अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५० | Colorodo: 11:05

कतार विश्वकपलाई मध्यनजर गर्दै एन्फाले खेलाडीलाई काठमाडौं बोलायो

बिआरटीनेपाल २०७७ साउन १८ गते ६:५३ मा प्रकाशित

कतार विश्वकप छनोटको खेललाई मध्यनजर गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले सम्पूर्ण खेलाडीहरुलाई काठमाडौं बोलाएको छ । भदौ पहिलो साताबाट खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने उद्देश्यले ३३ जना खेलाडीलाई एन्फाले काठमाडौं बोलाएको हो । विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड—१९) का कारण गत चैत ४ गतेबाट एन्फाले सचिवालयसमेत बन्द रहने गरी सम्पूर्ण फुटबल गतिविधि बन्द गरेको थियो ।

त्यसयता सम्पूर्ण फुटबल गतिविधि स्थगित भएका थिए । तर जुन ५ मा एशियाली फुटबल महासंघ (एएफसी) ले कतारमा हुने फिफा विश्वकप २०२२ तथा चीनमा हुने एसियन कप २०२३ को छनोट खेलका लागि नयाँ मिति तय गरेपछि एन्फालाई राष्ट्रिय टीमको प्रशिक्षण थाल्न दबाब परेको थियो । छनोट खेल अन्तर्गत नेपालले घरेलु मैदानमा हुने खेलका लागि राष्ट्रिय टोलीका सबै खेलाडी सम्पर्कमा आइसकेको टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिनुभयो ।

एएफसीले प्रस्ताव गरेको नयाँ तालिकाअनुसार नेपालले अक्टोबर ८ मा चाइनिज ताइपेई र अक्टोबर १३ मा अस्ट्रेलियाविरुद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । त्यस्तै नोभेम्बर १२ मा नेपालले जोर्डनविरुद्ध खेल्नेछ । छनोट अन्तर्गत समूह ‘बी’ मा रहेको नेपाल तीन अंकका साथ चौथो स्थानमा छ । नेपालको समूहमा अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ । समान १० अंक जोडेको कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन । कुनै अंक नजोडेको चाइनिज ताइपेई पाँचौं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू