अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५१ | Colorodo: 17:06

अनेसास, अमेरिका र म

गोवर्धन पूजा २०७५ जेठ २७ गते ११:११ मा प्रकाशित

अनेसास नेपाल च्याप्टरको सहसचिव चुनिएँ । थाहा छैन त्यो दिनको मिति र वार । महाराजगन्जको रिचमण्ड बेकरी क्याफेको एउटा कुना । डा. धुर्वचन्द्र गौतमको प्रमुख आतिथ्यको जमघट । अध्यक्ष बनेका थिए, वियोगी बुढाथोकी र उनको नेतृत्वमा थियौँ – शङ्कर भारती, सन्ध्या पहाडी, मनोज न्यौपाने, कृशु क्षेत्री अनि अन्य केहीसहित को म ।

ताली बज्यो, बजाइयो । पुस्तक बिमोचन , कविता वाचन अनि खान पिनको त्यो रमाइलो त्यो साँझ । बस् त्यत्ति सम्झना छ यतिखेर । तर त्यो कार्यको सुरुआतले मलाई यतिखेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय कार्य समितिको महासचिवसम्म आउने अवसर प्रदान गरेको छ । र म महासचिव छु यतिखेर ।

कथा अनेसासको हो । अनेसास, म अनि मेरो अमेरिका प्रवेशको हो ।

० ० ०
सन् २००९ को एक दिन । लुम्ले कविता गाउको घोषणा सभाको साक्षी बन्न पुगेको त्यो पल। विनोद गौचनको परिकल्पनामा अमृत भादगाउले, प्रकट पंगेनी शिव, विप्लव ढकाल, रमेश पौडेल, अनि शिबप्रकाश ।
शिव प्रकाश । हो उनै शिवप्रकाश , जो बोस्टनमा बस्थे र बस्छन् । लुम्लेबाट फर्किएपछि उनले सिनामंगल स्थित घरमा केही साथीहरूलाई भेटघाटका लागि डाके र भने , – अगस्तमा अमेरिकामा साहित्यिक सम्मेलन हुँदैछ , कोही आउनु हुन्छ भने निम्तो गरेँ है ”

० ० ०

निम्तो ।
अमेरिका आउने निम्तो ।
झन्डै एकवर्ष अघि अनेसास डिसीमेट्रो च्याप्टरका तत्कालीन अध्यक्ष गोविन्द गिरि प्रेरणाले पनि अमेरिका आउने निम्तो गरेका थिए । डिसी मेट्रो च्याप्टरबाट साहित्यकार कृष्णचन्द्र सिंह प्रधानलाई अभिनन्दन र मलाई पुरस्कृत गर्ने समाचार सहित । तर अमेरिकी दूतावासले साहित्यकार प्रधानसँग आउने सपना साकार हुन दिएन ।
कहिले पनि भुल्न सक्दिनँ त्यो दिनको सम्बाद –

तपाईसाथीको भिसा भएन , तपाईँलाई थाहा छ ?
– थाहा छ ,
– अब तपाईँको पनि भएन …
यत्ति भनेर फर्काइ दिएको थियो, मलाई दूतावासले । मेरो रसिलो सपनामा अमिलो छर्केको अनुभव अनि बरिष्ट साहित्यकार कृष्णचन्द्र सिंह प्रधानले अपमान महसुस गर्नु भएको त्यो क्षण ।
उहाँले मेरो मोटरसाइकलको पछाडि बसेर घर फर्किँदै गर्दा भन्नु भएको थियो – होइन भाइ , के म त्यहाँ काम गर्न जान लागेको हो र ?
मैले त्यति बेला ” होइन दाइ ” भनेर मुन्टो हल्लाएँ , तर भित्री मनले आफूलाई ढाटन सकिनँ , र मनमनै भने – तर म त काम गर्न नै जान लागेको थिएँ ।

भिसा नदिएपछि काठमाडौँको बजारमा हाम्रो हल्ला फैलियो, मेरो भन्दा पनि कृष्णचन्द्र दाइको । उहाँको र मेरो अन्तर्बार्ता कान्तिपुर टेलिभिजनबाट प्रसारित भयो । हामी बजारको चर्चाको पात्र भयौ । उहाँले अलिअलि आक्रोस पनि पोख्नु भयो कान्तिपुर पत्रिकामा झन्डै एक पेजको आर्टिकल लेखेर । तर म चुपचाप बसेँ ।

फरक थियो उहाँ र ममा । उहाँ घुम्न जान लाग्नु भएको थियो, भिसा नदिनुले आक्रोशित हुनु भयो । तर म पाए काम गर्ने योजना बनाएको थिएँ, त्यसैले उहाँको जस्तो मेरो प्रतिक्रिया नहुनु स्वाभाविक थियो ।

पछि उहाँलाई दूतावासले भिसा लिन बोलायो रे भन्ने पनि सुनेँ, तर म चुपचाप बसेँ, किनकि मलाई एक प्रकारको लज्जा बोध भैसकेको थियो, अमेरिका जान्छु भनेर केही साथीहरूलाई भोज पनि खुवाई सकेको थिएँ ।

० ० ०

निम्तो ।
हो निम्तो ।
पछि शिबप्रकाशसंग सम्पर्क भई रह्यो । र आफ्नो इच्छा देखाएँ । नभन्दै उनको माध्यमबाट संयोजक भारती गौतमको हस्ताक्षर युक्त निम्तो आइपुग्यो । तर यस पटक पनि भिसा लाग्नेमा विश्वास थिएन ।

कागजात पहिलो पटककै थियो । र त्यसमा आफू कार्यरत पत्रिका रेडियो र कलेजको बिदाको पत्र थपे । र १२ हजारको जुवा खेल्ने योजना बनाए ।

सपना देख्नु पर्छ । पैसा तिर्न नपर्ने सपना देख्न कन्जुस्याइँ किन गर्ने ? तर मैले यतिखेर पैसा तिरेर सपना देख्दै थिएँ ।

ज्योतिषलाई चिना देखाए । साहित्यकार तथा ज्योतिषाचार्य रत्ननिधि रेग्मी । म भाग्यलाई कर्मले सिँगार्नु पर्छ भन्ने मान्छे । थाहा छ डोकोमा दूध अडान सक्दैन तर अड्याउन जान्नु पनि पर्छ । अडिन्छ । “कागज दर्ता गर्ने बेला महिला साथीलाई लिएर जानु.. , शुक्रवार अपरान्हको समय उत्तम छ … आदि आदि ।

कसलाई खोज्ने अव ? आठ महिनाको गर्भवती श्रीमतीलाई लिएर जान पनि गारो । फेरि जो पायो त्यहीलाई भन्दा बढी हल्ला हुने डर । जुन यस पटक कत्ति चाहँदैन थिएँ ।

एक जना साहित्यिक साथी राधा बास्कोटा अर्थात् अहिलेकी अपराजिता खुसी । दाइ भन्थिन मलाई र मैले काम गर्ने अन्नपूर्ण पोस्टको कार्यालय नजिकै बस्थिन । कागज बुझाउने दिन अचानक भेट भयो, हल्ला नगर्ने सर्तमा भोलिपल्ट मेरो काम गर्ने सल्लाह बन्यो ।
सपनाको खेती गर्न उनको सहयोग मैले एककप कफीमा साटे ।

अन्तर्वार्ताको दिन । ममा आशा थिएन तर प्रयास गर्नु पर्छ भन्ने भावना जागृत थियो । बिहानै सहकर्मी डा. प्रदीप भट्टराईले फोन गरेर भने – कन्फिडेन्टका साथ बोल्नुहोला, तपाईँको हुन्छ ।

पक्कै म कन्फिडेन्ट थिएँ, । किनकि हुन्छ भन्ने निश्चित थिएन ।

लाममा बसेपछि थाहा भयो मैले त बूकिंग गरेको टिकेट नै घरमा छोडेर गएछु । तत्काल ज्योतिषले भनेको कुरा सम्झेँ – केही कागज छुट्न सक्छ, तर हुन्छ ।

तर हुन्छ, भन्ने आशामा प्रथम पटक आशावादी बनेँ ।
-अन्तर्वार्ता सुरु भयो-पहिलो प्रश्नबाट
-किन जाने ?
-साहित्यिक सम्मेलनमा सहभागी हुन
-तपाईँ नै किन ?
म यसबर्षको मोति पुरस्कार विजेता, नेपाल सरकारले ४० वर्ष मुनिको युवालाई दिने सबैभन्दा ठुलो पुरस्कारको यस वर्षको विजेता म । कार्यक्रम मोतिजयान्तिमा हुने भएकाले मलाई बोलाएको ।

पूर्व योजना बिनाका यी प्रश्नका यी सटिक उत्तर कहाँबाट आए, मलाई नै थाहा भएन । अन्तर्वार्ता लिने मान्छे एक छिन अक्मकिए , र नेपाली सहयोगीलाई बोलाए । उनले पनि केरकार गरे । मैले साथमा भएको सुनको जलप युक्त मोति पुरस्कारको तक्मा देखाई दिएँ । उनीहरू छलफल गरे । र पारिवारिक अवस्था जान्न खोजे ।

मैले पनि जे त होला भनेर गर्भवती श्रीमतीको मसँग भएको अल्ट्रा साउण्डको रिपोर्ट पनि देखाएँ । मलाई थाहा थियो – उनीहरू म नेपाल फर्कने दरो आधार खोज्दैछन, जुन एउटा मात्रै भिसा दिने आधार हो ।

केहिवेरको मौनता पछि भने- तपाईँलाई सिंगल इन्ट्री दिन्छौ , हुन्छ ?
मैले अरू कुरामा ध्यान दिइन, मात्रै सुने- भिसा दिने कुरा ।

मन रोमान्चित भयो । ढुकढुकी बढ्यो । झन्डै एक घण्टाको केरकार पछि मेरो पक्ष्यमा फैसला भएको थियो ।
पासपोर्ट छोडेर म घर फर्किए । अझै शङ्काको बादल थियो मनको आकाशमा । कतै भिसा नै नलगाई पासपोर्ट पो फिर्ता दिने पो हो कि ?

– अन्नपूर्ण पोस्टको २८ हजार मासिकको बरिष्ट उपसम्पादकको जागिर, भी एस निकेतन, यल कलेज र मनकामना कलेजको प्रति पिरियेड २०० देखि २५० आउने प्राध्यापकीय सम्मान अनि मैत्री एफएमको :शब्द सारथि” कार्यक्रमको प्रस्तोता एवं कार्यक्रम निर्माताको आनन्दी सबैसबै छोड्दै थिएँ ।

त्यो भन्दा बढी भर्खर झोला बोकेर विद्यालय जान सुरु गरेको चार वर्षीय छोरा रिवाज र केही महिनामै आउन लागेको पारिवारिक फुलको वासनाबाट टाढा बन्नु पर्ने पीडा ।

मायालु श्रीमतीलाई आवश्यक पर्ने पतिको साथको अभाव खड्कने यथार्थ त छदै थियो ।
सम्झेँ, यो समयले मलाई परीक्षा लिदैछ, मैले पास हुने पर्छ ।

० ० ०

भिसा हात परेपछि टिकटका लागि साहित्यकार दाजु धर्मराज बरालले सहयोग गर्नु भयो । उहाँकै माध्यमबाट साहित्यकार रामकाजी कोनेले आफ्नो ट्राभल एजेन्सी मार्फत सहुलियतमा टिकेट मिलाई दिनु भयो । र बन्यो उडानको यात्रा ।

० ० ०

न्युयोर्कमा थिइन नीलम कार्की निहारिका । यथार्थमा साहित्यिक सहयात्री । दाजु र बहिनीको सम्बन्ध सूत्र । र समय क्रमले उनको सहपाठीसंग मैले विवाह गरेपछि बनेको नवीन सम्बन्ध – लमी ।
– दाइ आत्तिनु पर्दैन, एअरपोर्टमा मान्छे लिन आउँछ ।
कसरी चिन्ने ?
– ज्याङ्गो न ज्याङ्गो, पाखुरा भरि टाटु खोपको मान्छे । मणि बांग्देल हो उनको नाम ।

२४ घण्टाको यात्रा पश्चात् न्युयोर्कमा उत्रिने बित्तिकै पाखुरामा टाटु भएको मान्छेको खोजीमा आँखा डुलाउन थालेँ । मान्छेको अनुहारभन्दा पनि पखुरतिर मेरो आखाँ डुल्दै थियो ।
नभन्दै एउटा वर्णित व्यक्ति मेरो अगाडि आइ पुगे । उसको पाखुराबाट आँखा उसको आँखातिर लाँदै थिएँ, दुवैको आँखा जुध्यो –
– तपाईँ ?
दुवैले खोजेको पात्र भेटियौ ,
तपाईँलाई सजिलै भेटेँ , खुसी लाग्यो , उनले भनेँ
वास्तवमा उनिभन्दा सयौ गुना म खुसी थिएँ ।

० ० ०

गास, र बास नीलम आवासबाट सुरु भयो, तर चिन्ता नयाँ संसारमा जिरो लेवलबाट गर्नु पर्ने सङ्घर्षको थियो ।

चारदिनपछि आयोजित प्रथम अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा धेरै साहित्यकारसँग भेट भयो । जुन अनेसासले दिएको थियो ।
कार्यक्रमको लगभग एक साता पछि गीता खत्रीको फोन आयो
– गोवर्धनजी अनेसासको आजीवन सदस्यता लिनु पर्‍यो ।
मैले एकै श्वासमा भने –
भई हाल्छ नि

भोलि बिहान ज्याक्सन हाइटको मन्दिरमा सात बजे १०० डलर लिएर आउनु होला ।
१०० डलर ! फोन राखेपछि पनि मेरो कानमा प्रति ध्वनित भैरह्यो – सय डलर ।
सदस्यता लिने मन त थियो त सय डलर। जम्मा जम्मी एक हजार लिएर आएको मान्छेलाई १०० डलर !

एक मनले त भयो भोलि जान्नँ, काम पर्‍यो भनेर ढाटि दिन्छु,
तर मन मानेन, जे त पर्ला यत्रो सहयोग गर्ने सस्थाको सदस्यता लिँदा धर्म पनि त लाग्ला नि ।
भोलि पटक फेरि गीता खत्रीको फोन आयो – “सात बजे , मन्दिरमा , सय डलर लिएर …”

० ० ०

यसरी सुरु भएको अनेसाससँगको नातासँगै दोस्रो सम्मेलन र प्रथम महिला सम्मेलनमा मेरो सक्रिय सहभागिता रह्यो । यसपछि स्मारिका प्रकाशनको मोडसम्म पुगेको सम्बन्धले अनेसास परिवारसँग गासिएको साइनोले मलाई कार्यक्रम सञ्चालक , निर्णायक, सम्पादक हुँदै महासचिवसम्म पुर्‍याएको छ । २०१४- २०१६ को सफल कार्यकाल पश्चात् २०१६-२०१८ को कार्यकाल पूरा हुने क्रममा छ । यसै कालमा अनेसासको रजत महोत्सव पनि मनायौ । दोस्रो च्याप्टर सम्मेलन, जापान सम्मेलन, पर्थ सम्मेलन, सिक्किम सम्मेलन, डिसी सम्मेलन, न्यु योर्क सम्मेलन … धेरै सम्मेलनमा मेरो सक्रिय सहभागिता रह्यो । अनेसासलाई नजिकबाट बुझ्ने अवसर पनि पाएँ । थाहा छैन आगामीदिनमा अनेसासमा मेरो भूमिका कस्तो रहने छ तर मलाई लाग्छ अनेसास मेरो कोही हो र म अनेसासको कोही हुँ ।

यात्रा अनन्त छ भन्न सकिन्न, कहाँ गएर अन्त्य हुन्छ , तर करिब २६ सय दिनको अमेरिका बसाइको क्रममा गर्व र घमंड़का साथ भन्छु – अनेसासलाई माया र सम्मान , स्नेह र आदर नगरेको दिन नै रहेन ।
– अनेसासले पनि त मलाई माया गरेकाले भए यो सम्भव कहाँ हुन्थ्यो र ?

हाल :- बोस्टन अमेरिका