अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४२ | Colorodo: 13:57

सत्य, सेवा, सुरक्षणमा चुक्दै प्रहरी

डा. टीकाराम पोखरेल २०७७ वैशाख १२ गते ९:१८ मा प्रकाशित

नेपाल प्रहरीका हरेक कार्यालयमा जानुस्, त्यहाँ सबैभन्दा पहिला एउटा नारामा आँखा पर्दछ– ‘सत्य, सेवा, सुरक्षणम् ।’ कुनै कुनै कार्यालयमा यो बाहेक अर्को एउटा नारा पनि देखिन्छ– ‘प्रहरी बर्दीका नागरिक हुन् भने नागरिक बर्दी बिनाका प्रहरी हुन् ।’ तर प्रहरीको पछिल्लो व्यवहारले प्रहरीका यी आदर्श नारामाथि प्रश्न चिन्ह खडा गरिदिएको छ । प्रहरी न सत्यको पक्षमा छ, न उसमा सेवा भावना छ, न सुरक्षाप्रति गम्भीर चासो छ । बरु प्रहरीका कारण नागरिक असुरक्षित पो हुन थालेका छन् । प्रहरीले आफूलाई यही समाजको बर्दीको नागरिक ठानेकै छैन, बरु कुनै अर्कै ब्रह्माण्डबाट निस्केको महामानव ठानेको छ, जसले जनतामाथि लाठी बर्साउने अधिकार जमाओस् ।

देश यति बेला कोरोना भाइरसको भयले लकडाउनमा छ । सरकारद्वारा घोषित लकडाउनलाई पालना गर्नुपर्छ भन्ने कुरामा कसैको दुई मत छैन । लकडाउन कार्यान्वयन गराउनमा प्रहरीको भूमिका अहम् हुने कुरामा पनि दुई मत हुन सक्तैन । यति बेला रोगसँग जुध्न सबैभन्दा बढी भूमिका चिकित्सकको छ भने त्यसपछिको भूमिका सुरक्षाकर्मीको नै हो । कोरोनाको सन्त्रासले सबै घरभित्र छन् । भयकै कारण किन नहोस् सबै घरभित्र विश्राममा छन् भने हुन्छ, तर यस्तो अवस्थामा चिकित्सक अस्पतालमा बिरामीको उपचार गर्दै मृत्युसँग पौँठेजोरी खेलिरहेका छन् । प्रहरी चाहिँ चर्को घाममा लकडाउन कार्यान्वयनमा खटेको छ । उनीहरूको यो कर्मलाई हामीले कम आँक्यौँ भने हामी आफैँ कृतघ्न हुन्छौँ । त्यसैले सम्पूर्ण नागरिकले चिकित्सक र सुरक्षाकर्मीको योगदानलाई शिर झुकाएर नमन गर्नुपर्दछ । तर यति नमनयोग्य महान् काम गर्ने प्रहरी अरू माथि लाठी बर्साएर आफ्नै कारण आलोचित बनिरहेको छ ।

विगतदेखि नै प्रहरीका व्यवहार नागरिकप्रति मानव अधिकार मैत्री नभएको गुनासाहरू बेलाबेलामा आउने गरेका हुन् । मानवअधिकार मैत्री नभएकै कारण सर्वसाधारणले प्रहरीले घोषणा गरेका ‘मुस्कान सहितको सेवा’, ‘प्रहरी मेरो साथी’ जस्ता कार्यक्रमहरू देखाउनका लागि अगाडि सारिएको भन्दै यस्ता कार्यक्रमलाई व्यङ्ग्यमा उडाउने गरेको पनि देखिन्छ । प्रहरी एउटा कुरा भन्छ, अर्को कुरा गर्छ भन्ने गुनासो सर्वसाधारणबाट आउँछ । विगतमा पनि प्रहरीले सडकमै अरूमाथि दुर्व्यवहार गरेको भिडियो क्लिप्सहरु बाहिरिने गरेका छन् । गल्ती गरेको नाममा निर्घात कुटपिट गरेका थुप्रै घटना छन् । लकडाउनपछिका विगत केही दिनका घटना मात्र हेर्ने हो भने पनि प्रहरीको व्यवहार मानव अधिकार मैत्री छैन भन्नेलाई पर्याप्त प्रमाण पुग्छ ।

वैशाख ३ गते बेलुका ८ बजे त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत डा. शम्भु खनाल, डा. तेजप्रकाश शाह र डा. विकास शाह ड्युटी सकेर घरतर्फ जाने क्रममा कान्ति बाल अस्पताल पछाडि प्रहरीको भ्यान रोकी प्रहरीहरूले लकडाउनको बेला किन हिँडेको भनी उनीहरूमाथि दुर्व्यवहार गरे । ड्युटी पछि घर फर्कन लागेका चिकित्सकहरूले परिचयपत्र देखाउँदै ड्युटी सकेर घर जान लागेको भन्दाभन्दै पनि त्यसको कुनै वास्ता नगरी प्रहरीले ती चिकित्सकमाथि दुर्व्यवहार गरेको थिए । प्रहरीको कुटपिटबाट डा. तेजप्रकाश शाहलाई चोट लागेको थियो ।

सुनसरीको धरानस्थित विष्णुपादुका स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट चन्द्रप्रकाश खनाल वैशाख ४ गते बिहीबार बिहान स्थानीय प्रहरीबाटै कुटिए । कुटपिटपछि विरोध स्वरूप वैशाख ४ गते चिकित्सकहरूले आधा दिन काम नै ठप्प पारे । काठमाडौँको कलङ्कीमा औषधी किनेर फर्किएका व्यक्तिलाई कुटपिट गरी दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भयो । उता महाकाली नदी तरेर चैत १८ गते नेपाल प्रवेश गरेका डिलासैनी गाउँपालिका बैतडीका लोकेन्द्र बोहरा प्रहरीबाट यसै गरी पिटिए । सप्तरीमा सीमा नाकाबाट भन्सार छली सामान छिराएको निहुँमा सशस्त्र प्रहरीबाट दुई जना सर्वसाधारण निर्घात कुटिए । सप्तरीकै खड्क गाउँपालिकाकी जैनव खातुनलाई पनि प्रहरीबाट कुटपिट भएको आरोप छ । दार्चुलाको शैल्यशिखर नगरपालिका जोगउडाका वासुदेव भट्टलाई प्रहरीले आमाको किरिया गर्न समेत नेपाल प्रवेश गर्न नै नदिएपछि उनी सीमापारि भारतमै बनाइएको क्वारेन्टाइनमा किरिया बसे । यद्यपि किरिया बसेको केही दिनपछि बल्लबल्ल उनलाई नेपाल प्रवेश गर्न दिइयो ।

लकडाउनको उल्लङ्घन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ । दैनिक तीन हजार मानिस उल्लङ्घन गरेको अभियोगमा पक्राउ पर्ने गरेका छन् । प्रहरीले उनीहरूलाई सडकमा तीन घण्टासम्म उभ्याएर फर्काउने गरेको छ । उभ्याउनुको मतलब उनीहरूको बेइज्जत अर्थात् उनीहरूप्रति अमर्यादित व्यवहार गरिनु हो । कतिपय मानिसहरूले खाद्यान्न किन्न जाँदा समेत हप्कीदप्की खानु परेको गुनासो गर्ने गरेका छन् । नागरिकप्रतिका यस्ता व्यवहारबाट सडकमा खटिने प्रहरी मात्र आलोच्य बनेका छैनन् सिङ्गो प्रहरी सङ्गठनको छविलाई नै धुमिल बनाइरहेको छ ।

लकडाउन कार्यान्वयन गर्न स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रमित रोग नियन्त्रण ऐन २०२० अनुसार कारबाही गर्ने अधिकार प्रहरी र स्थानीय प्रशासनलाई दिइएको छ । त्यसो त कोभिड–१९ रोकथाम उच्चस्तरीय समितिले पनि लकडाउन उल्लङ्घन गर्नेलाई कैद र जरिवाना गराउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । तर कारवाहीको अर्थ दुर्व्यवहार भने होइन । प्रहरी सङ्गठनले दुर्व्यवहारलाई कारबाही बुझ्यो भने त्यसले प्रहरी सङ्गठनलाई नै बदनाम गराउँछ । दुर्व्यवहारका एकाध घटनालाई लिएर सिङ्गो सङ्गठनप्रति आक्षेप लगाउँदा सङ्कटमा खटिएका सुरक्षाकर्मीको मनोबल खस्किन्छ भन्ने प्रहरीको भनाई दोषबाट उम्कने प्रयास मात्र हो । कुनै प्रहरी अधिकारीले गरेको राम्रो कामको श्रेय चाहिँ प्रहरी सङ्गठनले लिने त्यही प्रहरीले गरेको दुर्व्यवहारको जिम्मा चाहिँ सङ्गठनले नलिने कुरा कुनै अर्थमा पनि पत्याउन लायक छैन । नागरिककै हितका लागि आउजाउमा कडाइ गरिएको हो भने नागरिकलाई नै दुख दिनु हुँदैन । को मानिस किन बाहिर निस्कन बाध्य भयो भन्ने कुरामा विवेक प्रयोग गर्नुपर्छ । जस्तोसुकै अवस्थामा पनि राष्ट्रसेवक कर्मचारी विवेकशील हुनुपर्छ । साँच्चै भन्ने हो भने प्रहरीबाट भएका शृङ्खलाबद्ध यस्ता व्यवहारले प्रहरी सङ्गठनको स्कुलिङमाथि नै प्रश्न उठ्छ ।

प्रहरी सङ्गठनभित्रका केही प्रहरी अधिकृत र जवानका यस किसिमका उत्तेजित व्यवहारले सङ्कटका बेला फिल्डमा खटिने सबै सुरक्षाकर्मीको शारीरिक, मानसिक र करिअरका हिसाबले मनोबल गिर्छ । जब प्रहरीको मनोबल गिर्छ तब प्रहरीबाट नागरिक मैत्री व्यवहार हुनै सक्तैन । त्यसैले प्रहरी नागरिकको साथी हो भने प्रहरीले नागरिकप्रतिको व्यवहार मर्यादित बनाउनुपर्छ । तब नागरिकले पनि प्रहरीलाई साथी बनाउने छन् । नागरिकको साथले मात्र प्रहरीको मनोबल उच्च हुन्छ, हतियार र दम्भले प्रहरी मनोबल उच्च हुँदैन ।

सरकारले पनि लकडाउन उल्लङ्घन गर्नेलाई कैद र जरिवाना गराउन स्थानीय प्रशासनलाई निर्देशन दिने तर लकडाउनका कारण दुई छाक खान समस्या भएकाहरूलाई सरकारले सहयोग नगर्ने हो भने राज्यको जिम्मेवारी पनि पूरा भएको भन्न सकिँदैन । आज दैनिक ज्यालामजदूरी गरी गुजारा गर्नेहरू घरतर्फ जान अव्यवस्थित यात्रा गरिरहेको देखिन्छ । तिनीहरूलाई प्रहरीको ठाउँ ठाउँमा रोक्न खोजिरहेको छ । घर जानबाट रोक्ने हो भने उनीहरूको रोजीरोटीको बन्दोबस्त सरकारले गर्नुपर्दछ ।

सबैले बुझेकै कुरा हो पेसागत रूपमा प्रहरीको काम सजिलो छैन । तर काम सजिलो छैन भन्दैमा राष्ट्रसेवक कुनै पनि कर्मचारीले संयम गुमाउन मिल्दैन । जनताको करबाट पालिएका प्रहरीले जनताप्रति मर्यादित व्यवहार गर्नुपर्दछ । हरेक सङ्कटमा अग्रपङ्क्तिमा रही कार्य गर्ने स्वास्थ्यकर्मीहरुमाथि भएका यस प्रकारका कुटपिट तथा दुर्व्यवहारले जनस्वास्थ्यको हालको सङ्कटको अवस्थामा उच्च मनोबलका साथ कार्य गर्नुपर्ने पेशाकर्मीहरुको मनोबल र प्रतिष्ठामा प्रत्यक्ष असर पर्ने भएकाले त्यस्तो कार्यको पुनरावृत्ति हुन नदिने कुराको प्रहरी सङ्गठनले सुनिश्चितता गर्नुपर्दछ । प्रहरीले लकडाउनको अवस्थामा नेपाल सरकारले जारी गरेका निर्देशनहरुको पालना गर्दा/गराउँदा स्वास्थ्यकर्मी, पत्रकार, मानव अधिकारकर्मी तथा सर्वसाधारणप्रति समेत संयमित र मर्यादित व्यवहार गर्नु गर्दछ । अनि मात्र प्रहरीले राष्ट्र सेवा गरेको ठहर्छ । अन्यथा दम्भ प्रदर्शन मात्र हुन्छ । दम्भ प्रदर्शनले सत्य, सेवा, सुरक्षणमा प्रहरी चुक्दछ ।