अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:११ | Colorodo: 09:26

प्रवासी तिहार

आचार्य प्रभा २०७६ कार्तिक १० गते ११:४७ मा प्रकाशित

कविता

सम्झिँदै छु म
मेरा छतमाथि फुलेका
ढकमक्क सयपत्रीहरू
अहो ! कस्तो मोह लुकेको थियो
ती सयपत्रीका पत्र-पत्रहरूमा
कति आनन्द छाउँथ्यो मनमा ?
ती अनजान फूलहरूका
सुगन्ध र सुन्दरताले
अहिले सम्झना र कल्पना गर्न सिबाय
के नै बाँकी रह्यो र ?
सायद नियतिको खेल नै भन्नु पर्ला
मात्र सम्झना र कल्पनामा
बाँच्नु पर्ने समय ।
छन् झलझली आँखामा
ती पहेँला सयपत्रीहरू सुस्तरी,सुस्तरी
शीतल पवनमा झुमी रहेका
अनि तिहारको आगमनको सङ्केत दिँदै
आफू बलिको बोका झैँ अरूको खुसीमा
चढिनु पर्ने प्रारब्धमा मौन सुस्केरा
फ्याँकेको आभास छर्दै
मौनतामा चीत्कार गुम्साई रहेका
हो सम्झानाका तिता,मीठा बज्रहरूले
हानी रहेछ यो समय
अनि बनी रहेछ नमिठो घाउ
त्यो मेरो छतको फूलबारी र
त्यहाँ फुलेका ती सयपत्रीहरूको
अतृप्त झझल्को अनि यसपालिको
प्रवासी तिहार ।