अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२१ | Colorodo: 02:36

नेपाली साहित्य कति सरल कति जटिल ?

गोपी मैनाली २०८० वैशाख २५ गते १५:४५ मा प्रकाशित

अभिव्यक्ति सधैँ सरल हुनुपर्छ । सम्प्रेष्य हुनुपर्छ । कलाका मूल्य सिद्ध गर्न पनि सम्प्रेषण योग्यता अभिव्यक्तिमा रहनुपर्छ । जुन भावनासाम्य योजन र आशय साथ अभिव्यक्ति गरिएको हो, त्यही रूपमा प्रापकले पाएन भने अभिव्यक्तिको कुनै अर्थ रहँदैन । पाएर मात्र पनि हुँदैन, त्यही अर्थवत्तामा बुझ्नुपर्छ । पाठक, दर्शक, श्रोता र सर्वसाधारणले सजिलै बुझ्न सक्ने लेखनी, शब्द अभिनय र संवादले अभिव्यक्तिको सफलता सिद्ध गर्दछ । अरूले नबुझ्ने वा आफ्नै अर्थमा बुझ्ने साहित्यको कुनै अर्थ हुँदैन ।

साहित्यकार वा सर्जकहरू आफ्ना पाठक, श्रोता वा दर्शकहरूभन्दा भिन्न हुन सक्दैनन् । सर्जक सर्वसाधारणलाई आफ्ना सिर्जना बाँड्ने गर्छन्, अझ भनौँ भावना र अनुभूति बाँड्ने गर्छन् । सर्वसाधारणहरू सिर्जनालाई त्यतिखेर माया गर्छन्, वा आफ्नै बनाउँछन् जतिखेर ती आफ्नै जीनवृत्तिका सरल अभिव्यक्ति बन्ने गर्छन् । त्यहाँको इतिवृत्त आफ्नै लागेपछि नै हृदयका कुनामा सञ्चय गर्छन् । त्यसैले सर्जक सर्वसाधारणका भावना र इतिवृत्तभन्दा पर रहनुहुँदैन, सच्चा सर्जक रहन पनि सक्दैन ।

सर्वकालिक सर्जक वर्तमान पुस्ताको बोधगम्यतामा मात्र सीमित रहँदैन, पुस्तौँ पुस्ताको जीवन कथा, जीवनका अनुभूति, आशा उन्मेदलाई बोध गम्यतासाथ प्रस्तुत गर्दछ । भविष्यको इतिहासमा पनि ती स्रष्टा नै सबैका प्रिय हुन्छन्, जसले स्वाभाविक रूपमा जीवन र जगत्का अनुभूतिलाई सरल रूपमा उतार्न सक्दछ । ‘मुनामदन’ सार्वकालिक छ, देवकोटा कालजयी बने । ‘शिरीषको फुल’ कालजयी बन्यो । ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ सबैको बन्यो । ‘यो जिन्दगी खै के जिन्दगी’ जीवनको निराशा पिउँदै गरेकालाई सधैँ आफ्नो बनिरहन्छ । रेज्सो सरेसको ‘उदास आइतबार’ प्रेम गर्दै गरेका सबैको ढुकढुकी बन्यो, जसको धुनमा लीन भएर कैयन प्रेमीले जीवन लीला नै त्याग गरे । रहस्य एकै हो, जीवनका अनुभूतिहरू सरल रूपमा अभिव्यक्त गरियो । सङ्ग्राहक मनले अनुभूति साम्यमा लिए । सिर्जनाले जीवन नपाई सिर्जना र सर्जक कालजयी बन्न सक्तैन । सिर्जना समाजका लागि हो, स्रष्टाले समाजलाई भुल्न सक्तैन ।

साहित्य सरल र सम्प्रेष्य हुनुपर्छ । साहित्यले कि शिक्षा दिन्छ, वा मनोरञ्जन दिन्छ कि त मनको विरेचन गर्नुपर्छ । अक्षरका पौल मात्र भयो, भावना र अनुभूति व्यक्तिएन भने त्यो शिक्षा, मनोरञ्जन वा विरेचनको माध्यम बन्न सक्दैन । सम्प्रेषण सरल हुनु नै बोधगम्य हुनु हो । सर्वसाधारणभन्दा सर्जक भिन्न हुनुहुन्न । सर्वसाधारणकै स्तरमा अभिव्यक्ति सम्प्रेष्य, सरल र बोधगम्य हुनुपर्छ । कला योजना गर्नु बोधगम्यता र श्रुति प्रियताका लागि हो । सर्जकहरू उसका पाठक र श्रोताका तुलनामा अभिव्यक्ति प्रवीण हुन्छन् । त्यसको सिद्ध गर्न सक्नुपर्छ स्रष्टाले ।

नेपाली साहित्य अभिव्यक्ति कलाका दृष्टिमा एकै स्तरमा देखिँदैन । न अरू भाषाका साहित्यमा नै त्यसो हुन सक्छ । केही स्रष्टा पाठक÷श्रोताप्रति अति नै संवेदनशील छन्, कतिपय त्यही रूपमा संवेदनशीलता उठाउन सक्दैनन्, अनुभूतिको अभिव्यक्ति दिन सक्दैनन् । बौद्धिक जटिलता र सरल हार्दिकता सिर्जनारूपी नदीका दुई किनारा हुन् । बौद्धिक भईकन सरल सिर्जना साँच्चै कालजयी हुन्छ, सबैको मन–मस्तिष्कमा रहन सक्छ ।

शास्त्रीय साहित्य विधानका लेखनाथ पौड्याल, बालकृष्ण सम, भवानी भिक्षु र केही रचनामा लक्ष्मीप्रसाद देवकोटा अभिव्यक्ति जटिलतामा छन् तर तिनले दिने शिक्षा धेरै छ । ती सरल पनि भइदिएको भए सर्वसाधारणको मन कति जित्न सक्थे होलान् ।

लेखनाथ पौड्यालका कविताहरू कलात्मक छन्, छन्दविधानले ओतप्रोत छन्, लयात्मकता र श्रुति सजीवतामा छन्, लालित्यमयी छन् । ‘तरुण तपसी’, ‘पिँजडाको सुगा’ सरल भए पनि बहुधा सिर्जना सरल छैनन् । त्यसैले जनप्रियता सबै कवितामा देखिँदैन, जसरी माधव घिमिरे र भानुभक्तमा देखिन्छ । बौद्धिक प्राज्ञ उनको विशेषता हो । त्यसैले हृदयभन्दा मस्तिष्क नजिक छन् उनका सिर्जना ।

बालकृष्ण सम बौद्धिक प्राज्ञिकताको बेजोड व्यक्तित्व हो । ‘नियमित आकस्मिकता’, ‘चिसो चुल्हो’, ‘मुकुन्द इन्दिरा’ ‘मुटुको व्यथा’ ‘आगो र पानी’ सबैमा जीवन दर्शन र चिन्तनको पौल छ । कृति पढ्दा फेरि पढ्न र गवेषण गर्न मन लाग्छ । लाग्छ कविताको श्लोकहरू दर्शनका सूत्र हुन्, ज्ञानका खानी हुन् ।

‘एक हुन सत्य, सत्य हो एक, उसको ज्ञान एक हो,
अगाडि एकको शून्य अज्ञान र असन्तोष हो,
पछाडि एकको शून्य जति जोड्यो अनन्त छ त्यो
असङ्ख्य सत्य हो सोही हो विज्ञान–अनन्त छ,
बढ्छ त्यो जति जोडिन्छ, जानी जानी नसक्नु छ,
एउटा विन्दु जान्नाले तृष्णा सागर बढ्दछ,
अझ जान्न, नजान्छि–समुद्र परमाणुको,
सूर्ककै आयुको निम्ति अगाध र अपार छ,
विज्ञान कर्म हो, कर्म गनुपर्छ, गरिन्छ त्यो,
परन्तु बुद्धिमानी हो, ज्ञान निष्काम पाउनु
त्यो कर्ममा छ विज्ञान आफूबाहिर, ज्ञान छ
आफू भिज्ञ, उ टाढा छ खोजीमा हिँड्नुपर्दछ
तर त्यो कलेजामा आफूmभन्दा समेत, या
यसमा मन फर्काई भित्र नै घुस्नुपर्दछ
नमर्ने हुन उद्योग जत्ति विज्ञान गर्दछ
उत्ति गर्दछ यो ज्ञान, खालि भेद छ यत्तिमा
ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ ।’ (प्रह्लाद नाटक)

…………………………………………………….

‘न छन् मुकुन्दका कोही न कसैको मुकुन्द छ
मुठी बाँधेर आएको मुठी खोलेर जानु छ ।’ (मुकुन्द इन्दिरा)

यी श्लोकहरू कविता चिन्तन हुन् । जीवनदर्शन हुन् । त्यसैले मनभन्दा मस्तिष्कसँग नजिक छन् । समले आफ्नो बौद्धिकताको परिचय वासस्थानको प्रवेशद्वारबाटै दिने गर्दथे रे ! उनको प्रवेशद्वारमाथि लेखिएको श्लोक नै जीवनजगत्को विम्ब उतार्न सफल छ र निवासभित्र पस्ने सबैलाई एक पटक ज्ञानी बन्न, चिन्तनमा पुग्न स्वाभाविक आग्रह गर्दथ्यो:

‘यो मेरो वास हो कुनै नित्य जीवन मार्गको
कतैतिर हिँड्नेछु स्वप्न पूरा भएपछि ।’

भवानी भिक्षुका मनोविश्लेषणात्मक कथा र बौद्धिक कविताले मानव मन, उसको आञ्चलिकता र उमेर अनुसारको अभिव्यक्ति उतार्छ । उनको शोक कवितामा दुःख छ र कथाहरूमा करुणा छ, तर सर्वसाधारणका लागि त्यति बोधगम्य छैनन् । कवि केदारमान ‘व्यथित’ पनि भिक्षु झैँ कविता क्लिष्टतामा रहन्छन् । उनले कवितामा भनेका छन्– ‘एक बिहानै उठेर हेरेँ, भोगटेको रूखमा त भँगेरा पो फलेछ’ । मोहन कोइराला र ईश्वर वल्लभहरू बौद्धिक जटिलतामा छन् । कोइरालाको ‘फर्सीको जरा’ले देखेको जीवन जगत् दिनहुँ फर्सीवारिमा काम गर्नेले बुझ्दैनन्, न वल्लभका ‘आगोका फूलहरू….’ भित्र सामन्य पाठक पस्न सक्छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाका कविताहरू धेरै सरल र धेरै जटिल दुवै विशेषतामा भेटिन्छन् । ‘सुलोचना’, ‘शाकुन्तल’, ‘महाराणा प्रताप’ शास्त्रीय बौद्धिकताका अद्वितीय दृष्टान्त हुन् । त्यहाँ शब्द संरचना, वाक्य विधान, कलाकर्म र जीवनदर्शन पाइन्छ तर जो कुनैका लागि काव्यकृति सहजबोधमा छैनन्, मनमा बस्दैनन् र पाखा पर्वतमा गाइन्नन् पनि । भारवि, कालिदासजस्ता पूर्वीय स्रष्टाका साहित्यिक मूल्य र विधान त्यहाँको प्रस्तुतिमा मनग्गे भेटिन्छ ।

‘मुनामदन’ महाकविको त्यस्तो कृति हो जो सम्प्रेषण सरलताको अद्वितीय उदाहरण भएकै कारण त्यहाँका अभिव्यक्तिहरू सर्वसाधारणका आफ्नै अभिव्यक्ति हुन्, त्यहाँको अनुभूति आम पाठकका आप्mनै अनुभूति र भोगाइ हुन् । त्यसैले ‘मुनामदन’ पढ्दा पाठक रुन्छ, ‘मुनामदन’ हेर्दा दर्शक रुन्छन् । वृद्ध–वृद्धा, तन्नेरी–युवती, मजदुरी, मेलापात र स्वदेशी विदेशी रोजगारीका सबैको साझा स्वर, साझा विम्ब र सहढुक्ढुकी बनेको छ ‘मुनामदन’ । ‘यात्री’ लगायत अनेकन कविता त्यस्तै हार्दिक, शाश्वत र कालजयी छन् । ‘सुनको बिहान’, ‘पागल’ सबै सरल छन् ।

महाकवि देवकोटा मात्र होइनन्, निबन्धकार, कथाकार र नाटककार लक्ष्मीप्रसाद देवकोटा पनि जीवनका अनुभूतिलाई सरल रूपमा उठाउन र सरल रूपमा नै पोख्न सफल छन् । ‘लक्ष्मी निबन्ध’ सङ्ग्रहका निबन्धहरू साँच्चै निर्बन्ध, स्वच्छन्द बयेली हुन् । मनका भावनाहरू जसरी बयेलिन्छन्, ऊहापोहहरू जसरी उर्लिन्छन्, निबन्धका अभिव्यक्ति त्यसरी नै बयेलिन्छन् । आममानिसमा नभएको अभिव्यक्तिकला निबन्धकार देवकोटामा छ । शब्द संयोजन, वाक्य विन्यास, स्वाभाविक भईकन कलात्मक जलपसहितको प्रस्तुतिले नेपाली निबन्ध वाङ्गमयमा बेगल स्वाद थपेको छ ।

भानुभक्तीय ‘रामायण’ र ‘बधू शिक्षा’ मा भएको श्रुति सरलता आदिकवि भानुभक्तको शास्त्रीय विशेषता हो । जसलाई मोतीराम भट्टले समेत प्रबन्ध, मुक्तक र कवितामा प्रयोग गरेका थिए । धार्मिक र नैतिक समाजले भानुभक्तलाई कण्ठस्थ सम्झिन्छ, जसरी सरलतामा लेखनाथलाई पनि सम्झने गर्छ ।

कविवर माधव घिमिरे औधी रुचाइएका कवि हुन् । उनका शब्द स्पर्शले कुनै पनि विषयमा कला भरिन पुग्छन् । शोक कविता, राष्ट्रप्रेम, समाज शिक्षा, गीत र सम्भाषणमा पनि कवि सरलताका अनुपम उदाहरण बनेका छन् । ‘गौरी’ शोक कविताको ‘मास्टर पिस’ हो यस अघिल्लो शताब्दीको । कवि घिमिरेकै बाटो पैल्याएका तर त्यति चर्चामा नआएका कविहरू श्रीहरि रुपाखेती र श्रीहरि फुयाँल पनि सरलता र कला विधानलाई संयोजन गर्ने कुशल स्रष्टा हुन् ।

युगकवि सिद्धिचरण श्रेष्ठ शोक, स्वच्छन्दता र विम्बका प्रतिमूर्ति हुन् । विम्ब योजनले यदाकदा सरलभन्दा जटिलजस्तो लागे पनि प्रकृति र जीवनलाई टिप्ने शैली उनको पनि मौलिक छ । ‘मेरो प्रतिविम्ब’, ‘विश्व व्यथा’ ‘तिम्रो बासित पैसा छैन’ उनका प्रतिनिधि अभिव्यक्ति हुन् ।

कवि गोपालप्रसाद रिमालको ‘आमाको सपना’ कवि भूपी शेरचनको ‘निर्झर’ र ‘शुभ्र शान्त स्निग्ध शिखा मैनबत्तीको’ सरल भईकन प्रकृति र भावनाको संयोजित अभिव्यक्ति पोख्न औधी सफल छन् । वैरागी काइँलाको ‘मातेको मान्छेको भाषण मध्यरातको सडकसित’, वानीरा गिरीको ‘जीवन थायमरु’ हरिभक्त कुटुवालको ‘यो जिन्दगी खै के जिन्दगी’ र ‘बद््नाम मेरा यी आँखाहरू’ सरल, सरस र चोटिला छन् ।

गुरुप्रसाद मैनालीका कथाहरू औधी सरल छन् । ग्रामीण परिवेशका जीवन अनुभूति उठाइएकाले पनि मैनालीका कथाले सरल भाषा शैलीको माग गर्दछ । पहाडी ग्रामीण जीवन प्रकृतिमय छ, पवित्र छ । यही पवित्रता र प्रकृतिमयता उनका कथाका छुट्टै प्लट हुन् । छिमेकी, परालको आगो, बिदा, नासो, कर्तव्य, सहिद लगायतका कथाहरू अत्यन्तै सरल प्रस्तुतिमा छन् । शाब्दिक जटिलताबाट कथा दुरूह होला भन्ने विषयमा कथाकार अत्यन्तै सचेत छन् । त्यसैले गुरुप्रसाद मैनालीका कथा नेपाली ग्रामीण परिवेशका मानिसलाई आफ्नै लाग्छ । उनको कथाधारलाई भेट्टाउने कथा पाउन नेपाली वाङ्मयले लामो प्रतीक्षा गर्नुपर्ने अवस्था छ । त्यो बाटो पक्डिने क्रममा रमेश विकल, युवराज मैनाली, इन्द्रबहादुर राई रहेका छन् । विकलका कथाहरूमा सामाजिक परिवेश र मनोविज्ञानको द्वन्द्वात्मक निकास खोजिएको छ । इन्द्रबहादुर राईले आयामेली सिद्धान्तमा उल्लेख गरेका कुराहरू प्रयोग गरेका छन्, ती जीवनका भोगिँदा अनुभूति हुन् तर कथा परिवेश फरक हुने नै भए । चालिसको दशकदेखि कथामा यथार्थवादी धार लिएर ‘मुर्दा बोल्यो’जस्तो सशक्त कथा लिएर आएका युवराज मैनाली नेपाली लघु कथामा झनै ‘पृथक् धार’ प्रयोग गर्न पुग्छन्, उनका लघुकथा लघु प्रस्तुतिमा सामाजिक यथार्थलाई विस्तृत र सरल रूपमा उठाउन सफल छन् ।

कथा÷उपन्यासकार बिपी कोइराला सरल छन्, तर उनले उठाएका पात्रहरू ग्रामीण चिन्तनभन्दा माथि छन् । उनको दर्शन र राजनीतिको आयामले पनि कथा परिवेशलाई प्रभाव पार्न खोज्छ । उनका कथा पात्रहरू मनोभावका ऊहापोहमा घनिभूत छन्, मनोदशाको अन्तर्द्वन्द्वमा अति नै गाढा छन् । त्यसैले मैनालीका शब्द–प्रस्तुति बिपीका आख्यानमा अभाव हुने नै भयो । ‘तीन घुम्ती’, ‘नरेन्द्र दाइ’ ‘मोदी आइन’ वा ‘कर्णेलको घोडा’, ‘शत्रु‘का अन्तरमनको छटपटी चित्रण गरी पात्रलाई त्यो परिवेशबाट बाहिर ल्याउन बिपी कुशाग्र छन् । बिम्बात्मक रूपमा त्यो छटपटी नेपाली राष्ट्रिय परिवेशको हो भन्नेहरू पनि छन् । वास्तविकता त्यसो हुन–नहुन पनि सक्छ, तर बिपी स्वतन्त्रता र समाजवादका पक्का पारखी भएको पुष्टि आफ्ना आख्यानबाट गरिरहेका छन् । उनको बाटोको एक भाग पारिजात लगायत राल्फालीहरूले पनि समाएका छन् । पारिजातका ‘शिरीषको फूल’, ‘मैले नजन्माएको छोरो’, ‘बैंसको मान्छे’ मञ्जुलको ‘छेकुडोल्मा’ यसका उदाहरण हुन् । दौलतविक्रम बिष्टको ‘चपाइएको अनुहार’ बिपीको मनोवैज्ञानिक प्रवृत्ति उम्दा रूपमा अँगाल्छ तर उनको प्रयोगको अर्को भाग झन्डै अलपत्र छ । उनको यौन मनोविज्ञान पक्डिने आख्यानकारहरू देखिएका छैनन् ।

आधुनिक नेपाली साहित्य सधैँ सरलतामा देखिँदैन । शब्द चयन, वाक्य विन्यास र प्रस्तुति संरचनाले सरलता गुमाएको र जटिलता भित्र्याएको पनि देखिन्छ । क्लिष्ट भाषा, जटिल शब्द र भाँचिएका अभिव्यक्तिले सर्जक र पाठकबिच कृति सम्बन्ध सेतु बन्न नसकेको देखिन्छ । सर्जक र पाठक बिचको स्वाभाविक सम्बन्ध स्थापित गर्न नसकेको देखिन्छ । यसले साहित्य भनेको सम्प्रेषण दुरूह र न्यून बोधगम्यता हो कि भन्ने सन्देश पनि गएको देखिन्छ । भलै कि सर्जकमा यस प्रकारका भावना र आग्रह थिएन होला ।

जगदीश शमशेरको ‘नरसिंह अवतार’ क्लिष्ट छ । क्लिष्टताले जटिलता दिन्छ । पूरै कृति पढिसक्दा पनि कवि भावनाहरू पाठकसम्म सम्प्रेषण हुँदैनन् । शब्दहरू कवि भावनालाई पाठकसम्म पुर्‍याउने सामर्थ्य सूत्र बन्न आनाकानी गर्छन् ।

मोहन कोइराला अर्का त्यस्ता कवि हुन्, जसका कविताको स्वाद लिने सामर्थ्य सर्वसाधारण पाठक राख्नै सक्दैनन् । ‘फर्सीको जरा’, ‘मोहन कोइरालाका कविता’हरू बौद्धिकताका सागर भईकन पनि सर्वसाधारण त्यस सागरमा डुबुल्की मार्न सक्दैनन् । स्वाद लिन मात्र होइन, चाख्न सक्दैनन् । फर्सीको जरा प्रकृति हो कि जीवन, व्यङ्ग्य हो वा यथार्थ सामान्य पाठक पत्तै लगाउँदैन ।

ईश्वर वल्लभ समकालीन वाङ्मयका अत्यन्तै शीर्ष स्रष्टा हुन् । उनका कवितामा समाजका दुःख र पीडाहरू बौद्धिक रूपमा पोखिएका छन् । उनको वैयक्तिक पीडा, उनको आमाको आत्महत्या गर्नुको यथार्थ क्रन्दन, विद्रोह र विस्फोट आफै माध्यम र विम्ब योजनबाट कवितामा पोखिएका छन् तर पनि सर्वसाधारणका कविता बन्ने सामर्थ्य तिनले कमै राख्दछन् । जस्तो कि ‘मेरी आमाले आत्महत्या गरेको देश’ मा उनी भन्दछन् ः

‘मेरी आमाले आत्महत्या गरेको देश,
आत्महत्या, कहिले फुलेको कोपिलाजस्तो
फूल भएर फक्रिन चाहन्छ
आत्महत्या, कहिले विशाल गगनचुम्बी
भवनहरू भएर उभिन चाहन्छ
आत्महत्या, कहिले ठुलो पहिरो भएर
जान चाहन्छ
आत्महत्या, कहिले सडकभरि ओच्छिन चाहन्छ
आत्महत्या, महान् लहर भएर सागरमा बहकिन चाहन्छ
आत्महत्या, जहाँ जहिले पनि
जहाँ पनि हुन चाहन्छ
आत्महत्या, तिम्रो बुइँगलको सिलिङमा
कहीँ सिउरिन चाहन्छ ।’

वल्लभका ‘आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन्’, ‘समान्तर’, ‘कस्मै देवाय’, ‘एउटा सहरको किनारा’, ‘धुवाँको जङ्गल’ सबै नै आगोका अभिव्यक्ति हुन्, असाधारण अभिव्यक्ति हुन्, विद्रोह र विस्फोटका बौद्धिक अभिव्यक्ति हुन् तर तिनको अर्थवत्ता कतिपय सन्दर्भमा पारिवेशिक, कतिपयमा स्तरवैशेषिक छ तर काव्यको अभिव्यक्ति समान र सर्वजनीन भईकन स्वादिला भइदिनु राम्रो हो, तैपनि सर्जकको वैयक्तिक प्राज्ञ नै यसको अन्तिम निर्णायक हुने गर्दछ । सामान्य मानिस त निजी स्वभावको निर्णायक हो भने कवि–साहित्यकारहरू त्यसको उपल्लो प्रयोग गर्ने सामर्थ्यमा हुने नै भए ।

त्यसो त कवि मात्र जटिल र बोधदुरुह बनेका होइनन्, समालोचक जसले कृतिको गवेषण र मूल्य समीक्षा गर्नुपर्छ, उनीहरू पनि जटिल नै देखिएका छन् । ‘नेपाली उपन्यासका आधारहरू’ मा समालोचक इन्द्रबहादुर राईलाई पढ्न ठुलै साहित्य पारखी चाहिन्छ । कृष्णचन्द्र सिंह प्रधान पनि झन्डै राईकै तुलनामा जटिल छन् । मुरारीप्रसाद रेग्मीको मनोवैज्ञानिक मूल्य विवेचना सर्वसाधारणलाई जटिल हुने नै भयो, डा अभि सुवेदीमा रहेको बौद्धिकताको पौलले समालोचनालाई फलामे चिउरा बनाएको छ । कतिपय समालोचकहरू कृति र कृतित्वको विश्लेषणमा आफै सर्जकजस्ता पनि देखिएका छन् ।

यसको मतलव समालोचकहरू पुस्तक समीक्षा र वैयक्तिक पृष्ठभूमिमा सीमित रहुन् भन्न खोजिएको होइन, मूल्य समीक्षकहरू जति सरल र सम्प्रेष्य हुन्छन्, कलाकर्म त्यति नै सरल र जीवन्त बन्ने गर्दछ । समालोचकको काम सर्जकको मूल्य विवेचना गरी उसलाई मूल्य चेत दिनु पनि हो । राई वा प्रधानका समालोचनाले मूल्य चेत नदिएका होइनन्, तर सरल भइदिए कति स्वादिला हुने थिए भन्ने मात्र औँल्याइ हो । रामकृष्ण शर्मा, ताना शर्मा, डा ईश्वर बरालमा कला मूल्य विवेचना पक्ष कमजोर थियो, तर उनीहरू सरल थिए । वासुदेव त्रिपाठीमा विश्लेषण विस्तृतताले विश्लेषित विषय विधा छायामा पर्ने सम्भावना देखिन्छ । मोहनराज शर्मा, खगेन्द्रप्रसाद लुुइटेल, गोविन्दप्रसाद भट्राई, युवराज मैनाली, लक्ष्मणप्रसाद गौतम, रामप्रसाद ज्ञवाली सरल छन् । खगेन्द्रप्रसाद लुुइटेलबाट प्रवर्तन र प्रयोग भएको संरचनावादी समालोचना यसलाई सरल र बोधगम्य बनाउने अभियान पनि हो ।

आधुनिक समालोचना सरल बन्दै गएको त छ, समालोचकीय धर्म र वृत्तिबाट पातलिँदै पनि गएको छ । केही सर्जक त साहित्य सरल बन्दै गएकोले अब समालोचनाको आवश्यक नै पर्दैन भन्न थालेका छन् भने केही सर्जकहरू सिर्जना गर्न नसक्ने मात्र समालोचनामा आउँछन् भनी समालोचना विधाप्रति अन्याय गर्न खोजिरहेका छन् । यस्ता अतिवादी सोचले साहित्यमा सहिष्णुता र एकाङ्कीपन मात्र ल्याउन सक्छ । सरलताका नाममा प्राध्यापकीय समीक्षा र शैक्षिक बढुवाका कृतिले पाएको समालोचकीय दर्जाले समालोचना विधालाई सतही बनाउँदै लगेको छ । समालोचना सिर्जनालाई मूल्य निर्देश गर्ने सिर्जना हो । सिर्जनाको विवेचना, मूल्य गवेषण र मार्गदर्शन गर्ने समालोचना सरल, निष्पक्ष र मूल्य बोधी हुनुपर्दछ ।

समकालीन कवितामा देखिएका हरिभक्त कटुवाल र दिनेश अधिकारी सरल, स्वादिला र हार्दिक छन् । कुटुवालका कविता भनौँ कि गीत, डायरी भनौँ कि अटो भरिएका शब्दहरू, सबैमा मन पोखिएका छन्, जीवनका कठिनतम भोगाइको सरलतम प्रस्तुति भेटिन्छ । दिनेश अधिकारी त्यसरी नै पोखिएका छन् । दिनेशका कवितामा नेपाल बोल्छ, गीतमा तराई पहाड, हिमाल, झरना, ताल, पाखा पखेरा एकसाथ झङ्कृत हुन्छन् । कवि कलानिधि दाहालको कविता शक्ति यति ओजिलो छ कि उनी सरल भईकन बेजोड बौद्धिकतामा रहन्छन्, विद्रोह र सौन्दर्यचेत उनका अक्षरका जाज्वल्य शक्ति हुन् । नवराज लम्साल र लालगोपाल सुवेदी त्यत्तिकै जाजल्व छन् । युवा कवि सुदेश सत्याल छन्दीय परम्परा र लयात्मक प्रस्तुतिमा आशा लाग्दो देखिएका छन् ।

निबन्धका विजय चालिसे, लघुकथा र व्यङ्ग्यविधामा युवराज मैनाली र नरेन्द्रराज पौडेल, आख्यानमा बाजुराम पौडेल, उपन्यास÷आख्यानमा सर्वज्ञ वाग्ले आआफ्नै मौलिक वैशिष्ट्यमा छन् । शाब्दिक सरलता, विषयवस्तुको गहनता र बोधगम्यता चालिसे, मैनाली, पौडेल र वाग्लेका सिर्जनाका विशेषता हुन् ।

साहित्यमा देखिएको डायस्पोरिक अभियानले धेरै स्रष्टाहरूलाई जन्माएको छ । साथै प्रविधिको विकासले सहज बनाएको साहित्य संवादले साहित्यका विधाहरू माझिँदै गएका छन् तर प्रकाशनभन्दा संवाद र विद्युतीय प्रकाशनले शास्त्रीय मूल्यको प्रकाशन एवम् सङ्ग्रह विशिष्टता भने गुम्दै गएको छ । डिजिटल वालहरूमा लेखिएका सिर्जनाहरू कसले डिजिटल अर्काइभ गर्ने ? भन्ने चुनौती थपिएको छ । परिणामतः डिजिटल वालमा अङ्कित सिर्जना केही दिन, महिना भाइरल भए पनि त्यसपछि हराउन के बेर ?

साहित्यमा विविध प्रयोग र विधाहरू पनि थपिएका छन् । हायकू, सुसेली, बाछिटा, वाका, खोरिया, तान्का आदि आआफ्नै सहजता र शैलीमा प्रयोग हुन थालेका छन् । अविधाहरू पनि विधाका रूपमा देखिन थालेका छन् । लेखाइको आयतनमा निबन्धविधा साँघुरिएको छ तर नियात्रा लगायतका गैरआख्यानहरू निबन्धमा प्रवेश गर्दै छन् । विधागत व्याख्या विश्लेषणमा अस्पष्टता रहे पनि पाठकहरू आआफ्ना संवादमा साहित्य आस्वाद गरिरहेका छन् ।

सारमा भन्दा सर्जकहरू जटिल नभई सरल र दुरूह नभई बोधगम्य बन्दा सिर्जना कालजयी बन्छ, जीवन्त बन्छ र शाश्वत बन्छ भन्न खोजिएको मात्र हो । अर्थ, अभिव्यक्ति र अनुभूति नै साहित्यको महत्तम विषय हो । कला आत्माभिव्यञ्जनामात्र होइन, अभिव्यक्ति पनि भएकाले यो सरल र स्वादिलो बन्नुपर्दछ भन्न खोजिएको मात्र हो । यो पूर्वाग्रह नभई सर्जकप्रतिको आग्रह हो, आलोचना नभई अनुरोध हो । सर्जक स्वायत्त र प्राज्ञ हुन्, जसलाई आग्रह र अनुरोध गर्न पाइन्छ, ताकि आउने दिनमा सर्जकहरू कालजयी होउन् । डिजिटल डिक्टेरसीप र कृत्रिम बौद्धिकतालाई उछिन्न सकुन् । स्रष्टा, सर्जक र समाज नछुट्टियोस् । (अभिव्यञ्जना यात्राप्रतिबाट)