अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१५ | Colorodo: 02:30

अमेरिकाको ओहायोमा आगलागी, पाँच नेपाली भाषी भुटानीको मृत्यु

अर्जुन प्रधान २०७८ भदौ २९ गते ९:२७ मा प्रकाशित

ओहायो । अमेरिकाको ओहायोस्थित एक्रोनमा आइतबार भएको आगलागीबाट ५ जना नेपाली भाषी भुटानीहरूले ज्यान गुमाएका छन् । आगलागीबाट ज्यान गुमाउनेमा तीन जना बालबालिका समेत रहेका स्थानीय प्रहरी अधिकारीहरूले जनाएका छन् । आगलागीमा परेर उक्त घरमा रहेका अन्य ४ जना घाइते भएका छन् ।

घाइतेहरूको एक्रोनकै स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मेरिल्यान्ड जनरल एसेम्बलीका डेलिगेट ह्यारी भण्डारीले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली दिँदै घाइते सर्वजीत सुब्बासहित सबैको स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

घरमा आगोको ठुलो ज्वाला देखेपछि छिमेकीहरू दौडिएर पुगेका थिए । त्यसपछि तत्कालै उद्धारकर्मीहरूलाई बोलाएर उद्धार थालिएको थियो ।
यो आगलागीमा ज्यान गुमाउनेहरूमा ५ वर्षीय, ११ वर्षीय र १६ वर्षीय बालबालिका छन् । ज्यान गुमाउने अन्य दुई जनामा ६० वर्षीय पुरुष र ४८ वर्षीय महिला पनि रहेका छन् ।

घर सहित बिजुलीका तारहरूमा समेत आगलागी भएकोले नियन्त्रणमा लिन कठिनाइ भएको थियो । स्थनिय अधिकारी क्रिस्टीन फाउलर म्यकका अनुसार आगलागीमा परि एक बालक सहित अन्य तिन जना घाइते भएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।