अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०० | Colorodo: 09:15

रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कुटनीतिक पहल गर्छु : प्रधानमन्त्री

बिआरटीनेपाल २०८१ वैशाख २५ गते ६:११ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक पहल गर्नेे बताउनुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरूले गरेको भेटमा प्रधानमन्त्रीले रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि सरकारले उच्चस्तरको पहल गर्ने बताउनुभयो । ‘तपाईँहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री कार्यालय प्रतिबद्ध छ’, उहाँले भन्नुभयो, ‘सरकारले लगातार कुटनीतिक पहल गरिरहेको छ, कुटनीतिक नोटमार्फत पहल लिइएको छ ।’

नेपाली नागरिकको जीवन रक्षाका लागि सरकार निरन्तर लागिपरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा कार्यरत नेपालीका परिवारको माग सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । ‘उच्चस्तरको कुटनीतिक पहल हुन्छ, म आफैँले थप पहल गर्छु’, उहाँले भन्नुभयो । युद्ध मैदानमा रहेका नेपालीसँग आफूले फोनमा कुरा भएको उल्लेख गर्दै प्रधानमन्त्रीले उनीहरूको अवस्थाबारे कुटनीतिक च्यानलबाट निरन्तर छलफल भइरहेको जानकारी दिनुभयो ।

रुसी सेनामा कार्यरत नेपालीका परिवारले युद्धमा रहेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै काठमाण्डाैमा धर्ना दिएका थिए । प्रधानमन्त्रीका जनसम्पर्क विज्ञ बुद्धि जिसीले उहाँहरूका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेसँगै धर्ना स्थगित भएको थियो । त्यही प्रतिबद्धताअनुसार आज प्रधानमन्त्री प्रचण्डले ती परिवारका सदस्यलाई भेटेर उच्चस्तरीय पहल गरेर युद्धमा रहेका नेपाली स्वदेश फिर्ता ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू