अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३९ | Colorodo: 16:54

विचारको दास बन्ने कि मालिक ?

डा. टीकाराम पोखरेल २०७४ साउन २९ गते १०:५८ मा प्रकाशित

विचार मानिसको अभिन्न तत्व हो । हरेक मानिस विचारशील हुन्छन् । तर सबैका विचार एकै हुँदैनन्, फरक फरक हुन्छन् । यही भिन्न विचारकै कारण संसार द्वन्द्वात्मक छ । विचारकै कारण समाज सभ्य भएको छ, विचारकै कारण मानिस सुन्दर छ र विचारकै कारण मानिस असभ्य र कुरुप पनि छ । हरेक मानिसको व्यक्तित्वमा उसको विचार झल्किन्छ । यस अर्थमा हरेक व्यक्ति उसको विचारको प्रतिविम्ब हो । विचार विनाको मानिसको अस्तित्व हुँदैन । मानिसको असली पहिचान आज उसको विचार बनेको छ ।

विचार प्राणीहरुमध्ये मानिसलाई मात्र प्राप्त ईश्वरीय वरदान हो । आजकल यसलाई विज्ञानको रुपमा समेत अथ्र्याइन्छ । समाजका सबैसँग कुनै न कुनै प्रकारको विचार छ । विचार हरेक व्यक्तिको शक्तिशाली हतियार हो । संसारमा विचार जति शक्तिशाली अर्को कुनै हतियार छैन । अन्य भौतिक शक्तिभन्दा पनि विचारशक्ति बलवान छ । किन कि यो सूक्ष्म छ । कुनै पनि कुरा जति सूक्ष्म हुन्छ उत्ति नै शक्तिशाली हुन्छ भन्ने तत्वविद्हरुको भनाइ छ । विचारभन्दा शूक्ष्म कुराहरु पनि यो संसारमा छन्, तर ती हामीबाट अज्ञात छन् । ज्ञातमा विचार नै सबैभन्दा शक्तिशाली हतियार हो । जगतमा सबै वस्तुहरुभन्दा विचार अति बलवान भएको कुरा उपनिषद्हरुमा समेत वर्णन गरिएको छ ।

विचार शक्तिशाली मात्र छैन वेगवान पनि छ । प्रकाशको गति प्र्रतिसेकेण्ड १ लाख ८६ हजार माइल छ भने विचारको गति प्रवाह ४० हजार नीलमाइलदेखि ७० हजार नीलमाइलसम्म हुन्छ । यो गति उज्यालोमा भन्दा अँध्यारोमा अझ बढी हुन्छ । उज्यालोमा मानिसको आँखाअगाडि पर्ने विभिन्न दृश्यहरुले विचारको गतिलाई रोक्दछ । बिजुली एक सेकेण्डमा ७ पटक पृथ्वीको फन्को मार्न सक्तछ भने विचार त्योभन्दा पनि तीव्र वेगमा चल्छ भन्ने वैज्ञानिकहरुको भनाई छ । विचार आँखाले नदेखिए पनि कुनै अदृश्य वस्तु भने होइन, वरु वास्तविक तत्व हो । जब हामी हाम्रा विचारहरुलाई कार्यरुपमा परिणत गर्दछौँ तब विचारको शक्ति देखिन्छ । त्यसकारण विचार अदृश्य छैन ।

विचार मानिससलाई प्राप्त अदभूत शक्ति हो । यही अद्भूत शक्तिबाट मानिससले कठिनभन्दा कठिन काम गरिरहेको हुन्छ । तर त्यही विचारले मानिसलाई दुर्बल पनि बनाउँछ । विचारको दुरुयोगले मानिसलाई हिंस्रक बनाउँछ । मानिसमा सकारात्मक र नकारात्मक दुवै प्रकारका विचारहरु आउँछन् । सकारात्मक विचारतिर आफूलाई लैजान सके नै मानिसको जीवन सार्थक हुन्छ । साधु पनि विचार हो र चोर पनि विचार हो । जीवनदाता पनि विचार हो र जीनव हरण गर्ने पनि विचार हो ।

मानिसको जीवन विचारको परिणाम हो । मानिस भित्र जस्तो विचार हुन्छ बाहिर उसले त्यस्तै व्यवहार गर्छ । मानिसका आन्तरिक विचार नै बाहिर रुपका प्रतिबिम्ब हुन् । विचार धेरै प्रकारका भए पनि मूलतः विचारलाई दुई श्रेणीमा विभक्त गर्न सकिन्छ । उच्च कोटिको विचार र निम्न कोटिको विचार । मानिसभित्र आउने विश्वास, धैर्य, आनन्द, आशा, दया, स्नेह, पवित्रता र साहस उच्चकोटीका विचारका परिणाम हुन् । यस्ता विचारले मानिसलाई सकारात्मक रुपमा बलवान बनाउँछन् । घृणा, दुःख, अधिरता, क्रोध, निष्ठुरता, अपवित्रता, काँथरता र निराशा निम्न कोटीका विचारका परिणाम हुन् । जसले मानिसलाई दुर्वल बनाउँछ । उच्चकोटिको गुणले मानिसलाई स्वास्थ वलिष्ठ, निरोगी र महामानव बनाउँछ भने निम्न कोटीको विचारले मासिनलाई अमानवमा परिणत गरिदिन्छ, । निम्न कोटिको विचारले मानिसमा रोग बढाउँछ, बुढ्यौलीतिरको यात्रा गराउँछ, आयु छोट्याउँछ ।

प्रायः सबै मानिसलाई नीच कोटिको विचारबाट मुक्त हुने इच्छा हुन्छ, तर पनि मुक्त हुन सक्तैनन् । आफ्नै नकारात्मक विचारले मानिसलाई मुक्त हुन दिँदैन । मानिस आफ्नै विचारको शिकार बन्छ । आप्mनै विचारले मानिसलाई दास बनाइरहेको हुन्छ । मानिसले आफ्ना विचारको दास हुने होइन बरु आफ्नो विचारलाई दास बनाउनुपर्छ । विचारलाई आफ्नो जीवनोपयोगी बनाउनुपर्छ । नकारात्मक विचारको चङ्गुलबाट मुक्त हुन आफ्नो मनबाट असन्तोष र निराशाका भावनाहरुलाई हटाउनुपर्छ, । सधैँ हास्यभाव अँगाल्नुपर्छ र सदा प्रसन्न रहनुपर्छ । मनमा घृणा हटाएर प्रेम र सहानुभूतिका भाव पैदा गर्नुपर्छ । चिन्तकहरु भन्छन्– “विचारको वशमा नपर बरु विचारलाई आफ्नो वशमा राख ।” यही नै मानव जीवनको मुक्ति हो । मानव जीवनको सदुपयोग हो । मानव हुनुको अर्र्थ पनि यही हो । यही नै सत्कर्म, सत्मार्ग, सत्चरित्र र सद्विचारको यात्रा हो ।

यो संसारमा जति पनि महापुरुषहरु कहलिएका छन् ती सबै विचारकै कारण कहलिएका छन् । विचारले जता लान्छ त्यतै त्यतै नबगेर आफ्ना सकारात्मक विचारलाई सत्कर्ममा लगाउनुको परिणाम ती महापुरुष भएका हुन् । कर्मयोगीहरुले विचारलाई चरित्र निर्माणमा लगाएका छन् । निराशावादीहरु भाग्यलाई धिक्कार्दै निधारमा हात लगाएर जीवनलाई खुम्च्याएर बसेका छन् । विचारलाई सत्चरित्र निर्माणमा लगाउन सकेमा नै मानिस सफल बन्छ । चरित्र निर्माण नै संसारको सबैभन्दा ठूलो निर्माण हो । चरित्र बल मानिसको सबैभन्दा ठूलो बल हो । सत्चरित्र भएको व्यक्तिका लागि कुनै पनि कार्य दुर्लभ छैन । आफ्नो आत्मिक शक्तिलाई वशमा राख्न सक्ने व्यक्तिले आफ्नो वाह्य जीवनलाई जस्तो बनाउन चाह्यो त्यस्तै बनाउन सक्तछ । यो परमसत्य हो ।

विचार विश्रृंखलित छ । आज एउटा विचार आउँछ, भोलि अर्को । तर विश्रृंखलित भए पनि विचार निरन्तर प्रक्रिया हो । केही दृढ विचार केही निश्चित तहसम्म श्रृंखलित भए पनि त्यसको पनि कुनै सीमा हुँदैन । एक न एक दिन श्रृंखला टुट्छ र अर्को विचारले त्यसको ठाउँ लिन्छ । जो मानिस दृढ विचारमा जीवनभर अडिग रहन्छ त्यो मानिस वास्तवमा अविचलित हुँदैन । तर त्यस्ता विचार मानव उपयोगी र समय सापेक्ष हुनुपर्दछ । विचार यथास्थितिवादी हुनु हुँदैन । विचार समयसापेक्ष र गतिशील हुनुपर्छ । तर गतिशीलताको अर्थ विचारले आफूलाई जता जता लग्यो त्यतै त्यतै दौडने भने होइन । विचारको पछि दौड्यो भने त मानिस विचारको दास हुन्छ । न कि मालिक ।

मानिस विचारको पछि दौडेर विचारको दास हुनुहुन्न । साथै दृढ विचारको नाममा मानिस रुढ पनि हुनु हुन्न । दृढको अर्थ समाजलाई काम नलाग्ने विचार अँगालो हालेर बस्ने होइन । विचार समाज सापेक्ष हुुनुपर्दछ । समाज निरपेक्ष विचार अँगालो हालेर बस्नु दृढ होइन रुढ हो । फेरि गतिशीलताको अर्थ विना सोचबुझ आफ्ना विचारको पछि अन्धधुन्द दौडने पनि होइन । विचार दृढ र गतिशीलताको दोसाँधमा हुुनुपर्छ । दृढ र गतिशीलाताको सन्तुलन नै सही विचार हुन्छ । गतिशील हुन सके मानिस विचारको दास हुँदैन । अन्यथा मानिस विचारको नाममा दास बन्न पुग्दछ । मानिस विचारको दास भयो भने उसमाथि विचारको राज हुन्छ । आफ्नो मात्र विचार ठीक भन्ने सोच्यो भने पनि मानिस विचारको दास बन्न पुग्दछ ।

मानिसको मष्तिष्क विचारको विशाल कारखाना हो । विचारको कारखानाभित्र जति पनि विचार उत्पन्न हुन्छन् ती सबै काम लाग्दैनन् । त्यसैले मानिसले उत्पादित विचारबाट राम्रा विचारहरु “फिल्टर” गर्न सक्नु पर्दछ । यहीँनेर हरेक मानिसको सफलता र असफलताको कथा जोडिन्छ । विचारको कारखानामा उत्पादित राम्रा विचार छानेर जीवनमा लागू गर्ने र नराम्रा विचार त्याग्न सक्ने मानिस सफल हुन्छ । राम्रा नराम्रा सबै विचारलाई प्रयोग गर्ने मानिस मध्यम हुन्छ र राम्रा विचार चाहिँ खेर फाल्ने नराम्रा विचार चाहिँ अँगालो हाल्ने मासिन असफल हुन्छ । यस्ता मानिसहरु घर, समाज, देश र सिंगो धर्तीकै लागि बोझ हुन्छन् । त्यसैले मेरो मष्तिष्कमा उत्पन्न भएका विचार सबै ठीक भनेर उत्पादित सबै विचार भण्डारण गरेर धर्तीको बोझ नबनौँ । विचारको दासताबाट मुक्त होऔँ ।

विचारहरुको परीक्षण गर्ने प्रयोगशाला समाज हो । आफ्नो विचार ठीक छ छैन भनेर परीक्षण गर्न विचारलाई समाजमा संप्रेषण गर्नुपर्छ । विचार समाजबाट अनुमोदित भए मात्र त्यो विचार ठीक हुन्छ । आफ्ना विचारमा रहेका अविवेक र दुर्वलताहरु हटाउन विचारको मन्थन जरुरी हुन्छ । संसार विचार र विवेकको द्वैध सत्ता हो । विचार विवेकसम्मत हुनु पर्दछ । विचार जति विवेकसम्मत भयो त्यति नै समाजबाट सहजै अनुमोदित हुने हो ।

कुनै समय थियो– विचार भन्नासाथ राजनीतिसँग जोडिन्थ्यो । हाम्रो देशमा पनि विचारको राजनीतिको लामो बहस चल्यो । राजनीति गर्न विचार नभै नहुने भन्ने रुढ बुझाइ भएको समयमा आफूले मौलिक विचार दिन नसक्नेहरुले आयातित विचारहरुको आडमा पनि राजनीति गरे । माक्र्सवाद, लेनिनवाद, माओवाद जस्ता अनेक राजनीतिक विचारधारा खुलमखुला देशमा भित्रिए । अहिले पनि ती विचारहरुको अवशेष मात्र बाँकी होइन नेपाली समाजले त्यसको आडमा भएको ठूलो उतार चढाव भोगेको छ । तर पछिल्लो समय विचारभन्दा पनि देशको वास्तविकताको एजेण्डाको आधारमा अर्थात वैचारिकभन्दा व्यवहारिक राजनीतितर्फ यो पुस्ताको आकर्षण बढेपछि राजनीतिमा विचारको बहस केही न्यून भएको छ ।

अझ पछिल्लो समय त मानिसको विचार बढी आध्यात्मिकतातर्फ ढल्केको छ । आज मानिस भौतिकवादबाट वाक्क भएर कुनै न कुनै रुपमा आध्यात्मसँग जोडिन खोज्दैछ । विचारको मैदान अब आध्यात्मिकता हुन थालेको छ । आज विचार विज्ञानहरु आइरहेका छन् ती कुनै न कुनै रुपमा आध्यात्मलाई स्वीकार गर्दछन् ।
विचार चाहे ती राजनीतिक विचार हुन् वा जीवनपयोगी विचार हुन् वा आध्यात्मिक विचारहरु नै किन नहुन्, विचार सबै मानिसको हितको खातिर हुनुपर्दछ । विचारहरु सबै जीवन र जगतको उन्नति र प्रगतिको लागि कामयावी हुनुपर्दछ । हरेकका विचारहरु वैचारिक मैदानमा मन्थन हुनुपर्दछ र राम्रा विचारहरुलाई आत्मसात गर्न सक्नुपर्दछ । पछिल्लो समय विचार मानवलाई बन्धक बनाउन होइन मुक्तिका लागि भन्ने मान्यता विकास पनि हुँदैछ । किन कि मानिस विचारको दास होइन विचारको मालिक हुनुपर्छ ।

 

 

 

[email protected]