अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२१ | Colorodo: 07:36

स्वतन्त्रताको सुसेली

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा २०७७ साउन १२ गते २२:३७ मा प्रकाशित

विवेकका चालकले म चल्छु
सचेतको प्राण लिएर बल्छु
डम्मै अघाए पनि पेटलाई
छ सिर्जना भोक सधैँ मलाई ।१।

म यन्त्रको मानव हैन, हैन
मभित्र छन् भाव मिठास चैन
मसानमा सान कदापि लिन्न
म फूलमा बर्बर बर्सिइन्न ।२।

प्रभातमा गुन्गुन हुन्छ गान
प्रकाशले गर्दछ रङ्ग दान
यतै कतै जीवन गीत घोली
म खेल्छु लाखौॅं दिलमा सुरेली ।३।

प्रदीप साथै मुटु चल्मलाई
छु रङ्ग भर्ने अझ स्वप्नलाई
उद्दण्डका क्वै रणबाट ढल्ने
म हैन त्यो काॅंतर आँत गल्ने ।४।

थाके कहाॅं घाम परेर रात
झन् आउॅंछन् शुभ्र लिएर प्रातः
छन् पुष्प नै पुष्प जहाॅं छ धाम
त्यहाॅं कुनै कण्टक हुन्न नाम ।५।

विषाद बोकी मनका निषाद
सडेर ढल्छन् पछि हुन्न याद
हराउॅंछन् गर्जन मेघ काला
जुट्छन् दुवै हात जहाॅं छ पाला ।६।

छ रोक्न सक्ने कुन मूर्ख आई ?
उडान भर्ने मन पंखलाई
उत्प्रेरणा क्यै थलबाट लिन्छु
स्वतन्त्र पन्छी नभमा म घुम्छु ।७।

खिया हुने बन्दुक चाहिॅंदैन
च्यातिन्छ जाली पनि बुन्नु छैन
हुॅं लेखनी कल्मष , क्लेश मेट्ने
समस्त यो विश्व समान देख्ने ।८।
***

लप्सीबोट, गोरखा
हाल: सरस्वतीनगर, काठमाडौॅं- ६