीसीको विपक्षमा भोट हाल्ने र सत्ता गठबन्धनबाट एमसीसी पास नहुने बताउनुभयो । आँट, बुद्धि र दृष्टिकोण भए देश, जनता, संसद र गठबन्धनको आड लिएर एमसीसीमाथि बार्गेनिङ गरेर संशोधन गर्न प्रधानमन्त्री देउवालाई चुनौति दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू