अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२८ | Colorodo: 21:43

साफ उपविजेता महिला फुटबल खेलाडीहरु विराटनगरमा सम्मानित

बिआरटीनेपाल २०७६ साउन ७ गते १०:२८ मा प्रकाशित

विराटनगरमा चार महिना अघि सम्पन्न भएको पाँचौ संस्करणको महिला साफ फुटबलको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई प्रदेश १ सरकारले नगदसहित सम्मान गरेको छ । विराटनगरमा मंगलबार एक कार्यक्रम आयोजना गरेर प्रदेश सरकारले साफ उपविजेता टोलीलाई जनही १र१ लाख रुपैयाँ नगदले सम्मानित गरेको हो ।

सम्मानित हुनेमा २० खेलाडी, प्रशिक्षक र अफिसियल रहेका छन्। प्रदेश सरकारले राष्ट्रिय र अन्तरप्रदेश खेलकुद प्रतियोगिताहरूमा पदक जित्ने २३७ खेलाडीलाई पनि सोही अवसरमा सम्मान र पुरस्कृत गरेको थियो। खेलाडीहरूलाई प्रमाण पत्र र नगदसहित प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले सम्मान गर्नुभएको थियो । सम्मान कार्यक्रममा बोल्दै प्रदेशका मुख्यमन्त्री राईले खेलकुद क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथामिकता राखेर अगाडी बढेको बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयले आयोजना गरेको उक्त कार्यक्रममा ८ औं राष्ट्रिय खेलकुदमा प्रदेश १ बाट प्रतिनिधित्व गर्दै स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरूलाई पनि सम्मान गरिएको थियो। प्रदेश सरकारले साफ बिजेता भएको खण्डमा महिला टिमका सदस्यलाई जनही २ लाख दिने घोषणा गरेको थियो। तर, उपविजेता बनेपछि प्रदेश सरकारले १/ १ लाख दिएको हो।

यसअघि, सोमबार नेपाली टोलीलाई विराटनगर महानगरपालिकाले पनि जनही ५० हजार नगदले सम्मानित गरेको थियो। फागुन २८ देखि चैत ८ सम्म विराटनगरको सहिद मैदानमा भएको पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाली राष्ट्रिय टिम उपविजेता भएको थियो। नेपाली टिम भारतसँग ३–१ गोलले पराजित हुँदा भारत पाँचौंपल्ट च्याम्पियन भएको थियो।

 

प्रतिक्रिया