अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१६ | Colorodo: 10:31

प्रधानमन्त्री ओलीको बालुवाटार भेला – आफ्नो पक्षमा बोलिदिन मन्त्री तथा नेताहरुलाई आग्रह

बिआरटीनेपाल २०७७ असार १७ गते ६:४४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहानै मन्त्रीहरू र आफू निकटका नेता तथा सांसदलाइ बालुवाटार बोलाएर छलफल गर्नुभएको छ । नेकपा अध्यक्ष समेत रहनुभएको ओलीले आफ्नै पार्टीबाट चौतर्फी घेरामा परेपछि समर्थन जुटाउन मन्त्रिमण्डलका सदस्यहरुसहित पार्टीका आफू निकट स्थायी कमिटी सदस्यहरुसँग गरामर्श गर्नुभएको हो ।

आकस्मिक परामर्श गर्न भन्दै बिहान बालुवाटार बोलाएर गरेको बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरु र स्थायी कमिटी सदस्यहरुलाई आफू संकटमा परेको र आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको स्रोतले बताएको छ । करिब २ घण्टा चलेको बैठकमा प्रधानमन्त्रीले ‘तपाईंहरूले मलाई सहयोग गरिदिनुपर्योे, राष्ट्रियता र मेरा पक्षमा बोलिदिनुपर्यो ’ भन्दै सहयोग मागेको छलफलमा सहभागी एक नेताले बताउनुभयो । यद्यपि छलफलमा सहभागी भएका मन्त्री तथा स्थायी कमिटीका अधिकांश सदस्यहरुले भने सरकार र पार्टीलाई नयाँ र रचनात्मक ढङ्गले सञ्चालन गराउनुपर्ने, आलोचना सुनेर सच्चिएर अघि बढ्नुपर्ने लगायत परामर्श दिएको बताइएको छ ।

‘जनताले दिएको ऐतिहासिक अवसरलाई दुरुपयोग गर्न नहुने निष्कर्षका साथ नेतृत्वले नयाँ सहमति र समाझदारी गर्दै पार्टी संचालन गर्न छलफलमा सहभागी सदस्यहरुले प्रधानमन्त्रीलाई सुझाव दिनुभयो’ एक सहभागी सदस्यले भन्नुभयो । ती नेताका अनुसार परामर्शमा सहभागीहरूले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउनुपर्ने, अन्तरविरोधको समाधानका लागि पहल गर्नुपर्ने र पार्टीभित्रै देखिएको विश्वासको संकटलाई अन्त्य गरी अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।

प्रधानमन्त्रीले मन्त्रीहरु र २ जना मुख्यमन्त्रीसहित १८ जनालाई परामर्शका लागि बोलाउनु भएको थियो । तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका मन्त्रीहरुलाई भने बोलाउनुभएको थिएन । तापनि पूर्वमाओवादी खेमाका गृहमन्त्री रामबहादुर थापा, लेखराज भट्ट लगायत बैठकमा सहभागी भएको बताइएको छ ।

स्रोतका अनुसार उपप्रधानमन्त्री ईश्वर पोखेरल, गृहमन्त्री रहेका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठलगायत १८ सदस्य सहभागी थिए भने जलस्रोत तथा ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत र शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई बोलाइएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू