अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३३ | Colorodo: 00:48

कोरोना भाइरसको राजनीति

लोकमणि राई

लोकमणि राई २०७६ चैत २३ गते २२:३६ मा प्रकाशित

अमेरिका कोरोना भाइरस नियन्त्रणका नाममा प्रजातन्त्र कुण्ठित बनाउन चाहँदैन । चिन ‘पब्लिक हेल्थ सुपर पावर’ को दौडमा लागिसकेको छ ।

मृत्युमाथि राजनीति हुन्छ । राजनीतिक उद्देश्य प्राप्तिका लागि विश्वभर हरेक वर्ष हजारौँ मानिस मर्छन्, मारिन्छन् । धेरै मानिस गैर राजनीतिक कारण मरे भने पनि त्यस्तो मृत्युले राजनीतिक रङ पाउँछ । कोरोना भाइरस महामारी दोस्रो प्रकारको राजनीति हो, पहिलो घटना भने होइन ।

अमेरिकी जासुसी निकाय सेन्ट्रल इन्टलिजेन्स एजेन्सी (सिआइए) चीनले कोरोना भाइरसले पुर्‍याएको क्षतिको तथ्याङ्क लुकाएको विश्वास गर्छ । कन्स्पिरेसी थ्योरीमा विश्वास गर्ने सिआइए यति बेला चीनले ‘लुकाएको’ कोरोना भाइरसको क्षतिको तथ्याङ्क पत्ता लगाउन लागि परेको छ ।

ह्वाइट हाउसले यो महामारीबाट अमेरिकामा १ लाख देखि २ लाख ४० हजार मर्ने अनुमान गरेको छ । यो क्षति कोरोना भाइरस नियन्त्रणमा लिइसकेको दाबी मान्ने हो भने चीनको तुलनामा कम्तीमा ३० देखि ८० गुणा बढी हुन्छ । अर्थात्, विश्व शक्ति राष्ट्र अमेरिका कोरोना भाइरस विरुद्धको युद्धमा यसको उद्गमस्थल चीन वा अन्य कुनै पनि शक्ति राष्ट्रभन्दा धेरै कमजोर देखिन्छ । यसले विश्व राजनीतिमा असर पार्छ ।

विश्व राजनीतिमा कोरोना भाइरसको पहिलो र संभवत सबैभन्दा महत्त्वपूर्ण असर देखिन सुरु पनि भइसकेको छ । चीनले ‘पब्लिक हेल्थ सुपर पावर’ घोषित हुन पहल थालिसकेको छ । चीनको उक्त पहलमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पनि साथ दिएको देखिन्छ । कोरोना भाइरस नियन्त्रण सम्बन्धी डब्लुएचओ र चीनले गत फेब्रुअरीमा ९ दिन संयुक्त अध्ययन गरेका थिए । यति बेला डब्लुएचओ कोरोना भाइरस नियन्त्रणमा चीनले खेलेको भूमिकाको खुलेर प्रशंसा गरिरहेको छ । यस्तो अवस्थामा सिआइएले चीनले कोरोना भाइरसले पुर्‍याएको क्षतिको तथ्याङ्क लुकायो भन्दै त्यसलाई पत्ता लगाउन खोज्नु पछाडिको राजनीतिक उद्देश्य व्याख्या गरिरहनु पर्दैन ।

यो लेख तयार पार्दासम्म अमेरिकामा कम्तीमा ९ हजार ६ सय १८ मानिसको ज्यान गइसकेको छ । मृत्युका हिसाबले अमेरिका इटाली र स्पेनपछि तेस्रो नम्बरमा छ । अमेरिकामा कम्तीमा ३ लाख ३७ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । संक्रमित सङ्ख्याका हिसाबले अमेरिका सबैभन्दा अगाडि छ । सबैभन्दा चिन्ताको विषय नै यही हो । ह्वाइट हाउसको प्रक्षेपण मिल्यो भने अमेरिका कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा प्रभावित हुने देश सुपर पावर अमेरिका आफैँ बन्न सक्छ ।

सामान्य अवलोकनकर्ताका हिसाबले भन्दा अमेरिकाले आजको अवस्था आउनबाट रोक्न सक्थ्यो । त्यसका लागि नेतृत्वको सक्रिय भूमिका चाहिन्थ्यो । त्यो भनेको ह्वाइट हाउससहित अमेरिकाको सुस्त र भद्दा कर्मचारी संयन्त्र तथा प्रशासनिक अवयव कोरोना भाइरस विरुद्ध सक्रिय रूपमा परिचालन गर्न सक्नु पर्थ्यो ।

कुरा अमेरिकी कर्मचारीतन्त्र र प्रशासनिक संयन्त्र कति भद्दा छ भन्ने एउटा उदाहरणबाट सुरु गरौँ । विस्कन्सिन एमी शिर्सेल, २२, कोरोना भाइरसलाई पराजित गरेर हालै घर फर्केकी छन् । कोरोना भाइरस जोखिम उमेर समूहमा नरहेकी उनी सुरुमा सामान्य रुघा खोकी ठानेर घरमै बसिन । सिकिस्त भएपछि उनी इमर्जेन्सी सेवामा भर्ना भइन् । अस्पतालले उनलाई एक रात राखेर फर्काइदियो । उनी फेरी सिकिस्त भइन र इमर्जेन्सी सेवामा भर्ना भइन । अस्पतालले उनलाई फेरी भोलिपल्ट घर फर्काइदियो । तेस्रो पल्ट मात्र अभिभावकले इमर्जेन्सी सेवामा पुर्‍याएकी उनलाई अस्पतालले घर फर्काएन । किनभने उनी त्यति बेला उठ्न समेत सक्दिन थिइन् ।

एमीलाई घर फर्काउने अस्पताल सिङ्गो अमेरिकाको स्वास्थ्य प्रणालीको चित्र हो । गुगल रिभ्यूमा यहाँको अस्पताल अवस्था कस्तो छ भन्ने उदाहरण प्रशस्त पाइन्छ । जस्तो, संसारकै राजधानी मानिने न्यु योर्क सिटीस्थित एल्महस्र्ट हस्पिटल इमर्जेन्सी सेवाको गुगल रेटिङ १ दशमलव ५ मात्र छ । त्यहाँ रक्तस्राव भएर इमर्जेन्सी सेवा लिन पुगेकाले ८ घण्टा सम्म कुर्नु परेको थुप्रै घटना उल्लेख छन् । गुगल सर्च गर्दा अन्य अस्पतालको रेटिङ पनि यसैको हाराहारीमा देखिन्छ । यसले यहाँको स्वास्थ्य प्रणाली कस्तो छ भन्ने देखाउँछ ।

सुरुका दिनमा यहाँका धेरै अस्पतालले एमीजस्ता हजारौँलाई सामान्य रुघा खोकीको आशङ्कामा घर फर्कायो । स्वास्थ्य परीक्षण नतिजा दिन पनि झन्डै एक साता कुरायो । रुघा खोकी लाग्नसाथ अस्पताल नजान, बरु घरमा एक्लिएर बस्न र रोग बढे मात्र अस्पताल जान उर्दी जारी गर्‍यो । न्यु योर्क र अन्य ठुला तथा व्यस्त सहरका धेरैजसो घरमा १० भन्दा बढी र अपार्टमेन्टमा ५ भन्दा बढी मानिस बस्छन् । त्यहाँ रुघा खोकी लाग्नसाथ एक्लै बस्न सम्भव नै छैन । यस्तो अवस्थामा कोरोना भाइरसको संक्रमण कुन दरमा बढ्यो होला ? न्यु योर्कको तथ्याङ्क हेरे प्रस्ट हुन्छ । अमेरिकामा मृत्यु हुनेमध्ये झन्डै आधा न्यु योर्कवासी छन् । न्यु योर्कको पनि आधाभन्दा बढी न्यु योर्क सिटी निवासी छन् । अवस्था कस्तोसम्म आयो भने ग्लोभ्स र मास्क सकिएको, अस्पतालमा ढोकाको कुना काप्चामा बिरामी राख्नु परेको समाचार विश्वभर पुग्यो ।

