अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२८ | Colorodo: 22:43

कोभिड–१९ भन्दा डरलाग्दो कोइमेइ–२०

सरल सहयात्री २०७६ चैत २२ गते ०:२० मा प्रकाशित


कोरोना भाइरस (कोभिड–१९) संसारकै लागि महासंकट सावित भएको छ । संसारमा यसअघि भएका महामारी नियन्त्रणका अनुभवहरुवाट यसको निराकरण सम्भव छ भन्ने आशा राखौं । प्रतिक्षा गरौं, कोभिड–१९ लाई संसारले नियन्त्रण गरेपछि नेपालमापनि नियन्त्रण हुने नै छ । तर नेपालको आफ्नै उत्पादन कोइमेइ–२० को महामारी डरलाग्दो रुपमा फैलिएको छ । जसलाई नेपाल आफैले नियन्त्रण गर्न सकेन भने यसले देशलाई खोक्रो पारेर बोक्रामात्रै बाँकी राख्न लामो समय लिँदैन ।

कोइमेइ–२० अर्थात corruption is a mental illness–2020 (भ्रष्टाचार एक मानसिक रोग–२०२०) । भ्रष्टाचारलाई यस्तै केही रोगकै रुपमा नामाकरण गरौं । किनभने भ्रष्टाचार अब घटनाको रुपमा रहेन । यो महामारी रोगकै रुपमा देशलाई तवाह गर्ने गरी फैलिसकेको छ । विभिन्न श्रोतका तथ्य तथ्यांकका प्रस्तुतिले नेपालको कुल ग्राहस्थ उत्पादन, आयात निर्यातको अवस्था र भ्रष्टाचार नियन्त्रणको सकरात्मक मिटर अलिअलि बढेको होला । यद्यपी, समयको गतिभन्दा निकै पछाडि उभिएर तथ्यांकको डायरी पल्टाउँदै देश सकरात्मक गतिमा अघि वढेको छ भन्ठान्नु जति मुर्खता नेपालका लागि अब अर्को हुनेछैन । त्यही भएर यसको नाम कोइमोइ–२० अर्थात भ्रष्टाचार एक मानसिक रोग भन्ने घोषणा गरेर यसको जिन पत्ता नलगाइ समस्याको दीर्घकालीन समाधान हुँदैन ।

१) नजन्मदै देखि शुरु हुने धार्मिक क्रियाकर्म
सानो भएरपनि अधिक धार्मिक संस्कारले अतमत्त भएको देश हो, नेपाल । हामीले निकै आस्थापूर्वक यसको बारेमा डराइ डराइ बोल्ने गरेका छौं । यो कुनै डराएर बोल्नुपर्ने कुरा होइन । निकै लामो अध्ययन पश्चात कार्लमार्क्सले बताइसक्नु भएको थियो – धर्म र अफिममा कुनै फरक छैन । जुवा, अफिम र धर्मको नशाले मान्छेलाई एकोहोरो बनाउँछ । हाम्रा धार्मिक परम्पराले हामीलाई आमाको गर्भमा आएदेखिनै शीर झुकाएर सहन गर्न सिकाएका छन् । पहिलो ठगी गर्न सिकाउने केन्द्र धार्मिक संस्था र यसका ठेकेदार/पेटी ठेकेदार हुन् ।

मठ, मन्दिर,चर्ज, गुम्बा, मस्जिद लगायतका केन्द्र हुन् । तपाईले अर्को जुनीका लागि, अनिश्चित भविष्यका लागि र आफूले जानाजानी गरेका कुकर्मका लागि ती केन्द्रमा गएर वा भगवानका दलालहरुलाई कति घुस खुवाइ सक्नु भो ? ताकि जानाजानी गरेको अपराधबाट समेत मुक्ति पाइयोस् । यो जुनिमा नपाएका ऐस–आराम र सुरा–सुन्दरी मरेपछि स्वर्गमा प्राप्त होस्, राम्रो जागिर मिलोस्, व्यवसाय सफल होस्, सोचेको काम यतिकै पूरा होस्, कामै नगरी फल प्राप्त होस्, पढ्दै नपढी परीक्षामा पास होस्, राम्रो पति वा पत्नी प्राप्त होस्, विदेश जान पाइयोस् तथा बाँचुन्जेल आफूलाई जन्मदिने बाबुआमालाई वास्ता समेत नगर्ने तपाई हामी मध्य मरेपछि सुख पाइएला भन्दै कतिले कति लगानी गरिसक्यौं? के यस्ता काम गर्नका लागि तपाईं हाम्रो परिवार भित्रैबाट र भएन भने पुरोहित, लामा, पाष्टर तथा धर्म गुरुहरु मार्फत जन्मन नपाउँदै देखि हामीलाइ सिकाएका छैनन् ? सबैभन्दा धेरै वुझाइहरु संकेन्द्रीत हुने यस सैशव उमेरमा पहिलो ठगीवाला ज्ञान सिकेका छौं हामीले ।

२) श्रमप्रति लाज जगाउने शिक्षा प्रणाली
नेपालका अधिकांश विद्यालय ज्ञान सिकाउने केन्द्रभन्दा धेरै जसरी हुन्छ जित्ने प्रतिस्पर्धाको कुरुक्षेत्र बनेको छ । त्यहाँ अक्षर लेख्ने र चिनाउने बाहेक केवल बासी सूचना र चोरेर भएपनि प्रथम हुने प्रतिस्पर्धाका लागि विद्यार्थी तयार पारिन्छ । तपाईं–हामी मध्य अधिकांशले एकपटक हाम्रो स्कुल जीवनलाई फर्केर हेरौं त । चिटिङ गरेको वा गर्न प्रयत्न नगरेको अनुभव कसैको छ ? जसरी पास गरेको भएतापनि त्यसलाइ सिन्दुर माला पहिराएर पुरस्कार प्रदान गर्ने संस्कृतिले वाँकीलाइ कस्तो प्रभाव पारेको थियो ? पक्कै पनि हाम्रा बाल–मानसिकताले यही भनेको थियो –‘जसरी हुन्छ प्रथम हुनुपर्ने रैछ’ ।

जसरीको अर्थ प्रत्येक व्यक्ति अनुसार फरक पर्छ । कसैले चिट चोर्छ कसैले विद्यालयको दराज फोरेर प्रश्नपत्र उम्काउँछ । कसैले आफ्नो बल देखाएर अलिक कण्ठपार्ने साथीको सार्दो हो । यदि तपाईं विद्यालयमा चिट चोर्न नसक्ने वा हुबहु कण्ठ पार्न नसक्ने विद्यार्थी हो भने तपाईंको मूल्य छैन । कुनै प्राविधिक ज्ञानमा अब्बल हुनुस् वा कुनै कलामा निपूर्ण हुनुस्, त्यसको कुनै मूल्य हुँदैन । विभिन्न सन्दर्भमा हेप्न र उखान टुक्कामा खिल्ली उडाउन प¥यो भने खाना उत्पादन गरिदिने कृषक (हलि), छाना वनाइदिने डकर्मी, नाना सिलाइदिने परियार, औजार बनाइदिने विश्वकर्मा, यात्रा सहज पारिदिने चालक/सहचालक र आम मजदुर लगायतका श्रमिकहरु एक नम्बर निसानामा पर्छन् । मानौ यी सबै काम लाज लाग्ने कर्म हुन् । आजभोलि चाहिँ स्थिति अलिक फरक छ । यावत कुराहरु कम भनिन्छ तर नभनेरै श्रमलाइ विभेद गर्न वाध्यकारी सोच निर्माण गरिन्छ । र जसरी हुन्छ प्रथम हुने दौडमा लाग्नुस्, जित तपाइको हुनेछ । हो श्रमप्रति लाज जगाउने र चिट चोरेरपनि प्रथम हुने दोश्रो ठगीवाला ज्ञान उर्जाशील किशोरवस्थामा हामीले सिकिसकेका छौं ।

३) जसरी गर्नुस् समाजसेवामा देखिनुस्
केही निश्वार्थ भाव राखेर काम गर्ने संस्था तथा व्यक्तिहरु बाहेक समाजसेवा जत्तिको ढोंगी कार्य अर्को कुनै छैन भन्दा मलाई धेरै गाली नगर्नु होला । उदाहरणका लागि राजधानी वा बाहिरी सहरहरुमा गुण्डागर्दी गर्नुस्, मानव अपहरण गरेर फिरौती लिनुस् र त्यसको सानो हिस्सा यदि कुनै गाउँको विद्यालयमा दिनुभयो भने त्यस्तै परे तपाईं त्यस विद्यालयको प्रधानसंरक्षक बन्न सक्नुहुनेछ । यदि भएन भनेपनि तपाइलाई जयजयकार गर्नेको भीड त निकै ठुलै हुनेछ ।

वरपरका गाउँमा चर्चा चल्नेछ र राजनैतिक दलहरुको तपाईमाथिको ध्यानाकर्षण ह्वात्तै बढ्ने छ । थप तपाईंको पाखुरापनि बलियो छ र दुई चार जनाको वंगारा खुस्काउनु वायाँ हातको खेल हो भने त सिधै युवासंघको उपल्लो तहमा पुगिहाल्नु हुन्छ ।

अर्को तरिकापनि छ, एउटा गैरसरकारी संस्था खोल्नुस् नसके नेपालबाटै र सके विदेशी गैरसरकारी संस्थासँग सहकार्य गर्नुस् यति नभए सरकारको बजेटमा पहुँच राख्नुस् र दुःख परेका मान्छेहरुको भावना जित्नुस् । जस्तै सुत्केरीलाई अण्डा कुखुरा र बिरामी परेकालाइ २÷४ हजार पैसा पु¥याइदिनुस् । पूर्ण दक्षता कहिल्यै हाशिल नहुने तर २÷३ दिनको सचेतना, जागरण, पुनर्ताजगी जस्ता तालिम चाहिँ वर्षमा महिनै पिच्छे दिइराख्नुस् र मिठो खाजा ख्वाइदिनुस् । त्यो रकम कहाँबाट ल्याउनु भएको हो भनेर कसैले खोज्नेवाला छैन । कति खर्च गर्नुभयो कसैले सोध्नेवाला छैन ।

यसको अप्रत्यक्ष फाइदा राजनैतिक नेताहरुलाई पनि छ । यो समाजसेवावाला बानीले आम मान्छेहरुलाई नीतिगत परिवर्तन र त्यसको पारदर्शी कार्यान्वयन प्रति ध्यान हुँदैन । उदाहरणका लागि कोरोना जस्ता महामारी मात्रै होइन नियमित उपचार नपाएका कारण पनि हरेक दिन दर्जनौं मान्छेहरुको ज्यान गएको हुन्छ ।

तर समग्र स्वास्थ्य क्षेत्रको परिवर्तनको चाख कसैलाइ हुँदैन । वरु मास्क बाँड्न फलाना आइपुगेको थियो भन्ने भावनाले काम गरिराख्छ । कमजोर शिक्षा प्रणालीको कारण बेरोजगारी वढेको छ, जसका कारणले खाडीमा गएर ज्यान गुमाउन प¥यो भन्ने विषय प्रधान बन्दैन । बेला मौका दुई चार प्याक खुवाउने र नियमित हेलो हाई गर्ने नेता प्रिय लाग्ने हुन्छ । नेता नीतिको प्रगतिमा होइन दैनिक समस्या समाधानको मालिकको रुपमा बन्दै जान्छ । जसलाई कुनै विषय प्रतिको गहिरो ज्ञानको आवश्यकता पर्दैन । उस्तै परे मरेका जति सवैको मलामीमा पुगेपनि पुग्छ । भलै विद्यालय शिक्षा सकिन सक्दा यस्तै विकृत समाजसेवाबाट लोकप्रियताको तेश्रो सफलता देखिसकेको हुन्छौं हामी ।

४) कार्यकर्ता व्यवस्थापन अर्थात उपभोक्ता समिति
समाजसेवा सहितको सवैभन्दा फष्टाएको नाफामूलक कर्म देशैभरी उपभोक्ता समिति हो । उपभोक्ता समितिको नीतिगत मान्यताप्रति मेरो पूर्ण सहमति छ । तर यसको उपयोगको कुरा गर्ने हो भने भ्रष्टाचारको सवैभन्दा बृहत र व्यवहारिक पहिलो पाठशाला यही बन्दै गएको छ ।

सवै राजनैतिक दलमा सक्रिय सदस्य वनाउनु पूर्व्विधानतः साधारण सदस्यको प्रक्रिया छ । तर यसको प्रक्रिया खासमा बदलिइसक्यो । कुनै ‘हर्ताकर्ता’ र पाखुरा वलियो भएको मान्छे स्वतन्त्र, कुनै दल वा संस्थामा आवद्ध छ भने विभिन्न प्रलोभनका बावजुद अन्तिम अश्त्र भनेको उपभोक्ता समितिको अध्यक्ष वा सचिव बनाइन्छ । यति भएपछि ९५ प्रतिशत कुरा क्लियर भयो – त्यो ‘हर्ताकर्ता’पार्टीमा प्रवेश गर्न तयार भयो ।

जसका लागि साधारण सदस्यको झन्झटपनि खासै नपर्न सक्छ । स्थानीय तहमा पार्टी भित्र ‘अन्याय’ परेका कार्यकर्ताको लागिपनि एउटा शब्द सहजतापूर्वक प्रयोगमा आइसक्यो । त्यो हो ‘व्यवस्थापन’ गरिदिने । अर्थात बजेट हालिदिने र उपभोक्ता समितिमा अध्यक्ष वा सचिव बनाएर बिचरालाइ न्याय गरिदिने । संसद कोषको बजेटको कुरा गर्नुस् वा पालिका र वडा अध्यक्षको तजविजीमा बाँड्ने रकमको कुरा गर्नुस् यी सवै उपभोक्ता समिति मार्फत कार्यकर्ताको व्यवस्थापन गरेपछि बाँकी बसेको रकमवाट विकास नामक काम हुने हो । समितिको अर्थ गलत नलगोस् । विचरा समितिका सदस्यहरु मूलत रबर छाप हुन् । कोषाध्यक्ष महिलालाई (कानुनी व्यवस्था भएकाले) राखिन्छ ।

बाँकी उपभोक्ताको भेला कि त त्यो बजेटको बारेमा थाहानै नपाइ सवैको सहिछाप गरिन्छ कि अध्यक्ष वा सचिवले सवैको सहिछाप दाहिने हात देव्रे हात र पन्जा लगाएर सम्पन्न गरिन्छ । यो कुरा सबै तहका कर्मचारी (जसले यो काम ठिक तरिकाले भएको हो होइन भन्ने प्राविधिक अनुगमनको आधारमा रकम दिनुपर्ने हुन्छ) लाई राम्ररी थाहा छ । तर जो अध्यक्ष भएर आउँछ त्योसँग कम्तिमा ५ देखि १० प्रतिशत र यदि परामर्शवाला डिपिआर अध्ययन जस्ता काम छन् भने ३५ देखि ४० प्रतिशत सम्म रकमको सिधा प्रस्ताव राख्दछन् । खेतमा काम गर्नु, डकर्मी सिकर्मी काम गर्नु, चालक सहचालकको काम गर्नु भन्दा धेरै सजिलो तरिकाले आम्दानी हुने चौथो ज्ञान राजनीतिको पहिलो पाइलामै अनभुव हुन थाल्छ ।

५) डरलाग्दो कर्मचारीतन्त्र
उपरोक्त प्रकृया पारगर्दै विभिन्न अन्तरवार्ता र लिखित (कतिपयले लोकसेवाको लिखित परीक्षामापनि घुस चल्छ भनेर दलाललाई वुझाएका हुन्छन्) प्रकृयामा समेत घुसको रकम वुझाएर निजामती सेवामा प्रवेश गरेकाले हुनसक्छ, तल्लोस्तरका जनतालाई भ्रष्टाचार कसरी गर्न सकिन्छ भनेर सिकाउने गुरुहरुको जमात बनेको छ कर्मचारीतन्त्र । के तपाईं हामीमध्ये प्रत्येक व्यक्ति जो विभिन्न सरकारी निकायमा पुगेका हुन्छौं घुस वा पावर नलगाई समयमा काम भएको छ ? अवत निर्लज्जता कतिसम्म देखिइसक्यो भने घुस खान नमिल्ने स्तरको कोही व्यक्ति छ भने उसको काम हुनलाइ निकै नै ढिला हुन्छ । आजित भएर कुनै दलाल पठाइदियो भने काम तुरुन्त हुने अवस्था छ ।

कुनचाहिं सरकारी कार्यालयका कर्मचारीले घुस खाँदैनन् भनेर मत सर्वेक्षण गर्ने हो भने एकाध खान नजान्ने वा खानु हुँदैन भन्ठान्ने साँच्चैका राष्ट्रसेवाको भाव बोकेका कर्मचारी बाहेक ९० प्रतिशत कर्मचारीमा यो मानसिकता हावी छ । यो काम प्रहरी प्रशासनमा उत्तिकै डरलाग्दो छ । अदालतमा सवैभन्दा ठुला दलालहरुको भीड लाग्ने कुरा स्पष्ट छ । कुनैपनि मुद्दा परेका नागरिकलाई गएर सोधौं–वकिलले नठगेका, तहसिलदारले घुस नखाएका वा दलाल मार्फत न्यायाधीशका नाममा घुस भनेर नठगिएका व्यक्ति भेट्न गाह्रो छ । अख्तियार अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण जस्ता निकायहरु भ्रष्टाचारको दलदलमा फस्दै गएका छन् । यी भोगाइहरुबाट पाँचौं ज्ञान प्राप्त भइसकेको हुन्छ कि घुस लिन्या र दिन्या दुवै आत्मीय मित्र बन्नेछन् ।

६) सिद्धान्त र आदर्श बिर्सदै गएको राजनैतिक दल
माथि उल्लेखित केही आधारभूत कार्य पूरा गरेपछि पार्टीको सक्रिय कार्यकर्ताको प्रमाणपत्र पक्का हुन्छ । जो सामान्य प्रकृयावाट आएका हुन्छन् उनीहरु सक्रियताको नयाँ सिद्धान्त अनुसार विस्तारै कि त पाखा लाग्छन् कि उनीहरुको निर्णायक भूमिकाबाट बिमुख हुँदै जान्छन् । यहींबाट शुरु हुन्छ कागतीको बोटमा सुन्तलाको आशा । स्थानीयस्तरमा राजनैतिक पद अनुसारको जिम्मेवारी हुन्छ । तलको कार्यकर्ता मध्ये वडा समितिको पदाधिकारी र बाँकी सक्रिय कार्यकर्ता उपभोक्ताका स्थायी ठेकेदार (जुन दलका जहाँ पहुच पुग्छ त्यसैको) हुन् । पालिका, प्रदेश र प्रतिनीधिसभास्तरका कार्यकर्ता जसले उपभोक्ता समिति र ती कामहरुमा सक्रियता देखाउन सक्छन् ऊ चाहिँ सक्रिय भएको प्रमाण हो ।

देशैभरिबाट मुस्किलले ५०/६० पालिका बाहेक बाँकी प्रमुख र वडा अध्यक्षहरुलाई अहिले आफूले जस्तो काम कसैले गर्न नसक्ने र म मात्रै त्यस्तो पात्र हुँ जसले मिलाएर खानपनि जानेको छु र जनतालाई मख्ख पारेर ‘थेगेको’पनि छु भन्ने ठुलो भ्रम छ । अधिकांश प्रदेश तथा प्रतिनीधिसभाका सांसदहरु बजेट बिनियोजन गराएर ‘कार्यकर्ता व्यवस्थापन’ सहितको विकास गर्ने मुख्य नाइके बनेका छन् । आफूले हालेको बजेटको सदुपयोग कसरी भएको छ भन्ने उनीहरु मध्ये अधिकांशलाइ मतलव छैन । र धेरैले यति कुरा मानिसकेका छन् कि आफूले राखिदिएको बजेटबाट अलिअलि नाफा गर्नु र कार्यकर्ता (कतिपय त आफ्ना पार्टनर समेत) को आर्थिक प्रगति हुनु त्यति नराम्रो कुरा होइन भन्ठान्छन् ।

यही कुरा भिन्न तरिकाले पार्टीका जिल्ला, प्रदेश र केन्द्रस्तरका धेरै नेताहरुले स्वीकार गरिसकेको अवस्था छ । स्वीकार गरिसकेको मात्र होइन राम्रोसंग बुझिपनि सकेका छन् । बितेका चुनावका अनुभवहरुले सिकाएको छ – भोलि हुन सक्ने चुनावमा ‘युवा परिचालन’ गर्नका लागि यी सवैलाई फेरिपनि पैसाको खोलो नबगाइ हुनेवाला छैन । अब गर्ने के ? यही प्रश्नले सताएर दगुरा–दगुर चलिराको छ । स्थिति यस्तो अवस्थाबाट गुज्रिरहेको छ कि यदी कुनै राजनैतिक दलभित्र कुनै नेता वा कार्यकर्ता अकलुषित भावका साथ समाजको हितमा काम गर्न चाहन्छ भने त्यो आइसोलेसनमा पर्छ पर्छ । पहरालाई चिरेर पिपल उम्रने सत्य स्वयं पिपलकै संघर्ष हो । यी पिपलका बोटहरु पहरामा संघर्षरत छन् । जे होस्, विस्तारै विस्तारै ऊ माथि यति ठुलो घेराबन्दी हुन्छ कि ती मध्ये धेरैले बाध्य भएर ‘जसो–जसो बराजु उसै उसै स्वाहा’ गर्न थाल्दछन् ।

नयाँ संस्कृति, नयाँ सोच र नयाँ कर्म भनेको भन्ने कुरा मात्र बनेको छ । आमूल परिवर्तन गर्नुपर्ने शिक्षाक्षेत्र, प्रभावकारी बनाउनुपर्ने स्वास्थ्यक्षेत्र र रोजगारी निर्माण गर्नुपर्ने विषय कुनैपनि संस्थामा वाइयात प्रस्ताव बन्न थालेको छ । आम जनताको व्यक्तिगत जिन्दगीमा कसरी परिवर्तन हुनसक्छ भन्ने विषयको प्रवेश हुँदैन । कुनैपनि पार्टीमा पार्टीका मूल्य, मान्यता सिद्धान्त, आदर्श, संगठनात्मक अनुशासन, आचारसंहिता यी सब पार्टी्भित्र प्रशिक्षणको विषय बन्न छाडेको वर्षौ भयो । वर्षौंं यसकारण भएको छ कि यसको स्वाद पार्टी नेतृत्वहरुलाई नै छैन, जुन स्वाद स्वच्छन्दतामा भेटिन्छ ।

बैठक, भेला, प्रशिक्षण व्यक्तिका इच्छामा निहीत भएका छन्। तैपनि प्रशिक्षण तथा अभियानहरु केका लागि हुन्छन् र त्यसको परिणामले अन्ततः के परिवर्तन ल्याउछ भनेर निष्कर्षमाथि बहस हुँदैन । यी सारा भद्रगोलमा गोल हान्नुपर्छ भन्ने छैठौं ज्ञान प्राप्त हुन्छ ।

हो, आजका हाम्रा कर्मचारीका हाकिमहरु, अदालतका वकिल र न्यायधीश, प्रहरी र सेनाका अफिसर, अख्तियार र सम्पत्ति सुद्धिकरणका आयुक्तहरु, राजश्व अनुसन्धानका डिजिहरु, राजनैतिक दलका नेता कार्यकर्ताहरु, जनप्रतिनीधिहरु, सांसद मन्त्री तथा प्रधानमन्त्रीहरु उपरोक्त प्रकृया पार गरेर आउनु भएको छ । के यावत सामान्य लाग्ने जीवन व्यवहार र आचरण भ्रष्टाचारका आधारहरु होइनन् ? यसैको परिणाम हो कात्रो किन्न छुट्याएको रकममा कमिसनको बार्गे्निङ गर्न पछि नपर्ने आचरण र जनताले एउटा इन्जेक्सन प्राप्त गर्न सक्छन् कि सक्दैनन् भनेर चिन्ता गर्नुपर्ने बेला तिनैको जीन्दगी माथि खेलवाड गरेर कमिसन लोप्क्याइ हाल्न पछि नपर्ने वुद्धिभक्तहरुको उदय ।

निष्कर्ष
यावत् आलेखको सम्पूर्ण अर्थ निराशा फैलाउनु होइन । यथार्थतालाई अभिव्यक्त गर्नु हो । जीवनको पूर्वार्धमा सबैकुरा क्लिन हुनेमात्र उत्तर्रार्धसम्म राम्रा सावित हुनसक्छन् भन्ने पूर्वाग्रह र आदर्शबाट मुक्त छु म । जीवन उतार चडाव घुम्ती मोडहरुको संयुक्त क्याराभान हो । समाज भिन्न तरिकाले यस्तै नै थियो भनेर हामी सबैले भिन्ना भिन्नै तरिकाले बदल्ने हिम्मत गर्यौ । कसैले वर्षौवर्ष जेलको काल कोठरीमा बिताएका छौं त कसैले रगत, पसिना र आँशुको त्रिवेणी तरेर आएका छौं ।

यी पुराना सोच संस्कृति र गलत बिरासतलाई त्यही त्रिवेणीमा बगाएर यहाँ आइपुग्ने सामूहिक प्रतिवद्धता गरेका थियौं । इतिहासले निर्ममतापूर्वक पुष्टि गरेको छ – हामी एक्लै केवल व्यक्ति हौं । चाहे मन्त्री, प्रधानमन्त्री वा राष्ट्रपति किन नबनौं । सामूहिकताको केन्द्रीकृत अभिव्यक्ति पार्टी हो । जनताको सामूहिकताको केन्द्रीकृत अभिव्यक्ति कार्यकर्ता हुन् । जोसंग कम्तिमा ५० जना जनताको विश्वास र नेतृत्व हुँदैन त्यो कार्यकर्ता हुँदैन । जुन पार्टीसंग संगठनात्मक विधीको कार्यान्वयन हुँदैन त्यो पार्टी रहँदैन ।

प्रत्येक व्यक्तिले यी संस्थागत मान्यता र यसप्रति उत्तरदायी हुनुपर्ने बाध्यात्मक अबस्थालाई नेतृत्व गर्नेगरी संगठनको परिचालन नगर्दा आइपुग्ने परिणाम यस्तै यस्तै विश्रृंखलित हुन्छ । अन्ततः पार्टी स्वयं संस्थागत भ्रष्टीकरण र विलोप हुने खतरामा पुग्छ । यसकारण भ्रष्टाचारलाई संयोग होइन सोचाइमै विकास भएको एक मानसिक रोगको रुपमा बेलैमा पहिचान गरौं । एक ठाउँमा मात्र होइन, समाजको हर क्षेत्रमा कोइमेइ–२० (भ्रष्टाचार एक मानसिक रोग २०२०) को खोप लगाउन शुरु गरौं । ज–जसलाई कोइमेइ–२० को आशंका भएको छ तिनीहरुलाइ क्वारेन्टाइनमा राखौं । रोगले छोइसकेकालाई आइसोलेसनमा राखौं । मृत्युनै भइसकेकाहरुलाई सामाजिक दुरी कायम गरेर व्यवस्थापन गर्न थालौं । सचेत वनौं र कोइमोइ–२० बाट देशलाइ मुक्त गरौं ।

– सरल सहयात्री (रातोपाटी मार्फत साभार )