अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०३ | Colorodo: 13:18

ओलीको रेल कूटनीति

डा. टीकाराम पोखरेल २०७५ असार १८ गते १८:४५ मा प्रकाशित

भारतका पूर्व राष्ट्रपति अब्दुल कलामले भनेका छन्– “सपनाहरू ती होइनन् जो निदाएको बेला देखिन्छन्, सपना भनेका त ती हुन् जसले निदाउन दिँदैनन् ।” भारतीय पूर्व राष्ट्रपतिको यो भनाई यति बेला चाहिँ नेपालका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीमाथि चरितार्थ भएको छ । आफूले भाषण गर्ने बेलामा देखेको र देखाएको रेल सपनाले प्रधानमन्त्री केपी ओलीको नीद हराम भएको छ । नीद यस कारणले मात्र हराम भएको छैन कि उनले भारतीय रेल ल्याउनु छ, नीद त यसकारणले बढी हराम भएको छ कि विपक्षीहरूले ओलीले भने जस्तो सजिलै नेपालमा रेल गुड्न सम्भव छैन भनेर दाबी गरिरहेका छन् र ओली यसमा असफल हुने ठोकुवा गरिरहेका छन् । ओलीको रेल सपना सत्ताधारीका लागि एक चुनौती हो, यो चुनौती जसरी पनि पूरा गर्नुपर्छ । विपक्षीका लागि ओलीको रेल घोषणा आवेगको हावादारी अभिव्यक्ति हो, यही कारण ओलीलाई असफलताको पगरी गुताउन सकिन्छ भन्ने विपक्षी ठम्याइ छ ।

यस अगाडि प्रधानमन्त्री हुँदा होस् वा गत वर्ष सम्पन्न चुनावी सभाहरूमा होस् वा पार्टीका चुनावी घोषणापत्रमा नै किन नहोस्, प्रधानमन्त्री ओलीले आम नेपालीहरूलाई केही वर्षमै छुकछुके रेलमा हिँड्न पाउने सपना देखाइसकेका छन् । कतिले ओलीको यस अभिव्यक्तिलाई हासिमजाखको विषय पनि बनाए । तर प्रधानमन्त्री आफ्नो रेल सपनामा कत्ति पनि विचलित छैनन्, बरु विगतमा उनले सुझबुझपूर्ण तरिकाले बोलेका हुन् भन्ने कुरा चाहिँ प्रधानमन्त्री ओलीले छिमेकी राष्ट्रहरूको भ्रमणमा काठमाडौँसम्म रेल ल्याउने कुरालाई आफ्ना एजेण्डामा प्राथमिकतामा राखेका कुराले पनि पुष्टि गरेको छ । रेल गुडाउने कुरामा विपक्षीहरूको व्यंग्यवाण चलिरहेको बेला ओलीले आफ्नो भारत भ्रमणमा रेलमाथि पानी जहाजको कुरा समेत थपिदिएका छन् ।

स्थायी भनिएको सरकारले गर्ने भनिएका विभिन्न दीर्घकालीन विकास निर्माणका काममध्ये सबैभन्दा बढी चर्चा पाएको योजना रेलमार्ग नै हो । चाहे त्यो भारत भ्रमणका क्रममा होस् वा चाहे चिन भ्रमणका क्रममा नै किन नहोस् रेलमार्गले बढी नै चर्चा पायो । रेलको चर्चा प्रधानमन्त्रीको भ्रमणमा मात्र भएको छैन, सदनदेखि सडकसम्म र महलदेखि झुपडीसम्म पनि चिनियाँ रेल र भारतीय रेलका गफ चलिरहेका छन् ।

छिमेकी मुलुकको रेलमार्ग देशको राजधानी काठमाडौँसम्म भित्रिने सम्भावनाको कुरा गर्दा चाहिँ चिनियाँ रेल सपना हो र भारतीय रेल चाहिँ यथार्थको नजिक छ । तर चिनियाँ रेल काठमाडौँ ल्याउने भन्ने चीनको कुरा चाहिँ सत्यतामा आधारित छ भने भारतीय रेलको कुरा चाहिँ चीनको रेलमा निर्भर छ । जब चीनले काठमाडौँसम्मको रेलमार्गको निर्माण सुरुवात गर्छ तब मात्र भारत काठमाडौँसम्म रेल पु¥याउने पहिलो राष्ट्र हुने लोभमा रेलमार्ग निर्माणमा लाग्ने छ । यस्तो बेला भारतले रेलमार्गको निर्माण ढिला सुरु गरे पनि भारतीय रेल छिटो काठमाडौँ भित्रिने निश्चित छ ।

इतिहासका विभिन्न कालखण्डमा सानै नै किन नहुन् भारतीय रेलहहरु नेपाल भित्रिसकेको उदाहरण भएकाले पनि भारतीय रेल काठमाडौँ ल्याउन समस्या छ्रैन, जति चिनियाँ रेलको समस्या छ । समस्या छ त मात्र भारतीय चिन्तनको । त्यसैले चिनियाँ रेल नेपालीका लागि सहयोगको भावना बोकेर काठमाडौँ आउने छ भने भारतीय रेल चाहिँ आफू पहिलो हुने नाममा चीनको सहयोगमाथि काउन्टर भएर काठमाडौँ आउने छ । जति चिनियाँ रेलमार्ग ढिलो हुन्छ त्यत्ति नै भारतीय रेलमार्ग ढिलो हुने छ ।

यस्तो दुई देशीय प्रस्तावित रेलमार्गका बहस चलिरहेका बेला प्रधानमन्त्री ओलीको रेल कूटनीति चाहिँ लोभलाग्दो छ । चीनतिर रेलमार्गको हात बढाएर भारतलाई ईर्ष्या जगाउने तर भारतको रेललाई पनि सहर्ष स्वागत गर्ने नीतिमा प्रधानमन्त्री देखिन्छन् । यो कूटनीतिले नेपाललाई फाइदा पुग्ने छ । दुई देशीय प्रतिस्पर्धामा नै किन नहोस् प्रधानमन्त्रीले भने झैँ छुकछुके रेल काठमाडौँमा दशकभित्रमा गुड्ने छ । चीनतिर मित्रताको हात बढाउने र भारततिर ईर्ष्या बढाउने तर त्यसलाई भारतसँग इबी साँध्ने रूपमा प्रधानमन्त्री ओलीले नलिने हो भने दुवै देशसँग नेपालको रेलवे सम्बन्धको जालो मजबुत हुन सक्तछ । यो वातावरण प्रधानमन्त्रीको भारत र चिन भ्रमणले बन्दै छ । यो सहज वातावरणलाई बढीभन्दा बढी सदुपयोग गर्न सक्नुपर्दछ ।

रेलको बहस जतिसुकै गरम भए पनि बहसमा एउटा कुरा भुलिएको छ । बहस भारतीय रेल र चिनियाँ रेलमा भएको छ, नेपाली रेलमा कम भएको छ । सहरभित्र बनाउने भनेको मोनोरेलको बहस पनि छायामा परेको छ । यसले चाहिँ हाम्रो पराश्रित मानसिकताको स्पष्ट तस्बिर दिन्छ । वास्तवमा रेल मार्ग चिन वा भारतसँग जोड्ने हो । रेल त्यसमा चीनका गुडुन् भारतका गुड्न वा नेपालका गुडुन् । नेपालमा रेलमार्ग भएपछि भारतीय र चिनियाँ रेलहरू मात्र गुड्दैनन् नेपाली रेलहरू पनि गुड्छन् । नेपालले जलमार्ग जान भारतमार्फत वा चीनमार्फत नै जानुपर्ने जस्तो रेलमार्गका लागि भारत र चीनको मात्र मुख ताक्नुपर्दैन । भारत र चीनबाट आवतजावत गर्न र भारत वा चीनबाट सामान ढुवानीका लागि भारतको रेलमार्ग वा चिनियाँ मार्ग प्रयोग गर्ने हो र उनीहरूसँग रेल कनेक्सन चाहिन्छ, तर आफ्नो देशभित्र रेल गुडाउन भारत र चिनियाँ रेलसँग नेपाली रेलको कुरा जोडिरहनु पर्दैन । आन्तरिक रूपमा पनि हामी रेलमार्ग निर्माण गर्न सक्छौँ । तर रेल बहस त्यतातिर भने भुलेको महसुस हुन्छ । नेपालको तराईमा पूर्वपश्चिम रेलमार्ग बनाउन कसैलाई गुहार्नुपर्दैन, नेपाल आफैँले सक्छ । सरकारले सक्दैन भने निजी क्षेत्रलाई दिए पनि हुन्छ ।
एक छिन नेपालको आन्तरिक रेलमार्गलाई बिर्सेर भारतीय वा चिनियाँ रेलमार्गकै कुरा गरौँ ।

हाम्रो देशमा नेपाली आफैँले रेलमार्ग बनाउन नसक्ने हो भने पनि भारतीय वा चिनियाँ सहयोगमा नै किन नहोस् काठमाडौँमा रेल आउनु पर्दछ । यसले देश विकासमा ठुलो फड्को मार्दछ । उद्देश्य एक लिनु उडी छुनु चन्द्र एक भने झैँ लक्ष्य नराखी प्रगति हुँदैन । त्यसैले प्रधामन्त्रीको रेल सपना आफैँमा ठिक छ । तर त्यो रेल सपनालाई बिपनामा बदल्न सरकारसँग कस्तो योजना छ यो चाहिँ हेर्नुपर्ने हुन्छ । काडमाडौँदेखि छिमेकी मुलुकसँग जोड्ने रेलमार्ग तत्कालै संभवै छैन भनेर विपक्षी दल र ओली विरोधीहरूले जसरी ठोकुवा गरिरहेका छन् त्यसरी नै ओली र ओलीका समर्थकहरूले यो सपना होइन, यथार्थ हो भनेर विश्वास दिलाउने प्रयत्न गरिरहेका छन् । ओलीको छिमेकी देशको भ्रमणमा भएका प्रयास हेर्दा ओलीको बोलीलाई बल मिलेको छ । तर चीनबाट रेलमार्ग जोड्न देखिएको भौगोलिक कठिनाइ र नेपालमा रेलमार्ग विस्तार गर्नमा भारतको लामो समयदेखिको मौनता हेर्दा विपक्षीले सम्भव छैन भनेको कुरालाई पनि धेरथोर बल भने मिलेको छ । यो बिचमा आगामी दिनमा ओलीको रेल कूटनीतिले सार्थक रूप लिन्छ वा भाषणमै सीमित हुन्छ हेर्न भने अब धेरै कुर्नु चाहिँ पर्दैन ?

रेल राजनीति बन्नु हुँदैन, बरु रेल कूटनीतिक सफलता बन्नुपर्छ । आन्तरिक र साना रेल नेपाल आफैँले पनि बनाउनुपर्छ भने ठुला रेलमार्गहरु भारत र चीनसँगको सहकार्यमा गर्नुपर्छ । चिन र भारत दुवै राष्ट्रलाई उनीरुकै लगानीमा काठमाडौँसम्मको रेलमार्ग ल्याउने कुरामा सहमत गराउन सके वर्तमान सरकारलाई निदाउन नदिने रेल सपना पूरा हुनेछ र ओली सरकारको रेल कूटनीति पनि सफल मानिने छ ।