यहाँको स्वास्थ्य बिमा प्रणालीमा पनि कमजोरी छ । घरमा एक्लै बसेर उपचार गर्न सक्ने अवस्थामा रहेका मानिसले सोझै अस्पतालबाट औषधी पाउँदैनन् । रोगको पहिचान पछि औषधी लिन फार्मेसी पुग्नु पर्छ । त्यसका लागि स्वास्थ्य बिमा गरेको हुनुपर्छ । स्वास्थ्य बिमा गर्ने दर्जनौँ कम्पनी छन् । सबै कम्पनीको बिमा सबै फार्मेसीले स्विकार्दैनन् । स्वीकारे पनि अस्पतालले सिफारिस गरेको औषधी फार्मेसीबाट तत्काल उपलब्ध नहुन सक्छ ।

कोरोना भाइरसबाट गत ११ जनवरीमा चीनमा एक जनाको मृत्यु भएको त्यहाँको सरकारी सञ्चार माध्यमले जनाएको थियो । गत जनवरी २० मा अमेरिकामा पहिलो कोरोना भाइरस सङ्क्रमित फेला परेका थिए । त्यसको १० दिनपछि डब्लुएचओले ग्लोबल हेल्थ इमर्जेन्सी घोषणा गरेको थियो । त्यसको भोलिपल्ट जनवरी ३१ मा अमेरिकाले चीन र १४ दिनभित्र चिन भ्रमण गरेका मानिसलाई अमेरिका आउन प्रतिबन्ध लगाएको थियो । पहिलो सङ्क्रमित फेला परेको करिब १ महिना पछि २८ फेब्रुअरीमा मात्र कोरोना भाइरसबाट अमेरिकामा पहिलो मृत्यु भयो । यो समय तालिकाले अमेरिकासँग पूर्व तयारीका लागि पर्याप्त समय भएको देखाउन प्रस्तुत गरिएको हो ।

अहिले मृत्युको सङ्ख्या आकासिएको आकासिएकै छ । त्यसको मुख्य कारण अमेरिका स्रोत, साधन जनशक्तिका हिसाबले चीनभन्दा कमजोर हुनु होइन, माथि भनेजस्तै समय हुँदै सतर्कता अपनाएर कर्मचारीतन्त्र र प्रशासनिक अवयव सक्रिय रूपमा परिचालन गर्न नसक्नु हो ।

अमेरिकाले अभ्यास गरिरहेको प्रजातन्त्र र प्रजातान्त्रिक मूल्य मान्यतालाई सेवा पुर्‍याउने उद्देश्यले यहाँको कर्मचारीतन्त्र र प्रशासनिक संरचना खडा गरिएकोमा दुइमत हुन सक्दैन । अमेरिका सङ्घीय प्रजातान्त्रिक मुलुक हो जसमा ५० राज्य र एउटा फेडेरल डिस्ट्रिक्ट छन् । हरेक राज्य र डिस्ट्रिक्ट आआफ्नै कानुन छन् । सङ्घीय (केन्द्र) सरकारले उनीहरूलाई नियन्त्रण गर्न र आफ्नो आदेश लाद्न सक्दैन । यस्तो अवस्थामा सङ्घीय सरकारलाई काम गर्न अप्ठ्यारो हुनु स्वाभाविक हो । किनभने प्रजातान्त्रिक देशको प्रशासनिक संरचना ‘शक्ति सन्तुलन’ गर्ने हिसाबले बनाइएको हुन्छ । त्यसको अर्थ हरेक कामको विभिन्न तहमा प्रश्न उठ्नुपर्छ, मूल्याङ्कन हुनुपर्छ र ठिक भए मात्र अगाडि बढाइनु पर्छ भन्ने हो । त्यसमाथि सङ्घीय प्रजातान्त्रिक देशको प्रशासनिक संरचना त अझ लामो प्रक्रिया युक्त हुन्छ जसले कर्मचारीतन्त्र सुस्त र भद्दा बनाउँछ ।

प्रजातान्त्रिक मुलुकको प्रशासनिक संरचना कम्युनिस्ट मुलुक वा चीनको जस्तो पिरामिड शैलीमा आधारित, नेतृत्वले आदेश दिएपछि पालना गर्नै पर्ने, आदेश मान्नु अघि सही छ कि छैन भनेर मूल्याङ्कन गर्न नपर्ने र तान शाही शैलीको हुँदैन । तर, यही कारण कर्मचारीतन्त्र तथा प्रशासनिक अवयव कोरोना भाइरस विरुद्ध केन्द्रित गर्न नसकिने होइन । सङ्कटकाल घोषणा गरिसकेको अवस्थामा ह्वाइट हाउसले सबै सरकारी अवयव कोरोना भाइरस विरुद्ध केन्द्रित गरी परिचालन गर्न सक्थ्यो । समय हुँदै त्यसो गर्न नसक्नु नेतृत्वको कमजोरी हो । त्यही कमजोरीका कारण अहिलेको अवस्था आएको हो ।

कोरोना भाइरस विरुद्ध सङ्घर्ष गर्न कम्तीमा यो भाइरसको पहिलो रोगी फेला पर्नसाथ विमानस्थल र सीमा क्षेत्रमा चेक जाँच र क्वारेन्टाइनको व्यवस्था गर्न सकिन्थ्यो । सङ्क्रमित र उसको सम्पर्कमा आएका सबैलाई अलग्गै राखेर उपचार र निरीक्षण गर्न सकिन्थ्यो । बेलैमा सार्वजनिक भेला बन्द गर्न सकिन्थ्यो । सार्वजनिक यातायात बन्द गर्न सकिन्थ्यो । चीनमा जस्तो सिटी वा स्टेट लक डाउन गर्न पनि सकिन्थ्यो । यी लगायतका कोरोना भाइरस नियन्त्रणका लागि चीनले गरेको जस्तो काम गर्दा निश्चय पनि व्यक्तिगत स्वतन्त्रता रहँदैन वा ज्यादै साँघुरिन्छ । व्यक्तिगत स्वतन्त्रता अमेरिकी प्रजातन्त्रको मुख्य सैद्धान्तिक आधार हो ।

संभवत त्यही कारण अमेरिका निवासीसँग अहिले पनि संयुक्त राष्ट्रसङ्घको बडापत्र अनुरूप बिना रोकटोक यात्रा गर्न पाउने व्यक्तिगत अधिकार सुरक्षित छ । बाक्लो हिउँ पर्दा समेत बन्द हुने सार्वजनिक सवारी गुडेका छन् । बाक्लो यात्रुका कारण सार्वजनिक यातायातका साधनमा कोरोना भाइरस नियन्त्रण गर्ने ‘सोसियल डिस्टेन्सिङ गाइडलाइन’ पालना हुन सकेको छैन । स्टेट वा सिटी लक डाउन त धेरै परको कुरा भयो । न्यु योर्क कोरोना भाइरसको इपिसेन्टर बन्नु र यहाँको दैनिक मृत्युदर ६ सय नाघ्नुको कारण यी पनि हुन सक्छन् ।

कारण जेसुकै होस्, मान्छे मर्न नरोकिए अमेरिकी शासन प्रजातन्त्र, प्रजातान्त्रिक मूल्य मान्यता र शासन प्रणालीमा प्रश्न उठ्छ । यसै गरी मान्छे मरिरहे अमेरिकी प्रजातन्त्र सफल मान्न सकिँदैन ।