अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३६ | Colorodo: 17:51

एन्फाको कार्यसमिति बैठक तय, बार्षिक बजेट लगायतका ५ वटा एजेण्डामा छलफल हुने

बिआरटीनेपाल २०७७ जेठ १४ गते ७:०९ मा प्रकाशित

अखिल नेपाल फुटबल संघ (एन्फा)ले समसामयिक बिषयमा छलफल गर्न जेठ १९ गते कार्यसमिति बैठक बोलाएको हो । एन्फाको संशोधित विधान अनुसार बैठक बस्नु ७ दिन अघि कार्य समिति सदस्यलाई जानकारी गराउनुपर्ने ब्यवस्था छ । सोही अनुसार एन्फाले आगामी सोमबारका लागि बैठक आह्वान गरेको हो ।

एन्फा प्रवक्ता किरण राईले महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण भिडियो कन्फरेन्समार्फत बैठक बस्न लागेको जानकारी दिनुभयो । बैठकमा एन्फाको बार्षिक बजेट लगायतका ५ वटा एजेण्डा तय भएको छ । बैठकमा कोरोना प्रभावित जिल्ला, क्लब र व्यक्तिलाई प्रदान गरिने कोरोना राहतको बिषयमा छलफल हुने बताईएको छ ।

एन्फाले यसअघिनै कोरोनाका कारण आर्थिक क्षति ब्यहोरेका सबै जिल्ला र क्लबलाई आवेदन दिन आह्वान गरेको थियो । सो अनुसार जिल्ला र क्लबबाट आएको निवेदनका आधारमा एन्फाले फिफामा राहत रकम माग गरेको छ । फिफाले कोरोनाबाट प्रभावित विश्वभरका फुटबल समुदायलाई यसअघिनै सहयोग गर्ने बताईसकेको छ ।

यस्तै, बैठकका लागि एन्फाको साधारण सभा, अनुशासन र विविध एजेण्डा तय गरिएको छ । बैठकले एन्फाको बार्षिक साधारण सभाको सम्बन्धमा निर्णय गर्ने बताईएको छ । यस्तै, अनुशासनको एजेण्डा समेत समावेश गरिएको छ । संस्था विरोधी गतिविधि गरेको आरोपमा एन्फाले अघिल्लो सातामात्र ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम थापालाई साधारण सभा सम्मका लागि निलम्बन गरेको थियो ।

एन्फाको सचिवालय बैठकले ललितपुर जिल्ला अध्यक्षलाई स्पष्टिकरण सोध्दै निलम्बनको निर्णय गरेको थियो । अनौपचारिक रुपमा कार्यसमित सदस्यसंग छलफल गरेर निर्णय गरेपनि बैठकमा एजेण्डाको रुपमा बिषयले प्रवेश पाउने देखिएको छ ।

प्रतिक्रिया