अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०९ | Colorodo: 09:24

बाढी पहिरो र डुबानमा परेकाको उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

बिआरटीनेपाल २०७८ कार्तिक २ गते ६:१९ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न क्षेत्रमा भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट प्रभावित भएकाको तत्काल उद्धार र राहतको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । आज बिहान प्रधानमन्त्री देउवाले गृह मन्त्री बालकृष्ण खाणलाई यो निर्देशन दिनुभएको हो । त्यसपछि गृहमन्त्री खाणले विपद्को जोखिम कम गर्न र विपद्जन्य घटनाबाट मानिसको ज्यानको सुरक्षा गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

उहाँले उद्धार तथा राहत कार्यमा कुनै कमी हुन नदिइ काम गर्न सबै सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रीको निर्देशनसहित राहत तथा उद्धार कार्यका लागि मन्त्रालयबाट पूर्ण सहयोग रहने आश्वासन आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।

सुरक्षा निकाय र प्रभावित जिल्लाका सम्बद्ध स्थानीय प्रशासनहरू विपद् व्यवस्थापन कार्यमा जुटेका छन् । विभिन्न जिल्लामा मानिसहरू फसेको क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धारको अनुरोध आएको र त्यही मागअनुसार आवश्यक प्रक्रिया अघि बढाइएको प्राधिकरणका प्रमुख पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार यही असोज ३१ गतेदेखि देशभर मौसम बदली भइ नेपालको पश्चिम क्षेत्र बढी प्रभावित बनाएको छ । सेती, महाकाली, कर्णाली, पश्चिम राप्तीलगायत ठूला र तिनका सहायक नदीमा बाढी आएको छ ।

विपद्का कारण डडेल्धुरा र कालीकोटमा एक/एक जनाको ज्यान गएको र एक÷एक जना घाइते भएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकामा दुई सय घर डुबानमा परेका छन् । त्यही क्षेत्रका बासिन्दाको उद्धार प्रयास जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

महाकालीको बहाव उच्च रहेको र आसपासका क्षेत्रका जोखिम बस्तीका मानिसलाई सुरक्षित ठाउँमा सारिएको प्राधिकरणका प्रमुख पोखरेलले बताउनुभयो । बझाङको एक गाउँपालिकाको प्रहरी कार्यालय नै डुबानमा परेको र प्रहरी सुरक्षित ठाउँमा सरेका जनाइएको छ ।

कर्णालीको बहाव बढेपछि बर्दियाका केही तटीय क्षेत्रका मानिस प्रभावित भएका छन् । प्राप्त विवरणअनुसार बेनी–मुस्ताङ, डोटीको भीमदत्त राजमार्ग, अछामको चौखुट्टे–अछाम–बाजुरा सडक खण्ड, बझाङको जयपृथ्वी राजमार्ग, बाजुराको मार्तडी–कोल्टी र साँफे–मार्तडी सडक बाढी, पहिरोका कारण बन्द भएको गृह मन्त्रालयले जनाएको छ । भोलि बुधवारसम्म नै वर्षाको सम्भावना रहेकाले सुरक्षित भएर बस्न मन्त्रालयले स्थानीय नागरिकमा अनुरोध गरेको छ ।

विभिन्न क्षेत्रमा काटेर राखेको धान नै वर्षा र बाढीले डुबाएको छ । भित्रिने बेलाको धानमा क्षति पुगेपछि किसान नराम्ररी प्रभावित भएका छन् । अहिले बङ्गालको खाडी र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ ।

आज पनि सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ का केही ठाउँ, प्रदेश २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँ तथा वाग्मती प्रदेशका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू