अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४७ | Colorodo: 17:02

विश्वेश्वरप्रसाद कोइरालाको कथाकारिता

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल २०७७ भदौ २४ गते ७:२७ मा प्रकाशित

१. परिचय
कृष्णप्रसाद र दिव्यादेवी कोइरालाका सुपुत्रका रूपमा १९७१ साल भदौ २४ गते भारतको बनारसमा जन्मिएका विश्वेश्वरप्रसाद कोइरालाको शिक्षादीक्षा बनारसमै भएको हो । यिनले बी. ए., बी. एल. सम्मको अध्ययन गरेका छन् । सानैदेखि राजनैतिक वातावरणमा हुर्किएका र त्यसैप्रति विशेष चाख भएका कोइराला नेपाली राजनीतिका क्षेत्रमा विशिष्ट व्यक्तिका रूपमा परिचित छन् । राजनीतिका क्षेत्रमा यिनको संलग्नता निम्नलिखित देखिन्छ:
बनारसमा अङ्ग्रेज विरोधी अभियानमा संलग्न र पक्राउ (१९८७)
दार्जिलिङमा ट्युसन र वकालत (१९९५)
काङ्रेस सोसलिस्ट पार्टी विहार शाखाको सङ्गठन सचिव (१९९९)
भारत छोडो आन्दोलनमा सक्रिय (१९९९)
अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेसको संस्थापक संयोजक (२००३)
नेपाली राष्ट्रिय काङ्ग्रेसको संस्थापक कार्यवाहक सभापति (२००४)
नेपाली काङ्ग्रेसको संस्थापक (२००६)
बैरगनिया“ सम्मेलनको आयोजक (२००६)
क्रान्तिताका नेपालका पूर्वीक्षेत्रको प्रमुख कमान्डर (२००६)
गृहमन्त्री (२००८)
रङ्गुनमा आयोजित एसियाली समाजवादी सम्मेलनमा पर्यवेक्षक (२०१०)
जापानमा भएको समाजवादी सम्मेलनमा सक्रिय सहभागी (२०११)
नेपाल तरुण दलको गठनमा सक्रिय (२०१२)
भद्र अवज्ञा आन्दोलनको नेतृत्व (२०१४)
संसद सदस्य (२०१५)
प्रथम जननिर्वाचित प्रधानमन्त्री (२०१६)
काराबास (२०१७–२०२५)
भारत निर्वासन (२०२५–२०३३)
राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश आगमन (२०३३)

राजनैतिक क्षेत्रका अतिरिक्त साहित्यिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेका विश्वेश्वरप्रसाद कोइरालालाई २०३८ सालमा साहित्यिक पत्रकार सङ्घद्वारा अभिनन्दन गरियो । विभिन्न ठाउँमा उनका सालिक निर्माण गरिएको छ साथै उनका नाममा हुलाक टिकटसमेत प्रकाशन भएको छ । यिनको मृत्यु २०३९ साल साउन ६ गते, काठमाडौंमा भएको हो ।

अहिले विश्वेश्वरप्रसाद कोइरालाको शतवार्षिकी समारोह विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । यो राम्रो काम हो तर कतिपयले विश्वेश्वरप्रसाद कोइरालालाई हाम्रो मात्र मान्छे भनी राजनीतिक घेरामा सङ्कुचन गरेको पनि पाइन्छ । यसो गर्नु राम्रो होइन । राजनीतिक दृष्टिले विश्वेश्वरप्रसाद कोइरालालाई कसैले आफ्नो ठाने पनि साहित्यिक दृष्टिले यिनलाई निजीकरण गर्ने प्रयत्न गरिनु नेपाली साहित्यका लागि दुर्भाग्यपूर्ण काम हो । यसर्थ साहित्यकार विश्वेश्वरप्रसाद कोइरालालाई नेपाली साहित्यको साझा व्यक्तित्वका रूपमा लिनुपर्छ, यसैमा नेपाली साहित्यको कल्याण छ ।

भारतको बनारसमा जन्मिएर त्यतैबाट उच्च शिक्षा हासिल गरेका विश्वेश्वरप्रसाद कोइरालालाई साहित्य लेखनतर्फ प्रवृत्त गराउन हिन्दी साहित्यकार शान्तिप्रिय द्विवेदीको स्पष्ट हात रहेको देखिन्छ । ‘…साहित्यको उद्यानमा तिनताका म केवल भट्किरहेको थिएँ, …शान्तिप्रिय द्विवेदीले मेरो हात समातेर साहित्यको उद्यानमा घुसाए’ (कोइराला, २०४०: १४८) भन्ने विश्वेश्वरप्रसाद कोइरालाको आत्मकथनबाट यस कुराको पुष्टि हुन्छ । हिन्दीका माध्यमबाट आफ्नो कथायात्रा सुरु गरेका कोइरालाका हिन्दी भाषामा लेखिएका ‘वहाँ’ (हंस, १/७, १९८७), ‘पथिक’ (हंस, १/९, १९८७) ‘अपनी ही तरह’ (हंस, २/१–२, १९८८), ‘भैयादाइ’ (विशाल भारत, ४/१, १९८८), ‘होड’ (हिमालय, १/७, २००३) जस्ता कथाहरू प्रकाशित भएका छन् ।

१९९२ सालदेखि नेपाली कथा लेखन–प्रकाशनतर्फ प्रवृत्त भएका विश्वेश्वरप्रसाद कोइरालाका निम्नलिखित कृतिहरू प्रकाशित छन्:
कथा सङ्ग्रहः
दोषी चश्मा (२००६),
श्वेतभैरवी (२०४४),
विश्वेश्वरप्रसाद कोइरालाका कथा (२०५०) ।

उपन्यास:
तीनघुम्ती (२०२५),
नरेन्द्र दाइ (२०२७),
सुम्निमा (२०२७),
मोदिआइन (२०३६),
हिटलर र यहुदी (२०४२),
बाबु, आमा र छोरा (२०४५) ।

संस्मरण:
आफ्नो कथा (२०४०),
जेलजर्नल (२०५४),
विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त (२०५५) ।

कविता सङ्ग्रहः
विश्वेश्वरप्रसाद कोइरालाका कविता (२०५९) ।

विश्वेश्वरप्रसाद कोइरालाका उपर्युक्त पुस्तकाकार कृतिहरूका अतिरिक्त केही निबन्ध र समालोचनात्मक रचनाहरू पनि फुटकर रूपमा प्रकाशित भएका छन् । यो आलेख विश्वेश्वरप्रसाद कोइरालाको कथाकारितामा केन्द्रित छ ।

२. विश्वेश्वरप्रसाद कोइरालाका कथामा मनोविश्लेषणात्मकता
शारदा (१/१०–११, १९९२ मार्ग–पौष) पत्रिकामा प्रकाशित ‘चन्द्रवदन’ शीर्षक कथाका माध्यमबाट नेपाली कथाका क्षेत्रमा प्रवेश गरेका विश्वेश्वरप्रसाद कोइराला नेपालीमा मनोवैज्ञानिक/मनोविश्लेषणात्मक यथार्थवादी कथा लेखन परम्पराका प्रारम्भकर्ता हुन् । ‘चन्द्रवदन’ यिनको मात्र प्रथम कथा नभएर आधुनिक नेपाली कथा साहित्यकै प्रथम मनोवैज्ञानिक यथार्थवादी कथा हो । समाजको वर्णन गरी लेखिएका कथालाई सामाजिक कथा भनिएझैँ मनको विश्लेषण गरेर लेखिएका कथालाई मनोवैज्ञानिक कथा भनिन्छ । यीमध्ये समाज बाह्य यथार्थ हो भने मन आन्तरिक यथार्थ हो । सामाजिक यथार्थको अभिव्यक्ति गरी लेखिएका कथालाई सामाजिक यथार्थवादी कथा भनिएझैँ मानसिक यथार्थको अभिव्यक्ति गरी लेखिएका कथालाई मनोवैज्ञानिक यथार्थवादी कथा भनिन्छ । विश्वेश्वरप्रसाद कोइरालाका कथामा सामाजिक यथार्थभन्दा मानसिक यथार्थको प्रस्तुति पाइने हुँदा यिनलाई मनोवैज्ञानिक यथार्थवादी कथाकार भनिएको हो । कोइरालाका कथाहरू दोषी चश्मा (२००६) र श्वेतभैरवी (२०४४) नामक सङ्ग्रहहरूमा सङ्कलित छन् । यिनका यी दुई सङ्ग्रहहरूमा सङ्गृहीत कथाका अतिरिक्त अन्य केही फुटकर नेपाली र हिन्दी कथाहरू समेतको सङ्कलन विश्वेश्वरप्रसाद कोइरालाका कथा (२०५०) पनि प्रकाशित भएको छ ।

कथाकार विश्वेश्वरप्रसाद कोइरालाको कथायात्रालाई अनेक चरण एवं उपचरणमा विभाजन गरेको पाइए पनि यिनको नेपाली कथा लेखनका सम्पूर्ण समयावधिको मूल प्रवृत्ति मनोविश्लेषणात्मकता नै हो । यिनले मनोविज्ञानका विभिन्न पाटाहरूमध्ये यौनमनोविज्ञानलाई विशेष ढङ्गले प्रस्तुत गरेकाले यिनलाई यौनमनोवैज्ञानिक वा रतिरागमा केन्द्रित नेपालीका ज्येष्ठ मनोवैज्ञानिक यथार्थवादी कथाकार मानिन्छ ।

मनोवैज्ञानिक यथार्थवादी कथाकार विश्वेश्वरप्रसाद कोइराला मुख्यतः फ्रायडवादबाट प्रभावित देखिन्छन् । यिनमा फ्रायडको मनोविश्लेषणका अतिरिक्त अल्फ्रेड एडलर (१८७०–१९३७) को वैयक्तिक मनोविज्ञान र कार्ल गुस्ताभ युङ् (१८७५–१९६१) को विश्लेषणात्मक मनोविज्ञानको पनि प्रभाव परेको देखिन्छ । आफ्नो साहित्य सिर्जनाको मूल प्रेरणास्रोत शान्तिप्रिय द्विवेदीलाई मान्ने कोइराला चेखव, लरेन्स, टल्स्टाय, गोर्की, बर्नाड शाजस्ता विश्वप्रसिद्ध पश्चिमी साहित्यकारका रचनाहरूबाट पनि प्रत्यक्ष–परोक्ष रूपमा प्रभावित देखिन्छन् । पाश्चात्य उच्च शिक्षा हासिल गरेका विश्वेश्वरप्रसाद कोइराला पश्चिमी साहित्यबाट प्रभावित र प्रेरित हुनु स्वाभाविकै हो । विभिन्न प्रेरणा र प्रभावका अतिरिक्त विश्वेश्वरप्रसाद कोइरालालाई साहित्यकार बनाउन यिनको पारिवारिक परिवेश, नैसर्गिक सिर्जनशील प्रतिभा र निरन्तर अभ्यास पनि कारक तŒवका रूपमा रहेका छन् ।

मनलाई मानिसका हरेक क्रियाकलापहरूको सञ्चालक ठान्ने फ्रायड, एडलर र युङ्को मनोवैज्ञानिक सिद्धान्तबाट प्रभावित र प्रेरित भई नेपाली कथाका फाँटमा त्यस सिद्धान्तलाई प्रस्तुत गर्ने कथाकार विश्वेश्वरप्रसाद कोइराला नेपालीका प्रथम आधुनिक मनोविश्लेषणात्मक यथार्थवादी कथाकार हुन् । कोइराला नेपालीमा यस प्रवृत्तिका कथा लेखनको थालनीकर्ता मात्र नभई यसको विस्तारक, संवर्द्धक र उत्तरवर्ती कथाकारहरूका लागि प्रेरणास्रोतसमेत भएका छन् । बालमनोविज्ञान, यौनमनोविज्ञान, अपराधमनोविज्ञान आदि विभिन्न मनोविज्ञानहरूमध्ये यिनी मानिसका जीवनको एउटा अनिवार्य र अपरिहार्य तत्व मानिने यौनको विश्लेषणमा बढी मात्रामा केन्द्रित छन् । यिनले नारी र पुरुष दुवैका यौनसँग सम्बद्ध सामान्य, असामान्य वा विक्रित मनोविज्ञानका विविध पाटाहरूलाई वर्णनात्मक र विश्लेषणात्मक ढङ्गले प्रस्तुत गरेका छन् ।

मनोविज्ञानलाई नेपाली समाज, संस्कृति, परम्परा, अर्थतन्त्रजस्ता सूक्ष्म विषयवस्तुसँग गाँसेर मनोवैज्ञानिक कथा लेख्ने विश्वेश्वरप्रसाद कोइरालाले सूक्ष्म, क्षीण वा झिनु विषयवस्तु लिई तिनमा कुनै न कुनै रूपले मनोरोगी भएका पात्रहरू उपस्थित गराएर तिनका मनको वर्णन र विश्लेषण गरेका छन् । यिनी मानिसका हीनताग्रन्थि, उच्चताग्रन्थि, आत्मपीडन, परपीडनजस्ता विभिन्न मनोग्रन्थिलाई फुकाउन, मनोभ्रम हटाउन र मनोदशाको चित्रण गर्न खप्पिस देखिन्छन् । सामाजिक बाह्य संसारले मानसिक अन्तर संसारलाई पार्ने प्रभावको अध्ययन तथा पात्रका मनोविज्ञानको प्रस्तुतिलाई कथाको मुख्य विषयवस्तु बनाई अन्तर्मुखी प्रवृत्तिका कथा लेख्नु यिनको प्रमुख विशेषता हो ।

विश्वेश्वरप्रसाद कोइरालाका अधिकांश कथाहरूमा यौनाकर्षण र त्यसबाट उत्पन्न हुने कुण्ठाको जीवन्त प्रस्तुति पाइन्छ । यिनले नारी र पुरुषका परस्पर आकर्षण भावलाई कथात्मक ढाँचा प्रदान गरेका छन् । यिनका ‘रिक्सा तान्ने’, ‘सिपाही’, ‘हरिदत्त’ जस्ता केही कथामा बाहेक अन्य अधिकांश कथामा नारीहरूको पुरुषप्रति हुने यौनाकर्षणलाई प्रस्तुत गरिएको छ । नारीका कामवासनाजन्य समस्यालाई मार्मिक ढङ्गले प्रस्तुत गर्ने कथाकार कोइरालाले नारीहरूका वासनात्मक समस्याहरूका सामान्य र असामान्य दुवै खाले परिस्थितिको विश्लेषण गरेका छन् ।

यौनमनोविज्ञानमा आधारित कथाहरू अशिष्ट, अश्लील, नग्न, अनैतिक र समाज अग्राह्य पनि हुन सक्छन् तर कथाकार विश्वेश्वरप्रसाद कोइरालाले यौनलाई पनि शिष्ट, श्लील, सभ्य, नैतिक र समाज ग्राह्य ढङ्गले प्रस्तुत गरेका छन् । यसरी यौनमनोविश्लेषणमा पनि अशिष्टता, अश्लीलता, नग्नता, अनैतिकताजस्ता कुराहरू नपाइनु यौनमनोविश्लेषक कोइरालाका कथाको उल्लेखनीय प्रवृत्ति हो । नारी वा पुरुषको परस्पर यौनाकर्षणलाई सामाजिक मर्यादाभित्रै रही शिष्ट ढङ्गले उपस्थित गर्ने कोइरालाका मनोरोगी पात्रहरूले पनि सामाजिक मर्यादाको सीमा उल्लङ्घन गरेका छैनन् । दमित यौनेच्छा वा कामवासनाबाट पीडित पात्रहरूका मनको विश्लेषण पनि यिनका कथामा पाइन्छ ।

कुनै न कुनै सन्दर्भ र परिवेशबाट विभिन्न पात्रहरूका मानसिकताको विश्लेषण गर्ने मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाका कथामा सामान्य र असामान्य दुवै खाले मनोविज्ञानको प्रयोग पाइन्छ । यिनका सामान्य मनोवैज्ञानिक कथाहरूमा ‘स्कुल मास्टर’, ‘महाराजको सवारी’, ‘एकरात’, ‘राइटर बाजे’, ‘सान्नानी’ आदि पर्दछन् । यीमध्ये ‘राइटर बाजे’ सामान्य नारी मनोविज्ञानमा आधारित कथा हो भने अन्य कथाहरू सामान्य पुरुष मनोविज्ञानमा आधारित छन् । ‘सान्नानी’ बालमनोविज्ञानमा आधारित कथा हो । कोइरालाले असामान्य मनोवैज्ञानिक कथाहरू पनि लेखेका छन् । यस्ता प्रवृत्ति भएका कथाहरूमा ‘दोषी चश्मा’, ‘शत्रु’, ‘होड’ आदि विशेष उल्लेखनीय छन् । यीमध्ये ‘होड’ असामान्य नारी पात्रको मनोविश्लेषणमा केन्द्रित कथा हो भने बा“की दुई असामान्य पुरुष पात्रको मनोविश्लेषणमा केन्द्रित कथा हुन् ।

सामान्य र असामान्य नारी एवं पुरुष मानसिकताको चिरफार गरी मनोवैज्ञानिक कथा लेख्ने विश्वेश्वरप्रसाद कोइरालाले थुप्रै यौनमनोवैज्ञानिक कथाहरूको रचना गरेका छन् । यिनका यौनमनोवैज्ञानिक कथाहरूमा पनि सामान्य र असामान्य दुवै खालका चरित्रहरूको विश्लेषण गरिएको छ । कथाकार कोइरालाका ‘बिहा’, ‘पुस्तक’, ‘कथा’, ‘सिपाही’, ‘दुलही’ आदि पुरुष यौनमनोविज्ञानमा आधारित सामान्य यौनमनोवैज्ञानिक कथा हुन् भने ‘मधेसतिर’ आदि नारी यौनमनोविज्ञानमा आधारित सामान्य यौनमनोवैज्ञानिक कथा हुन् । यिनका ‘हरिदत्त’, ‘द्वन्द्वप्रेम’, ‘बौलाहा’, ‘प्रेम(दोस्रो)’, ‘रिक्सा तान्ने’ आदि कथाहरू पुरुषहरूको असामान्य यौनमनोविश्लेषणमा आधारित छन् भने ‘चन्द्रवदन’, ‘कर्नेलको घोडा’, ‘पवित्रा’, ‘श्वेतभैरवी’, ‘स्वेटर’, ‘सखी’ आदि नारीहरूको असामान्य यौनमनोविश्लेषणमा आधारित छन् ।

विश्वेश्वरप्रसाद कोइरालाले केही सामान्य मनोवैज्ञानिक र बालमनोवैज्ञानिक कथाहरू लेखेको पाइए तापनि यिनका अधिकांश कथाहरू यौनमनोविज्ञान अर्थात् यौनजन्य कुण्ठाको वर्णन र विश्लेषणमा केन्द्रित छन् । यौनमनोविज्ञानमा पनि सामान्यभन्दा असामान्य वा विकृत यौनमनोविज्ञानको चित्रण गरिएका यिनका कथाहरू उत्कृष्ट छन् । यिनका असामान्य नारी र पुरुषको यौनविश्लेषणमा आधारित कथाहरूमध्ये नारी यौनमनोविश्लेषणमा आधारित कथाहरू विशेष उल्लेखनीय र विशिष्ट छन् । यसर्थ मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइराला नारीहरूका असामान्य यौनदशा, यौनवृत्ति वा अतृप्त कामवासनालाई बढी प्रश्रय दिएर प्रस्तुत गर्ने यौनमनोवैज्ञानिक कथाकार हुन् । यिनलाई नारी यौनका कुशल विश्लेषकका रूपमा पनि लिइन्छ ।

कामशक्तिबाट नियन्त्रित र परिचालित असामान्य, विकृत वा मनोरोगले आक्रान्त पात्रहरूका अचेतन मनमा दमित कामेच्छा वा यौनजन्य कुण्ठालाई चिरफार गरेर प्रस्तुत गर्न विशेष रमाउने कथाकार विश्वेश्वरप्रसाद कोइराला सामाजिक, सास्कृतिक र प्राकृतिक परिवेशबाट पात्रको मनोविश्लेषण गर्दछन् । यौनजन्य मानवीय शाश्वत पक्षलाई प्रायः नेपाली सामाजिक परिवेशबाट प्रस्तुत गर्ने कथाकार कोइरालाका कथामा पहाड, तराई, गाउँ र सहरका विभिन्न ठाउँ तथा समयजस्ता बाह्य परिवेशका माध्यमबाट पनि मनको विश्लेषण गरिएको पाइन्छ । यिनले ‘मधेसतिर’, ‘दोषी चश्मा’ जस्ता कतिपय कथामा मनोवैज्ञानिक विश्लेषणभित्रै पनि ठाउँठाउँमा तत्कालीन सामाजिक, राजनैतिक, सांस्कृतिक, ऐतिहासिक तथा आर्थिक परिवेशको चित्रण र त्यसप्रति व्यङ्ग्यात्मक अभिव्यक्तिसमेत गरेका छन् । बाह्य परिवेशको चित्रणमा भन्दा समाज र संस्कृतिसापेक्ष आन्तरिक मानसिक परिवेशको चित्रणमा यिनी विशेष सफल देखिन्छन् । यिनका कतिपय कथामा आर्थिक विपन्नता, रूढिवादी अन्धपरम्परा, जीवनका विकृति र विसङ्गति प्रस्तुत गर्ने खालका सामाजिक–सांस्कृतिक पक्षको अभिव्यक्ति पाइए पनि मुख्य रूपमा मनोविश्लेषणकै प्राबल्य रहेको पाइन्छ ।

मानसिक रोगले ग्रस्त उच्च, मध्यम र निम्नवर्गीय पात्रहरूका दमित कामवासनाबाट उत्पन्न छटपटी तथा आत्मवेदनाबाट प्रताडित र विचलित व्यक्ति चरित्रको प्रधानता विश्वेश्वरप्रसाद कोइरालाको कथागत वैशिष्ट्य हो । निम्नवर्गदेखि अभिजातवर्गसम्मका आर्थिक, सामाजिक र मानसिक कुण्ठाहरूको प्रस्तुति पाइने यिनका सामाजिक खालका कथामा पनि घटनाभन्दा चरित्रले बढी महत्व पाएको देखिन्छ । कतिपयले यिनको पात्र प्रयोगलाई सार्वभौम प्रयोगको संज्ञा दिएको पाइए पनि यिनका कथामा प्रयुक्त पात्रहरूमा नेपाली चरित्रकै आधिक्य पाइन्छ । व्यक्ति चरित्रलाई कथामा विशिष्ट स्थान दिने कोइराला पश्चिमी मनोविज्ञानलाई नेपाली भावभूमिमा सफलतापूर्वक प्रयोग गर्ने सशक्त स्रष्टा हुन् । सामाजिक र नैतिक बन्देजका कारण इच्छित कामवासनाको दमन र त्यसबाट उत्पन्न कुण्ठा एवं विकृतिको अभिव्यक्ति गर्ने कलामा यिनी निकै सफल देखिन्छन् । आन्तरिक वेदना, मानसिक घात–प्रतिघात आदिले छटपटिएर असामान्य मनोरोगी बन्न पुगेका पात्रहरूका मनोदशाको विश्लेषण गर्नु यिनका कथाको विशिष्ट पक्ष हो ।

एकभन्दा बढी कथामा एउटै नाम गरेका पात्रको प्रयोग गर्ने प्रवृत्ति कथाकार विश्वेश्वरप्रसाद कोइरालामा पाइन्छ । ‘स्कुल मास्टर’ र ‘स्वेटर’ को गजराज, ‘प्रेम (पहिलो)’ र ‘रिक्सा तान्ने’ को धनवीर, ‘पवित्रा’ र ‘दोषी चश्मा’ को केशव आदि यस कुराका साक्षी हुन् ।

विश्वेश्वरप्रसाद कोइरालाका ‘सिपाही’ जस्ता केही कथाहरूबाहेक अधिकांश कथामा अन्तर्मुखी प्रवृत्तिका पात्रको प्रयोग गरिएको छ । मनोवैज्ञानिक कथाका पात्रहरू स्वाभाविक रूपमा अन्तर्मुखी नै हुन्छन् । एउटै पात्रका दुई विपरीत भावहरूका बीचमा तीव्र द्वन्द्व पैदा गराउने विश्वेश्वरका कथामा बाह्य द्वन्द्वको न्यूनता र आन्तरिक द्वन्द्वको अधिकता पाइन्छ । यिनले मानिसका आन्तरिक संवेगहरूको गहन अध्ययन र विश्लेषण गरी पात्रको चरित्रचित्रण गर्दै आन्तरिक द्वन्द्वको सशक्त अभिव्यक्ति गरेका छन् । विश्वेश्वरप्रसाद कोइराला पात्रका इद (ID) अहम् (ego), पराहम् (Super ego) तथा चेतन (concious), अवचेतन/अर्धचेतन (subconcious) र अचेतन (unconcious) का बीचमा द्वन्द्वको सिर्जना गर्न निकै सिपालु देखिन्छन् ।

सरल, संक्षिप्त, सुगठित, सुव्यवस्थित र अन्वितिमूलक संरचनामा आबद्ध गरी कथा लेख्नु कथाकार विश्वेश्वरप्रसाद कोइरालाको शिल्पगत वैशिष्ट्य हो । झिनु वा सूक्ष्म कथावस्तु भएका चरित्रप्रधान कथा लेखे तापनि घटना र चरित्रमा सहज, स्वाभाविक र विश्वसनीय पाराले संयोजन गर्ने कुशलता यिनमा पाइन्छ । यसैकारणले गर्दा यिनका कथाहरू सरल, सहज, कलात्मक, प्रभावोत्पादक, आकर्षक, रोचक र गम्भीर पठनीय बन्न पुगेका छन् ।

छोटाछरिता र सरल वाक्यहरूको प्रयोग गरी खारिएको, माझिएको र तिखारिएको वर्णनात्मक शैलीमा सोझो पाराले कथा प्रस्तुत गर्ने विश्वेश्वर कोइरालाका कथाहरू संरचनागत र आयामगत आधारमा छोटा भए पनि कलात्मक विशिष्टताका कारण अत्यन्त रोचक र आकर्षक छन् । सूक्ष्म विषयवस्तुलाई संक्षिप्त आकारमा सरल, सहज, स्वाभाविक र गम्भीर पाराले प्रस्तुत गर्ने कौशल कथाकार कोइरालामा पाइन्छ । मनोविश्लेषणजस्तो जटिल विषयमा लेखिएका यिनका कथाहरू उत्तरवर्ती कथाकारहरूका लागि पनि मार्गनिर्देशक बन्नपुगेका छन् । यस सन्दर्भमा ‘कोइरालाको सरल, सरस र छोटो मीठो प्रथम मनोवैज्ञानिक कथाकारिता नेपाली साहित्यका इतिहासमा अविस्मरणीय रहनेछ र कथाकार विश्वेश्वरप्रसाद कोइराला युगयुगसम्म नेपाली कथा साहित्यको विकासमा प्रथम घटना बनेर चम्किरहनेछन्’ (तानासर्मा, २०२६: २२) भन्ने भनाइ उल्लेखनीय छ ।

नेपालीमा नवीन कथाधाराका प्रवर्तक विश्वेश्वरप्रसाद कोइरालाले आफुलाई साहित्यकार नसम्झिएर राजनीतिक व्यक्तित्व सम्झिए (कोइराला, २०२९: ३९) पनि यिनको साहित्यकार (विशेष गरी कथाकार) व्यक्तित्व सशक्त छ र यिनी आधुनिक नेपाली कथा परम्परामा नयाँ युगको थालनी र विस्तारसमेत गर्ने युगपुरुष हुन् । आफुलाई राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी (कोइराला, २०२९: ४०) ठान्ने कोइराला राजनीतिमा समाजवादी भए पनि साहित्यमा चाहिँ यिनी सामाजिक मर्यादाको उलङ््घन गरी अशिष्ट ढङ्गले अराजकता फैलाउने अराजकतावादी साहित्यकार नभएर कामवासना र रतिरागजस्ता विषयलाई पनि शिष्ट, सभ्य, सौम्य, शालीन, भद्र र मर्यादित रूपमा प्रस्तुत गर्ने मनोविज्ञानवादी कथाकार हुन् । नेपाली कथाको मनोवैज्ञानिक यथार्थवादी धाराका प्रथम प्रयोक्ताका दृष्टिले मात्र नभएर यस धारालाई व्यापक मलजल प्रदान गरी हुर्काउने क्रममा समेत यिनको विशिष्ट भूमिका रहेको छ ।

विभिन्न मनोवैज्ञानिक पद्धतिहरूको प्रयोग गरी पात्रको चरित्रचित्रण सूक्ष्म ढङ्गले गर्ने विश्वेश्वरप्रसाद कोइरालाले आफ्ना कतिपय कथामा विभिन्न बिम्ब–प्रतीकहरूको सहज र स्वाभाविक प्रयोग गरेका छन् । ‘चन्द्रवदन’ मा प्रयुक्त माकुराको जालो र भँमरो, ‘कर्नेलको घोडा’ मा घोडा, ‘मधेसतिर’ मा विधवाको गहनाको पोको आदि प्रतीकहरूका माध्यमबाट पात्रका मानसिकताको विश्लेषण गरी कथालाई जीवन्त तुल्याइएको छ । छोटाछरिता र सामञ्जस्यमूलक शीर्षकमा संक्षिप्त आयामका कथा लेख्न रुचाउने कोइरालाका धेरजसो कथामा तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग पाइन्छ ।

वासुदेव त्रिपाठीले विश्वेश्वरप्रसाद कोइरालाको कथाशिल्पका बारेमा यस्तो टिप्पणी गरेका छन्:
कथामा भाषाका अतिरिक्त सौन्दर्य पनि चाहिन्छ भने विश्वेश्वरका कथाहरू यस दृष्टिले रित्ता छन् ।
… नेपाली भाषाको चोखो रमणीयताको व्यापकता पनि विश्वेश्वरको भाषिक प्रयोगमा भेटिन्न । हिन्दी–उर्दू शब्द र वाक्पद्धति निकै मात्रामा उनका कथाले पाउनु परेको छ ।
… परिमार्जित प्रौढ गद्य शैली त विश्वेश्वरमा छँदै छैन । अखवारी–वकालती भाषा प्रयोग ज्यादा जस्तो कथाकार कोइरालाले गरेका छन्, त्यसमा पनि विदेशी भाषाको गन्ध केही मात्रामा आउँछ । यसरी हेर्दा उनको भाषा साहित्यिक रमणीयता वा भाषिक चोखोपनका दृष्टिले असन्तोषजनक छ । (त्रिपाठी, २०२८: ६०) ।

विश्वेश्वरप्रसाद कोइरालाका कथा सौन्दर्यका दृष्टिले रित्ता नभई भरिला, चित्ताकर्षक, कलात्मक र पठनीय छन् । केही आगन्तुक शब्दहरूको प्रयोग गरिँदैमा उनको भाषिक प्रयोगलाई विदेशी गन्ध आउने, अखबारी–वकालती तथा साहित्यिक रमणीयताविहीन एवं चोखो नेपालीपनको अभाव भएको भनी नेपाली कथामा यिनले पुर्याएको विशिष्ट योगदानलाई आग्रहबश खुम्च्याउन मिल्दैन । भावनात्मक अभिव्यक्तिमा विशेष जोड दिने विश्वेश्वरप्रसाद कोइरालाले नेपाली कथामा भाषाशैलीगत नवीनता, अभिव्यक्तिगत सूक्ष्मता र प्रस्तुतिगत सहजता प्रदान गरेका छन् । यिनले आफ्ना कथामा त्रुटिपूर्ण, अनेपाली खालको, अपरिकृत, अस्वाभाविक नभई प्रायः शुद्ध, नेपालीपनले ओतप्रोत, परिष्वृmत, स्वाभाविक तथा सामान्य बोलचालका स्तरको ज्यादै सरल, सरस, मितव्ययी, साभिप्राय, अकृतिम भाषा र अनौपचारिक शैलीको प्रयोग गरेका छन् । सरल र संक्षिप्त संरचनामा आबद्ध यिनका कथाहरूमा तत्सम, तद्भव र आगन्तुक शब्दको सन्तुलित प्रयोग, वाक्य गठनमा सरलता, सहजता र संक्षिप्तताजस्ता गुणहरू पाइन्छन् । थोरैमा धेरै भन्नसक्ने कला तथा वर्णनात्मकता र सरलताभित्र अवस्थित अर्थगाम्भीर्य यिनको भाषाशैलीगत वैशिष्ट्य हो ।

