अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३२ | Colorodo: 17:47

नेपाल डे परेड सङ्कटमा

लोकमणि राई २०७४ चैत २८ गते ८:५५ मा प्रकाशित

टिप्पणी

सबै नेपालीले आफ्नो ठान्ने नेपाल डे परेड केही व्यक्तिको स्वार्थका कारण भाँडिने अवस्थामा पुगेपनि त्यसलाई रोक्न सकिन्छ ?

नेपाली समुदाय सम्बन्धित विभिन्न सङ्घ संस्थाका अगुवाहरु गत शनिवार न्यू योर्कमा भेला भए । पृष्ठभूमि आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) का निवर्तमान अध्यक्ष लुइसाङ बाइबाले तयार गरेका थिए । त्यसमा फिप्नाका द्वितीय उपाध्यक्ष मंगलदास श्रेष्ठको पनि सहयोग थियो । भेलाले नेपाल डे परेड २०१८ सञ्चालनार्थ स्टेरिङ कमिटी गठन ग¥यो ।

कमिटी गठन त्यो बिन्दु बन्यो, जहाँबाट नेपाल डे परेडका सम्बन्धमा भित्रभित्रै चलिरहेको विवाद र असन्तुष्टिी बाहिर आउन सुरु भएको छ । विवाद र असन्तुष्टि बाहिर नआए त्यसमाथि खुला छलफल गर्न र समाधान खोज्न सकिँदैन । कमिटी गठनको एउटा सकारात्मक र सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको त्यति हो । बाँकी सबै पक्ष नकारात्मक छन् ।

जस्तो, अमेरिकामा रहेका नेपालीले आफ्नो कार्यक्रम ठान्ने नेपाल डे परेड २०१८ सञ्चालन गर्न गठन गरिएको स्टेरिङ कमिटीमा नेपालीहरूको साझा र सिद्धान्ततः सबैभन्दा ठुलो संस्था गैर आवासीय नेपाली सङ्घ अमेरिका (एनआरएनए) बस्न मानेन । एनआरएनएका न्यू योर्क च्याप्टर अध्यक्ष ‘तपाईँहरू अघि बढ्नुहोस्,हामी सहयोग गर्छौँ’भन्ने कूटनीतिक जवाफ दिएर बैठकबाट बिदा भए । उता सैद्धान्तिक रूपमा करिब डेढ दर्जन जातीय संस्थाको प्रतिनधित्व गर्ने फिप्ना बैठकमा सहभागी नै भएन । 

स्टेरिङ कमिटी गठन भएपछि फिप्ना त कतिसम्म असन्तुष्ट बन्यो भने निवर्तमान अध्यक्ष बाइबा र निवर्तमान द्वितीय उपाध्यक्ष श्रेष्ठलाई लक्षित गर्दै उनीहरुविरुद्ध कानुनी उपचार खोजिने आशययुक्त विज्ञप्ति नै जारी गर्न बाध्य भयो। त्यसो गर्नुको कारण छ । सन् २०१६ र सन् २०१७ मा नेपाल डे परेडको संयोजन फिप्ना आफैँले गरेको थियो । त्यति बेला फिप्नाको नेतृत्वमा बाइबा र श्रेष्ठ थिए । उनीहरूले नेपाल डे परेड सञ्चालन गर्दा फिप्नाको ट्याक्स आइडी र आधिकारिक कागजपत्र प्रयोग गरेका थिए । साथै, फिप्नाकै नाममा ब्याङ्क खाता खोली नेपाल डे परेडको आर्थिक कारोबार गरेका थिए । उनीहरूले नेपाल डे परेडलाई फिप्नाको सिग्नेचर प्रोग्राम भन्दै आएका थिए । तर, उनीहरूले नेतृत्वबाट बाहिरिनसाथ नेपाल डे परेडलाई फिप्नाबाट अलग्याउन खोजे । त्यही भएर फिप्नाले वाइबाका सम्बन्धमा तामाङ सोसाइटी अफ अमेरिका र श्रेष्ठका सम्बन्धमा नेवा गुठीसँग स्पष्टीकरण मागेको छ ।

पहिलो र दोस्रो नेपाल डे परेड फिप्नाको संयोजकत्वमा भएको पृष्ठभूमिका आधारमा तेस्रो नेपाल डे परेड कसरी गर्ने भन्ने सम्बन्धमा फिप्नाको नयाँ नेतृत्वले टाउन हल मिटिङ राख्ने तयारी गरिरहेको बेला निवर्तमान अध्यक्ष र निवर्तमान द्वितीय उपाध्यक्षको पहलमा नेपाल डे परेड सञ्चालानार्थ स्टेरिङ कमिटी गठन भएपछि फिप्ना उनीहरूसँग चिढिएको हो । फिप्ना नयाँ नेतृत्वले बाइबा र तामाङले आफूहरू नेतृत्वबाट हट्नसाथ नेपाल डे परेड पनि फिप्नाभन्दा बाहिर लगेर अन्तरघात गरेको ठहर गरेको छ । आफू नेतृत्वमा रहेका बेला सिंग्नेचर कार्यक्रम भन्दै अघि बढाएको कार्यक्रम व्यक्तिको नाममा दर्ता गरेर फिप्ना भन्दा बाहिर आफैमा फिप्नाको मूल्य मान्यता विपरीत देखिन्छ, यसले वास्तवमै फिप्नाको मर्ममाथि नै कुठाराघात गरेको प्रमाण्ति हुन्छ ।

स्वार्थको जालो
नेतृत्वबाट बाहिरिँदै गर्दा लुइसाङ बाइबाले आफूलाई काम गर्न सहज हुने नयाँ नेतृत्व ल्याउन चाहेका थिए । त्यसका लागि उनलेनिवर्तमान प्रथम उपाध्यक्ष मणि बाङ्देललाई स्वाभाविक उत्तराधिकारी र महासचिवका रूपमा बिनिता तामाङलाई अघि सारेका थिए । तर, फिप्नाका सल्लाहकार रहेका मानबहादुर राना मगर चुनाव जितेर अध्यक्ष बने । बाङ्देल र तामाङ दुवै पराजित भए । त्यसअघि अध्यक्षको उमेद्वारीबाट मगरलाई ब्याक गराउन बाइबाले ठुलै कसरत गरेका थिए । तर, मगरले उनको प्रस्ताव अस्वीकार गरेपछि बाइबा चिढिएको बुझ्न गाह्रो छैन ।

परिस्थिति हेर्दा बाइबा र उनको समूह फिप्नाको नयाँ नेतृत्वलाई असफल बनाउन नेपाल डे परेडलाई माध्यम बनाएको देखिन्छ । नेपाल डे परेड सञ्चालनका लागि बाइबा, श्रेष्ठ र रिजउड समाजका अध्यक्ष रविकिरण कोइरालाले संयुक्त रूपमा नेपाल डे परेड इन्क नामक संस्था दर्ता गरेका छन् । नेपालीको साझा कार्यक्रम व्यक्तिका नाममा दर्ता गरेर त्यसलाई स्वार्थवश आफ्नो कब्जामा राख्न खोजिएको जस्तो अर्को परिस्थिति पनि नकार्न सकिन्न । फिप्नाको नेतृत्वमा छँदै नेपाल डे परेड इन्क दर्ता गरिएको हो भने बाइबा र श्रेष्ठ स्वार्थीमात्र होइनन् फिप्नाका लागि अन्तरघाती समेत हुन् ।

यता फिप्नाको नयाँ नेतृत्वलाई आफ्नो कार्यकाल अघिल्लो नेतृत्वको भन्दा सफल देखाउने चुनौती छ । नेपाल डे परेडजस्तो सबै नेपालीले अपनत्व महसुस गरेको कार्यक्रमको संयोजकको भूमिका खोसिँदा आफ्नो नेतृत्व क्षमतामा प्रश्न उठ्ने उसले ठानेको देखिन्छ । त्यही भएर फिप्नाको नयाँ नेतृत्व बिलखबन्दमा परेको हो । फिप्नाले जारी गरेको विज्ञप्ति र फिप्ना पदाधिकारीहरूले सामाजिक सञ्जालमा गरेको पोस्ट हेर्दा उनीहरू कुन तहसम्म विचलित बनेका छन् भन्ने अनुमान गर्न सकिन्छ ।

नयाँ नेतृत्वको कमजोरी
१८ फेब्रुअरी २०१८ मा फिप्ना नयाँ नेतृत्वले हिमाली नयाँ वर्ष शुभकामना कार्यक्रम राख्यो । त्यही दिन प्रथम सहिद लेखन थापा को१४१ औँ स्मृति दिवस पनि मनायो। एउटा कार्यक्रम खुसीको र अर्को दुःखको थियो । तर, यी दुई कार्यक्रम फिप्ना सचिवालयमा एकै दिन एउटै समय आयोजना गरिएको थियो । फिप्नाको नयाँ नेतृत्व कति अपरिपक्व छ भन्ने देखाउन यो एउटै उदाहरण काफी छ ।

पराजयको आक्रोश भनौँ वा कुण्ठा, जोसँग पनि हुन्छ । आफुअनुकूल नेतृत्व ल्याउन नसकेको फिप्नाको पुरानो नेतृत्वमा पनि त्यो थियो । हिमाली नयाँ वर्षमा खुसीको शुभकामना दिँदै गर्दा प्रथम सहिद लेखन थापाको मृत्यु सम्झिन सक्ने नयाँ नेतृत्वले त्यो बुझेन । अझ चुनावी मैदानबाटै जितेर आएपछि नयाँ नेतृत्वले पुरानो नेतृत्वलाई गन्दै गनेन । आफूलाई नगन्ने नयाँ नेतृत्वलाई पुरानोले गन्ने कुरा भएन । यही द्वन्द्वका कारण सम्पूर्ण नेपालीको आस्था र गौरवसँग जोडिएको नेपाल डे परेड कार्यक्रम सङ्कटमा परेको छ। सङ्कट कति जटिल छ भने त्यसको जरामा बाइबा र मगरको स्वार्थ रइगोको टकराव तथा कोइरालाको कन्भेनर बन्ने स्वार्थ जोडिएको देखिन्छ ।

सम्भावना अर्को पनि छ । युएस नेपाल अनलाइनका अनुसार नेपाल डे परेड सञ्चालन गर्दा ६७ हजार ३ सय ८१ अमेरिकी डलर चन्दा उठेको थियो । उक्त अनलाइनले उक्त रकम घोटाला भयो त भनेको छैन,तर फिप्नाको ट्याक्स आइडी र खाता प्रयोग गरे पनि हिसाब किताब नबुझाएको उल्लेख गर्दै बाइबा र श्रेष्ठलाई मुद्दा हाल्ने तयारीको दाबी सहित समाचार प्रकाशन गरेको छ । बाइबा, श्रेष्ठ र कोइरालाले नेपाल डे परेडको हिसाब किताब नदेखाएको सत्य हो । उठेको रकम घोटाला भएको हो भने त्यसलाई लुकाउन घोटाला गर्नेहरुसँग नेपाल डे परेड इन्क नै कब्जा गर्नुभन्दा राम्रो अर्को विकल्प पनि छैन ।

स्टेरिङ कमिटीको संरचना हेर्दा पनि नेपाल डे परेड कब्जामा लिन गरिएको षडयन्त्र जस्तो देखिन्छ । त्यसको पहिलो कारण, नेपाल डे परेड स्टेरिङ कमिटीका कन्भेनर संस्थाका हिसाबले रिजउड समाज हो । इन्स्टिच्युसनल प्रोटोकलका हिसाबले एनआरएनए र फिप्ना रिजउड समाजको मुनि बसेर काम गर्छ भन्ने कम्तीमा सैद्धान्तिक रूपमा स्वीकार्न सकिँदैन । यो सिद्धान्त व्यवहारमा परिणत भए नेपाल डे परेड भाँडिन्छ र घोटाला भएको भए त्यो लुकाउन सजिलो हुन्छ । कानुनी कठघरामा उभ्याएर नेपाल डे परेडको हिसाब पारदर्शी बनाउन व्यक्तिगत तहमा दुश्मनी मोल्ने जोखिम लिन सक्ने मानिस फिप्नामा छैनन् भन्दा पनि हुन्छ ।

दोस्रो कारण,स्टेरिङ कमिटीमा राखिएका कतिपय मानिसलाई त्यहाँ आफ्नो नाम परेको समेत थाहा छैन । जस्तो, किराँत राई सोसाइटी अफ अमेरिका न्यू योर्क च्याप्टरकी अध्यक्ष भारती राईले फेसबुकमा स्टाटस लेखेरै सोध्दै नसोधी आफ्नो नाम स्टेरिङ कमिटीमा राखेको भन्दै आपत्ति जनाएकी थिइन् । त्यसपछि बाइबाले नाम हटाइदिने भन्दै फेसबुक स्टाटस हटाउन फोन गरेर अनुरोध गरेका थिए । स्टेरिङ कमिटीका अर्का सदस्य तथा सेकेन्डम्यान मणि बाङ्देल हुन् । बाङ्देल पनि कमिटी गठन हुनु अघि नै बैठकबाट बाहिरिएका थिए । वाइबासँगको सम्बन्धका कारण उनी चुप छन् । किराँत राई सोसाइटी अफ अमेरिका सल्लाहकार उनी नेपाल डे परेडमा सबै सहभागी बन्ने अवस्था सिर्जना नभए स्टेरिङ कमिटीबाट राजीनामा दिने मानसिकता रहेको उनी निकटहरू बताउँछन् । उनीमाथि स्टेरिङ कमिटीबाट बाहिरिन किराँत राई सोसाइटीको दबाब छ ।

तेस्रो कारण,नेपाल डे परेड २०१८ का कन्भेरनर बनेपछि कोइरालाले सामाजिक सञ्जालमा त्यसबारे एक शब्द लेखेका छैनन् । सामाजिक सञ्जालमा राम्रै उपस्थिति जनाउने उनको यो व्यवहार उदेक लाग्दो छ । यी यस्ता पक्ष हुन् जसले स्टेरिङ कमिटीको जग कति बलियो छ भन्ने देखाउँछ । स्टेरिङ कमिटीको जगबाट यसको उद्देश्य अनुमान गर्न सकिन्छ । उखानै छ, जग बलियो भए घर बलियो हुन्छ । नियतवश जग कमजोर पारिएको त होइन ?

एनआरएनए र फिप्ना आफूभन्दा सानो संस्थाको नेतृत्व मुनि रहेर नेपाल डे परेडमा सहभागी हुन्छ भनेर कम्तीमा सैद्धान्तिक हिसाबले भन्न सकिन्न । नेपाल डे परेडको नेतृत्व एनआरएनएले गर्नुपर्छ भन्ने आवाज उठिरहेका बेला एनआरएनले रिजउड समाजले नेतृत्व गरेको नेपाल डे परेडलाई खुलेर सघाउने सम्भावना पनि कम छ ।

बाइबा र श्रेष्ठको डिजाइनमा बनेको स्टेरिङ कमिटीले गर्ने नेपाल डे परेडलाई फिप्नाले सघाउने कुरा दिवा स्वप्न हो । फिप्ना सहभागी नभए नेपाल डे परेड सफल हुँदैन । किनभने परेडमा देखाउने विभिन्न जातका झाँकी र सडकमा उत्रिने कम्तीमा आधा जनशक्ति फिप्नासँग छ ।

नेपाल डे परेड नेपालमा गणतन्त्र स्थापना भएको खुसीयालीमा सुरु गरिएको हो । परेड म्यानहाटनमा हरेक वर्ष मे महिनामा हुन्छ । परेडलाई अन्तराष्टियस्तरमा नेपाललाई चिनाउने महत्त्वपूर्ण माध्यम मानिन्छ । त्यहाँ हजारौँ नेपाली सडकमा उत्रिन्छन् । म्यानहाटनलाई राजधानीहरूको पनि राजधानी मानिन्छ । त्यस्तो ठाउँमा नेपाल डे परेड मनाउनु नेपालीका लागि गर्वको कुरा हो । यसले हरेक नेपालीलाई म नेपाली हुँ भन्ने अनुभूति दिलाउँछ । यो कुरा हो । नेपाल डे परेड केही व्यक्तिको स्वार्थका कारण असफल भए सम्पूर्ण नेपालीको आत्मसम्मानमा ठेस लाग्छ । त्यस्तो अवस्था आउन नदिन अघिल्लो नेपाल डे परेडमा सहभागी नेपाली समुदाय सम्बद्ध ४० भन्दा बढी सङ्घ संस्थाले पहल गर्नु ढिला भइसकेको छ । एउटाले बोलाएको बैठकमा अर्को नजाने निषेधको परिस्थिति अन्त्य गर्न एनआरएनएले तत्काल सर्वपक्षीय बैठक बोलाउनु पर्छ । र,यो विषयमा निकास खोज्नुपर्छ ।

निकासका लागि एनआरएनए र नेपाली समुदायका सङ्घसंस्था किन लाग्नुपर्छ भने बाइबा र श्रेष्ठको डिजाइनमा गठित स्टेरिङ कमिटीलाई असहयोग गरेर नेपाल डे परेड असफल बनाउने रणनीतिमा फिप्नाको नयाँ नेतृत्व लागिसकेको छ । विज्ञप्ति र स्पष्टीकरणमार्फत त्यसको सुरुवात भइसकेको छ । यो अमेरिकामा रहेका नेपालीका लागि मात्र होइन सबै नेपालीको लागि खुसीको खबर होइन ।

फाइल फोटो