अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०९ | Colorodo: 06:24

विदेशको दसैँ के दसैँ

श्रीराम लुइटेल २०७७ कार्तिक ६ गते १२:१२ मा प्रकाशित

दसैँमा आउनु तिहारमा आउनु
आफन्त भन्छन् नि
को बुझ्छ मेरो मनको व्यथा
सजिलै ठान्छन् नि

टिकाको दिन, काम नगई हुन्न
यस्तै छ रित यहाँको
छोरा र छोरी स्कुलमा जान्छन्
टिका नि बेलुकाको

कहाँ पाउनु यहाँ रोटे पिङ्ग खेल्न
खोइ कस्तो चाहाड हो
साथी भाइ मिली खर्क मा जम्ने
त्यो पनि सपनै भो

ऐले त गाउँ नि एकान्त छ रे
सब चले सहरमा
लाला र बाला, बुढा र पाका
मात्रै छन् गाउँ घरमा

हाल्दैनन् अरे, बबियोको पिङ्ग
हाम्रो त्यो खर्कमा
ओखर र बुर्जा खेल पनि हुन्न
दसैँ र तिहारमा

न राम्रो नाना ले त्यो खुसी दिन्छ
न खसी कराउँछ
दसैँ र तिहारमा आउने त्यो जोस
त्यसै नै हराउँछ

राति नै उठेर पिङ्ग खेल्न जान्थ्यौ
अँध्यारै खर्कमा
जाडोले पनि छुन्न थ्यो हामीलाई
कट्टु र फ्रकमा

अम्बाको बोट फलेर टन्नै
भुईँमा लत्रिन्थ्यो
लप्सीका भारी बेचेर दाँजै
दसैँ नै उत्रिन्थ्यो

त्यो सबै सम्झी, रमाउँदै बस्छु
विदेश विहारमा
फोनमा नै फेरि लगाउला बैनी
यो टीको तिहारमा