अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४१ | Colorodo: 12:56

सरल सहयात्रीको खुला प्रश्न नेपाली हुनुमा पनि मज्जा छ र रवि जी ?

सरल सहयात्री २०७५ असार १० गते ६:०८ मा प्रकाशित

प्रिय रबीजी,
यसर्थ धन्यवाद दिन चाहन्छु कि, तपाईँले आफ्नो अमेरिकी नागरिकता त्याग गर्ने कानुनी पक्रिया पुनः सुरु गरेर फेरि अर्कोपटक नेपाली नागरिक हुने प्रक्रियामा सामेल हुनुभयो भन्ने खबर सुन्न पाइयो । तपाईँको कुरा गर्दा यति बेला माहौल निकै गरम खालको छ । विभिन्न कारणले विदेशमा बस्ने नेपाली र भर्खर उत्सुकताको प्रश्नैप्रश्न बोकेर अन्योल भविष्यको मार्गमा कुदिरहेका किशोर किशोरीहरु रवि लामिछानेको थोरै पनि आलोचना सहन नसक्ने भएका छन् । यो तपाईँको एक प्रकारले सफलता हो । अर्थात् छायामा परेको केही सामाजिक घटनाहरूका पर्दा खोल्न सफल हुनु भएको उदाहरण हो ।
व्यक्तिगत रूपमा भन्नुहुन्छ भने ‘गिनिज बुक अफ वल्र्ड’ रेकर्डमा नाम लेखाउन सफल हुने गरी लिएको झन्डै साठी घण्टा लामो अन्तरवार्ता देखि नै मेहेनतपूर्ण प्रतिभाको लागि म तपाईँप्रति एक धुमिल खालको आशा थियो । अकस्मात अमेरिकाबाट नेपाल आएर त्यो ‘करिश्मा’ देखाउनु भयो र उतै फर्कनु भयो । अध्ययनकै सिलसिलामा त्यसखाले मेहेनतपूर्ण कर्म गरिरहनु भएको छ भन्ने सूचनाले पुनः अमेरिका फर्के पनि त्यतिविधि चासो नभएको होला सम्भवतः सबैलाई । वा अमेरिका–आकर्षणले लुप्त धेरै नेपाली मध्य तपाईँ अर्को एक हुनुभयो भन्ने अनुमान पनि थियो होला कतिपयको । पछिल्लो पटक नेपाल आएपछि भने साँच्चैकै कमाल गर्नु भएको हो । ‘जनतासँग सिधा कुरा’ कार्यक्रममा कतिपय कमजोरीको बाबजुद गरिएको खोजपूर्ण प्रसारणको प्रभाव जसरी आममान्छेहरुमा प¥यो मलाई पनि ठिक उस्तै गरी प¥यो । र मैले तपाईँको प्रशंसा गर्दै कयौँ पटक भनेँ, ‘कमाल गरेको छ यार रवि लामिछानेले’ । 

म त्यति बेला आफैँसँग फ्यास्स परेँ, जतिबेला तपाईँको वास्तविकता थाहा पाएँ । रवि लामिछाने त नेपाली मूलको अमेरिका नागरिक पो बनिसकेको रहेछ । करिब एकवर्ष अगाडि तपाईँकै मुखबाट स्पष्टीकरण सुनेर थप स्पष्ट हुन पाएँ । भन्नुभएको थियो, ‘विभिन्न व्यक्तिगत कारणहरूले गर्दा मेरो अमेरिकी नागरिकता (ग्रिन कार्ड) त्यागको प्रक्रिया ढिला भएको छ ।’ घोषणा नै भएपछि त्यो त्यागिएला भन्ने मेरो चाहिँ कम्तीमा विश्वास थियो । तर अहिले आएर फेरि सुन्न प¥यो, ‘अब सुरु भएको छ । कानुनविद्को अनुसार अमेरिकी डकुमेन्ट्री बुझाएपछि पूर्णनेपाली हुन पाइने रहेछ । मैले बुझाएँ ।’ बुझाएर ठिक गर्नु भयो । तर प्रश्न बाँकी राखिदिनुभयो कि, बुझाउन त उहींबेला पनि बुझाउन सक्नु हुन्थ्यो होला, जतिबेला समाजको विकृतिविरुद्ध खोजपूर्ण पत्रकारिताको सुरुवात गर्छु भनेर पुनः पत्रकारिता सुरु गर्नुभएको थियो । सक्न त त्यति बेला नै पनि सक्नु हुन्थ्यो होला, जतिबेला आफूबारे सार्वजनिक प्रश्न उठ्यो र स्पष्टीकरण दिनुभएको थियो । अहिले फेरि निकै लामो समयपछि आफ्नो अमेरिकी नागरिक–मोह भङ्ग गर्न बाध्य हुनुभएको रहेछ । बारम्बार उही कुरा दोहो¥याइदा देखिएको अमेरिकामोह र नेपालप्रति देखाइएको सद्भावपूर्ण द्वैध चरित्रले अलिबढी ढोग महसुस भयो र तपाईँप्रतिको सम्मानबोध निकै कमजोर हुन पुग्यो । जेहोस् अब आशा राखूँ ‘यो पटकको प्रक्रियाले तपाईंलाईं कानुनतः पुनः एक नेपाली बनाउने छ । र दोस्रो पटक कुनै नेता, राजनीति वा परिस्थिति आदिलाई दोष दिएर त्यसलाई च्यात्नु हुनेछैन ।

अर्को अर्थमा पनि तपाईँ धन्यवादको पात्र बन्नु सक्नु हुनेछ कि, यहीँ नजिरलाई समातेर उतिबेलाका सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले सुरु गरेको पिआर र ग्रिनकार्डधारी ‘राष्ट्रसेवकहरु’लाई, ‘कि नेपाली बन्नुस् कि पूर्ण विदेही भएको घोषणा गर्नुस्’ भनेर सुरु गरिएको छानबिन प्रक्रिया पुन सञ्चालन गर्न मद्दत मिल्ने छ । उनै लालबाबु पण्डित अहिलेपनि सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हुनुहुन्छ । उहाँलाई त्यतिबेलाको छानबिन प्रतिवेदन वा त्यसको सत्य तथ्य डाटा पुन एक पटक बाहिर ल्याउने दबाब दिन सहयोग पुग्नेछ । यहीँ हो दुखद सत्य हाम्रो देशको । जहाँ नागरिकता च्यातेर विभिन्न बहानामा देशलाई लत्याएका वा दोहोरो नागरिकता बोकेर राष्ट्रसेवक भएका सयौँ ‘राष्ट्रवादीहरु’ यहाँ ‘राष्ट्रसेवा’ मै मौज्दात हुन सक्छन् । तपाईँको कारण ती सबको सातो उडेको होला र उनीहरू सबैले आत्मसमर्पण गर्लान् वा आफू विदेशी भएको घोषणा गर्लान् । हेर्ने दिन आएको छ ।

रवि जी, तपाईँले नेपाली समाजलाई नेपालबाट भन्दा अमेरिकाबाट धेरै अध्ययन गर्नुभएको होला । नेपालका कुना काप्चा घुमेका अर्गानिक घुमन्तेका अध्ययनअनुसार नेपाली समाज आज पनि ऐतिहासिक कतिपय भ्रमपूर्ण संस्कृति र परम्परागत मनोविज्ञानबाट प्रभावित छ । यो समाज तिक्ततापूर्ण सत्यमा भन्दा रहस्यपूर्ण करिश्मामा विश्वास राख्छ । वेद, पुराण, रामायण, महाभारत जस्ता धार्मिक ग्रन्थहरूमा उल्लिखित महापुरुषहरुको काल्पनिक रहस्यले अझै मोहित छ हाम्रो समाज । भावनात्मक छन् मान्छेहरू । त्यस कारण दयालु पनि छन् । आँखा चिम्लेर विश्वास गर्न सक्छन् । प्रश्न गर्दैनन् । आफ्नो शक्तिमा भन्दा कुनै महापुरुषको तागतमा विश्वास राख्ने मनोविज्ञानको अन्त्य भइसकेको छैन । तसर्थ संविधान प्रदत्त अत्यधिक मौलिक अधिकार प्राप्त भए पनि त्यसको प्रयोग कसरी गर्ने भन्ने चेतनाको राम्ररी विकास भइनसकेको कारण जनताको एउटा तप्का अझै चाहन्छ, ‘कुनै त्यस्तो शासक आओस् र आफ्ना साराका सारा समृद्धि घरमै ल्याएर दान देओस् । ताकि त्यसको बदलामा जयजयकार गर्न पाउँ ।’ आफ्नो न्याय अन्याय के हो ? त्यो खोज्न सक्ने अवस्थामा पुगेका छैनन् अझै । त्यसैको बिचमा तपाईँ आइपुग्नु भएको हो, एकाएक करिश्मा बनेर । यसको अर्थ यो होइन कि नेपालमा तपाईँ आउनु भन्दा पहिले केही पनि भएको थिएन । केही घटनाहरूको तथ्यपूर्ण खोजको कारण जनताको एक तप्का (जो सामाजिक सञ्जालको पहुँचमा छन्)लाई लागेको छ तपाईँ नै भगवान् हो । तपाइसँग सबै समस्याको समाधान छ ।

तपाईँ नै करिश्मा हो । तपाईँ नै महापुरुष हो अर्थात् तपाईँ नै सवथोक हो । यहीँ हो नेपाली जनताको परम्परागत इमान्दारिताको डरलाग्दो उदाहरण । राजनीतिक इतिहासको हरेक काल र त्यस कालका धेरै पात्रहरू जब–जब भूमिगत थिए अर्थात् रहस्यका अलौकिक पात्र थिए, ती सबै यस्तैखाले ‘क्रेजीजन’ का भगवान् थिए । र आज तीनै पात्रहरू जब यथार्थको मार्गमा टेक्न आइपुगे उनै ‘क्रेजी भक्तजन’हरूको नजरमा राक्षस भएका छन् । वास्तवमा ती न भगवान् थिए न राक्षस हुन् । बरु समस्या के थियो भने ती रहस्यमय पात्रहरूले बेलैमा आफूलाई मान्छे नै हुँ भनेर चिनाउन लाज माने । म कतै न कतै रहस्यमय महापुरुष (भगवान्)कै रूप हुँ कि ? भन्ने आत्मभ्रममा बाँचे । ठिक त्यस्तै, आज तपाईँ कतै न कतै त्यसै खाले आत्मप्रवृत्तिको सिकार हुनुभएको छ । त्यो समस्या तपाईलाईं समर्थन वा विरोध गर्ने दर्शकको होइन, नितान्त तपाईँको हो । ख्याल गर्नुस्, आलोचकहरु नै अन्ततः तपाईँका अप्रत्यक्ष मित्र साबित हुनेछन् ।

रवीजी, आजभोलि हाम्रो मुखमा झुण्डेको एउटा शब्द हो– सामन्तवाद ! समाजलाई सामन्तवादी प्रवृत्तिले गाँजेको छ भनेर भन्न हामी सबैलाई सजिलै आउँछ । सामन्तवादको किल्ला राजतन्त्र ढालेकोमा हामी गर्व गर्छौ । किनकि आज गणतन्त्र आएको छ । तर जब आफैँभित्र वर्षौँदेखि हुर्किएको सामन्तवादको विरुद्ध लड्ने बेला आउँछ नि ! प्रजातन्त्रवादी मसिहाहरूको पनि बाजा बज्दो रहेछ । आँखा चिम्लेर महसुस गर्नुस् – यति बेला तपाईँको कानमा बाजा बजिरहेको छ । तपाईँका कानले आफ्नो आलोचना जब आफैँ सुन्न सक्तैन, ठान्नुस् तपाईँ अमेरिकाको प्रजातन्त्र भोगेर मात्र होइन, चन्द्रमाको निर्जन साम्यवाद पुगेर आएको भए पनि तपाईँभित्र त्यो प्रवृत्ति कायम छ । तपाईँभित्र अहङ्कार, घमण्ड, आफूभन्दा बाँकी सारा बेबकुफ, बकम्फुसे लाग्न थाल्छ । जब सम्झनुस्, ‘तपाईँ भित्रको सामन्तवाद बौलाउन थालेको छ । त्यसबाट मुक्त हुनुस् । नत्र कुनैदिन टेलिभिजनको पर्दा बाहिर आएर जनताको दैनिक जीवनसँग सङ्घर्ष गर्नुपर्ने दिन आयो भने फेरि नेपाली नागरिकता च्यात्ने झोक पलाउन सक्छ तपाईँलाई । त्यसैले मत्थर पार्नुस् आफू भित्रको अहंकारलाईं । रवि लामिछाने सेलिव्रेटि भएको हो, न कि कथित लौकिक भगवान् !

मित्र, नेपालमा तपाईँले सोचेजस्तो केही नगर्ने पत्रुहरु मात्रै पनि छैनन् । राजनैतिक परिवर्तनको दशकौँ दशक दौरानमा हजारौँ–हजारले निश्वार्थ बलिदान दिएर आजको दिन ल्याएका हुन् । युरोप अमेरिकाको जस्तो भएन होला, जेहोस नेपाली मोडलको परिवर्तनकारी विचार र त्यसको नेतृत्व नेपालमै दुख गर्ने मान्छेले गरेका हुन् । यहाँभन्दा अघि समृद्ध नेपालसम्म लैजाने हिम्मत भएका मान्छेहरू पनि यहीँ देशमा छन् । सङ्घर्षमा पराजित भएका होलान्, अँध्यारामा छेकिएका होलान्, भिडबाट माथि उठ्दै होलान् तर यहीँ छन् । त्यो देख्न पनि सकारात्मक नजरिया चाहिन्छ । कलरदार चस्माबाट प्राकृतिक दृश्य नदेखिन सक्छ । तपाईँले समाजको अँध्यारा पाटोतिर हेर्दाहेर्दै उज्यालो देख्न नै बिर्सनुभयो जस्तो लाग्छ बेलाबेला तपाईँका हर्कत देख्दा ।

साथै अर्को कुरापनि सत्य हो । म गर्वका साथ भन्छु, ‘मानौँ यदि दुखदपूर्ण कुनै दिन त्यस्तो आयो र हामीले विकसित देशका ‘धनी तथा वुझकी प्रजातन्त्रवादी’ शासक र नेपालका पूर्वराजा ज्ञानेन्द्रमध्ये एक छान्न प¥यो भने एक पटक फेरि उही पूर्वराजा ज्ञानेन्द्र छान्न सकिन्छ । दुख, कष्ट गरिबी र बरु तानाशाह रोज्न सकिन्छ । तर समृद्धि, विकास, प्रगति, उन्नति, प्रजातन्त्र, मानव अधिकार जस्ता बुट्टेदार ढोंगहरुसँग आत्मसमर्पण गर्न सकिँदैन । देशले आत्मसमर्पण गर्नु र व्यक्तिले विभिन्न बहानामा आफ्नो देशका नागरिकता फालेर आत्मसमर्पण गर्नु अन्ततः भिन्न तरिकाको एउटै कर्म हो । यहीँ हो नेपाली मन । यहीँ हो नेपालीपन । यो संवेदनशिलतामा तपाईँको सधैँ ख्याल रहने छ भन्ने आशा राख्दछु । र एक पुन नेपाली भएर तपाईँको खोज पत्रकारिताको अझ धेरै वृद्धि होस् भन्ने कामना गर्दछु । पूर्णनेपाली बनेर पत्रकारिता गर्नुस्, त्यसको मज्जा नै अर्कै छ रवीजी ।

अन्त्यमा, म ती व्यक्तिगत दुखको कारण विदेशिएका आमजनताप्रति सदा साथमा छु । त्यसमा पनि विशेषगरी श्रम भिसामा विदेश पुगेर नरकीय जीवन गुजार्दै नेपालको रेमिट्यान्स वृद्धि गर्ने आमश्रमिक र अध्ययन तथा श्रमकै सिलसिलामा विकसित देशमा पुगेका र आफ्नो मिसन पूरा गरी नेपाल फर्कने लक्ष्य बोकेका नेपालीहरूप्रति मेरो हृदयदेखि सम्मान रहेको कुरा अवगत गर्न चाहन्छु । साथै अध्ययन र श्रमको सिलसिलामा विदेश पुगेर उतै घरबार जमाइ, उतैको नागरिकता लिई नेपालको बारेमा आवश्यक चिन्ता गर्नेहरु प्रतिपनि सहानुभतिनै छ । तर कानुनतः नेपाल बिर्सेर आवश्यक भन्दा अनावश्यक चिन्ता गर्ने र नेपालमा बस्ने विभिन्न व्यक्तित्वलाई गालिगलौज मात्रै गर्न जानेका स्वघोषित ‘महामानवहरु’लाई शान्त भएर आफ्नो नयाँ देशको चिन्ता र व्यक्तिगत कर्ममा लाग्न अनुरोध गर्दछु ।

प्रतिक्रिया