अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४५ | Colorodo: 08:00

नेपाललाई टिपिएसको लागि पुनः नियुक्त (“रिडेजिग्नेट”) गर्न ४४ जना कङ्ग्रेसका सदस्यहरूको बाईडन प्रशासनलाई आग्रह

बिआरटीनेपाल २०७८ भदौ ६ गते ११:५२ मा प्रकाशित

वासिङ्टन, डी.सी. – हाउसको रेप्रेजेन्टेटिभ निडिया भेलास्क्वेज (न्यु योर्क – ७) र सेनेटर चक सुमर (न्यु योर्क) को नेतृत्वमा शुक्रवार, अगस्ट २० तारिख ४४ जना कङ्ग्रेसका सदस्यहरूले डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका सेक्रेटरी आलेक्जान्डर मायोर्कास र स्टेट डिपार्टमेन्टका सेक्रेटरी एन्थोनी ब्लिन्कीन हरूलाई एक पत्र लेखेर नेपाललाई १८ महिनाको लागि टिपिएस् (Temporary Protected Status) को लागि नवीकरण र पुनः नियुक्त (“रिडेजिग्नेशन” – २०१५ पछि आएकाहरू पनि समावेश हुने) गर्न आग्रह गरेका छन्। टिपिएसले संयुक्त राज्य अमेरिकामा रहेका, र सुरक्षित रूपमा आफ्नो देश फर्कन नसक्ने कागजपत्र विहीन लगायत अन्य गैर नागरिकहरूको जीवन बचाउने महत्त्वपूर्ण सुरक्षाहरू दिन्छ।

अधिकारको नेतृत्व द्वारा बृहत् अभियानको एक हिस्सा स्वरूप हाउसका रेप्रेजेन्टेटिभहरु चु, मेङ्, ओकेजियो कोर्टेज, जयापाल, र सेनेटर भ्यान होल्लनले सह नेतृत्व लिनु भएको सो “डियर कोल्लिग्स” पत्रमा नेपालको हालको स्थितिलाई हेरेर नेपाललाई टिपिएस् को लागि पुनः नियुक्त गराउन अत्यन्तै जरुरी भएको जनाइएको छ। नेपाललाई टिपिएसको लागि पुनः नियुक्त गर्न प्रशासनलाई तुरुन्त निर्णय लिन आग्रह गर्दै राष्ट्रव्यापी १०१ वटा सङ्घ संस्थाहरूले हस्ताक्षर गरेको संस्थागत समर्थनको पत्र र देश भरिका हजारौँ व्यक्तिहरूले हस्ताक्षर गरेका पेटिशन पनि सो पत्र सँगै पठाइएको छ।

करिब ९ हजार जनाको ज्यान लगेको, र दसौँ हजारौँलाई घाइते बनाएर देशको राष्ट्रिय संरचनालाई नै भत्काउने ७.८ स्केलको भूकम्प पश्चातको परिस्थितिलाई नेपालीहरूले अत्यन्तै साहसका साथ सामना गरेता पनि त्यो भूकम्पको असर हामीले अझै पनि बेहोरि रहेका छौँ। हाल यथावत् रहेको विश्वव्यापी संक्रमण को साथै राजनैतिक अस्थिरता, र उत्तरी भारत र नेपाललाई झन्डै ४० लाखलाई बाडीहरूले थप विस्थापित गर्दा नेपालले एक पछि अर्को सङ्कटको सामना गर्नु परि रहेको छ।

अमेरिकी स्टेट डिपार्टमेन्टले जुन १६, २०२१ को मिति सम्म लागु हुने गरी कोभिड-१९ को उच्च जोखिम र राजनैतिक हिंसाको कारण नेपालमा यात्रा गर्न सबभन्दा उच्च स्तरको जोखिम रहेको सुझाव दिँदै यात्रुहरूलाई नेपाल भ्रमण नगर्न निर्देशन दिएको थियो। नेपालको हालको परिस्थिति बारे थप जानकारी पाउन यहाँ हेर्नुहोस्।

हाल टिपिएसमा रहेका १० हजार भन्दा धेरै नेपालीहरूको भविष्य सङ्घीय कानुनी मुद्दा निलसन विरुद्ध रामोस/निलसन विरुद्ध भट्टराई सम्बन्धी जारी रहेको सम्झौता प्रक्रियामा निर्भर छ। शरणार्थीको दर्जा दर्ता गर्न अयोग्य रहेका, अनि आफ्नो देश फर्कन पनि जोखिमपूर्ण परिस्थितिहरू सामना गर्नु पर्नेहरूको लागि टिपिएसले लामो समय देखि सुरक्षा प्रदान गर्दै आएको छ। हालको २०१५ भन्दा अगाडि आएको हुनु पर्ने योग्यताको कारण अहिले टिपिएस् पाउन नसकेका अमेरिकामा रहेका ३६ हजार भन्दा धेरै नेपालीहरूलाई अहिले नेपाल फर्कनको लागि पर्याप्त सुरक्षा छैन। यस प्रशासनले नेपाललाई टिपिएस् को लागि पुनः नियुक्त गरेर महत्त्वपूर्ण मानवीय सुरक्षाको खाँचो भएकाहरूलाई सुरक्षा प्रदान गर्न जरुरी छ।

संयुक्त राज्य अमेरिकाको कँग्रेस (तल्लो सदन) की सदस्य निडिया भेलाज्क्वेज (न्यु योर्क – ७): “गएको एक वर्षमा नेपालले कोरिनाको संक्रमण, राजनैतिक हिंसा, र वाडी-पहिरोहरुको सामना गर्नु पर्‍यो, जसले गर्दा देश भरि नै थुप्रै मानिसहरू विस्थापित भएका थिए। गत वर्षको यी सङ्कटहरूको कारण अझै पनि निकै दुःखहरू भोग्नु परि रहेको हुनाले हाल अमेरिकामा बसोबास गरी रहेका, तर सन् २०१५ पछि अमेरिका आएको कारणले टिपिएस् पाउन नसकेकाहरूलाई नेपाल फिर्ता जान सक्ने स्थिति छैन। यही कारणले गर्दा सेनेटर सुमर सँग मिलेर मैले डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्रेटरी आलेहान्ड्रो मायोर्कास र सेक्रेटरी अफ स्टेट एन्थोनी ब्लिन्कीनलाई नेपाललाई १८ महिनाको लागि टिपिएस् नवीकरण गरेर पुनः नियुक्ति गर्न आग्रह गर्दै एउटा पत्र लेख्ने नेतृत्व लिएको छु। हाल सुरक्षाको खाँचो भएकाहरूलाई तत्काल सुरक्षा दिन संयुक्त राज्य अमेरिका सधैँ तत्पर रहन पर्छ। हजारौँ नेपालीहरू अहिले आफ्नो देश फर्कन डराई रहेका छन्। टिपिएस् जीवन बचाउने सुरक्षाहरू दिने एउटा मानवीय उपकरण हो, र नेपालीहरूको लागि तुरुन्त केही गर्नको लागि बाईडन प्रशासनलाई म आग्रह गर्दछु।”

संयुक्त राज्य अमेरिकाको सेनेटर र सेनेटको बहुमत पार्टीको नेता चक सुमर (न्यु योर्क): “केही वर्ष देखि नेपाली समुदायलाई सुरक्षा दिन मैले धेरै लडाई गर्दै आएको छु। त्यसैले पनि हामीले नेपाली नागरिकहरूको “टेम्पोरेरी प्रोटेक्टेड स्टेटस” (TPS) पुनः प्रदान गरेर लम्ब्याइनु पर्छ। दुर्भाग्यवश नेपालले भूकम्प, राजनैतिक उत्पात, र मानव अधिकारको उल्लङ्घनहरू सामना गर्नु परेको छ। त्यस माथि कोभिड-१९ को सङ्क्रमणले स्थिति झनै गम्भीर बनाएको छ। परिवारहरूलाई नछुटाउनको लागि पनि नयाँ मानिसहरूलाई टिपिएसको लागि योग्य बनाउन महत्त्वपूर्ण छ। हाम्रो समुदायका मानिसहरूलाई अहिलेको अवस्थामा नेपाल फर्काउनु गलत हुनेछ।”

पवित्रा खाती बेन्जामिन, कार्यकारी निर्देशक, अधिकार: “ यो हाम्रो लागि अमेरिकामा रहेका झन्डै ३७ हजार नेपाली आप्रवासीहरूलाई सुरक्षा दिने महत्त्वपूर्ण अवसर हो। २०१५ मा नेपालले टिपिएस् पाए पछि हाल टिपिएस् मा रहेका १० हजार भन्दा धेरै नेपालीहरूले स्वास्थ्य बिमा र काम गर्ने अनुमति पत्र जस्ता सुरक्षाहरूको फाइदा लिन पाई रहेका छन्। नेपाललाई टिपिएस् पुनः नियुक्त गर्न प्रशासनलाई आग्रह गर्नको लागि हामीलाई समर्थन जनाउनु भएका कङ्ग्रेसका सदस्यहरू, समर्थन पत्रमा हस्ताक्षर गरेका सङ्घ-संस्थाहरु, र पेटिशनमा हस्ताक्षर गर्नु भएका हजारौँ व्यक्तिहरू प्रति हामी आभारी छौँ। अधिकारले २०१५ देखि नै टिपिएसको लागि लड्दै आएको छ, र हाम्रो समुदायको लागि यस योजनाको फाइदाहरू हामीले राम्ररी बुझेका छौँ। हामी आशा गर्दछौँ कि हाल टिपिएस् मा रहेका १० हजार भन्दा धेरै नेपालीहरूको आउन लागेको टिपिएसको अन्तिम मितिलाई ध्यानमा राखेर बाईडन-ह्यारिस प्रशासनले हाम्रो आवाजलाई सुनेर समय मै यसको लागि केही गर्नु हुनेछ।”

एन. ह्योल्मो, नेपाली टिपिएस् वाहक र अधिकारको सदस्य भन्नुहुन्छ: “केही महिना अगाडि मात्रै कोभिडको कारणले मेरी हजुर आमा बित्नु भयो। नेपालले सामना गर्नु परेको हरेक सङ्कटले मेरो परिवारलाई प्रत्यक्ष असर पारेको छ। मेरो संयुक्त राज्य अमेरिकामा स्थिर आवसनको व्यवस्थाको चाहना नेपाल फर्कनको डरले मात्र होइन – नेपाल फर्कने कुरा मेरो लागि अहिले अव्यवहारिक पनि छ। अमेरिकामा ६ वर्ष देखि कति दुःख बेहोरेर आफ्नो जीवनी यही व्यवस्थित बनाई सके पछि मैले पीडा भोगेको, र मेरो परिवारले अहिले पनि पीडा भोगी रहेको देश फर्कन पर्ने परिस्थिति म कल्पना पनि गर्न सक्दिन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू