अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२१ | Colorodo: 17:36

नेजाको आम्दानी-खर्च स्रोत “गोप्य”

विष्णुहरि घिमिरे २०७६ वैशाख २३ गते ७:५५ मा प्रकाशित

अमेरिका मे ६ । नेपाल अमेरिका पत्रकार सङ्घ नेजाको १३ औ साधारण सभा अमेरिकाको टेक्ससमा सम्पन्न भएको छ । मध्यरातमा सम्पन्न साधारण सभाको बन्दशत्रले महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ ।

सबै भन्दा रोचक कुरा समाजका अन्य सङ्घ संस्थाका हरेक गतिविधिमा औला उठाउने पत्रकारहरूको बन्दशत्रले पारित गरेको दुवै प्रतिवेदन कर्मकाण्डी मात्र देखिएका छन् । कतिपय अवस्थामा महासचिव र कोषाध्यक्षको प्रतिवेदनले एक अर्कोलाई जिज्याँइ रहेका देखिन्छन् । अमेरिकामा रहेका नेपाली पत्रकारहरूको संस्थाको कोषाध्यक्षको वार्षिक प्रतिवेदन पाँच सय ९९ शब्द र दुई पेजको छ । यो भन्दा स्तरीय प्रतिवेदन नेपालमा गाउँ गाउँमा आमा समूहहरूकै विस्तृत र पूर्ण हुने गर्दछन् ।

प्रतिवेदनमा कुनै पनि आम्दानीको स्रोत खुलाइएको छैन । त्यसो त कुन शीर्षकमा कहाँ कति खर्च भयो भन्ने कुरा पनि समावेश गरिएको छैन । प्रतिवेदनको सुरुमा नै भनिएको छ,” संस्थाका क्रियाकलापले संस्थालाई एकातर्फ गतिशीलता प्रदान गरिरहेको हुन्छ भने अर्कोतर्फ यसका आर्थिक गतिविधिले पारदर्शिता दिँदै जीवन्तता प्रदान गरिरहेको हुन्छ ।” 

प्रतिवेदनको भूमिकामा लेखिएको “आर्थिक गतिविधिले पारदर्शिता दिँदै” भन्ने शब्दको मर्मलाई अर्कोलाइनमा कुल्चिएको छ । “सन् २०१८ को जनवरीको सुरुवातमा चल्ती खातामा १३,६०७.२६ डलर र बचत खातामा २७०९.२६ डलर रहेको थियो । सन् २०१९ अप्रिल मसान्त सम्म चल्ती खातामा २०,८११.७३ डलर बचत खातामा २,७०९.१७ डलर रहेको छ ।”
प्रतिवेदनमा चल्ती खातामा ७ हजार दुई सय चार अमेरिकी डलर ४७ सेन्ट बढेको भनिएको छ तर के कसरी बैक खातामा त्यो रकम बढेको हो भन्ने लेखिएको छैन । त्यो आम्दानीको स्रोत गोप्य राखिएको छ । पत्रकारहरूको संस्थाको साधारण सभाको बन्दशत्रमा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा आम्दानीको स्रोत गोप्य राख्नु पर्ने कारण पनि खुलाइएको छैन ।

अर्को रमाइलो कुरा के भने महासचिवको प्रतिवेदनमा गैर आवासीय नेपाली सङ्घ एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा होमिएका उम्मेदवार बिचको “सार्वजनिक बहस” बाहेक पनि सियाटल महाधिवेशन पछि नौ वटा कार्यक्रम गरिएको उल्लेख गरिएको छ । तर कोषाध्यक्षको प्रतिवेदनमा ती नौ वटा कार्यक्रमको खर्च विवरण दिइएको छैन ।

कोषाध्यक्षको प्रतिवेदनमा यति मात्र भनिएको छ,”नेजाको ब्यानरमा अमेरिकामा गरिएका कार्यक्रमहरूमा स्थानीय दाताहरूबाट प्राप्त सहयोग रकम खर्च गरिएको छ ।” कुन ठाउँमा कुन कार्यक्रम गर्दा कुन दाताबाट कति ‘दान’ प्राप्त भएको हो र त्यो के कसरी खर्च भएको हो भन्ने कुरा प्रतिवेदन वा अनुसूचीमा खुलाइएको छैन ।

अमेरिकामा रहेका नेपालीभाषीहरुको संस्थामा विवादको मुख्य कारण मध्येमा आर्थिक पारदर्शिता नै रहने गरेको छ । प्रायशः सस्थाहरुमा आम्दानी खर्चको विवरण गोलमोटल दिने गरिन्छ । त्यसबारेमा पत्रकारहरूले खबरदारी गर्दै समाचार लेख्ने गरेका पनि छन् । तर आफ्नै प्रतिवेदनमा स्थानीय स्तरमा स्रोत परिचालन गर्दै कार्यक्रम गरिएको भनेर टारिएको छ ।

