अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३२ | Colorodo: 03:47

अमेरिकी इमिग्रेसनबाट विशेष परिस्थिति घोषणा, सेवाग्राहीले यस्तो सुविधा पाउने

बिआरटीनेपाल २०७६ चैत ९ गते १६:४५ मा प्रकाशित

न्यु योर्क । कोरोना भाइरसका कारण आफ्नो कार्यालय बन्द गर्नुपरेको युनाइटेड स्टेट्स सिटिजनशीप एण्ड इमिग्रेसन सर्भिसेस (USCIA) ले यसका कारण प्रभावित सेवाग्राहीलाई ‘विशेष परिस्थिति’ भन्दै विभिन्न सुविधा दिने घोषणा गरेको छ ।

युएससिआइएस (USCIS)ले प्राकृतिक प्रकोप र अन्य खालका विशेष अवस्थामा प्रयोग गर्न सक्ने अधिकार प्रयोग गरी यस्तो सुविधा दिने घोषणा गरेको हो । त्यस अनुसार कोरोना भाइरसका कारण यात्रा गर्न नसकेर अमेरिका भित्रिने म्याद गुज्रेका र म्याद थपको आवेदन दिएकाले पनि अमेरिका आउन पाउने छन् । ‘तपाईँको नियन्त्रण बाहिर रहेको विशेष परिस्थितिका कारण आउने म्याद सकिएको अवस्थालाई हामी नजर अन्दाज गर्न सक्छौँ,’ युएससिआइएसको वेबसाइटमा उल्लेख छ ।

त्यस्तै, विशेष परिस्थितिका कारण USCISको सेवा शुल्क तिर्न असमर्थ रहेकालाई त्यस्तो शुल्क छुट दिने पनि घोषणा गरिएको छ । त्यसका लागि फारम आई–९१२, रिक्वेस्ट फर फि वेभर भरेर आवेदन दिन भनिएको छ ।

कोरोना भाइरस जस्तो पूर्व परिकल्पना नगरिएको विशेष परिस्थितिका कारण आर्थिक कठिनाइमा परेका गैर आप्रवासी हैसियतमा रहेका विद्यार्थीलाई क्याम्पस बाहिर काम गर्न अनुमति दिने पनि USCISको वेबसाइटमा उल्लेख छ । पूर्व परिकल्पना नगरिएको अवस्था के के हुन् भन्ने ८सिएफआर २१४.२(एफ) (९) मा उल्लेख छ । त्यस अतिरिक्त बिना गल्ती आर्थिक सहायता गुमाएका वा क्याम्पसभित्र प्रदान गरिने रोजगारी गुमाएका, मुद्रा स्फितिका कारण समस्यामा परेका, ट्युसन फी र जीविकोपार्जन खर्च वृद्धि भएको, आर्थिक सहयोग प्रदान गरिरहेको स्रोत नै समस्यामा परेको, स्वास्थ्य खर्च लगायतका आर्थिक कठिनाइमा परेका विद्यार्थीले क्याम्पस बाहिर काम गर्न श्रम स्वीकृतिका लागि फारम आई–७६५, एप्लिकेशन फर इम्प्लोइमन्ट अथोराइजेसन भर्न सक्नेछन् । साथै, उनीहरूले फारम आई–२०, सर्टिफिकेट अफ इलिजिबिलिटी फर ननइमिग्रेन्ट स्टुडेन्ट स्टाटस र अन्य सहयोगी कागजात पनि बुझाउनु पर्ने छ । फारम आई–२० को इम्प्लोइमन्ट पेज सम्बन्धित विद्यालय वा कलेजले भरेको हुनपर्छ ।

साथै, अन्तर्वार्तामा उपस्थित हुन नसकेमा, बायो मेट्रिक दिन जान नसेकेमा र मागिएको थप प्रमाण समयमा बुझाउन नसकेमा पनि सेवाग्राहीले थप समय पाउने छन् । त्यसका लागि उचित कारण सहित सेवाग्राहीले USCISमा आवेदन दिनुपर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू