अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५४ | Colorodo: 18:09

हिमरेखा भन्दा माथि

गोवर्धन पूजा २०७५ भदौ २९ गते २२:३६ मा प्रकाशित

नियात्रा

बिक्रम सम्बत २०६३ जनैपूर्णिमाको अवसर पारेर द्वितीय दूध पोखरी महोत्सव आयोजक समितिको निम्तो थियो हामीलाई | फोटो पत्रकार राजेश गुरुङ र सुन्दर श्रेष्ठका साथमा थिएँ, म । 

काठमाडौँबाट लमजुङको खुदीहुँदै गन्तव्यसम्मको यात्राका लागि संयोजक बनेका थिए पर्यटन व्यवसायी सुदर्शन प्रधान | काठमाडौँबाट बिहान सात बजे चढेको बसले हामी चार यात्रीलाई चार बजेको हाराहारीमा खुदीमा झारिदिए पछि सुन्दर खुदीको वातावरणमा रमायौँ । मर्स्याँङ्गदी नदी र खुदीखोलाको दोभानमा रहेको यो क्षेत्र मनाङ, घले गाउँ र दूध पोखरी जाने पर्यटकका लागि केन्द्र मानिँदो रहेछ । हामीले पनि आन्तरिक पर्यटकका रूपमा हल्काफुल्का नास्ता र केही सामान खरिद गरेर त्यो बजारसँग नाता जोड्यौँ । साँझमा होटेल हिमचुलीभ्युमा रमझम चल्यो । पानी बर्सिरहे पनि मनभरि यात्राको रोमाञ्चकताले उत्साहित बनाइरह्यो ।

भोलिपल्ट हाम्रो यात्रा सिउरुङसम्मको थियो । सामान्यतः चार–पाँच घण्टाको यात्रा भए पनि उकालोका कारण नयाँ यात्रीका लागि दिनभरजस्तो लाग्ने रहेछ । बिहानको ९ बजे हिँडेका हामी तीन यात्री साँझ ५ बजे सिउरुङ पुगेका थियौँ । केहीबेरको चर्को घाम र दर्केको पानी अनि राजेश र सुन्दरको फोटो खिच्ने कार्यले हाम्रो यात्रावधि केही लामो भएको थियो । धान रोप्ने युवतीदेखि गोठाला हिँडेका युवासम्मको फोटो उतार्न उनीहरू लोभिएका थिए ।

साँझ सिउरुङका आमासमूहको नाच हेर्दाहेर्दै थकाइका कारण कति बेला भुसुक्कै भइएछ पत्तो नै पाइएन । बिहान हिमालमाथि टल्केको घामले ढिला उठेकोमा हामीलाई पछुतोमा पार्‍यो । पोरिज र चिया पाकिसकेको थियो । अगाडि उभिएको सिउरुङको उकालो हेर्दै पाइला छिटो बढाउनुपर्ने सोच बनायौँ ।

भरिया दाइ, भान्छे हर्कदास र संयोजक प्रधानलाई पछि नै छोडेर हामी उकालो लाग्यौँ । करिब साढे तीन घण्टाको कठिन यात्रापछि हामीले खाएको पोरिज र चियाले पेट छाडिसकेको थियो । पानीको केही मात्रा र हामीसँग भएको बिस्कुटको केही टुक्राबाहेक अरू केही थिएन ।

छिलापुमा एउटा गाई गोठ भेट्यौँ, तर मासिस् थिएनन् । कराइमा दूध रहेछ, अगेनामा निभ्न लागेको आगो थियो । गौवामा घिउ र दही थिए । हाम्रो आँखा दूधमा पर्‍यो । दुई माना जति दूध तताएर तीन भाइले पियौँ । त्यसले पनि चित्त बुझेन र एक–एक चम्चा घिउ पनि चाट्न भ्यायौँ । अझै गोठाला आइपुगेनन् । परिस्थितिले हामी चोरझैँ बनेका थियौँ, तर यस्ता गोठहरू प्रायः बटुवाका लागि दूध, दही, घिउ बेच्नका लागि नै बनाइएका हुन्छन्

भन्नेमा हामी ढुक्क थियौँ । गोठाला अगाडि नभए पनि हामीसँग विश्वास र मानवता भन्ने तत्त्व त थियो । त्यसैले केही पैसा र चकलेट राखेर हामी यात्रामा अघि बढ्यौँ । बाटो बिर्सेकाले जङ्गलको झाडी झाडी लछारियौँ । हामीलाई यति मात्रै थाहा थियो, अग्लोतिर बढ्नुपर्छ बाटो आफैँ भेटिन्छ ।साँझ भिज्दै र जुकाको टोकाइ सहँदै कोप्रु पुग्यौँ । त्यहाँ बस्ने ठाउँ थिएन । हामीसँग भएको टेन्ट राख्ने राम्रो ठाउँ पनि भेटिएन । भएको दुइटा गोठमा अघि नै पुगेकाहरूको भीड लागिसकेको थियो ।

बल्लबल्ल हिलो घाँसमाथि टेन्ट गाड्ने बुद्धि आयो । पानी र हुरी बतास चलिरहेको थियो । तीन जना साथीहरू गोठमै सुते तर राजेश र म अटाउन सकेनौँ र टेन्टतिर लाग्यौँ । माथिबाट चुहिएको टेन्ट तलबाट हिलोको चिसो, त्यसमाथि छेउछेउबाट लमक-लमक लम्कँदै मेला भर्न आएका मानिसजस्तै हामीतिर आउने जुकाको बथान ओहो अहिले सम्झँदा पनि शरीर चिलाउन थाल्छ तर स्लिपिङ ब्यागभित्रका हामी सुतेझैँ गरेर शरीरलाई आराम दिनुपर्ने बाध्यतामा थियौ ।

रातको साढे दस बजेतिर हाम्रो भान्छे हर्कले एउटै प्लेटमा भात र मासु लिएर आइपुगे । हामी दुईले जुकाले मान्छेको गन्ध भेटेर ठडिएझैँ भातको प्लेटतिर हात बढायौँ । एक टुक्रा मासु र एक गाँस

भात मुखमा पर्ने बित्तिकै हामीले महसुस गर्‍यौँ कि मासु गन्हाएको छ | खाने मन मर्‍यो । राजेश भने बाँच्नका लागि खानुपर्छ भन्दै निद्राकै सुरमा खाँदै थिए । मैले पनि अर्को एक टुक्रा मासु र एक गाँस भात थपेँ र हात पेपरमा पुछेर पल्टिएँ । रातभरि चिसो र जाडोले सुत्न सकिएन । बिहान अर्धचेतमै राजेशले आफ्नो क्यामेराको ब्याग छामे, सबै भिजेको थियो । क्यामेरा निकालेर मुख पुछ्ने रुमालले क्यामरा पुछे । मेरो पनि भिज्न बाँकी केही थिएन । पिँडौलामा टाँसिएको अघाएका दुईवटा जुका फालेर शरीर तन्काएँ, सिरिङ्ग भयो ।

बाहिर सुन्दर गुडमर्निङ भन्दै आइपुगेका थिए, राजेशले रिसमै भनेँ केको गुड मर्निङ नि, ब्याड मर्निङ! आफ्नो क्यामेरा सबै भिज्यो, काम गर्ने हो कि होइन । नजिकै टेन्टभित्र प्लास्टिक ओढेर सुतेका सुक बहादुर ब्युँझिए । उनी बर बराउँदै थिए, यस्तो दुःख त कसैले नपाओस् । मैले ब्यागबाट डायरी निकालेर केही लेख्ने कोसिस गरेँ । पानीले लपक्कै भएको डायरी च्यातिएला कि जस्तो थियो । चिया, जाम र पाउरोटी खाएर पुनः यात्रालाई अघि बढायौँ ।

Third Gokyo Lake (Dudh Pokhari, 15,584 feet / 4750 meters), in Sagarmatha National Park, Nepal, in the Himalaya mountain range of Asia.

थोर्जु फाँटसम्म पुग्नु थियो । चार हजार छ सय मिटर अग्लो यो फाँटमा वर्षमा आठ महिना हिउँ जम्ने गर्दो रहेछ । उस्तै थकाइ उस्तै दुःख भए पनि वरिपरिको वातावरणले हामीलाई यात्रामा हौस्यायो । राति ९ बजे जून लागिसकेको थियो । हामीसँग भएको टर्चको उज्यालोभन्दा जून चहकिलो लाग्दथ्यो । त्यही उज्यालाको साथमा एउटा गोठभित्र पुग्यौँ । खाना बनाउन बाँकी नै थियो । कुन्नि कति बेला सुतियो | घडी हेर्ने जाँगर नै चलेन ।

भोलिपल्टको विश्राम सँगसँगै दूध पोखरी महोत्सवमा सहभागी भइयो । प्रतियोगिता, दौड, छेलो,भेडा जुधाइ हेर्दै र दोहोरीको निर्णायक बस्दै दिन रमाइलोसँग बित्यो । पर्सिपल्ट बिहान तीन घण्टाको उकालो पुगेपछि गन्तव्य भेटेकोमा खुसी लाग्यो । सारा पीडाहरू शून्य भए ।

करिब दुई वर्ग किलोमिटरमा फैलिएको लमजुङ, गोरखा र मनाङको सिमानामा पर्ने दूधपोखरीमा नुहाएपछि मनमा शान्ति र सन्तुष्टिको मात्रा एकैसाथ बढ्यो । पोखरी वरिपरिको वातावरणले मन हर्षित भयो ।

पाँच हजार चार सय मिटर उचाइमा रहेको पोखरी पुग्न भक्तजनहरू लस्करबद्ध देखिन्थे | लेक लागेर हिँड्न नसकेको पीडादायी अनुभवको बदला मनमा धार्मिक तीर्थयात्राको सन्तुष्टि प्राप्त गरेपछि सबै शून्य हुँदो रहेछ ।

राजेशलाई लेक लागे पनि तस्बिर सिँच्दै थिए । सुन्दरमा भने लेकको प्रभाव परेको थिएन । त्यति नै बेला राजेशले भने, ‘सुन्दरलाई हामी काठमाडौँमा ब्रोइलर कुखुरा भन्थ्यौँ ऊ त लोकल पो रहेछ ।’ त्यति बेला हाम्रो हाँसोले सम्पूर्ण थकानलाई मेटिदिएको थियो र यात्रा अघि बढाउन फेरि उत्साहित थियौ |