अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२३ | Colorodo: 03:38

भर्जिनियामा एक नेपालीको निधन

खेम भट्टचन २०७६ असार २६ गते ७:५१ मा प्रकाशित

वासिङ्टन डिसी – नेपालमा दोलखा जिल्लाको लामीडांडा घर भएका ५० वर्षीय राज बहादुर तामाङको अमेरिकाको भर्जिनियामा निधन भएको छ। भर्जिनियाको सार्वजनिक स्थल एक पार्कमा अमेरिकी प्रहरीले एक पुरुषको शव फेला पारेको र मृतकको खल्तीमा भएको परिचयको आधारमा नेपालीको शव भन्ने पत्ता लगाएर आजभन्दा ५० दिन पहिले नै अमेरिकी प्रहरीले वासिङ्टन डिसी स्थित नेपाली दूतावासलाई खबर गरेको थियो तर नेपाली समुदायले थाहै पाएनन् । मृतक तामाङकै समुदाय तामाङ सोसाइटीले पनि थाहा नपाएको तामाङ सोसाइटी अफ् ग्रेटर वाशिंगटनका अध्यक्ष उत्तर लामाले बताए ।

मृतक तामाङको नेपालमा दुई छोरीहरू भएको र मेरो बाबा किन हराउनुभयो कृपया खोजीदिनुहोला भनेर नेपाल देखी छोरीले फेसबुकमा लेखेको देखेपछी बल्ल हामीले सोधखोज गर्दा -डेढ महिना पहिले नै राज बहादुर तामाङको मृत्यु भइसकेको र डेढ महिना पहिले नै प्रहरीले नेपाली दूतावासलाई खबर गरेको भन्ने पत्ता लगाएका हौँ – अध्यक्ष उत्तर लामाले बताए ।

नेपाली दूतावासका एक सहचारीको स्टाफ बनेर आजभन्दा २१ वर्ष पहिले अमेरिका आएका मृतक तामाङको अमेरिकाको ग्रिन कार्ड पनि थियो। यस बारेमा नेपाली दूतावासमा बुझ्दा श्रीमती वा छोरा छोरी बाहेक अरू साथीभाइले लास बुझ्न नपाउने अमेरिकाको कानुन भएकोले शव बुझ्नको लागी नेपाल देखी छोरीलाई अमेरिका ल्याउने प्रयास भइरहेको छ र अब दुई चार दिनमै छोरी अमेरिका आई पुग्ने दूतावास श्रोतले बतायो।

अन्य जातीले बितेको ४५ दिनमा ४५ औँ पुन्यकर्म गरे जस्तै तामाङ जातीको चाहिँ ४९ दिनमा ४९ औँ पुन्यकर्म गर्ने चलन भएकोले तामाङ सोसाइटी अफ् ग्रेटर वाशिंगटनको आयोजनामा हिजो सोमबार बेलुकी स्वो. तामाङको ४९ औँ पुन्यकर्म गरियो।

राजधानी वासिङ्टन डिसी नजिकै म्यारिल्याण्ड राज्यको गेथेस्बर्ग पुल्शभिल स्थित अमेरिकनहरूको एक बौद्ध विहारमा बुद्धिस्ट धर्मअनुसार आयोजित ४९ औँ पुन्यकर्मको प्राथनामा मंक पहिरनका एक दर्जन अमेरिकी बुद्धिस्ट धर्मगुरुहरूले करिब ३ घण्टा तिबेतियन भाषामा लेखिएको बुद्धिस्ट धर्म ग्रन्थहरू पढ्दै झ्याली ढ्याङ्ग्रो बजाएर पूजा गर्दै बुद्धिस्ट परम्पराअनुसार दिवङ्गत स्वो. तामाङको चिरशान्तीको कामना गर्ने समारोह सम्पन्न भयो।
स्वो. राज बहादुर तामाङ बिरामी भएर मृत्यु भएको कुरा तामाङ सोसाइटिका सचिव हेमा लामाले बताइन् ।