अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२५ | Colorodo: 00:40

चाहिन्न विज्ञापन फूललाई

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा २०७७ भदौ २८ गते ७:५८ मा प्रकाशित

१-फुल्छन् बुकी फूल जहाँ छ लेक
गुराॅंस छन् रङ्ग उतै अनेक
फैली जरा पर्वत कापभित्र
सुनाखरी छन् रसदार पत्र ।

२-पारी तलै कण्टक शूललाई
गुलाफका छन् शिरका उचाइ
यी मौन छन् दृष्टि हजार पर्छन्
बनेर बाठा न त दम्भ गर्छन् ।

३-जाई जुही नाम अनेक जात
बोक्ने कुनै कल्मष छैन आंत
छन् मृत्तिकामा कति रूप रङ्ग !
हेरौ यिनै दर्पण माझ ढंग ।

४-गमक्क छन् हार्दिकले गलामा
चढ्छन् यिनै अर्चनका थलामा
खेलेर बाधा पथमा सिॅंगौरी
जहाॅं जहाॅं हुन् तन चुम्छ मौरी ।

५-पचाउॅंछन् शीत र तापलाई
बचाउॅंछन् कोमल माथलाई
यी हुन् कला सुन्दर विश्वभाषा
आफैँ म भन्ने छ र के तमासा ?

६-गले कहाॅं आदिम सृष्टि रूप ?
आई बनाए थल कुन कुरूप ?
झुल्छन् जहाॅं जन्म उतै रसाई
चाहिन्न विज्ञापन फूललाई !!

*
लप्सीबोट, गोरखा;
हाल: सरस्वतीनगर, काठमाडौॅं – ६ ।