अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२३ | Colorodo: 08:38

सर्वदलीय बैठक निष्कर्षविहीन, गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउनैपर्ने कांग्रेसको अडान

बिआरटीनेपाल २०८१ वैशाख २५ गते ६:१९ मा प्रकाशित

बजेट अधिवेशनमा संसद् अवरोध हटाउन सभामुख देवराज घिमिरेले बोलाउनुभएको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको अडान कायमै राखेपछि बैठकले निष्कर्ष निकाल्न नसकेको हो ।नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्रीमाथि प्रश्न उठेपछि र उजुरी नै दर्ता भएको अवस्थामा संसदीय छानबिन समिति बनाउनुपर्ने विषय आफूहरूको ‘बटमलाइन’ भएको बताउनुभयो । उहाँले बजेट अधिवेशनमा सदन चल्ने/नचल्ने कुरा सरकारको भूमिकामा निर्भर रहने बताउनुभयो ।

यद्यपि कांग्रेसको यो अडानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू असहमत भएका छन् । बैठकमा रास्वपाका नेताहरूले कुनै एउटा व्यक्तिलाई लक्षित गरेर कांग्रेसले समिति गठनको माग राख्नु आपत्तिजनक रहेको बताएका छन् । उनीहरूले गृहमन्त्रीले संसदमा बोल्न पाउने हकलाई ख्याल गरिदिन सभामुखसँग आग्रह पनि गरेका छन् ।बैठकपछि पत्रकारसँग बोल्दै उपप्रधान तथा गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले सहकारीका समस्या समाधानका लागि सरकारले मन्त्रीपरिषद्को बैठकबाट ‘फास्ट ट्र्याक’ मा बचतकर्ताको रकम फिर्ता गराउन फरार, दोषी, सम्पर्कमा नरहेका सञ्चालकहरूको सम्पत्ति जफत गरेर भए पनि पैसा फिर्ता दिने निर्णय गरिसकेको अवस्थामा कांग्रेसको अडान जायज नभएको बताउनुभयो । उहाँले सहकारीको रकम हिनामिनामा आफूविरुद्ध कतै पनि मुद्दा दर्तासमेत नभएको भन्दै उजुरी हाल्नसाथ संसदीय समिति बनाउने भए र राजीनामा दिने हो भने आफू तयार रहेको बताउनुभयो । उहाँले समिति बनाउने स्पष्ट आधार नभएको जिकिर गर्नुभयो ।

यस्तै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली कांग्रेसले व्यक्ति विशेष संसदीय समितिको माग गरेको भन्दै संसदीय छानबिन समिति बनाउने कुरा असम्भव रहेको बताउनुभयो । बजेट अधिवेशन आउँदो शुक्रवारदेखि शुरु हुँदैछ । गृहमन्त्रीकै विषयलाई लिएर नेपाली कांग्रेसले यसअघि पटक–पटक संसद् अवरोध गरेको थियो । बजेट अधिवेशनमा पनि संसद् अवरुद्ध भएर बजेटअघिकाे छलफलसमेत प्रभावित हुने चिन्ता बढेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले बैठकलाई सहजरूपमा अगाडि बढाउने महत्त्वपूर्ण आधार तयार पारेको बताउनुभयो । उहाँले सदनलाई सहजरूपमा सञ्चालन गर्ने दायित्व राजनीतिक दलको भएकाले ठूला राजनीतिक दल संसद्लाई समस्याको समाधान गर्ने थलोका रूपमा अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो । घिमिरेले सबै दलहरू जिम्मेवार बन्नुको विकल्प नभएकोमा पनि जोड दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू