अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४३ | Colorodo: 03:58

विवेक

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा २०७८ माघ ११ गते १४:५१ मा प्रकाशित

मान्छे उर्वर शक्ति हो हृदय हो विश्वास हो त्याग हो
मान्छे कर्म विवेक हो उदय हो सत्धर्म हो ज्ञान हो
धर्ती आदिम यो अपूर्व रचना नानाथरी कल्पना
तारा-चन्द्र र सूर्य हो झिलिमिली ब्रम्हाण्ड यै चेतना ।१।

छाती निर्मल आँकुरा छुनमुने नौलो नयाँ रोशनी
आफैँ टल्टल टल्कने सदयता निर्माण हो जीवनी
पर्दा तन्मय फाँटमा तिमिरको भासिन्छ त्यो भासमा
गल्दै झर्छ कला गला सरसता अज्ञानको रातमा ।२।

माटो बुद्धि विवेकमा दिनदिनै दाना बनी झुल्दछ
बाटो बुद्ध प्रबुद्धको प्रतिपला नौलो नयाँ खुल्दछ
मोती मिल्छ अरे अजस्र जलको त्यो सिन्धुको पीँधमा
स्वप्ना अन्तर चेतना हृदय रे मेटिन्छ त्यो नीदमा ।३।

आफ्नै नेत्र नखोलिए धरतिले हेर्दैन कैल्यै पनि
हुन्छन् पावन दृष्टि तारहरूमा बल्ने नयाँ जीवनी
आफैँ बास नखोजिदे धरतिले गर्दैन आह्वान त्यो
मान्छे बास र वासना सब कला व्यक्तित्व यै चेत हो ।४।

आँखा भित्र छ भित्रबाट पथ त्यो निस्कन्छ जो कर्ममा
फुल्छन् तर्क वितर्क कुड्मल सबै यै कल्पनोद्यानमा
आँखा बाहिर चर्मको प्रलय हो खोक्रो स्वयम् झर्दछ
मान्छेभित्र छ मानवीपन भने मान्छे कहाँ मर्दछ !५।

आयो शून्य समाधिमा सृजन त्यो मान्छे यहाँ एकलै
चिम्ली लोचन शून्यमा प्रलयमा यात्रा छ नौलो सधैँ
के हो शाश्वत सम्झना धरतिको बाँकी नयाँ यौवन ?
सच्चा लोचन सिर्जना दिनदिनै जीवन्त हो जीवन ।६।

—————————————-
गोरखा , लप्सीबोट; हाल: काठमाडौँ – ६ , सरस्वतीनगर ।