अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५१ | Colorodo: 07:06

आईसीसी ट्वेन्टी ट्वेन्टी विश्वकप एसिया छनौट– मलेसियाविरुद्ध नेपालको जित

बिआरटीनेपाल २०७६ साउन ८ गते ९:५३ मा प्रकाशित

आईसीसी ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ । सिंगापुरमा जारी प्रतियोगिता अन्तर्गत बुधबार नेपाल र मलेसियाबीचको खेल वर्षाका कारण ९ ओभरमा सीमित गरिएको थियो । मलेसियाले पहिले ब्याटिङ गर्दै ९ ओभरमा सात विकेटको क्षतिमा ८३ रन बनाएको थियो । नेपालले तीन विकेट गुमाएर आठ ओभरमै लक्ष्य हासिल गरेको हो ।

नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले विस्फोटक ब्याटिङ गर्दै अर्धशतकीय पारी खेल्दै २१ बलमा ५१ रन बनाउन सफल भए । त्यस्तै प्रदीप ऐरीले १२ र विनोद भण्डारीले १३ रन बनाएका थिए । त्यसअघि मलेसियाका लागि साइद अजिजले १५ बलमा ३० रन बनाउँदा बिरन्दीप सिंहले १७ बलमा २१ रन जोडे । बलिङतर्फ नेपालका सोमपाल कामीले २ ओभरमा ३ विकेट तथा बसन्त रेग्मीले १ ओभरमा २ विकेट झारे ।

पहिलो खेलमा हिजो कतारसँग ४ विकेटले पराजित नेपालले दोस्रो खेलमा जित हासिल गरेसँगै प्रतियोगितामा पुनरागमन गरेको छ । प्रतियोगितामा नेपाल र कतारसहित आयोजक सिंगापुर, मलेसिया र कुवेत सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ । प्रतियोगितामा पाँच वटै टिमले दुई–दुई खेल सकेका छन् । हालसम्म सिंगापुरले दुई खेलबाट तीन अंक बटुल्दै शीर्ष स्थान कब्जा गर्दा मलेसिया, नेपाल र कतारले समान नतिजाका साथ दुई–दुई अंक हासिल गरेका छन् । कुवेतले भने एक अंकमात्र हासिल गरेको छ ।

प्रतिक्रिया