अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४६ | Colorodo: 19:01

सन्दर्भ प्रेम दिवस (भ्यालेण्टाइन डे):  प्रेम के हो ?

डा. टीकाराम पोखरेल

डा. टीकाराम पोखरेल २०७४ फागुन १ गते ७:५६ मा प्रकाशित

विषय प्रवेश 
संसारमा सबभन्दा बढी परिभाषा गरेर पनि परिभाषित हुन नसकेको कुरा ‘प्रेम’ हो । यो दुनियाँमा सबै भन्दा बढी चर्चा कुनै कुराको भएको छ भने त्यो पनि प्रेम नै हो । प्रेमको विषयमा जति लेख, निबन्ध, गीत र कविता कुनै पनि विषयमा लेखिएका छैनन् । अधिकांश कथा, उपन्यास र चलचित्रको मुख्य विषय प्रेम नै हुने गरेको छ । यति धेरै लेखन चिन्तनमन्थन हुँदाहुँदै पनि कसैले पनि प्रेम भनेको यो हो र यसकारण हुन्छ भनेर अरुलाई चित्त बुझाउन सकेको छैन, शिवाय आफ्नो चित्त बुझाउनु बाहेक । दार्शनिक, चिन्तक र वैज्ञानिकहरुले प्रेम किन हुन्छ भन्ने विषयमा विभिन्न तर्क अघि सारे तापनि ती सर्वमान्य छैनन् ।

भनिन्छ– सबै कुरा छोडेर जे बाँकी रहन्छ त्यो नै प्रेम हो । यसको अर्थ जसको अन्त्य छैन त्यो नै प्रेम हो । प्रेम संसारका लागि सबै कुरा हो । दृृष्टिविहिनका लागि प्रेम आँखा हो, खुट्टा नहुनेका लागि खुट्टा हो प्रेम, दुःखीका लागि बाँच्ने आधार प्रेम हो । प्रेम जीवन मात्र होइन जीवनदर्शन हो । प्रेम आत्मा हो, प्रेम तपस्या हो, प्रेम हृदयको कोमल अनुभूति हो । प्रेम आत्माबाट आउने भावना हो । संसारको कुनै पनि विषयभन्दा प्रेम माथि हुन्छ । जब मानिससँग केही हुन्न तर उसँग प्रेम छ भने ऊ सबैभन्दा संसारको धनी हो । त्यसैले त भनेको नि प्रेम नै सबथोक हो ।
जीवन एउटा फूल हो भने प्रेम त्यसको सुगन्ध हो ।

प्रेमविनाको जीवन सुगन्धरहित फूल जस्तो मात्र हुन्छ । जसलाई कसैले पनि स्वीकार गर्दैन । न त कसैले त्यस्तो जीवनको प्रशंसा नै गर्छ । फूलले प्रशंसाका लागि सुगन्ध दिने होइन, तर पनि सुगन्ध दिइरहन्छ । विना सर्त सुवास छर्छ । प्रेम पनि त्यस्तै विना सर्त हुनुपर्छ । कसैले मागोस् वा नमागोस्, चाहोस् वा न चाहोस्, पे्रमको प्रवाह निरन्तर हुनुपर्छ । मानव जीवनबाट जुन दिन प्रेमको अन्त्य हुन्छ, त्यस दिनबाट मानव अस्तित्व समाप्त हुन्छ । मानवमा प्रेमको अन्त्य भएको दिन मानव हुनुको गुण सकिन्छ । त्यसैले प्रेम मानवताको मूल पहिचान हो ।

मानव जीवन प्रेमबाट नै सुरु हुन्छ 
प्रेम किन हुन्छ र के हो प्रेम भन्ने विषयमा सदियौंदेखि खोज र अनुसन्धान हुँदै आएको छ । प्रेमको सार कुनै कुराप्रतिको आकर्षण मात्रै हो कि अरू केही पनि हो, भन्न बडो जटिल छ । प्रेम के हो ? प्रेम कसरी उत्पन्न हुन्छ ? प्रेम किन गरिन्छ ? प्रश्नहरु जति सजिला छन् उत्तरहरु त्यति सजिला छैनन् । निष्कर्ष ननिस्के पनि पे्रम चिन्तनमन्थनको विषय भने बन्दै आएको छ । प्रेममाथि माहिनौँ, वर्षौ र युगौँ चिन्तनमनन गर्न सकिन्छ, तर परिभाषाको सीमारेखाभित्र प्रेमलाई कैद गर्न सकिन्न ।

