अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२९ | Colorodo: 02:44

एमसीसीले विभाजन सिर्जना गर्‍यो, फिर्ता लैजानू- वामदेव गौतम

बिआरटीनेपाल २०७८ माघ २५ गते ७:१७ मा प्रकाशित

पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले एमसीसीका कारण नेपालमा जनमतको विभाजन हुने र यसले अहित गर्ने भन्दै आपत्ति जनाउनुभएको छ । एमसीसी सम्झौतापछि नेपाली जनताले अमेरिकाप्रति गम्भीर आशंका व्यक्त गरेको उहाँको भनाइ छ । जसले गर्दा नेपालको छिमेकी मुलुकहरूसँग सम्बन्ध बिग्रने आशंका उत्पन्न भएको नेता गौतमले बताउनुभएको छ । एमसीसी अनुमोदनलाई लिएर राजनीतिक दलहरूबीच संवाद भइरहँदा गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै एमसीसीबारे टिप्पणी गर्नुभएको हो । नेकपा एमालेका पूर्वउपाध्यक्ष समेत रहेका गौतमले नेकपा एकता राष्ट्रिय अभियानको संयोजकको हैसियतमा उक्त विज्ञप्ति जारी गर्नुभएको हो ।

तत्कालीन नेकपा विघटनपछि गौतमले आफैं संयोजक रहेर नेकता एकता राष्ट्रिय अभियान गठन गर्नुभएको थियो । गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ुसम्झौताले गर्दा अमेरिकाप्रति नेपाली जनताले गम्भीर आशंका व्यक्त गरेका छन् । यसको कार्यान्वयनबाट नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आंच पुग्ने शंका गर्न थालिएको छ । उपरोक्त अवस्थालाई मध्यनजर गर्दै अहिले आएको एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएको छ ।

यस्तै गौतमले अमेरिकालाई एमसीसी परियोजना फिर्ता लैजान पनि आग्रह गर्नुभएको छ । यस्तो अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिक सरकार समक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु । यो अवस्थालाई मध्यनजर गर्दै एक पक्षीय रूपमा भए पनि मित्र राष्ट्र संयुक्त राज्य अमेरिकी सरकारलाई एमसीसी परियोजना फिर्ता लगेर नेपालको हित प्रवर्द्धन गर्न विनम्र अनुरोध गर्दछु, विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू