अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१४ | Colorodo: 20:29

सुकरामको रेडियो प्रेम

गोपी मैनाली २०७८ वैशाख २७ गते १५:५९ मा प्रकाशित

(कथा)

अगिल्तिर नाक ठोक्किने भिर, तलतिर नागबेली निलो भेरी नदी, नदी किनारा भन्दामाथि रहेको निवासको झ्यालबाट भेरी र भिरलाई नियाल्नु, रमाउनु, एक्लै टोलाउनु मेरो दिनचर्या बनेको छ । सरकारी सिन्दूर परेपछि अधिकृतको पहिलो पोस्टिङमा निकै रमाएर दुर्गम जिल्लामा सेवा गर्न आएको नौजवान राष्ट्रसेवक । प्रकृति र संस्कृतिको विविधतासँग परिचित हुने अवसर राष्ट्रसेवक भएर नै जुटेको हो ।

कार्यालय समयपछि साथी पनि हुँदैनन् । रक्सी र तासमा रमाउन नसक्नेका लागि को पो साथी हुन्थे र ?तास रक्सीमा नलाग्नेहरू पनि आआफ्नै खोपीमा आगो ताप्दै भोटे चिया पिएर समय काट्छन् । दुर्गमका आफ्नै व्यथा ।

‘रक्सी खाऊँ, तास पनि सिकौँ । नत्र कसरी समय काट्ने ? एक वर्ष नपुगी पक्कै सरुवा हुँदैन ।’
‘होइन इच्छा नभएको कुरामा आदत किन बसाल्ने ? रक्सी र तासले को पो सप्रेको छ र ?छार्का, भिजेर, साल्दाङ र सेको प्राकृतिक विकटता, शहरतारा र त्रिरुपाकोटको संस्कृतिसँग भिजेर बस्नु पर्छ । विविधता र जटिलतासँगभिज्नुको मज्जा नै अर्को ।’

भित्रभित्रै द्वन्द्वमा छु । मनभित्रको द्वन्द्वले टोलाउँछु पनि, घरी एक टण्कारले भेरी नदी र ठाँगे हिमालभरि आँखा बिछ्याउँछु । घरी सरस्वती थानदेखि शहरताराको खोँचसम्म आँखा फिँजाउँछु । उराठ अजङ्गको पहाडको खोचमा चिसो हावाको झोक्कासँग जवर्दस्त रमाउनुका विकल्प पनि कहाँ छ र ? पहिलो पोस्टिङ एक वर्ष त दुखमै रमाउन पनि त सकिएला नि ।

यी अजङका उजाड डाँडालाई हरियालीले छोप्न पाए… । एउटा बिरुवा हुर्किन पनि दशकौँ लाग्छ यो हिम मरुभूमिमा । हुर्किएका रुखहरू काटेर नै यी डाँडाहरू उजाड मरुभूमि बनेका हुन् । रुख नकाटे यो जाडोमा दिनचर्या चल्दैन । रुख काट्दा अर्को रुख त्यत्रो बनाउन शताब्दी लाग्छ । जीवन र प्रकृतिको द्वन्द्व ।

बिहानको तिखो जाडो, बुलुकीको मुटु हल्लाउने सिरेटो, अजङका पहाड, कताकति देखिने वनस्पतिका तिखा पातहरू, हावासँगै ओइरिने पहराका ढुङ्गा, छुन नसकिने पानी सबैले यहाँको जटिल जीवनशैलीको परिचय हुन् । यहाँ जिउन पनि अलि कडा हुनुपर्छ, जटिलतासँग मितेरी लगाउनु पर्छ ।

समय काट्ने एउटा साथीको नाममा पुरानो नेशनल पानासोनिक रेडियो छ । जागिरमा आउनु अघि रेडियो भनेको समाचार सुन्ने, लोकसेवा र विश्वविद्यालयको रिजल्ट सुन्ने साधन थियो, अव बिस्तारै गीत सुन्न थालेको छु । फर्मायसी गीत, लोक गीत, आधुनिक गीत, राष्ट्रिय गीत । जे भए
पनि सुन्नु न छ ।

सिलोनको विनाका गीत मालाको आधुनिक गीतदेखि अन्तमा आउने के एल साइगलको स्वरसम्म सुन्नु प्रतिबिहानको रुटिन बनेको छ । अव थाहा भयो, के एल साइगलको गीत कार्यक्रमको अन्तमा नै बज्छ ।

दाहाल यज्ञनिधिको साहित्य संसार सुन्दैछु । कति ठिो स्वरमा कविका रचना पाठ गरेको, निबन्ध पढेको । अर्को मनले भन्छ, यहाँको प्रकृति आफै कवि, आफै कविता । कुन रस छैन यहाँको प्रकृतिमा ?

‘बिहान कति छिटो निद्रा खुलेको? बेलुका नौ नबज्दै सुतेपछि छिटै निद्रा खुल्ने नै भयो । सुत्नु शरीर र इन्द्रियलाई आराम दिनु न हो । सधैँ आराम पाएपछि किन आराम खोज्थे र ?’

दुर्गम स्थानले मानिसलाई अल्छी बन्न सिकाउँछ । पढ्ने पत्रिका पनि छैन । खाने कुरा पनि सधैँ एउटै । अनि रेडियो सुन्दै अजङका नाङ्गा पहाड, भेडा च्याङ्ग्रा र चौरीको लहर आँखाभरि कैद गर्नु दैनिकीका भाग बनेका छन् ।

बिचरा भेडालाई निकै दुख छ, चौरजहारीदेखि त्रिपुराकोट, जुफाल, दुनै, छार्का, तिन जे, भिजेर सम्म सामान ओसारपसारका साधन, पछि उनीहरूले ओसारेको चामलसँगको सितन पनि यिनीहरू नै । कति निर्दयी मानिस १मोटर बाटो बने भेडाहरू कति सुखी हुने थिए होला १ हो मैले मोटर बाटोका लगी सके जति प्रयास गर्नुपर्छ । एउटा बाटो चौरजहारी दुनै, अर्को दुनै फोक्सुन्डो, अर्को दुनै शे र क्रमशः तिन जे, छार्का, भिजेर । अनि त म जस्ता कर्मचारीले पनि दिन काट्न रेडियोको गीत वा बाउन्न पत्ती तासमा अल्मलिन पर्दैन ।

बिचरा सुकराम छ र सेवा गरेको छ । यो पनि नभएको भए आफै पकाउनु पर्थ्यो, अनि खान्थिस तैँले जागिर । अरू कार्यालय सहयोगी पनि यस्तै परिश्रमी छन् ?

होइन यहाँ आएपछि खाना पनि धेरै रुच्न थालेको छ । दुई जनालाई तीस किलो चामलले पनि महिना धान्दैन । बिचरा खाद्यको हाकिम भलाद्मी छन्, कोटा त दश किलो न हो । जति मागे पनि रित्तै फर्काएका छैनन् ।

रात पनि निकै लामा छन् । रातमा झन् भेरीको सुस्कुरावट पनि कति गहिरो सुनिएको ? निद्रा लाग्नु, मीठो सपना देख्नु । होइन के भएको ? काठमाडौँमा त रात पनि निकै छोटा थिए । बिछ्याउनामा जानासाथ निद्राले मोहनी लगाइ हाल्थ्यो ।

आज रातभरि खुवै न्यानो भएको त हिउँ परेर पो रहेछ । अव हिउँ हेर्न ठाँगे हिमालसम्म आँखा तन्काउन नपर्ने भयो, आँगन, पिँढी, छाना, पाखा सवैतिर हिउँ नै हिउँ सेताम्मे । करेसाबारीका रायोको साग, आरु र स्याउका बुटाहरू पनि हिउँले छोपेछ । भेरी नदी मात्र बगेको छ, शायद उसमाथि परेको हिउँ पानीमै समाहित भयो होला । ठुला कुरामा साना मिलेपछि ठुलोले आफैमा समाहित गर्छ । सवैतिर सेतै हिउँ, बिचमा गहिरिएर निलो भेरीको नागबेली । सेतो कापीमा निलो वाङ्गोटिङ्गो धर्को कोरेजस्तो । कति राम्रो देखिएको ।

सवै जना हिउँमा सकी नसकी हिँडेका छन्, फोटो खिचेका छन् । सिडिओ शाव तस्बिर खिच्न निक्लेपछि सुरक्षाकर्मीलाई आपत् । मेरो पुरानो पेन्टाक्स क्यामेरामा मिल्ने रिल नै पाइन । केही दृश्य त म पनि कैद गर्थे नि । चरण हाकिम, पशु हाकिम, कृषि हाकिमसँग भन्नु पर्ला ।
भर्जिन कर्णाली, दृश्यको खेतीमा रमाएको छ । सहरिया भनाउँदाले देख्दा हुन् कति खेल्थे होलान् । युरोपतिरका पर्यटक भए कति रमिन्थे होलान् ।

होइन, हामी पनि त रमाएको छौ नि । फोटो खिच्न रमाएका कर्मचारीहरू आँगन, बाटो र सालिकभरि छ्यापछ्याप्ती छन् । स्थानीय पनि अव आलु, स्याउ राम्रै हुने भो भन्नेमा मक्ख छन् । रमाउने तरिका मात्र फरक नहुन् । दुख भने यी भेडा, च्याङ्ग्रालाई हो । जाडो मनाउन यिनीहरू नै मारिनु पर्ने । यो मानिसको जातै अन्यायी । जीवनभर कति प्राणी वनस्पति सक्छ होला ?

हिउँ धेरै परेकाले कार्यालय सेवाग्राहीविहीन छन् । लाग्छन् काम नगरी तलब खाने कार्यालय । एकीकृत सेवा दिने चार पाँच कार्यालय मात्र भए हुने ।

हिउँ नपग्ली बाटो पनि देखिँदैन । हिउँमाथि टेक्दा खुट्टा काप, कोप्चामा पर्ला भन्ने डर छ, होस पु¥याएर हिँड्न यहीका मानिस मात्र जान्दछन् । चिठी, चपेटा त्यसै पनि आइपुग्न दुई हप्ता लाग्थ्यो, अव कति दिन पर्खनु पर्ला ।

खाद्यको चामल र बुढासाहुकोमा आलु र नुन सकिए हामी कसरी बाँचौला ? सामल भए न शुकरामले पकाउने हो ?
गाला र ओठ पनि चिसोले पट पट फुट्न थाले, छाला उप्किएर झर्न लागे। यी लामा कपाल पनि कति खस्रा, आफ्नै हात पनि आफैलाई बिझाउने ।

‘सावचिया खाऊ, जाडोमा चिया धेरै खानुपर्छ ।गोर्खाली मण्ठा त्यति जान्दैनौं ।’ शुकरामका माया गर्ने शब्द पनि भर्जिन छन् ।

चिया टेबुलमा रोखर पनि सुकराम एक छिन ठिङ्ग उभिन्छ । शायद फर्मायसी गीत मन परेर होला । ‘उकाली ज्यानको चप्लेटी ढुङ्गा कान्छी मट्याङ ट्याङ…..’उसलाई मन प¥यो होला । आवाजको भोलुम बढाई दिएँ । रमाउने मन पनि परिवेश अनुसार हुने रेछ । तिमालमा भए माइच्याङ र च्याङ्वाका तामाङसेलो, बा¥हविसे बलेफीतिर ‘लप्सीको गेडो चुसेर’ कुमार बस्नेत घन्किन्छ । बेनी बागलुङतिर बेनीको बजार घन्किन्छ । काठमाडौँमा अरुण लामा र नारायण गोपालले नपुगेर लियो सायरा घन्किन थालिसक्यो ।

नजिकैको अगेनामा खाना बनाउँदा पनि सुकराम रेडियोतिर हेरिरहन्छ । समाचारमा ध्यान दिन्छ, गीतमा पनि, अरू कार्यक्रममा पनि । होइन यहाँको रैथाने गीत चाहिँ के होला ? सहर तारामा त देवीले सपनामा भाषा सिकाए कि थिइन रे । ताराली भाषालाई डोल्पालीहरु देशभाषा भन्ने गर्छन् । आफ्नै संस्कृतिले समृद्ध छ डोल्पो । तर बिस्तारै विटुलिदैछ ।कर्मचारी र पर्यटकहरू विटुल्दैछन् । मोटर आयो भने जनजीवन त सुखी होला, संस्कृति भने मासिनेछ ।

‘शाव खान आऊ । जाडो छ, तम्लाई आपिसमा कल्ले खाना दिम्च?’यो सुकरामको मान र माया हो । तल्लो डोल्पाली सबै सुकराम नै हुन् । माथिल्लो डोल्पाली चाहिँ सबै थिन्ले ।

स्टीलको थालमा ठाँगे हिमाल जत्रै भातको चोइली, जिम्मु झानेको कालो सिमीको दाल, वोक्रो समेतको आलुको तरकारी र पुदिना पिँधेको अचार । हामी यसलाई कर्णाली स्पेसल भन्छौ । जाडोले होला खुवै स्वादिलो पनि छ ।
कर्णाली स्पेसलसँग मीठो साइनो छ । सरेर गए पनि सुकराम र कर्णाली स्पेसल कसरी भुलुँला ?

दुनो जस्तो दुनै, अफिस नसकिँदै घामले डाँडा काट्छ । घामले डाँडा काटेपछि मुटु पनि काम्छ, सास फेर्दा पनि बाफ आउँछ ।
निवास आएपछि स्टिलको गिलासभरि रातो चिया दिनु उसको रुटिन हो ।

बडो इमानदार र मिहेनती पनि छ सुकराम । जाडोले होला नभनी चाहिँ नुहाउँदैन । म पनि त शनिवार मात्र नुहाउँछु, काडमाडौमा ननुहाई कहाँ खाइन्थ्यो र ।ननुहाएर होला, चिया ल्याउँदा पनि, खाना दिँदा पनि बेग्लै हस्को छुट्छ उसको शरीरबाट । निल प्रसाद कर्णाली सेन्ट भनेर जिस्क्याउँछ । जुँगा पनि कहिले मिलाउँदैन । दाँत पनि सफा गरेको देखेकै छैन । कपडा मयलले कटकटिएका छन् ।

लामो समय यतै बस्न परे हामी पनि झन्डै सुकराम बन्छौ होला । सुकराम परिस्थिति पनि हो ।
सुकराम आज शनिवार हो, तिमी र म भेरी किनारमा पानी तताएर नुहाउनु पर्छ ।

‘हस् शाव दाउरा ल्याउँछु ।’ सुकराम हाजिरी जवाफमा निपुण छ । भने पछि नमानेको कहाँ छ र ? तर बुबाजस्तो मानिसलाई यो गर, ऊ गर भनेर के भन्ने ?

पानी तात्दैछ । तर भेरीको चिसो सिरेटोले मननै कामेको छ । माझफालतिरबाट घामको किरण त आएको छ तर ती कलिलो किरण भेरीको चिसोसँग टिक्न सकेको छैन। कानमा रेडियो राखेर पानी तात्ने प्रतीक्षामा छु । शुकरामका आँखा भने मतिरै छन् ।रेडियो सुन्न त मलाई हेरिरहनु परेन, कान थापे पुग्छ । होइन, यो उसको आदत हो ।

शनिवार दिउसोभरि रेडियो सुन्ने बाहेक काम भएन । साथी भने यही नेशनल पानासोनिक रेडियो । किताब पनि, मनोरञ्जन पनि, समाचार पनि यही रेडियो । एभरेडी ब्याट्री भने पाइएकै छ ।

रेडियो र मेरो प्रेम देखेर सुकराम पनि ताजुप मान्दो हो ।
चिया ल्याउने क्रममा भनिहोल्यो ‘यो शाव कति रेडियोलाई कति माया गर्च’?
माया भन्दा पनि समय काटेको हो सुकराम । अरू के गर्नु छ र ? कि म पनि अरू शाव जसरी नै पिउन र खेल्न जान प¥यो ।
सुकराम कर्णाली स्पेसल मेनु तयार गर्दैछ । म भने विज्ञान प्रविधि कार्यक्रम सुन्दैछु । जाडोले होला भोक पनि लागेको छ । खाना छिटो तयार भए हुने भन्ने आसामा छु । काठमाडौँमा भए भोक पनि त्यति लाग्दनथ्यो, चिया चार पाँच पटक लिइसक्थे । यहाँ त दूध भएको चिया पाउन पनि नेपालगञ्जतिर झर्नु पर्छ ।

टेबलमा कर्णाली स्पेसल राख्दै सुकरामको आदेश जारी भो ‘शाव खान आऊ’ ।
सुकराम अकण्टक रेडियोतिर आँखा लगाइ रहेछ । म भने खाना खाँदैछु ।‘शाव रेडियोमा बोली कसरी आउँछ ? कति मीठो आवाज, आएर पनि सक्दैन । कति भरेको छ ?’

गीत होइन विज्ञानको कुरा आएको छ, यो पनि तिमीलाई मीठो लाग्यो ?
‘आउच शाव । कान्छी मट्याङ, हरियो डाँडामाथि..कालिपारे…पनि आउच.।’
मैले खाना खाइसके, उ रेडियोलाई नै नियाली रहेको छ । आज त खाना सोध्न पनि भुल्यो । सुत्नेवेलामा पनि रेडियोतिर हेरेर मात्र गयो । खै के गर्छ सुकराम ।

उ कहिले पनि परिवार, घर र व्यवहारको कुरा गर्दैन । उसका परिवार पनि भेट्न आएको देखेको छैन । तलब झिकेर खाद्यको चामल पठाइदियो सबै ड्युटी पूरा ।
अफिसबाट आउदैथिए, मेरो सिरानीमा राखेको रेडियो झिकेर वल्टाइ पल्टाइ हेर्दै रहेछ । शायद बजाउन खोजेको होला । मलाई देख्नासाथ आत्तिएर मुख नै रातो बनायो ।
के गरेको सुकराम ? रेडियो सुन्न प¥यो ? आज त फर्मायसी गीत सकियो । तिमीलाई मन पर्ने आउँदैन, अरू कार्यक्रम र समाचार मात्र आउँछ ।

अर्को दिन रेडियो सन्दै खाना खाँदै थिएँ रेडियोमा अकण्टक आँखा लगाउँदै उसले प्रश्न ग¥यो ‘सावको सरुवा कहिले हुन्छ ?’
अचम्म मान्दै प्रतिप्रश्न गरेँ‘किन र सुकराम’ ?
सावको सरुवा होला र रेडियो मागूँला भनेर ।
म खग्रङ्ग भएँ, उसले रेडियोमा क्वारक्वात्र्ती हेरिरहनुको अर्थ त बल्ल बुझेँ । र, भनेँ यो रेडियो लिनका लागि मेरो सरुवा हुनु पर्दैन । अहिले नै लाऊ ।

प्रसन्न मुद्रामा शुकरामले केही नवोली रेडियो दुई हातले झम्ट्यो ।
धन्न भन्ने हिम्मत ग¥यो । मनमा कुरा खेलाएर बसेको भए रेडियोको आशक्तिले अरू कुरा पनि हुनसक्थ्यो । मनै त हो, म एक्ले सुत्थे । त्यति बलिष्ठ सुकरामको मनमा पाप पलाएको भए ।

‘मैनाली निवास
क्षितिज मार्ग, शंखमूल