३ . उपसंहार
सामाजिक, सांस्कृतिक, राजनैतिक, ऐतिहासिक, नैतिक, आर्थिक संस्कारजन्य कारणबाट उत्पन्न मनोविकृतिलाई केलाउने विश्वेश्वरप्रसाद कोइराला कुण्ठाग्रस्त मनस्थितिको विश्लेषणमा विशेष जोड दिने मनोवैज्ञानिक कथाकार हुन् । कथा लेखनको नवीन शिल्प, प्रविधि, शैली र अभिव्यक्ति कुशलता यिनमा पाइन्छ । विश्वेश्वरप्रसाद कोइरालाले नेपाली कथामा क्रान्तिकारी परिवर्तन ल्याएका छन् । नवीन र मौलिक कथा–मूल्यहरूको ऐतिहासिक प्रतिपादन यस परिवर्तनको तथ्य अभिव्यक्ति हो । नेपाली कथामा आधुनिकताको पूर्ण वरण यिनबाटै भएको हो र विशिष्ट प्रकारको शिल्प प्रयोग गर्दै यिनले पाश्चात्य विचारलाई नेपाली कथामा प्रवेश गराएका हुन् । (पराजुली, २०५०: ११७–११८) । गुरुप्रसाद मैनालीकै हाराहारी समयमा नेपाली कथाका क्षेत्रमा प्रवेश गरी मैनालीको सामाजिक आदर्शाेन्मुख यथार्थवादी प्रवृत्तिभन्दा पृथक् कित्ताको मनोवैज्ञानिक यथार्थवादी प्रवृत्तिका कथा सिर्जना गरी नेपाली कथामा आधुनिकताको खास प्रवर्तन कथाकार विश्वेश्वरप्रसाद कोइरालाले गरेका हुन् । पश्चिमी फ्रायडीय चिन्तनलाई सर्वप्रथम नेपाली कथाजगत्मा भित्र्याई निजत्वका साथ नेपाली कथालाई पूर्ण आधुनिकता प्रदान गर्ने विश्वेश्वरप्रसाद कोइराला नेपालीका शीर्षस्थ र विशिष्ट मनोविश्लेषणात्मक यथार्थवादी कथाकार हुन् र नेपाली कथाका फाँटमा यिनको कथाकारिता अतुलनीय रहेको छ ।

सन्दर्भ सामग्रीसूची
कोइराला, विश्वेश्वरप्रसाद, ‘चन्द्रवदन’, शारदा, (वर्ष १, सङ्ख्या १०–११, १९९२ मार्ग–पौष), पृ. ३६–३८ ।
‘साहित्यमा प्रगतिशीलता’, प्रगति, (वर्ष २, अङ्क २, २०११), पृ. ९९–१०४ ।
‘मेरो क्षेत्र त राजनीति हो’, मुकुट, (वर्ष ५, अङ्क १, २०२९ माघ), पृ. ४० ।
श्वेतभैरवी, काठमाडौं: चेतना साहित्य प्रकाशन, २०३९ ।
आफ्नो कथा, काठमाडौं: चेतना साहित्य प्रकाशन, २०४० ।
दोषी चश्मा, पाँचौं संस्करण, काठमाडौं: साझा प्रकाशन, २०५३ ।

तानासर्मा, ‘नेपाली साहित्यका सर्वोच्च कृतिमध्ये एक–दोषी चश्मा’, रेषा, (२००६ वैशाख), पृ. २२–२७ ।
त्रिपाठी, वासुदेव, विचरण, काठमाडौं: भानु प्रकाशन, २०२८ ।
पराजुली, हरिप्रसाद (डा.),सम्पा., विश्वेश्वरप्रसाद कोइरालाका कथा, काठमाडौं: साझा प्रकाशन, २०५० ।
प्रधान, कृष्णचन्द्रसिंह, सम्पा., साझा समालोचना, तेस्रो संस्क., काठमाडौं: साझा प्रकाशन, २०४४ ।
बराल, ईश्वर, सम्पा., झ्यालबाट, चौथो संस्करण, काठमाडौं: साझा प्रकाशन, २०४३ ।
लामिछाने, शङ्कर, बिम्ब–प्रतिबिम्ब, काठमाडौं: पुस्तक संसार, २०२८ ।
लुइटेल, खगेन्द्रप्रसाद (डा.), आधुनिक नेपाली समालोचना, काठमाडौं: नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, २०५७ ।

नेपाली कविता र आख्यान, काठमाडौं: नवीन प्रकाशन, २०६५ ।
शर्मा, तारानाथ, नेपाली साहित्यको इतिहास, तेस्रो संस्करण, काठमाडौं: नवीन प्रकाशन, २०५१ ।

Adler, Alfred, The Practice and Theory of Individual Psychology, Newyork : Harcourt, 1929.
Jung, C. G., Contributions to Analytical Psychology, Newyork : Harcourt, 1928.

त्रिभुवन विश्वविद्यालय,
कीर्तिपुर, काठमाडौं, नेपाल
फोन: ०१४३३२१७८

 

बिआरटी नेपाल डट कममा प्रकाशित लेख हुबहु साभार नगर्न हुन बिनम्र अनुरोध गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ । धन्यवाद ।