अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२७ | Colorodo: 22:42

विश्वकप छनोट – नेपाल कुवेतसँग ७– ० गोल अन्तरले पराजित

बिआरटीनेपाल २०७६ भदौ २० गते ७:२२ मा प्रकाशित

फिफा विश्वकपका लागि दोस्रो चरणको छनोटको पहिलो खेलमा कुवेतसँग नेपाल पराजित भएको छ । सम्पन्न खेलमा नेपाल कुवेतसँग ७–० गोल अन्तरले पराजित भएको हो । कुवेतको जविर अल अहमेद इन्टरनेश्नल मैदानमा भएको खेलको पहिलो हाफमा २–० गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप पाँच गोल खाएको हो ।

कुवेतका लागि युसेफ नासिरले खेलको छैटौं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको १३ औँ मिनेटमा फहाद अल हजेरीले गोल गर्दै केवेतको अग्रता दोब्बर पारे ।

खेलको ५० औँ मिनेटमा नासिरले व्यक्तिगत दोस्रो गोल गर्दै कुवेतलाई ३–० गोलको अग्रता दिलाए । कुवेतका लागि अब्दुल्हा मोहीले खेलको ५९ औँ मिनेटमा गोल गर्दै कुवेतलाई जिततर्फ अगाडी बढाए । खेलको ६७ औँ मिनेटमा बडेर अल मुटवाले गोल गर्दै घरेलु टोलीलाई ५–० को अग्रता दिलाए । निकै नै आक्रमक भएको कुवेतका लागि खेलको इन्ज्यूरी समयमा रेड हनीले गोल गर्दै कुवेतलाई ६–० को अग्रता दिलाए । हुसेन अल मुसावीले गोल गर्दै ७–० गोलको सहज जित दिलाए ।

कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गरेको हो ।

प्रतिक्रिया