अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३८ | Colorodo: 12:53

म्यानचेस्टर युनाइटेडमाथि टोटनह्यामको शानदार जित

बिआरटीनेपाल २०७७ असोज १९ गते १:४४ मा प्रकाशित

जोसे मोरिन्होको टिम टोटनह्यामले उनको पूर्व टिम म्यानचेस्टर युनाइटेडलाई स्तब्ध पारेको छ। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई ६–१ ले पराजित गरेको हो ।२८ औँ मिनेटमा एन्थोनी मार्सल सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको म्यानचेस्टर युनाइटेडलाई पराजित गर्नेका लागि ह्यारी केन र सन हेङ्ग–मिनले दुई–दुई गोल गरे । यस्तै एनडोम्बेले र औरिएरले एक–एक गोल गरे ।

दोस्रो मिनेटमै पाएको पेनाल्टीमा ब्रुनो फेर्नान्डेसले गोल गरी म्यानचेस्टर युनाइटेडलाई सुरुवाति अग्रता दिलाएका थिए। तर सो अग्रता जोगिन सकेन ।एनडोम्बेलेले चौथो मिनेटमा टोटनह्यामका लागि बराबरी गोल गरे । सनले सात र ३७ औँ मिनेटमा गोल गरेका हुन्। यस्तै केनले ३० र ७९ (पेनाल्टी) औँ मिनेटमा गोल गरे भने औरिएरले ५१ औँ मिनेटमा गोल गरी टिमलाई शानदार जित दिलाएका हुन् ।

चार खेलबाट सात अंक जोडेको टोटनह्याम छैटौँ स्थानमा छ । तीन खेलबाट मात्रै तीन अंक जोडेको म्यानचेस्टर युनाइटेड १६ औँ स्थानमा छ । लिग अन्तर्गत आइतबार राति भएका अरु खेलमा साउथह्याम्पटनले वेष्ट ब्रोमलाई २–०, आर्सनलले शेफिल्ड युनाइटेडलाई २–१ तथा वुल्भ्सले फुलह्यामलाई १–० ले पराजित गरेका छन् ।

प्रतिक्रिया