अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४२ | Colorodo: 03:57

महामारीलाई आधार नमानेपछि कैयन नेपालीको रिटर्निङ रेसिडेन्ड भिसा अस्वीकृत, परिवारहरू अलग अलग

बिआरटीनेपाल २०७७ चैत १३ गते ८:०३ मा प्रकाशित

अमेरिकी दूतावास काठमाडौँले कोरोना महामारीलाई आवेदकको नियन्त्रणबाहिरको अवस्थाका रूपमा स्वीकार नगरेपछि नेपालमा एकबर्षभन्दा लामो समय बसेका ग्रिनकार्डबाहक कैयन नेपालीको रिटर्निङ रेसिडेन्ड भिसा अस्वीकृत भएको छ । कोरोना महामारीका कारण कैयन ग्रिनकार्डबाहक नेपालीहरू अमेरिका छाडेको एकबर्षभित्र अमेरिका फर्कन सकेका थिएनन् ।

अहिले अमेरिकी दूतावास काठमाडौँमा रिटर्निङ रेसिडेन्ड भिसा आवेदन दिँदा उनीहरूलाई भिसा दिन नसकिने बरु उनीहरूका तर्फबाट सुरुवातदेखि नै आई १३० आवेदन दिएर ग्रिन कार्डको नयाँ प्रक्रिया सुरु गर्नुपर्ने जवाफ दिन थालिएको छ । भिसा नपाएका कारण केही समयका लागि नेपाल गएका र महामारीका कारण समयमा फर्कन नसकेकाहरू परिवारसँग भेटघाटका लागि समेत अमेरिका आउन पाएका छैनन् ।

टेक्सस निवासी एक नेपालीले खसोखाससँग भनिन् – ‘मेरा बाबुआमा नेपाल जानुभएको थियो । तर उहाँहरू कोरोनाको महामारी कारण यात्रा गर्न असुरक्षित भएकाले र लकडाउनका कारण एकबर्षभित्र अमेरिका फर्कन सक्नुभएन । अहिले मेरो बच्चा जन्मिने बेला भएको छ । यो अवस्थामा मलाई बाबुआमाको खाँचो छ । तर उहाँहरूको रिटर्निङ रेसिडेन्ड भिसा दूतावासले अस्वीकार गरेकाले उहाँहरू अमेरिका आउन पाउनु भएन ।’

‘मेरो बुबा नेपालमा बिरामी भएर इमर्जेन्सीमा भर्ना हुनुभएको थियो । उहाँलाई केही दिन आइसियुमा राखिएको थियो । उहाँले कोरोना भाइरसविरुद्ध लडेर बाँच्न सफल हुनुभयो । आमा पनि कोरोना संक्रमण भएर घरमै उपचार गरेर निको हुनुभयो । दुबै जना ग्रिनकार्डवाहक भए पनि अमेरिका छाडेको एकबर्ष भइसकेकाले रिटर्निङ रेसिडेन्ड भिसा आवेदन दिनुभएको थियो । तर एकबर्षभित्र फर्कन नसक्नुको अवस्था आफ्नो नियन्त्रणबाहिर रहेको पुष्टि गर्न नसकेको भन्दै उहाँहरूको भिसा अस्वीकार गरियो । दूतावासको यो अमानवीय निर्णयका कारण उहाँहरू हामीलाई भेट्न आउन पाउनुभएको छैन ।’ – उनले गुनासो गरिन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले परिवारहरूको पुनर्मिलनका लागि अमेरिकी अध्यागमनमा सुधार ल्याउने प्रतिबद्धता जनाउँदै आएका छन् । कैयन घोषणाहरू समेत गरेका छन् । तर व्यवहारमा यस्तो हुन नसकेको र परिवारलाई अलग्याउने काम भएको भन्दै पीडितहरूले दुखेसो पोखेका छन् ।

अमेरिकी दूतावास काठमाडौँको फेसबुक पेजमा कन्सुलर अधिकारीका तर्फबाट गरिएको भिसा च्याटका क्रममा पनि कैयन नेपालीहरूले आफ्ना परिवारका सदस्यहरू, खास गरी बाबुआमाको रिटर्निङ रेसिडेन्ड भिसा अस्वीकृत भएको भन्दै गुनासो र आक्रोश व्यक्त गरेका छन् ।

भिसा च्याटका क्रममा एक जनाले भनेका छन् – ‘म मेरी आमाका लागि रिटर्निङ रेसिडेन्ड भिसा आवेदन दिने योजनामा छु । तर अघिल्लो अन्तरवार्ताका क्रममा आमाको ग्रिन कार्ड नै कन्सुलर अधिकारीले कब्जा गरे । जबकि ग्रिन कार्डको म्याद समेत सकिएको थिएन । उहाँलाई ग्रिन कार्ड कब्जा गर्नुको कारण पनि बताइएन भने रिटर्निङ रेसिडेन्ड भिसा आवेदन दिन सुझाव पनि दिइएन । हामीले एउटै अन्तरवार्ताका लागि शुल्क पनि दुई पटक बुझाउनुपरेको थियो ।’

यसबारेको जवाफमा कन्सुलर अधिकारीले भनेका छन् – ‘रिटर्निङ रेसिडेन्ड भिसा प्राप्त गर्न निकै गाह्रो हुन्छ । महामारीको अवस्थाका बाबजुद पनि यो भिसा स्वतः स्वीकृत गरिँदैन ।’

त्यस्तै अर्का प्रश्नकर्ताले पनि रिटर्निङ रेसिडेन्ड भिसा अस्वीकृत भएको बारे गुनासो गरेका छन् । उनले कन्सुलर अधिकारीलाई कोरोनाको महामारीका कारण समयमा अमेरिका फर्कन नसकेका धेरै ग्रिनकार्डवाहक नेपालीहरूको रिटर्निङ रेसिडेन्ड भिसा अस्वीकृत भएकोमा पुनर्विचार गर्न अनुरोध गरेका छन् । जवाफमा कन्सुलर अधिकारीले भनेका छन् – ‘हामी ग्रिनकार्डवाहकहरु महामारीका कारण तुरुन्तै अमेरिका फर्कन नसकेको निराशालाई बुझ्छौँ । तर रिटर्निङ रेसिडेन्ड भिसाका कानुनहरू धेरै कडा छन् भने केही व्यक्ति मात्र त्यस्तो भिसाका लागि योग्य हुन्छन् ।’

ग्रिनकार्डवाहक अमेरिकाबाहिर लगातार एकबर्षभन्दा लामो समय बसेको खण्डमा त्यस्तो व्यक्तिले अमेरिका प्रवेश गरेर ग्रिन कार्डको निरन्तरताका लागि नयाँ आप्रवासी भिसाका लागि आवेदन दिनुपर्ने प्रावधान रहेको छ । आफ्नो नियन्त्रणबाहिर रहेको अवस्थाका कारण एकबर्षभित्र अमेरिका आउन नसक्ने ग्रिनकार्डवाहकका लागि अमेरिकाको भिसा कानुनले रिर्टनिङ रेसिडेण्ड विशेष आप्रवासी भिसाको व्यवस्था गरेको छ ।

यदि तपाई ग्रिनकार्डवाहक हुनुहुन्छ र अमेरिका छाडेको एकबर्षभित्र अमेरिका फर्कन सक्नुभएन भने तपाई रिर्टनिङ रेसिडेण्ड एसबीवान लागि योग्य हुन सक्नुहुनेछ । त्यसका लागि तपाईँले नजिकको अमेरिकी दूतावास वा कन्सुलेटमा आवेदन दिनुपर्ने हुन्छ । यदि तपाईँको रिर्टनिङ रेसिडेण्ड भिसाको आवेदन स्वीकृत भएको खण्डमा तपाई अमेरिका आएर ग्रिन कार्डलाई निरन्तरता दिन सक्नुहुनेछ ।

अन्यथा तपाइका लागि पहिलेकै जस्तो सुरुवातबाटै ग्रिन कार्डको प्रक्रिया सुरु गर्नुपर्छ । यदि तपाईँको भिसा परिवारमा आधारित थियो भने तपाइका लागि पुन आई १३० आवेदन फाइल गर्नुपर्ने हुन्छ । रोजगार र डिभी लोटरीका आधारमा तपाईँले ग्रिन कार्ड पाउनुभएको थियो भने तपाईँले भविष्यमा ग्रिन कार्ड नपाउने सम्भावना समेत रहन सक्छ ।

रिर्टनिङ रेसिडेण्ड भिसाका लागि आवेदन दिइसकेपछि तपाईँले दुई पटक अन्तरवार्ता दिनुपर्ने हुनसक्छ । सुरुमा तपाई यो भिसाको लागि आवेदन दिन योग्य भए नभएको सन्दर्भमा निर्धारण गर्ने आवेदन डीएस ११७ दिइसकेपछि तपाईँको अन्तरवार्ता हुनसक्छ । यदि तपाई योग्य ठहरिनुभएको खण्डमा तपाईँले भिसाका लागि डीएस २६० आवेदन दिनुपर्छ । त्यतीबेला तपाईँको अर्को अन्तरवार्ता हुनसक्छ ।

नमुना डीएस २६० फर्म यहाँ उपलब्ध छ ।

यो भिसा प्राप्त गर्नका लागि मेडिकल परीक्षण गरेको हुनुपर्छ । त्यसैले मेडिकल शुल्क र भिसा प्रक्रिया शुल्क तिर्नुपर्ने हुन्छ । यो भिसाका लागि योग्य हुनका लागि तपाई अमेरिका छाड्ने बेलामा ग्रिन कार्डमै रहेको, फर्कने आशयका साथ अमेरिका छाडेको, विदेशको अस्थायी भ्रमणबाट अमेरिका फर्कन लागेको र अमेरिकाबाहिरको बसाई लम्बिएको खण्डमा तपाईँको नियन्त्रणमा नरहेको अवस्थाका कारण लम्बिएको प्रमाणित गर्नुपर्छ ।

रिर्टनिङ रेसिडेण्ड भिसा आवेदन दिन चाहनेले अमेरिका फर्कन चाहेको मितिले कम्तीमा ३ महिना अगाडि नजिकको दूतावास वा कन्सुलेटमा सम्पर्क गर्नुपर्छ । सुरुमा फर्म डीएस ११७ भरेर बुझाउनुपर्छ र साथमा आफ्नो ग्रिन कार्ड पनि पेस गर्नुपर्नेछ । अमेरिका छाड्ने बेलाको टिकट, पासपोर्टमा लगाएको छाप, अमेरिका ट्याक्स फाइल गरेको लगायतका पारिवारिक र सामाजिक सम्बन्ध पुष्टि गर्ने कागजात, लामो समय अमेरिकाबाहिर बस्नुपर्दाको स्वास्थ्य लगायतका आफ्नो नियन्त्रणबाहिरको समस्याको प्रमाण समेत पेस गर्नुपर्छ ।

कन्सुलर अधिकारीले यो आवेदन हेरेपछि रिर्टनिङ रेसिडेण्ड भिसाका लागि मापदण्ड पूरा गरे नगरेको निर्धारण गर्नेछन् । मापदण्ड पूरा गरेको निर्धारण भएमा डीएस २६० फर्म, मेडिकल परीक्षण, पासपोर्ट र दुई वटा फोटोसहित आवेदन दिनुपर्छ ।

थप जानकारीका लागि अमेरिकी विदेश मन्त्रालय ब्युरो अफ कन्सुलर अफेयर्सको यो पेज हेर्नुहोला ।

यदि तपाई नेपालमा हुनुहुन्छ भने आफ्नो रिटर्निङ रेसिडेन्ट हैसियत पत्ता लगाउनका लागि नेपालस्थित अमेरिकी दूतावासमा अन्तर्वार्ता निर्धारण गर्नु पर्दछ । अन्तर्वार्ताका लागि समय लिन consktm@state.gov मा इमेल पठाउनुहोला । विस्तृत पुनरावलोकन तथा अन्तर्वार्तापश्चात् कन्सुलर अफिसरले तपाईँ यो भिसाका निम्ति योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा निर्धारण गर्नेछन् ।

सबै आवेदकहरूले १८० अमेरिकी डलरको फिर्ता नहुने दाखिला शुल्क वा सो सरहको रकम स्थानीय मुद्रामा तिर्न आवश्यक हुन्छ । उक्त शुल्क दूतावासको कन्सुलर क्‍याशिएरमा नगद वा क्रेडिट कार्डमार्फत तिर्न सकिन्छ । दाखिला शुल्क भिसा आवेदन शुल्क होइन । यो त रिटर्निङ रेसिडेन्ट हैसियत निर्धारण गर्नका लागि लाग्ने शुल्क हो । दाखिला शुल्क तिर्दैमा त्यसले रिटर्निङ रेसिडेन्ट हैसियत स्वीकृत हुन्छ भन्ने कुरा प्रत्याभूत गर्दैन ।

थप जानकारीका लागि अमेरिकी दूतावास काठमाडौँको यो पेज हेर्नुहोला ।

रिटर्निङ रेसिडेन्ट हैसियत प्राप्त भइसकेपछि डीएस २६० भर्दा त्यसको छुट्टै शुल्क तिर्नुपर्छ । त्यसपछिमात्र भिसा प्राप्त हुनेछ ।

खसोखासबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू