अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५२ | Colorodo: 04:07

गजल-उत्सवबाट फर्किएपछि

गोवर्धन पूजा २०७६ असोज १८ गते ९:०२ मा प्रकाशित

अमेरिकाको ओहायो राज्यको सिन्सिनाटी सहरमा गजल उत्सवको तेस्रो संस्करण सम्पन्न भएको छ | गत शुक्रवार साँझबाट सुरु भएको उक्त उत्सव शनिवार दिनभर गजल वाचन र गायन गरेर सम्पन्न भएको हो |

तीन वर्षअघि टेक्ससका तीन जना उत्साही युवा गज़लकार पवन लामिछाने, वासु पुष्पा अधिकारी र नेत्र आचार्यको पहलमा सुरु भएको यो यात्रा गत वर्ष टेक्ससको डलासमा “गजल उत्सव-२” हुँदै यस पटक ओहायोमा तेस्रो संस्करण आएको हो | यो उत्सवमा सरु काली, सतिश त्रिपाठी, कृष्ण कुसुम, गोवर्धन पूजा, आनन्द श्रेष्ठ, डिलु चम्लागाई, नरेश गौतम, सुरेश वाग्ले, विदुर दवाडी, केशव पौडेल, पूजा वागिश, अमृत न्यौपाने र पदम विश्वकर्माले पनि गत वर्षदेखि नै सक्रिय हिस्सेदार बन्दै आएका छन् |

गत वर्ष डलासमा दुई दर्जन गजलकार र चार जना गजल गायकले उत्सवलाई नयाँ उडानमा उडाउने काम गरेका थिए भने यसपालि सिन्सिनाटी संस्करणमा चार दर्जन सर्जक सहभागी भए |

न मञ्च न सभापति; सबै अतिथि:
विदेशी भूमिमा हुने अधिकांश कार्यक्रममा को को मञ्चमा बस्ने भन्नेमा हान थाप देखिन्छ | अझ साहित्यिक संस्था वा आयोजक संस्थाका मूल शाखा र लहरे नातेदार त छदैछन, त्यसमा पनि स्थानीय सङ्घ संस्था , जातीय सङ्घसंस्था र स्वकथित वरिष्ठका कारण दर्शक र मन्चासिन व्यक्तिहरू बराबरीजस्तै देखिने गरेको पाइन्छ | संस्थाको कार्यक्रमको विभिन्न सत्रमा पनि मञ्चमा बस्ने व्यक्ति प्राय एउटै हुनुले दर्शक दीर्घा हेपिएको महसुस हुनु स्वभिकै ठान्ने हो भने गजल उत्सव यो रोगबाट अपवादित छ | यसमा सहभागी सबै बराबरी हुने गरेका छन् र व्यक्ति नभई रचनाले ताली पाउने गरेको छ |

वाचन क्रममा नयाँपन:
वाचन कसले पहिला गर्ने ? मलाई किन ढिला बोलाएको ?? सकिने बेलामा मलाई किन राखियो ??? भन्ने प्रश्न सामान्य हुन, साहित्यिक कार्यक्रममा | तर यस पटकको गजल उत्सवमा गजलका अवयवहरू मतला, रदीफ, काफिया र मक्ता गरी चार समूह बनाइएको थियो | जसको नेतृत्व गरेका थिए – कृष्ण कुसुम, आनन्द श्रेष्ठ, रोहित राना र गोवर्धन पूजाले | टिम क्याप्टेन नाम दिइए पनि उनीहरूले समूहमा सहजकर्ताको भूमिका निर्वाह गरेका थिए | जसको समूहमा १० /१० जना गज़लकार सहभागी थिए |गोला प्रथाद्वारा टिमका सदस्यले गजल वाचनको क्रम प्राप्त गरेका थिए | कार्यक्रममा कृष्ण कुसुमदेखि सुरु भएको वाचन गोवर्धन पूजामा गएर टुङ्गिएको थियो | कृष्ण कुसुम समूहमा विदुर दवाडी, केशव असफल,भक्त घिमिरे, पुराना घरे, खेम रिजाल, सुशील रेग्मी, यदुनाथ अधिकारी, नरेश गौतम, र केशव न्यौपाने थिए | यसै गरी रोहित राना समूहमा डिल्लु चम्लागाई, अमृत लामिछाने, अजित राई, धर्मेन्द्र तिम्सिना, सतिश त्रिपाठी, भागवत बास्तोला, सुसन माझी, उत्तम साम्पाङ्ग, बिकु दादा, पातलो अन्तरे थिए | त्यस्तै आनन्द श्रेष्ठ समूहमा पवन लामिछाने, दुखी अतुल, पूर्ण नर्जली, सुरेश वाग्ले, पूजा वगिश, राज बराल, सविन शर्मा धिमाल, नेत्र आचार्य र सौरभ तिम्सिना थिए | र गोवर्धन पूजाको अन्तिम समूहमा थिए -सरु काली, पदम विश्वकर्मा, मदन दुलाल, वासु पुष्पा अधिकारी, मणि गौतम , अविनाश भट्टराई एक्स्ट्रा, वैरागी माइलो, अरुण तामाङ र चरण बजगाईँ |

उत्सवले दिएको सन्देश :
प्रवासमा नेपाली गजल फुलेको मात्रै छैन, लटरम्म फलेको पनि छ भन्ने सन्देश दिएको छ, यस पटकको गजल उत्सवले | नेपालबाट अमेरिका आएका नेपाली भाषी भुटानी गज़लकार कुन्नि कुन कारणले छायामा परेका छन् भन्ने प्रश्नलाई चुनौती दिँदै उनीहरूले पनि उत्कृष्ट गजल पेस गरेका थिए | भुटानी भएकै कारण नेपाली छापा र विधुतीय सञ्चारमा सौतेलो व्यवहार खेपी रहेका स्पष्ट देखिने उनीहरूको गजल सुन्दा भौगोलिक सिमाना गजलको मापन-रेखा हुनु हुँदैन भन्ने सन्देश मिल्दथ्यो |

सबैले सबैलाई सम्मान :
भूमिका रहित गजल वाचन अनि आफू भन्दापछि आउने गजल वाचकको सम्मान पूर्वक नाम बोलाउने क्रमता गजल उत्सवको अर्को विशेषता थियो | शनिवार बिहानको गजल कार्यशाला सत्रमा जानकारी गराइए अनुसार गजल वाचक कसैले पनि भूमिका बाधेनन | तर कार्यशालामा अनुपस्थित केहीले गजल वाचन पूर्व मुक्तक र गजलका शेरहरू प्रस्तुत गरे पनि नमिठो अनुभूति भएन | त्यसैले कार्यक्रम सञ्चालक नरेश गौतमले नत कसैलाई चिट दिनु नै पर्‍यो, नत वाचकको पछाडि बसेर “छिटो गर्नुस्” भन्नु नै पर्‍यो | अनुमानित पाँच घण्टा बितेको पत्तो नै भएन |

प्राय सबैले सबैको गजल सुनेर सम्मान पूर्वक ताली बजाए | अझ अन्तिम गजल वाचक गोवर्धन पूजाको पालोमा त सबै दर्शकले सिटबाट उठेर ताली बजाएर सम्मान प्रकट गरेका थिए |

गजल गायनमा नयाँपन :
नेपालमै “साङ्गीतिक गुरु” बनेर अमेरिका आएका गायक केशव पौडेलले गत वर्ष जस्तै यसबर्ष पनि गजल गाएर उत्सवलाई मलजल दिने काम गरे | अन्य वाचकले जस्तै उनले पनि दुइटा गजल गाएर दर्शकको मन जित्ने काम गरे | उनीजस्तै राजु रसाइली र छवि नेउपानेले पनि सुन्दर गजल गाए | अझ साँझको समापन कार्यक्रममा त टेक दुधराजको गजल र गीतले धेरैको मन जीतेको थियो | साङ्गीतिक समूह डेविड सुरावी, अर्जुन रसाइली, अडी गुरुङको प्रस्तुतिले कार्यक्रम सङ्गीतमय बनेको थियो |

सहयोगी हातहरू :
सहृदयी मनहरूका कारण यस पटकको गजल-उत्सव सफल भएको हो | ” होप” नामक संस्थाले सहयोग गरेको उत्सवमा संयोजक डिल्लु चम्लागाई र उनको परिवारको आतिथ्य सत्कार पनि उल्लेख्य थियो | यस्तै नरेश गौतमका दाजुभाइको सक्रियता र पेन्सिलभेनियाबाट गएर पनि दौडाहा बनेका नेत्र आचार्यको खटाइको जतिनै प्रशंसा गरे पनि थोरै हुन्छ| त्यसमा पवन र वासुको हार्दिकताको रङ्गले कार्यक्रमको रौनकता बढेको हो भन्न सकिन्छ |

र अन्त्यमा:
गजल उत्सवको चौथो संस्करण सम्भवतः अमेरिकाको ह्यारिस वर्गमा अथवा बोस्टनमा गरिने छ र सहभागिता र गुणस्तरीयताले अझै उचाइ चुम्ने छ भन्ने आशा मात्रै होइन विश्वास गर्न सकिन्छ |

 

– बोस्टन , अमेरिका