अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४२ | Colorodo: 13:57

दुई पाइलटको जहाज

अर्जुन राज पन्त २०७६ भदौ १७ गते १२:५८ मा प्रकाशित

कहिले पुग्ला गन्तव्यमा दुई पाइलटको जहाज
हल्लै अति मन्द गति मात्र ठुलो आवाज

एउटा सिटमा दुइटा पाइलट बसे जाना जानी
मै चलाउँछु जहाज भन्दै गर्दै खिचातानी

एक्लै छोड्दा एक अर्कामा शङ्का भा र होकी
हिँड्दा रछन एक अर्कालाई सँगै सँगै बोकी

साँघुरो त्यो एउटा कुर्ची दुइटा पाइलट बसी
गन्तव्यमा पुग्ने होकी जल्छ भुइमा खसी

दायाँ बायाँ बस्ने पाइलट एकै ठाउँमा बस्दा
तिमी पनि बाचौला र भुइमा जहाज खस्दा ?

जहाजलाई गति दिने मात्र एउटा चाबी
त्यही चाबीमा हुँदा आज दुइटा पाइलट हाबी

कुहिरो भित्र अल्मल्लिएर हराए झैँ बाटो
गति विहीन जहाज भयो हुँदा मनमा फाटो

एउटा ताक्छ दक्षिण दिशा अर्को ताक्छ उत्तर
सिधै अघि बढ्ने जहाज भयो ठाडो पुच्छर

दुइटा ब्रान्डका फरक इन्जिन परिक्षणी उडान
न त मिल्छ आकार गति न कसिलो जडान

नराम्ररी हल्यो जहाज खस्लै जस्तो गरी
क्याबिनको ढोका खोल्दै निस्की एउटी परी

सुन्दरी त्यो एअर होस्टेज रैछै स्वरकी धनी
सबै यात्रु शान्त पार्दै गीतैबाट भनी

सम्बृद्धीकाे उडान हो हुन्छ घच्याक घच्याक
चिम्म गर्नुस् पेटी कस्नुस हुन्न थच्याक थुचुक

उसले भने सुन्थे की खै भने जस्तो गरी
यात्रु सबै जम्मा भए उसकै वरिपरि

दुई पाइलटको मनमुटाबमा खस्ने हो कि जहाज
लौ न नानी भित्र गएर सुनाऊ न यो आवाज

एउटा मुख्य अर्को सहायक हुनु पर्ने ठाउँमा
जहाजै पो धराप भयो गठबन्धनको नाउँमा

(व्यङ्ग्य कवि पन्तका’ कोइली ‘खण्डकाव्य छिट्टै बजारमा आउदैछ)

 

प्रतिक्रिया