अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३७ | Colorodo: 00:52

एकीकृत समाजवादीको निष्कर्ष – पार्टी एक ढिक्का छ

बिआरटीनेपाल २०८१ वैशाख २४ गते ७:०९ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)ले आफ्नो पार्टी एकतावद्ध रहेको बताएको छ । सोमबार बसेको संसदीय दलको बैठकले पार्टीको सम्बन्धमा विभिन्न अफवाहहरु फैलाइएको भन्दै पार्टी एकढिक्का रहेको निष्कर्ष निकालेको हो ।आइतबार उपेन्द्र यादव नेतृत्वको सत्तारुढ जनता समाजवादी पार्टी, नेपाल विभाजन भएसँगै एकीकृत समाजवादी पनि विभाजन हुनसक्ने भनेर टिकाटिप्पणी शुरु हुन थालेको थियो । सोही विषयलाई प्रष्ट्याउँदै एकीकृत समाजवादीले पार्टीलाई अझ बलियो र सशक्त बनाउने दृढता पनि व्यक्त गरेको छ ।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद शेरबहादुर कुँवरले बजेट अधिवेशनमा सशक्त ढंगले भुमिका खेल्ने र संसदीय दललाई प्रभावकारी बनाउने निर्णय गरिएको बताउनुभयो । उहाँले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे दलको तर्फबाट सरकारलाई रचनात्मक सुझाव दिने निर्णय भएको पनि जानकारी दिनुभयो । त्यस्तै, उहाँले पार्टीका बारेमा हल्ला चलाइएको भन्दै आफूहरुको पार्टी एकढिक्का भएको बताउनुभयो ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा(एकीकृत समाजवादी)का उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य डा. वेदुराम भुसालले अनावश्यक रुपमा बाहिर हल्ला चलाइएको बताउनुभयो । उहाँले आफूहरुको पार्टीभित्र कुनै समस्या नभएको बताउनुभयो । उहाँले एकीकृत समाजवादीसहितका दलहरुले अर्को समिकरण बनाउँदैछन् भनेर गलत हल्ला चलाइएको पनि बताउनुभयो ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक मेटमणि चौधरीले एकीकृत समाजवादीका कार्यकर्ता र समर्थकलाई हतोत्साहि गराउनका लागि बालकोटमा बसेर एकीकृत समाजवादी फुटको हल्ला चलाइएको बताउनुभयो । उहाँले योजनावद्ध रुपमा हल्ला चलाइएको भन्दै त्यसले आफूहरुलाई कुनै असर नपर्ने बताउनुभयो । उहाँले राजनीतिक दल विभाजनले लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर बनाउने बताउनुभयो । उहाँले ठूला दलहरुले नै जसपा विभाजनका लागि भुमिका खेलेका बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू