अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५४ | Colorodo: 22:09

भट्टिवाल्नी साँइेलीमा अनुवाद

आचार्य प्रभा २०७७ फागुन १६ गते १९:२८ मा प्रकाशित

(कविता)
म,
बरु भट्टि पसलकी
साँइेली हुँदी हुँ त,
बेसरम आफ्ना
ग्राहकहरुलाई भन्थें
आउनुहोस् मीठो छ
चाख्नु होस् रक्सी
चाँडै मात लाग्छ
एक चुस्किमै मात्नुको
आनन्दले बिभोर बनाउँछ,
यस्तै आव्हानको साथमा
आहा!!!निर्लज्जसँग
म आफ्नो ब्यापार बढाउँथें
नाफाको पैसाले झुप्रो भए’नी
कटेरो ठड्याउँथें शायद,
तर…,
त्यसो हुन सकिन र,
यो अक्षरको नाङ्ले पसल थापेर
साहित्यरुपी सिद्रा बजारमा
उही अपाहिज पारीजात बन्ने
अभीप्शाले अचेल म पनि
पारीजात झैं अशक्त
भएकी छु ।
मन,मथिङल थङ्थिलो बनेको छ
सपाङ शरीर भएपनी
मन अपाङ्ग बनेको छ
निराशाको खडेरिले अन्तर्मन
सुकाएको छ,
इन्द्रेणी सजाउने सपनाहरु
रातको प्रथम प्रहरमै
टुट्न थालेको छ ।
हो,अचेल यही सोंचमा
म आफुलाई भट्टिवाल्नी
साँइेलीमा अनुवाद गर्ने गर्छु
र,यो गर्‍हौं टाउकाका कल्पनालाई
भावुक पारीजात अनि
कल्पनाशिल कवयित्रीबाट
निक्कै पर सारेर
मुस्कान बाँड्दै
आफ्नो ब्यापारको बिज्ञापन गर्ने
तिनै साँइेली,माइेलीका हुलहरुमा
आफुलाई मिसाउँछु ।