अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५४ | Colorodo: 00:09

पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण काभ्रेमा शुभारम्भ

मदनकृष्ण सिलवाल २०७८ पुष ५ गते १९:३० मा प्रकाशित

काभ्रे । पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुभारम्भ भएको छ । बागमती प्रदेशका विभिन्न जिल्लामा क्रियाशील पत्रकारहरूलाई क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासङ्घ काभ्रे जिल्ला शाखाको समन्वयमा काभ्रेको धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा आजबाट शुभारम्भ भएको हो ।

उद्घाटन सत्रमा नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोककुमार ब्याञ्जुले पत्रकारितामा जिउने परिस्थिति निर्माण नभएसम्म पत्रकार आचारसंहिताको पालना हुन नसक्ने बताउँदै पेसा र सञ्चार क्षेत्रलाई सबल र आत्मनिर्भर हुन सक्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार आचारसंहिता पालना गर्न र जिम्मेवारी पत्रकारिता गर्न हामी प्रतिबद्ध छौँ भन्दै सम्पूर्ण उपस्थिति पत्रकारहरूलाई प्रतिबद्धता जनाउँदै दोस्रो सेसनको शुभारम्भ गर्नुभयो ।

प्रेस काउन्सिल नेपाल सदस्य ठाकुरप्रसाद बेलबासेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै काउन्सिलले सरकार र पत्रकारबिच सेतुको कार्य गर्दै पत्रकार क्षमता अभिवृद्धिको कार्यमा निरन्तर लागिपरेको बताउँदै सहभागीलाई स्वागत व्यक्त गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्केले पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण कार्यक्रम फरक ढङ्गबाट अघि बढाउनुपर्ने र आफूले सिकेका कुराहरू जिल्लामा गएर कार्यक्षेत्रका पत्रकार साथीहरूलाई समेत शेयर गर्न तालिममा सहभागी पत्रकारहरूलाई आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले यस्ता प्रशिक्षण कार्यक्रममा अग्रज पत्रकारबाट ऊर्जा र जाँगर एवं सीप सिकी व्यावसायिक पत्रकारितामा अघि बढ्न थप टेवा पुग्ने बताउनुभयो ।

पत्रकार महासङ्घ काभ्रे जिल्ला अध्यक्ष बद्रीराज तिमल्सिनाले प्रेस काउन्सिल नेपालले लिएको अठोट र प्रतिविद्धतामा ऐक्यबद्धता जनाउँदै सहकार्य गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै दुई दिने प्रशिक्षण कार्यक्रम हामीजस्ता क्रियाशील पत्रकारहरूको लागि फलदायी हुने धारणा राख्नुभयो ।

दुई दिनसम्म ६ वटा सेसन चल्ने सो कार्यक्रममा वरिष्ठ पत्रकार एवं पूर्व अध्यक्षहरू धर्मेन्द्र झा, गोविन्द आचार्य, महासङ्घ अध्यक्ष विपुल पोखरेल, वरिष्ठ पत्रकार निर्मला शर्मा लगायतले पत्रकार आचारसंहितासम्बन्धी अध्ययन र अनुभव शेयर गर्नुहुनेछ ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्यद्धय ठाकुरप्रसाद बेलबासे, चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसाल, उप प्रशासकीय अधिकृत राधेश्याम अधिकारीलगायत उपस्थिति रहेको थियो ।
प्रशिक्षण कार्यक्रमबाट बागमती प्रदेश स्तरका करिब ५५ जना पत्रकारहरू लाभान्वित हुने प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसालले बताउनुभयो ।

सम्बन्धित सामग्रीहरू