अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३७ | Colorodo: 07:52

आर्मीलाई हराउँदै मच्छिन्द्र ए डिभिजन लिगको च्याम्पियन

बिआरटीनेपाल २०७६ फागुन ३ गते ८:३४ मा प्रकाशित

काठमाडौं, मच्छिन्द्र युथ क्लब सहिद स्मारक ए डिभिजन लिगको उपाधि उचालेको छ । त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै मच्छिन्द्रले पहिलो पटक लिगको उपाधि उचाल्न सफल भएको हो ।

दशरथ रङ्गशालामा शनिबार सम्पन्न खेलमा मच्छिन्द्रले जित्नैपर्ने बाध्यताको दबाबका बीच त्रिभुवन आर्मीमाथि जित हात पार्न सफल भयो । मच्छिन्द्र यस अघि लिगको २०७० को संस्करणमा उपाधिको होडसम्म पुगेपनि उसको पहिलोपटक उपाधि जित्ने सपना पुरा हुन सकेको थिएन ।

मच्छिन्द्रको जितमा रञ्जित धिमालले गरेको प्रहार आर्मीका विकास तामाङले रोक्दा गोलकिपर विकेश कुथुलाई छल्दै गोलमा परिणत भएको थियो । उक्त आत्मघाती गोल निर्णायक रह्यो । धिमालले ३३ औं मिनेटमा देब्रे कर्नरबाट गरेको प्रहार तामाङबाट डिफ्लेक्ट हुँदै आत्मघाती गोलमा परिणत हुन पुगेको थियो । धिमालको फ्रिकिक विकास गुरुङबाट उछिट्टिएर गोलमा परिणत भयो ।

खेलको ७१ औं मिनेटमा विमल घर्ती मगरको क्रसमा देवेन्द्र तामाङले गरेको प्रहार गोल पोष्ट चुम्दा अफसाइड हुन पुगेको थियो । त्यसअघि ६१ औं मिनेटमा टङ्क बस्नेतको क्रसलाई हेडमार्फत् गोलपोष्टको दिशा दिदा मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठ उत्कृष्ट बचाब गर्दै त्रिभुवन आर्मीलाई बराबरीबाट रोकेका थिए ।

मच्छिन्द्रका विशाल राई लिगमा उत्कृष्ट मीडफिल्ड घोषित भए । थ्री स्टारका अनन्त तामाङ उत्कृष्ट डिफेन्स घोषित भए । मनाङ मस्र्याङ्दी क्लबका दीप कार्की उत्कृष्ट गोलकीपरको उपाधिबाट सम्मानित भए । न्यूरोड टिमका दर्शन गुरुङ लेफ्टीनेन्ट मणि विक्रम शाह युवा खेलाडी पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । ललितपुरको थ्री स्टार क्लब ‘फेयर प्ले अवार्ड’बाट सम्मानित भएको छ । त्रिभुवन आर्मी क्लबको पोल्टामा भने उत्कृष्ट फरवार्डको उपाधि गयो । भरत खवास उत्कृष्ट फरवार्ड घोषित हुनुभयो ।

उनिहरु सबैलाई अखिल नेपाल फुटबल संघले दशरथ रङ्गशालामा एक समारोहको आयोजना गरी सम्मान गरेको हो ।

प्रतिक्रिया