अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२४ | Colorodo: 03:39

पोखरामा बाक्लो असिना पानी,अन्न तथा तरकारी बालीका क्षती, सवारी साधन संचालनमा अबरोध

बिआरटीनेपाल २०७८ फागुन ८ गते ७:०६ मा प्रकाशित

आइतवार पोखरामा बाक्लो असिना पानी परेको छ । असिना पानीले पोखराको सडकमा केहीबेर गाडी सञ्चालनमा अवरोध पुगको थियो । पोखराको न्युरोड, चिप्लेढुङ्गा, बगर, अमरसिंह चेकको भागमा असिनाले ढपक्कै छोपेको थियो । असिना पानीका कारण गुडिरहेका बसहरू रोकिएका थिए, बाटो हिँडिरहेका मान्छेहरू ओत लागेका थिए । असिना पानीले जनजीवनका साथै व्यापाररव्यवसाय पनि प्रभावित भएको छ ।

सडकमा चार इन्चदेखि एक फुटसम्म असिना थुप्रिएको थियो । यसरी असिना परेको पहिलो पटक थाहा पाएको स्थानीयवासीले बताएका छन् । असिना पानीले पोखरा क्षेत्रका तरकारी, आलु, फलफूल, तोरी, गहुँ लगायतका बालीमा क्षति पुगेको छ ।

पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले पोखरा महानगरका विभिन्न क्षेत्रमा व्यापक असिना परेको जानकारी आएको बताउनुभयो । ‘पोखराको हेम्जा र मालेपाटन लगायतका तरकारी खेती हुने क्षेत्रमा असिनाले व्यापक क्षति पुर्‍याएको छ । यसको यकिन भने फिल्डमा पुगेर नहेरि र किसानसँग जानकारी नदिइ यति नै क्षति भयो भन्न सकिन्नँ’, उहाँले भन्नुभयो ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पोखरा लगायत देशका विभिन्न भू–भागमा पानीसहित असिना परिरहेको मौसमविद्हरूले बताएका छन् । अबका एक–दुई दिन देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही ठाउँमा मेघगर्जन, चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू