अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४९ | Colorodo: 18:04

कोरोना सतर्कता, सन्त्रास र मनोविज्ञान

डा. टीकाराम पोखरेल २०७६ चैत १५ गते २०:३९ मा प्रकाशित

विश्वभर कोरोना (कोभिड–१९) को सन्त्रास फैलिएको बेला बेलायतका एक जना वैज्ञानिकले यो रोग ‘७० प्रतिशतमा फैलन दिऊँ, कोरोना प्रतिरोधी क्षमता बढ्छ’ भन्ने अचम्मलाग्दो धारणा सार्वजनिक गरेका छन् । सर प्याट्री भालान्स नाम गरेका ती वैज्ञानिकले मानिसमा कोरोना भाइरस सरे मानिसमा भाइरस प्रतिरोधी क्षमता बढ्ने र यसको त्रास कम हुने भन्दै कोरोना विस्तारको पक्षमा वकालत गरेका हुन् ।

ती वैज्ञानिकको तर्क कति ठिक कति बेठिक भन्ने बहस भविष्यमा चल्दै गर्ला र फैलनु सही कि गलत भन्ने पनि भविष्यले बताउला तर उनको यो भनाई सुन्दा भने कोरोना रोग त्यस्तो भयावह होइन, बरु सामान्य हो कि जस्तो लाग्छ । यद्यपि यति बेला कोरोनाले विश्वलाई नै गाँजेको छ । मानिस रोगले भन्दा बढी रोगको डर र सन्त्रासले ग्रस्त छन् । कतिपयले यो सन्त्रासलाई सतर्कता भन्छन् । सतर्कताले सन्त्रास ननिम्त्याउनुपर्ने हो । तर सतर्कतामाथि सन्त्रास हाबी छ । अनि कसरी सतर्कता भन्ने ? कसरी सन्त्रास नभन्ने ?

विश्वभर कोरोनाबाट तिस हजार बढीको मृत्यु हुँदा नेपालमा यो रोगबाट कुनै पनि मानिसको मृत्यु नभएको मात्र होइन अहिले देशभित्र पांच जना मात्रै कोरोना सङ्क्रमित छन । सङ्क्रमित व्यक्ति ठिक हुँदै गएको भन्ने सरकारको भनाई रहेको छ । नेपालको छिमेकी राष्ट्र चीन कोरोनाको उद्गमस्थल हुनु र अर्को छिमेकी भारतमा समेत यो संक्रमण फैलिएर केहीको मृत्यु हुनु तर यी दुई मुलुकको बिचमा रहेको नेपालमा अहिलेसम्म यो रोग नफैलिनु हामी नेपालीको लागि खुसीको कुरा हो । तर सङ्क्रमित नभेटिनुमा जति खुसीको कुरा छ भविष्यमा यो भाइरस नेपाल भित्रिहाल्छ कि भन्ने त्यत्तिकै त्रास पनि छ । अन्योलपूर्ण अवस्थामा सरकारले पूर्व सतर्कताको रूपमा केही कदमहरू पनि चालेको छ ।

कुनै नागरिकमा संक्रमण देखिएमा सङ्क्रमितको उपचारको व्यवस्था मिलाउने काममा सरकार जुटेको देखिन्छ, तर एकै पटक धेरै सङ्क्रमित देखिए भने सबैको एकै पटक उपचार गर्न सरकारको तयारी र क्षमता कस्तो छ भन्ने प्रश्नको उत्तर चाहिँ बाँकी छ । त्यसो त सरकारले पूर्व सावधानीका लागि सिनेमा हल, संस्कृति केन्द्र, रङ्गशालालगायतका भिडभाड हुने स्थान बन्द गर्ने, २५ जनाभन्दा बढी भेला हुन नदिने, सवारी साधनमा सिटभन्दा बढी यात्रु नचढाउने÷नचढ्ने, सवारीसाधन डिसइन्फेक्सन गर्ने, मानिसको आवतजावत बढी हुने स्थानमा सरसफाइमा ध्यान दिने, उपभोग्य सामग्रीको अभाव सिर्जना गर्नेलाई कारबाही गर्ने लगायतका कार्य गर्ने जनाएको छ ।

यसै गरी विभिन्न मुलुकबाट यात्रु आउन प्रतिबन्ध लगाउने, नाका बन्द भएका कारण विदेशी नागरिक आफ्नो देश फिर्ता हुन नसकेकाहरूको हकमा भिसा थप गरिदिने, एसइइ तथा विश्वविद्यालयका नियमित परीक्षाहरू स्थगित गर्ने, कलेज तथा विद्यालयका पठनपाठन बन्द गर्ने, होटेल, रेस्टुरेन्ट तथा सपिङ मलहरूमा ज्वरो मापन गर्ने उपकरण राख्न लगाउने, सरसफाइमा विशेष ध्यान दिने, यी सबैको अनुगमन प्रदेश सरकार तथा मन्त्रालयहरूले गर्ने गरी कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले निर्णय गरिसकेको छ ।

सरकारले पूर्वसतर्कताका लागि यस्ता निर्णयहरू गर्दै गर्दा जनमानसमा भने सरकारले गरेको पूर्व सतर्कताप्रति सरकारलाई धन्यवाद दिनु र खुसी हुनुभन्दा पनि मनोवैज्ञानिक सन्त्रास र हल्लाको खेती बढेको छ । एकाथरिले सरकारले रोग लुकायो, भित्रभित्र पुरै महामारी फैलिसकेकाले सरकारले परीक्षा स्थगित गर्नेदेखि लिएर विद्यालय बन्द गर्ने काम ग¥यो, अब देशभित्र खानै पाइँदैन, नाकाबन्दीको अवस्थामा झैँ भारतीय नाकाबाट दैनिक उपभोग्य सामग्री नै आउँदैन, देशमा हाहाकार मच्चिन्छ, विश्व स्वास्थ्य सङ्गठनले अब दक्षिण पूर्वी एसियातिर कोरोना फैलन सक्ने भनेको र नेपाल पनि खतराको सूचीमा रहेको भनेकोले देशमा अब कोरोना त तुरुन्तै भित्रिन्छ भन्ने जस्ता मनगढन्ते प्रचारप्रसार गरिरहेका छन् । यस्ता प्रचारहरू तथ्यमा भन्दा बढी हल्लाका भरमा एक कान दोकान मैदान हुँदै समाजमा फैलिरहेका छन् । सरकारले गरेको कोरोना रोकथामको पूर्वप्रयासहरुलाई पनि सकारात्मक रूपमा प्रचारप्रसार गर्नुभन्दा सामाजिक सञ्जालहरूले नकारात्मक रूपमा फैलाइरहेका छन् ।

कोरोना भाइरसको बारेमा सामाजिक सञ्जालमा आएका विचार, भिडियो क्लिप, फेसबुक पोस्ट, ट्विट र कमेन्टहरू गर्ने केहीको क्रियाकलाप हेर्दा लाग्छ– नेपालीहरूले जान्न बाँकी केही रहेनछ, सबै कुरामा विज्ञता हासिल गरेछन् । अनि अर्को कोणबाट सोच्दा भन्न मन लाग्छ– सामाजिक सञ्जालमा उत्तेजक विचार पोख्ने भाइरसविज्ञहरुले आफू कोरोनाको बारेमा यति धेरै जान्ने सुन्ने विज्ञ भएर पनि यति सानो भाइरस संक्रमण हुनबाट किन रोक्न नसकेका होलान् ? अर्थहीन कुरालाई नेपाली सामाजिक सञ्जालकर्ताहरूले द्रुत गतिमा प्रचार गरेको देख्दा यो देशमा बेरोजगारको मात्रा निकै ठुलो छ भन्ने देखिन्छ । कि समाजमा काम नपाएकाहरू धेरै छन्, कि काम पाएका मध्येका काम चोर छन्, जो आफ्नो जिम्मेवारीको काम नगरेर यस्तै सामाजिक सञ्जालमा झुण्डिरहन्छन् र अनावश्यक अफवाह फैलाएर मनोरञ्जन गर्छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका निर्णय कतिपय राम्रा होलान् । कतिपयमा अझै सरकारको तयारी नपुगेको पनि होला । गर्नुपर्ने वा गर्न सक्ने कुरामा कमीकमजोरी पनि अवश्य होलान् । तर जति राम्रा भएका छन्, तिनीहरूलाई सकारात्मक रूपमा लिन हाम्रो समाज उद्यत देखिँदैन । समाजमा कोरोना भाइरस जस्तो घातक विषयलाई या त व्यङ्ग्यात्मक विषय बनाउने या त त्रासको विषय बनाउनेको जमात निकै ठुलो छ । लाग्छ, एकाथरि मान्छेलाई प्राणघातक रोगलाई जोक बनाउँदा निकै आनन्द आउँछ र मान्छेको मृत्युको विषय पनि जोक बनाएर आफैँ जोकर हुनमै आनन्द छ ।

नेपाली समाजको मनोविज्ञान नकारात्मक छ । नकारात्मक हल्ला फैलाउने कुरामा अग्रगामी छ । समाजमा आफूले फिँजाएको नकारात्मक हल्लाले जति धेरै प्रभाव पर्छ मानिस त्यति नै खुसी हुन्छ । यस्तो नकारात्मक हल्ला गर्ने समाजको गैर जिम्मेवार व्यक्ति कतै पनि सजायको भागी बन्दैन । सामाजिक सञ्जालमा असामाजिक कुरा पोस्ट गर्नेलाई फटाफट समातेर कारबाही गर्नुको सट्टा प्रहरी उजुरी कुरेर बस्छ । कानुन कार्यान्वयन गर्ने कुरामा सरकार फितलो छ । कानुन पनि कमजोर छन् । समाजको मनोविज्ञान कमजोर छ । नेपाली समाजको चरित्र नै जताततै कामचलाउ छ, तब समाजमा अफवाह फैलाउनेले राम्ररी खेल्ने मौका पाउँछन् ।

सङ्कटको बेला सतर्कता अपनाउने हो, सन्त्रास फैलाउने होइन, मनोविज्ञान कमजोर बनाउने होइन, बरु आत्मबल बलियो पार्ने हो । गलत सूचनाको सिकार बन्ने होइन, सही सूचनाको पहिचान गर्ने हो, सही सूचना प्रवाह गर्ने हो र सतर्कताका लागि गरिएका सूचनाहरूको पालना गर्ने हो । हाम्रो भाग्य भनौँ वा हाम्रो सतर्कताको परिणाम भनौँ, अहिलेसम्म हामीकहाँ कोरोना सङ्क्रमित छैनन् । तर कोरोना भाइरस देशमा पसेर मानिस सङ्क्रमित भए भने हामीले मनोबल जति कमजोर बनायो उति रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । त्यसैले यति बेला सबै बर्बाद हुन्छ कि भन्ने हाउगुजी छोडेर हरेक व्यक्तिमा यो केही होइन, बरु सामान्य रोग हो, मलाई कोरोना भाइरसले आक्रमण गरेमा यसको म प्रतिरोध गर्न सक्छु भन्ने आत्मबल विकास हुनु आवश्यक छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना महामारी हो, तर यसको रोकथामको कुनै वैकल्पिक बाटो नै नभएको भने होइन । पूर्व सतर्कता र सावधानी अपनाए यसलाई रोकथाम र नियन्त्रण गर्न सकिन्छ भन्ने कुरा छिमेकी मुलुक चीन नै उदाहरण छ । चीनले कोरोनाको इपिसेण्टर मानिएको बुहान सहरलाई कोरोनाका थप संक्रमण हुनबाट जोगाएको मात्र छैन कोरोनामुक्त सहर बनाउने दिसामा अगाडि बढिरहेको छ । आफ्नो देशमा कोरोना नियन्त्रणमा लिएसँगै चीनले अरू देशलाई आवश्यक पर्ने सहयोगको लागि समेत कदम अगाडि बढाएको छ । चीनबाट सिक्दै अब कोरोनाको सतर्कता अपनाऊँ, तर सन्त्रासको मनोविज्ञान बोकेर आफू पनि आतङ्कित हुने र समाजलाई पनि आतङ्कित बनाउने काम नगरौँ ।