प्रेम प्रतिको बुझाइ सबैका आआफ्नै छन् । प्रेमको आध्यात्मिक पक्षलाई आत्मसात गर्नेहरुका लागि प्रेम भगवान हो । यसलाई प्राप्त गरेपछि भगवान खोज्नु पर्दैन । यसको गुणवत्तामा विश्वास गर्नेहरुका लागि प्रेम अनन्त अतुलनीय र अवर्णनीय छ, यस्तो कुराको परिभाषा खोज्नु नै निरर्थक छ । प्रेमका तीनवटा पक्षहरु छन्– वेसर्त प्रेम, प्राणी मात्रको प्रेम र विषयकेन्द्रित प्रेम । यीमध्ये कुन चाहिँ प्रेम उचो प्रेम हो भन्ने विषय पनि बहसको विषय छ । तर प्रेमको गरिमा जति उचो छ आजको मान्छेमा त्यति नै प्रेमको अभाव छ ।

प्रेम र भ्रम 
आजकल फिल्मी प्रेमको बिगबिगी छ । आफूले मन पराएको मानिसलाई प्राप्त गर्नु नै प्रेम हो भन्ने भ्रममा आजको मान्छे फसेको छ । तिमी अरुलाई प्रेम गर्छौ भने पहिले आफूलाई प्रेम गर । यो नै प्रेमको सुरुवात हो । अरुलाई प्राप्त गर्ने प्रेमको पछि नदौड । अरुले आफूलाई प्रेम गरेन भनेर पीडित हुनु मिथ्या प्रेम हो, प्रेमको बदला प्रेम खोज्नु पनि मिथ्या प्रेम हो, प्रेम माग्नु तर प्रेम नदिनु पनि मिथ्या प्रेम हो । प्रेम त लिने कुरा होइन, दिने कुरा हो । प्रेमको बदला प्रेम माग्नु भनेको व्यापार हो । प्रेम व्यपार होइन । प्रेममा दुवै जना माग्ने–माग्ने होइन दुवै जना दिने–दिने हुनुपर्छ । नारी पुरुषबीचको सम्बन्धमा पे्रम खोज्नेहरुले आफूलाई अरू कुनै व्यक्तिभित्र पाउनु नै प्रेम हो भन्छन् । आफू प्रेमीको मनमा बस्न पाइयोस् भन्ने चाहना गर्छन् । आत्माको मिलन हो प्रेम भन्छन् प्रेमीहरु । तर मिलन मात्र प्रेम हो भन्नु प्रेमप्रतिको भ्रम हो । प्रेममा मिलन प्रेमको एउटा पाटो हो, पूर्णता होइन ।

एउटा वर्ग प्रेमलाई विशुद्ध भौतिक संसारको अनुभूति बुझ्दछ । खासगरी युवावर्ग प्रेम भन्नासाथ दुई लिङ्गीय प्रेममा पुग्छन् र प्रेमलाई कवितात्मक वर्णन गर्छन् । केही युवाको प्रेमप्रतिको बुझाइ छ– प्रेम जीवन जिउने आधार हो र मुटु रेट्ने तरबार पनि । केहीको विचारमा प्रेम पीडा हो भने केहीको विचारमा प्रेम सिसाको गिलासमा हालेको पानीजस्तै हो । कति बेला खसेर फुट्छ, थाहै हुँदैन । आज भोलि युवा पुस्ताले प्रेमलाई फेशनका रूपमा लिएको पनि देखिन्छ । बजारमा पाउने लुगासरह आज किन्यो, भोलि फ्याँक्यो । यसले प्रेमको महत्तालाई नजरअन्दाज गरेको छ । वस्तवमा प्रेम महासागर हो । पौडन जाने शीतलता दिन्छ, पौडन नजाने डुबिन्छ । यस्तो प्रेमलाई फेशनेवल बनाउनु हुँदैन ।

मिलनको पलमा प्रेमको महत्व हुँदैन तर बिछोडको समयमा प्रेमले तड्पाउँछ । त्यसैले प्रेम दुई व्यक्तिको भावनात्मक सम्बन्ध हो भन्छन् दुई बीचको सम्बन्धलाई प्रेम ठान्नेहरु । दुई मन मुटुलाई एक बनाई भावनाका कुरालाई साटासाट गर्ने माध्यम हो प्रेम । प्रेम दुई मुटुको समधुर मिलन पनि हो । दुई जनाबीचको भावनात्मक मिलन नै प्रेम हो भन्ने स्वच्छन्दतावादीहरुको विचार छ ।

प्रेम सृष्टि चल्ने आधार पनि हो । त्यसैले त प्रेममा संसार अडिएको छ । संसारमा आफ्नो खुसीमा भन्दा अरुको खुसीमा खुसी हुनसक्नु नै प्रेम हो । प्रेम भनेको त्याग र बलिदान हो । प्रेम गहिरो सम्बन्ध हो, जो हरेक सम्बन्धभन्दा माथि हुन्छ र जसमा स्वार्थ हुँदैन । हुन्छ त केबल त्याग । यी शब्दहरु कति मिठा छन् तर यसभित्र लुकेको भ्रमको प्रतिशत ननिकाली वास्तविक प्रेमलाई बुझ्न सकिँदैन ।

प्रेम र घृणा  
प्रेम र घृणा अँध्यारो र उज्यालो हुन् यी कहिल्यै सँगै रहन सक्तैनन् र एक अर्कासँग निरपेक्ष पनि हुँदैनन् । घृणा छ र नै प्रेमको महत्व बढेको छ । घृणाको स्वरुप र परिणतिले नै मानिसलाई प्रेमतर्फ उन्मुख गराउँछ । सर्त सहितको प्रेम नै घृणाको पहिलो खुड्किलो हो । घृणा प्रेमको वरिपरि घुमिरहेको हुन्छ । प्रेममा प्रवेश गर्ने छिद्र पाउनासाथ प्रेममाथि घृणाले आक्रमण गर्छ । विकृत प्रेम चरमतातिर गएपछि प्रेम घृणामा बदलिन्छ । जबसम्म प्रेममा घृणाले प्रवेश पाउँदैन तबसम्म प्रेम अमृत समान मिठो र रसिलो हुन्छ । जब प्रेममा घृणाले प्रवेश पाउँछ तब प्रेम कालकुट विषभन्दा पनि घातक हुन्छ ।

प्रेमका विविध रुप 
प्रेमका विविध रूप छन् – सन्तान प्रेम, मातृपितृ प्रेम, सखा प्रेम, दाम्पत्य प्रेम आदि । तर चर्चा पाउने प्रेम पुरुष र स्त्रीबीच हुने विपरित लिङ्गी प्रेम नै हो । प्रेममा सबैभन्दा बढी चर्चा यही दुई बीचको प्रेमको हुन्छ । प्रेमको अर्थ विवाह हो कि होइन ? अनि विवाहको अर्थ सन्तान उत्पादन हो वा होइन ? यदि विवाहको अर्थ सन्तान उत्पादन होइन भने किन विपरित लिङ्गीसँग मात्र विवाह गर्नु ? यो प्रश्न कठोर तथ्य हो । के विपरित लिङ्गीबाट मात्र माया, स्नेह र प्रेम पाइने हो र ? अर्को कुरा रह्यो प्रेम र यौनसम्बन्धको । प्रेमको चरमता यौनसम्बन्ध हो भन्ने कुरा कि त स्वीकार गर्नुप¥यो कि त यसको प्रेमसँग कुनै नाता छैन भन्नु प¥यो । यौनआनन्द भनेको शारीरिक कम, मानसिक र मनोवैज्ञानिक बढी हो भने अब जोसँग जसरी यौन सम्बन्ध भए पनि के फरक प¥यो र भन्ने प्रश्न पनि अर्को कठोर तर सत्य प्रश्न हो ।

सन्तान उत्पादन प्रेमको परिणति हो कि विवाहको । अथवा यो यौन सम्बन्धको परिणति हो । कि यो समाजिक मान्यताको परिणाम । वा प्रकृतिको कर्म । कि सृष्टिको निरन्तरता । कति कन्फ्युजन छन् यी कुराहरु । सन्तान उत्पादन एउटा ठूलो कर्म हो र त्यो प्रेमविना सम्भव छैन भन्ने मत एकातिर छ भने अर्कातिर सबै प्रेम सन्तान उत्पादनमै गएर टुङ्गिने भन्ने मत पनि छ । के विवाहपछि प्रेम घट्छ ? विवाहपछि प्रेम घट्ने नै त होइन बरु जीवन परिवक्व हुँदै जाँदा किशोर अवस्थामा जस्तो पुरा प्रेमको अनुभव भने हुँदैन भन्ने मत पनि अर्कोतिर छ । त्यसैले विवाह गर्नु अघि एक अर्कालाई बुझेर मात्र विवाह गर्न सल्लाह दिने गरिन्छ ।

प्रेम, त्याग र बलिदानी
प्रेमको नाममा बलिदानी किन हुन्छ ? आफ्नो लागि भन्दा पनि आफ्ना प्रेमी र प्रेमिकाका लागि मानिस बाँचेको धेरै दृष्टान्त छन् । प्रेमका लागि जीवन अर्पण गरेका कैयौँ घटना हाम्रा समाज, परिवारमा घटिरहेकै छन् । सुन्दा मुटु चसक्क हुन्छ, आँखा अलिकति रसाउँछ । आफूले रोजेको केटा वा केटीसँग विवाह गर्न नपाउँदा आत्महत्या गरेका घटनाहरू बेलाबेलामा सुन्नमा आइरहन्छन् । घरपरिवारले अस्वीकार गरेको खण्डमा घरपरिवार नै त्यागेका कुरा पनि यत्रतत्र देखिन्छन् । सिनेमा र उपन्यासका कथाहरूमा त प्रायः यस्ता कुरा प्रशस्तै देख्न पाइन्छ । विशेष गरी हिन्दी सिनेमाको एउटा मुख्य विषय यही रहेको हुन्छ । र धेरैजसो वियोगका कथाहरू नै चर्चामा रहन्छन् र यसले साहित्य पनि निकै जन्माएको छ ।

हिन्दु धर्मका कथाहरूमा कृष्णले राधाको प्रेममा परेर १६ हजार १ सय ७ जनालाई बिहे गरे । भगवान शिव आफ्नी पत्नी सतीदेविको मृत शरीर बोकेर तीनवटै लोक बौलाएर हिँडे । सेन्ट भ्यालेनटाइनले पनि प्रेमकै निम्ति आफूलाई बलिदानी गरेका कारण फेब्रुअरी १४ का दिन संसारभर भ्यालेनटाइन दिवस अर्थात प्रणय दिवसका रूपमा युवायुवतीले उनलाई सम्झने गरेका छन् । यो संसारमा धेरैले प्रेमका लागि ज्यान दिएका छन र लिएका पनि छन् । यस्ता घटना कुनै धर्म ग्रन्थ र कथा कहानीमा मात्र होइन, वास्तविकमा पनि छन् । त्यसैले त भनिन्छ नि ’प्रेममा हरेक हुरा जायज हुन्छ ।’

प्रेमको वैज्ञानिक-मनोवैज्ञानिक पक्ष
प्रेमको बारेमा जान्ने उत्सुकता कसको नहोला ? दार्शनिकदेखि इतिहासकार र कविदेखि वैज्ञानिक सबै प्रेम कसरी हुन्छ र किन हुन्छ भन्ने कुराको उत्तर खोज्न सदियौँदेखि प्रयास गरिरहेका छन् । तर प्रेम के हो सर्वमान्य तथ्य प्राप्त भएको छैन ।

विज्ञानको आँखाले हेर्दा प्रेम नशा हो । यो एक प्रकारको कुलत हो यदि सहि ठाउँमा मोड्न सकिएन भने । जसरी औषधीमा जहरको मात्रा हुुन्छ त्यसैगरी प्रेममा पनि नशाको मात्रा हुन्छ । प्रेममा पागल हुनेहरुको नशा पनि केही समयमा उत्रने मनोवैज्ञानिकहरु बताउँछन् । तर समझदारी बढाउँदै लैजान जान्यो भने चाँहि जीवनभर प्रेम ताजा नै रहन्छ ।

प्रेममा परेको समयमा हरेक चिजले खुसी बनाउँछ । खुसी हुनको लागि खासै त्यति ठूलो कारण नै चाहिँदैन । त्यसैले प्रेममा पर्दा आफू जोसित प्रेममा परेको हो, त्यो व्यक्ति मात्र होइन, सबै चिज राम्रो लाग्न थाल्छ । प्रेम चरम हुँदै जाँदा यौनइच्छा जाग्ने मात्र नभई आफूले प्रेम गरेको व्यक्तिसित हरपल हरक्षण साथ रहिरहने इच्छा र तृष्णा उत्पन्न गराउँछ ।

मानिसहरुमा प्रेम हुनुको प्रमुख कारण ‘एण्डार्फिन’ नामक हर्मोन हो । जव कसैलाई आँखाले देखिन्छ त्यसको सन्देश सोही हर्मोनका कारण दिमागमा पुग्छ र हर्मोन थप सक्रिय हुन्छ । यसरी हाम्रो शरीरमा विभिन्न रसायन प्रेम बढाउनमा जिम्मेवार मानिन्छन् । जस्तै ‘सेरोटोनिन’ मानिसक शान्ति दिने प्रकृतिको हुन्छ भने ‘अक्सिटोसिन’ले उत्तेजना बढाउँछ ।
प्रेमसँग सम्बन्धित यी सबै कुराहरु दशकौँसम्म सक्रिय रहिरहन सक्छन् । यीबाहेक प्रेममा पर्नको लागि अन्य थुप्रै शारीरिक वा मानसिक कारणहरु हुने भए पनि सत्य के हो भने किन र कसरी प्रेम हुन्छ भन्ने कुराको ठोस उत्तर विज्ञानले अझै पनि दिन सकेको छैन । तर अर्को सत्य के हो भने आफू प्रेममा पर्दा भने हामी सबैलाई प्रेम के हो भन्ने कुरा महसुस हुन्छ ।

आखिर प्रेम के हो त ?
विभिन्न युगमा विभिन्न विद्वानले प्रेमको परिभाषा आआफ्नो तरिकाले दिएका छन् । जति प्रेमको परिभाषा बुझ्दै गयो त्यति यो प्रेमको गहिराइले हामीलाई डुबाउँदै जान्छ । प्रेम ’सत्य’ हो । मानिसरूपी जिवनको मीठो भोगाइ हो प्रेम । साहित्यमा भेटिने रस हो प्रेम । आमाले छोरालई गर्ने प्रेम, बुवाछोरीको प्रेम, दाजुभाई, दिदीबहिनीको प्रेम, साथीसंगीको प्रेम र मानिस र जनावरको प्रेम । जति पनि प्रेमलाई हामीले नियाल्ने कोशिस गरेमा हरेक कुरामा माया तथा आत्मियता भेट्छौँ । त्यसैले प्रेम एक महान ‘सत्य’ हो ।

प्रेम एउटा अदभुत् अनुभव हो । मनोबैज्ञानिक अब्राहम मास्लोले प्रतिपादन गरेको सिद्धान्त ‘दि निड हाइर्यार्की’ अर्थात अवश्यकता श्रृंखलाअनुसार जव कुनै पनि व्यक्तिको भौतिक अवश्यकता पुरा हुन्छ तव मात्र मायाँ प्रेम सम्बन्ध जस्ता कुराहरुको आवश्यक्ता पर्छ । यो नै प्रेमको मनोविज्ञान हो । त्यसैगरी प्रेमको त्रीकोणीय सिद्धान्त प्रतिपादन गर्ने मनोवैज्ञानिक रवर्ट स्टनवर्गका अनुसार आदर्श प्रेम त्योमात्र हुन्छ जहाँ आत्मीयता, प्रतिवद्धता र लगाव हुन्छ । यी तीन गुणले मात्र प्रेमलाई पूर्ण पार्ने उनको दावी छ ।

अमेरिकी मनोबैज्ञानिक जिक रुबीनका अनुसार ‘रोमान्टिक’ प्रेम तीन कुराको मिश्रणले हुने गर्छ ति हुन् लगाव, हेरचाह र आत्मीयता । जसप्रति चासो राखिन्छ उसप्रति नै लगाव हुन्छ । उसकै ख्याल राखिन्छ र त्यसले आत्मीयता स्वतः बढाउँछ । हवाइ युनिभर्सिटी अफ साइकोलोजीका विशेषज्ञ इलियेनी हेटफिल्ड भन्छन्– तिव्र महत्वाकांक्षा, अनुराग र चिन्ता एवं यौनिक आकर्षण यी तीन कुरा नभएको प्रेम छिट्टै हराउँछ । हेटफिल्डको भनाईमाथि के थप्न सकिन्छ भने एक अर्कापर्ति भरोसा र आदरभाव कायमै रह्यो भने मात्र प्रेमको सम्बन्ध कायम रहन्छ । प्रेम त्यस्तो चिज हो जहाँ एक अर्काप्रति समर्पित होइन्छ । यो नै प्रेमको वास्तविक र आदर्श रुप हो ।

(विभिन्न व्यक्तिहरुका विचार, विज्ञानका तथ्य र मनोविज्ञानमा अधारित)