अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५१ | Colorodo: 18:06

सागको तयारी तीव्र, ५ हजार खेलाडी र अफिसियल नेपाल आउने

बिआरटीनेपाल २०७६ मंसिर १ गते ८:३९ मा प्रकाशित

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजक नेपालले तयारीलाई तीव्र पारेको छ । आसन्न सागमा नेपालले ५० स्वर्णपदक जित्ने लक्ष्य लिएको छ। ५० स्वर्ण जिते नेपालले साग इतिहासमै बढी स्वर्ण पदक हात पार्नेछ।

आगामी मंसिर १५ देखि २४ सम्म काठमाडौं, पोखरा र जनकपुरमा हुने सागमा २७ खेल (बिच भलिबल र थ्री अन थ्री बास्केटबल) समेत गरि सागमा कुल २९ खेल समावेश गरिएको छ। यसअघि १९९९ मा नेपालमै भएको आठौं सागमा नेपालले ३१ स्वर्ण जित्दै दोश्रो स्थान हात पारेको थियो।

दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष समेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नोभेम्बर २० तारिखसम्म खेलाडीको नाम दर्ता गर्ने तिथि रहेकाले त्यसपछि मात्र खेलाडीहरुको पूर्ण जानकारी प्राप्त हुने जानकारी दिनुभयो । उहाँले उत्साहजनक रुपमा सबै राष्ट्रले सहभागिता जनाएको पनि बताउनुभयो । प्याराग्लाइडिङ खेल सागमा सहभागी हुने सम्भावना अझै रहेको उहाको भनाई थियो ।

२० बर्ष अगाडी जम्मा १२ खेल समावेश गरि आठौं दक्षिण एसियाली खेलकुद आयोजना भएको थियो। अहिले दोब्बर भन्दा बढी खेल समावेश भएकोले ब्यवस्थापन पनि सोही अनुरुप दोब्बर भएको छ। सात देशका कुल ३ हजार बढी खेलाडी र अफिसियल गरि सागमा ५ हजार विदेशी नेपाल आउनेछन्।

काठमाडौं सहित पोखरा र जनकपुरमा खेलको आयोजना हुनेछ। काठमाडौंमा २१, पोखरामा ९ र जनकपुरमा १ खेलको आयोजना हुनेछ। (फुटबल, भलिबल र क्रिकेटका खेलहरु पोखरा र काठमाडौं दुवै स्थानमा हुनेछ । प्रतियोगितामा कुल ३ सय २४ स्वर्ण, ३ सय २४ रजत र ४ सय ८७ कास्य गरि कुल १ हजार १ सय ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको आयोजनासंगै प्रर्दशन र नतिजाको हिसाबले समेत नेपालले राम्रो तयारी गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । २१ खेलका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाईएको छ भने नेपालमै रहेका अधिकांश खेलमा विदेशी प्रशिक्षक ल्याएर तयारी गरिएको छ । विगतको दाँजोमा सागमा सहभागी खेलाडीलाई झण्डै दोब्बर भत्ताको ब्यवस्था गरिएको छ ।

नेपाल सरकारबाट १३ साग आयोजनाको निम्ति करिब साढे ४ अर्व रुपैयाको बजेट निकासा भएको छ। जसमा पुर्वाधार निर्माणको निम्ति १ अर्व ६२ करोड तथा प्रतियोगिता आयोजनाको निम्ति ३ अर्व ६५ करोड बजेट रहेको छ। आवश्यक थप बजेटको निम्ति सरकारले प्रतिबद्वता व्यक्त गरेको पनि बताइएको छ।

प्रतिक्रिया