अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०७ | Colorodo: 08:22

च्याम्पियन्स लिग फुटवल – रियल मड्रिडसहित ७ टोली नक आउट चरणमा प्रवेश

बिआरटीनेपाल २०७७ मंसिर २५ गते ६:४९ मा प्रकाशित

युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा गएरातिका खेलहरुपछि स्पेनिस फुटबल क्लब रियाल मड्रिडसहितका ७ टोली नक आउट चरणमा प्रवेश गरेका छन् ।जित्नैपर्ने दबाबमा रहेको रियाल मड्रिडले गएराति जर्मनीको बोरुसिया एम्ब्याचलाई २–० ले पाखा लगायो ।समुहको अर्को खेलमा इटालीको इन्टर मिलानले युक्रेनको शख्तरसँग गोलरहित बराबरी खेल्यो ।

रंगभेदी टिप्पणीपछि मंगलबार राति रोकिएको खेल हिजो पुनः खेलाइँदा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले टर्कीको इस्तानबुल बसाक्शेरलाई ५–१ ले पाखा लगायो । जितसँगै पिएसजी पनि नक आउट चरणमा उक्लियो ।गएरातिका खेलहरुपछि युएफा च्याम्पियन्स लिगको राउण्ड अफ सिक्सटिनमा पुग्ने सबै १६ टोलीको टुंगो लागेको छ ।

यसपटक स्पेन र जर्मनीबाट चार चार वटा टोली नक आउट चरणमा पुग्दा इंग्ल्याण्ड र इटालीबाट तीन तीन वटा टोलीले ठाउँ बनाएका छन् । यसैगरी फ्रान्स र पोर्चुगलबाट एक एक वटा टोली अन्तिम १६ मा पुगेका छन् ।अन्तिम १६ मा पुगेका मध्ये जर्मनीको बायर्न म्युनिख र बोरुसिया डर्टमण्ड, इंग्ल्याण्डका चेल्सी, लिभरपुल र म्यानचेस्टर सिटी, इटालीको युभेन्टस, स्पेनको रियाल मड्रिड तथा फ्रान्सको पेरिस सेन्ट जमेर्न (पिएसजी)लाई वरियतामा राखिएको छ ।

राउण्ड अफ सिक्सटिनको खेल तालिका निकालिंदा यी ८ टोलीले स्पेनको बार्सिलोना, एथ्लेटिको मड्रिड र सेभिया, इटालीको एटलान्टा र लाजियो, जर्मनीको आर.बी लेप्जीग र बोरुसिया एम्ब्याच तथा पोर्चुगलको एफ.सी पोर्टोसँग खेल्नेछन् ।

प्रतिक्रिया