अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३६ | Colorodo: 19:51

रिटर्निङ रेसिडेण्ट भिसा अस्वीकार गर्दै दूतावास, विना भिसा एयरपोर्टमा प्रवेश दिँदै सीबीपी

बिआरटीनेपाल २०७७ चैत २५ गते ६:१७ मा प्रकाशित

कोरोनाको महामारीका कारण ग्रिन कार्डमा एकबर्षभन्दा बढी नेपालमा बसेका कैयनले रिटर्निङ रेसिडेण्ट भिसा आवेदन दिँदा काठमाडौँमा रहेको अमेरिकी दूतावासले अस्वीकार गरे पनि त्यसपछि अमेरिका आएका ग्रिनकार्डवाहकलाई विमानस्थलबाट कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीले भने अमेरिका प्रवेशको अनुमति दिएको छ । कोरोनाको महामारी कारण एकबर्षभित्र अमेरिका फर्कन नसकेका कैयनको रिटर्निङ रेसिडेण्ट भिसा अमेरिकी दूतावास काठमाडौँले अस्वीकार गर्दै नयाँ आई १३० आवेदन दिएर ग्रिन कार्डको प्रक्रिया सुरुबाटै अगाडि बढाउन सुझाव दिएको दिँदै आएको छ ।

‘मेरो ग्रिनकार्डवाहक बाबुआमा सन् २०१९ को सेप्टेम्बरमा नेपाल जानुभएको थियो । तर कोरोनाको महामारीका कारण एकबर्षभित्र अमेरिका आउन सक्नुभएन । त्यसपछि नेपालमा ग्रिन कार्डमा अमेरिकी दूतावासमा रिटर्निङ रेसिडेण्ट भिसाका लागि आवेदन दियौँ । दूतावासले भिसा अस्वीकार गरिदियो । त्यसपछि उहाँहरू विमान चढेर टेक्सस आउनुभयो । कोरोनाको महामारीका कारण एकबर्षभित्र अमेरिका आउन नसकेको बताएपछि उहाँहरूलाई एयरपोर्टबाट कुनै झन्झट विना अमेरिका प्रवेश गर्न अनुमति दियो ।’ – टेक्ससबाट एक जना नेपालीले जानकारी दिए ।

अमेरिकी दूतावास काठमाडौँले भिसा अस्वीकार गर्दै यस्तो कागज थमायो । तर उनीहरू अमेरिका छाडेको एकबर्ष नाघे पनि म्याद नसकिएको ग्रिन कार्डमा अमेरिका आउँदा एयरपोर्टमा सीबीपीबाट कुनै रोकावट भएन ।

‘बुबा नेपालमा बिरामी भएर इमर्जेन्सीमा भर्ना हुनुभएको थियो । उहाँलाई केही दिन आइसियुमा राखिएको थियो । उहाँले कोरोना भाइरसविरुद्ध लडेर बाँच्न सफल हुनुभयो । आमा पनि कोरोना संक्रमण भएर घरमै उपचार गरेर निको हुनुभयो । दुबै जना ग्रिनकार्डवाहक भए पनि अमेरिका छाडेको एकबर्ष भइसकेकाले रिटर्निङ रेसिडेन्ड भिसा आवेदन दिनुभएको थियो । तर एकबर्षभित्र फर्कन नसक्नुको अवस्था आफ्नो नियन्त्रणबाहिर रहेको पुष्टि गर्न नसकेको भन्दै उहाँहरूको भिसा अस्वीकार गरिएको थियो । दूतावासले भिसा अस्वीकार गरे पनि एयरपोर्टमा कुनै रोकावट विना प्रवेश दिनुले काठमाडौँको अमेरिकी दूतावासले समन्वयकारी भूमिका नखेलेको प्रस्ट भएको छ ।’ – उनले भने ।

आफ्ना बाबुआमाका साथमा अमेरिका छाडेको एकबर्ष नाघेको अरू दुई जना ग्रिनकार्डवाहक नेपालीहरुपनि विना रोकावट टेक्ससको विमानस्थलबाट अमेरिका प्रवेश गरेको उनले जानकारी दिए ।

अमेरिकी दूतावास के भन्छ ?
रिटर्निङ रेसिडेण्ट भिसाका कैयन नेपाली आवेदकले अमेरिकी दूतावास काठमाडौँबाट आफूहरूमाथि अन्याय भएको गुनासो गरेका छन् । दूतावासकै भिसा च्याटका क्रममा एक जनाले भनेका थिए – ‘म मेरी आमाका लागि रिटर्निङ रेसिडेन्ड भिसा आवेदन दिने योजनामा छु । तर अघिल्लो अन्तरवार्ताका क्रममा आमाको ग्रिन कार्ड नै कन्सुलर अधिकारीले कब्जा गरे । जबकि ग्रिन कार्डको म्याद समेत सकिएको थिएन । उहाँलाई ग्रिन कार्ड कब्जा गर्नुको कारण पनि बताइएन भने रिटर्निङ रेसिडेन्ड भिसा आवेदन दिन सुझाव पनि दिइएन । हामीले एउटै अन्तरवार्ताका लागि शुल्क पनि दुई पटक बुझाउनुपरेको थियो ।’

अमेरिकी दूतावास काठमाडौँ
यसबारेको जवाफमा कन्सुलर अधिकारीले भनेका थिए – ‘रिटर्निङ रेसिडेन्ड भिसा प्राप्त गर्न निकै गाह्रो हुन्छ । महामारीको अवस्थाका बाबजुद पनि यो भिसा स्वतः स्वीकृत गरिँदैन ।’

कस्टम एण्ड बोर्डर प्रोटेक्सनका अधिकारी के भन्छन् ?
कोरोनाको महामारीका कारण एकबर्षभित्र अमेरिका आउन नसकेका तर अमेरिका छाड्ने बेलामा रिइन्ट्री परमिट नलिईकनै गएका ग्रिनकार्डवाहकको ग्रिन कार्डको म्याद समाप्त नभएको अवस्थामा आउन नसक्नुको आवश्यक कागजातसहित सिधै अमेरिका आउन सक्ने र उसको अमेरिका प्रवेशबारे पोर्ट अफ इन्ट्रीमा निर्धारण गरिने सीबीपीका उच्च अधिकारीलाई उद्धृत गर्दै कानुन व्यवसायी केशव सेडाईले जानकारी दिएका थिए । एउटा कार्यक्रमका क्रममा कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीका उच्च अधिकारीहरूले यसबारे स्पष्ट पारेका थिए ।

सेडाईले भने एउटा कार्यक्रममा हामीले यो प्रश्न सीबीपीका उच्च अधिकारीहरूलाई राखेका थियौँ । कोरोनाको महामारीका कारण अमेरिका आउन नसकेका ग्रिनकार्डवाहकको अवधि एकबर्ष नाघेको भए पनि रिटर्निङ भिसा विना नै सिधै अमेरिका आउन सक्ने उनीहरूले जानकारी दिएका छन् ।

कानुन व्यवसायी केशव सेडाई
सामान्यतया एकबर्षभन्दा लामो समय अमेरिकाबाहिर बस्ने ग्रिनकार्डवाहकलाई अमेरिका आउनमा प्रतिबन्ध लाग्ने नियम रहेको छ । उनीहरूले अमेरिका आउनुपरेमा दूतावासमार्फत रिटर्निङ भिसा लिनुपर्ने प्रावधान रहेको छ । तर महामारीका कारण एकबर्षभन्दा लामो समय बाहिर बसेका ग्रिनकार्डवाहकलो छुट पाउन सक्ने सीबीपी अधिकारीलाई उद्धृत गर्दै सेडाईले जानकारी दिए ।

एकबर्षभन्दा लामो समय अमेरिकाबाहिर बसेका ग्रिनकार्डवाहकले आफू कोरोनाको महामारीका कारण आउन नसकेका प्रमाणहरू बोक्न सेडाईले सुझाव दिए । आफ्नो स्वास्थ्य अवस्था लगायतका प्रमाणहरू बोक्न सकिने र सीबीपी अधिकारीलाई देखाउन सकिने उनले जानकारी दिए ।

ग्रिन कार्डकै म्याद सकिएकाहरूले भने अमेरिकी दूतावास वा कन्सुलेटबाट बोर्डिङ फोइल लिनुपर्ने प्रावधान रहेको छ । बोर्डिङ फोइलविना म्याद सकिएको ग्रिन कार्डमा एयरलाइन्सले विमानमा नचढाउने र विमानस्थलबाट अमेरिका प्रवेशमा समेत समस्या हुने भएकाले ग्रिन कार्डको म्याद सकिएकाहरूलाई अमेरिकी दूतावासमा सम्पर्क गर्न सुझाव दिइएको छ ।

कोरोनाको महामारीबाट प्रभावित नभएको सामान्य अवस्थामा एकबर्षभित्र अमेरिका आउन नसकेका ग्रिनकार्डवाहक वा रिइन्ट्री परमिटको म्याद सकिएकाहरूले रिटर्निङ रेसिडेन्ट भिसा लिनुपर्ने प्रावधान रहेको छ । जसका लागि २०५ डलर शुल्कसहित डीएस ११७ भरेर बुझाउनुपर्छ । यदि आवेदन स्वीकृत भएमा डीएस २६० प्रोसेसिङ शुल्क र मेडिकल परीक्षा तथा भ्याक्सिन शुल्क समेत तिर्नुपर्छ । खसोखासबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू