अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४३ | Colorodo: 13:58

जिन्दगी भन्नु नै चक्र रहेछ

आचार्य प्रभा २०७६ असोज ५ गते १३:२७ मा प्रकाशित

जीवनका यात्राहरुमा
कैले यता,कैले उता
पाईलाहरु चाल्दै
पुराना यादहरु संग्रहित गर्दै

नयाँ भोगाईहरु फेरि समेट्दै
यो यायावर जीवन
यो माटो चुम्न आई पुगेको छ ।
सम्झनाको एल्बम पल्टाएर

बिगतका असंख्य तस्बिरहरु नियाँल्दा
आँखाको डिल भरिन थाल्दछन्
अनि रोक्दछु मनको भक्कानो
आउँछन् झझल्कोहरु

पुरानो स्मृतिको छाँया बनेर र,
मण्डराउन थाल्छन् मेरो नयनभरी
मलाई बिथोल्न पागलसरी ।
भाग्य भनौं या प्रारब्ध ?

जिन्दगी एउटै माटो चुम्न स्थिर भएन
मनले खोज्छ एउटा
तर नियतिले खटन गर्छ अर्कै
जिन्दगी भन्नु नै गोलो पृथ्वी रहेछ

जो घुमी रहन्छ,चक्र बनेर
हो यहि चक्रलाई जीवनको पाठ सम्झेर
म घुमी रहेछु,डुली रहेछु
बेग्ला,बेग्लै माटोलाई कर्मको प्राप्ति ठानेर

त्यसैले म फेरि यहि माटो चुम्न
आईपुगेको छु ।