अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३० | Colorodo: 03:45

कौवालाई बेल पाक्यो हर्ष न बिस्मात

श्रीराम लुइटेल २०७७ कार्तिक १९ गते १२:४९ मा प्रकाशित

का का कौवा बेल पाक्यो रे भन्छन्
न हर्ष न बिस्मात यो जित्यो रे भन्छन्
कोही भन्छन् यो राज्यमा राता टाउके आयो
कोही भन्छन् त्यो राज्यमा सेता टाउकेले पायो

राता टाउके सेता टाउके जल्ले जिते पनि
गरी खान्या हामीलाई, उस्तै उस्तै त हो नि
राता टाउके भन्छन् धाँधली भयो अरे
सेता टाउके भन्छन् हामीले जित्छौ भरे

राजनीति जहाँ पनि रहिछ फोहोरी खेल
नेता नेता बाझेझई, जनताले झेल
एउटै कुरा यो पार्टीलाई धेरै राम्रो लाग्ने
त्यही कुरा त्यो पार्टीलाई खत्तमै भई जाग्ने

दिन का दिन पैसा माग्छन्, डोनेसन भनेर
कैले यसले देश सक्यो, लौ गर हेल्प भनेर
पायो भने इमेल तिम्रो शाखा सन्तान लाग्छन्
एकै दिन मा १५ देखि ३० चोटि माग्छन्

त्यसै भएर म त हेर बस्छु मौन भई
भोट हाल्न पनि आफू खुसुक्क गई
न त कसको सपोर्ट गर्छु, न त गर्छु विरोध
आफ्नै काम बरु, पुटु पुटु गर्छु

जल्ले जिते पनि यहाँ, म त उफ्रिन्न
हारे पनि एउटा हार्छ, मन छैन खिन्न
यै राजनीति को कारण, न हौ छिन्न भिन्न
रुख भरि बेल पाक्छ, कौवा लाई हुन्न

प्रतिक्रिया