आर्थिक पारदर्शिताका लागि आजभोलि प्राय संस्थाले चन्दादाताको नाम सामाजिक सञ्जाल मार्फत नै सार्वजनिक गर्ने गर्दछन् । तर नेजाको कार्यसमितिले आफ्नै संस्थाका साधारण सदस्यहरूलाई पनि विभिन्न सहरमा भएका कार्यक्रममा कसले नेजालाई कति रकम सहयोग गर्‍यो भन्ने कुरा लुकाएको छ ।

अहिले नेजाको नेतृत्व गरेका सुदिप पन्तले आफूले नेपालमा हजारौँ सदस्य रहेको संस्थामा नेतृत्व गरेको दाबी गर्ने गरेका थिए । तर कार्यसमिति बैठक वा साधारण सभाको बन्दशत्रमा आफ्नो कुरा जवर्जस्ती लाद्ने बाहेक उनमा नेतृत्वको अनुभव देखिँदैन । टेक्सस साधारण सभाको बन्दशत्रमा अध्यक्ष पन्तको प्रस्तुति र शैली प्रति पनि केही सदस्यले आप्पती जनाएको बताइन्छ । उनकै कार्यसमितिका केही सदस्यले पत्रकारको संस्थाको अध्यक्ष ‘तानाशाह’ बनेको आरोप लागेको थियो ।

कोषाध्यक्षको प्रतिवेदन कार्यसमितिले पारित गरे पछि मात्र साधरणसभामा जान्छ । सबै भन्दा रमाइलो के छ भने, नेजाको वर्तमान कार्यसमितिमा आफूलाई नेपालको आर्थिक पत्रकारितामा अब्बल मान्ने र हिजोका दिनमा नेजाको हरेक गतिविधिमा नकारात्मक टिप्पणी गर्ने तर नैतिकवान् ठान्ने आर्थिक पत्रकार रामचन्द्र भट्ट पनि टेक्सस क्षेत्रीय संयोजकको हैसियतमा कार्यसमितिमा रहेका छन् । आर्थिक पत्रकारितामा डेढ दशक कलम चलाएका व्यक्ति समेत रहेको कार्यसमितिले पारित गरेको कोषाध्यक्षको प्रतिवेदन यति हल्का हुनुलाई के भन्ने ?

अरूको आँगनमा फोहोर देख्नेले पहिला आफ्नो आँगन सफा राख्नु पर्दछ । निश्चय पनि नेजाले दाताको सहयोग विना कार्यक्रम गर्न सक्दैन । तर दाताले दिएको भनिएको रकम गोप्य राख्नु पर्ने कारण के हो ? दाताबाट पाँच सय डलर लिएर नेजामा ५० डलर देखाइएको त होइन ? चन्दाको रकम नै सार्वजनिक गर्दा चन्दा दिने र लिनेलाई के फरक पार्छ ? अर्को तर्फ खर्च के कसरी र कुन आधारमा भएको छ ? आर्थिक नियमावली अनुसार खर्च भएको हो ? यदि त्यस्तो हो भने खर्च विवरण किन प्रस्तुत गरिएन ? आक्रोशित र चर्को बोल्दैमा मात्र नेतृत्व सफल हुँदैन न त एक दुई जनालाई ‘भाडामा’ लिँदैमा नेतृत्व सफल हुन्छ ।

टेक्ससमा सम्पन्न नेजाको १३ औ अधिवेशनमा कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन
आदरणीय अध्यक्ष मण्डल,सम्मानित साधारण सभामा उपस्थित सम्पूर्ण साथीहरू,
नमस्कार ।

क्यानडा र अमेरिकामा रहेका नेपाली मूलका पत्रकारहरूको एक मात्र संस्था नेपाल अमेरिका पत्रकार सङ्घ,नेजाको यस सम्मानित साधारणसभामा कोषाध्यक्षको हैसियतले आर्थिक वर्ष सन् २०१८ को वार्षिक आर्थिक प्रतिवेदन पेस गर्न गइरहेको छु । संस्थाका क्रियाकलापले संस्थालाई एकातर्फ गतिशीलता प्रदान गरिरहेको हुन्छ भने अर्कोतर्फ यसका आर्थिक गतिविधिले पारदर्शिता दिँदै जीवन्तता प्रदान गरिरहेको हुन्छ ।

सन् २०१८ को जनवरीको सुरुवातमा चल्ती खातामा १३,६०७.२६ डलर र बचत खातामा २७०९.२६ डलर गरी जम्मा १६३१६.९२ डलर रहेको थियो । सन् २०१९ अप्रिल मसान्त सम्म चल्ती खातामा २०,८११.७३ डलर र बचत खातामा २,७०९.४४ डलर गरी जम्मा २३,५२१.१७ डलर रहेको छ ।
पत्रकारहरूलाई सहयोगको आवश्यकता परेको समयमा विगतदेखि नै नेजाले अग्रपंतिमा रहँदै सहयोग पुर्‍याउने काम गरिरहेको छ । भर्जिनियाका बिरामी पत्रकार जयदेव गौतमको सहयोगार्थ गोफन्ड मार्फत ५,२६९.७५ र २०० डलरको चेक गरी जम्मा ५४६९.७५ डलर सङ्कलन गरी हस्तान्तरण गरिएको थियो ।

नेजाको ब्यानरमा अमेरिकामा गरिएका कार्यक्रमहरूमा स्थानीय दाताहरूबाट प्राप्त सहयोग रकम खर्च गरिएको छ । प्रमुखरुपमा अमेरिकाको राजधानी वासिङ्टन डी.सी. मेट्रो एरिया, लस एन्जलसमा भएको अन्तर्कृया, डल्लासमा भएको अन्तर्कृया र न्युयोर्कमा गरिएको सामुदायिक अन्तक्र्रिया कार्यक्रम तथा प्रवासमा रहेका नेपालीहरूको संस्था एनआरएनएको चुनावमा नेतृत्व लिन इच्छुकसँग भर्जिनिया, लस एन्जलसमा गरिएका कार्यक्रममा स्थानीय श्रोत परिचालन गरिएको छ ।

नेजाले प्रकाशन गर्दै आइरहेको स्मारिका प्रकाशनमा शुभकामना प्रदान गर्नेहरूबाट केही रकम अझसम्म उठाउन बाँकी रहेको छ । संस्थालाई आर्थिक रूपमा मजबुत बनाई कार्यक्रमको दायरा फराकिलो पार्नको लागि तपाईँ हामी सबैले आआफ्नो ठाउँबाट सो रकम सङ्कलन गर्नको लागि पहल गर्नुपर्ने जरुरी देखिएको छ ।बिशेषगरि कार्यसमितिमा रहेका स्थानीय साथीहरूको प्रभावकारी भूमिका आगामी दिनमा रहनेछ भन्ने विश्वास मैले लिएको छु । संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउन प्रतिबद्धता जनाउने र प्रयासमा विज्ञापन वा शुभकामना सन्देश छपाई उठ्न बाँकी रकमहरूको सुची यसै साथ संलग्न गरिएको छ ।

संस्थाले आफ्नो श्रोतबाट नेपालमा नेपाल पत्रकार महासङ्घ सँगको सहकार्यमा प्रदान गर्दै आएको एक लाख एघार हजार एक सय एघार रुपैयाँको नेजा सामुदायिक ग्रामीण पत्रकारिता पुरस्कार सन् २०१८ देखि २ लाख २ हजार २ सय रुपैयाँको प्रदान गर्न लागेको छ । । नेजाले नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता–२०१८ पुरस्कार,ओखलढुंगाका कुम्भराज राईलाई प्रदान गरेको थियो जसमा नेजाले पुरस्कार र मसलनन्द खर्च गरी २ हजार ७ सय ५ डलर प्रदान गरेको थियो । राईलाई नेपाल पत्रकार महासङ्घ र नेजाले संयुक्त रूपमा आयोजना गरेको एक कार्यक्रममा यो पुरस्कार प्रदान गरिएको हो, संस्थाका अध्यक्ष सुदिप पन्त ज्यू नेपाल पुग्नुभएको समयमा उहाँको उपस्थितिमा नै यसरी गाउँमा बसेर पत्रकारिता गरिरहेकालाई पुरस्कार हस्तान्तरण गर्नु हामी सबैको लागि गर्वको कुरा हो । यस्तो पुरस्कारले अरू धेरै पत्रकारितामा लाग्न र लागिरहेकालाई अझ राम्रो गर्न थप प्रोत्साहन गरेको छ भन्ने आशा र विश्वास लिएका छौँ ।

त्यसै गरी अमेरिकामा आमा फाउन्डेसनको सहयोगमा साधारणसभाको समयमा अमेरिकामा कार्यरत पत्रकारलाई सन् २०१७ देखि नेजा सामुदायिक पत्रकारिता पुरस्कार १ हजार १ सय ११ डलर ११ सेन्टको पुरस्कार रकम प्रदान गरिँदै आइएको छ । यस वर्षको पुरस्कार डलास निवासी पत्रकार शिव शर्मालाई प्रदान गरिएको छ । आमा फाउन्डेसनले २ वर्ष पुरस्कार दिन प्रतिबद्धता जनाएको अवस्थामा आगामी दिनमा सोही पुरस्कारको निरन्तरताका लागि पहल गर्नुका साथै नेपालमा र अमेरिकामा समेत पुरस्कारको दायरालाई अझ फराकिलो पार्दै पुरस्कार, फिलोसिप, शोधपत्र जस्ता कार्यमा दाताहरू खोज्दै बढ्नु पर्ने देखिन्छ ।

सदैव आपद परेको समयमा सहयोग रकम उठाउँदै जाने परम्परालाई अन्त्य गरी यस कार्यको ठोस समाधान गर्नको लागि नेजाले आर्थिक व्यवस्थापन नियमावली बनाइ कार्य समितिबाट पारित भई प्रयास स्मारिकामा प्रकाशन गरिसकिएको छ । नेजाले पाँच हजार डलर आफ्नै श्रोतबाट राखी आपद्कालिन कोषको सुरुवात गरी सोही कोषमार्फत अमेरिका, क्यानडा र नेपालमा दुख र पिडामा रहेको पत्रकारको परिवारलाई हर सम्भव सहयोग पुर्‍याउने योजना राखेको छ ।

अमेरिकामा रहेका दोस्रो पुस्तालाई पत्रकारिता पढ्न उत्प्रेरित गर्ने र तालिमहरूको समेत व्यवस्था गर्दै जाने कार्यको सुरुवात नेजाले गर्न जरुरी देखिएको छ भने जन्म भूमि र कर्म भूमि बिच समन्वय गराउँदै लैजानको लागि नेपालमा पत्रकारिता गरिआउनु भएका पहिलो पुस्तालाई भेटघाट वा जमघट गर्ने स्थलको रूपमा लैजानुपर्ने जरुरी देख्दछु ।
सहयोगको लागि धन्यवाद ।

मच्छेदेवी गुरुङ
कोषाध्यक्ष
नेपाल अमेरिका पत्रकार सङ्घ, नेजा
मे ४, २०१९

टेक्ससमा सम्पन्न नेजाको १३ औ अधिवेशनमा महसचिबद्वारा प्रस्तुत महासचिबको प्रतिवेदन

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १३ औं साधारणसभाका लागी महासचिव किरण मरहठ्ठाद्धारा प्रस्तुत बार्षीक प्रतिवेदन ।
मितिः मे ०४, २०१९
डलास, टेक्सस

आदरणीय अध्यक्षज्यू, नेपाल अमेरिका पत्रकार संघको कार्यसमिति, सल्लाहकारज्यूहरु तथा संस्थाका सम्मानित सदस्य ज्यूहरु एवं उपस्थित सम्पुर्ण साथीहरु,

हाम्रा अग्रज पत्रकारहरु जसले यो अर्काे विश्वमा पनि नेपाली मौलिक पहिचान, कला, संस्कृति र पेशागत अपनत्वलाई जिवन्त राख्ने प्रयास गरे । उनीहरु, जसको दुरदर्शीताको परिणाम स्वरुप आज हामीलाइ यो मंच, अभिमत र एकबद्धता मिलेको छ , जसल यो संस्थालाइ अभिभावकत्व प्रदान गर्दै विशाल बनाउन अहोरात्र खट्नु भयो । सन् २००७ को एक तुषारे साँझमा भर्जीनियामा नेजा नजन्मिएको भए के आज यो सबै सम्भव थियो ? जवाफ हामीसंगै छ । तसर्थ सर्वप्रथम नेजाका तिनै संस्थापक र अग्रज अभियन्ताहरुलाई साधुवाद तथा आभार व्यक्त गर्न चाहन्छु ।

म यस सन्दर्भमा अफ्रिकाका पत्रकारहरु जसले विन्डोक घोषणा मार्फत सन् १९९१ मा स्वतन्त्र प्रेसको सिद्धान्त जारि गरे उनिहरुप्रति धन्यवाद व्यक्त गर्दै,संयुक्त राष्ट्र संघले मानवअधिकारको विश्वव्यापी घोषणपत्रको धारा १९ अनुसार मनाउदै आइएको विश्व प्रेस स्वतन्त्रता दिवसको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

सियाटलमा जुलाइ २२ मा पदभार ग्रहण गरेको यो कार्यसमितिले विगत एक बर्षको अवधिमा मुख्य गरी पत्रकारिताको विकास र समुदायसंग नेजा भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै आफ्ना गतिबिधिहरु संचालन गरेको हो र जुन आगामी बर्षमा पनि अझ परिणाममुखी ढंगले संचालन गरिने छ । नेपाल अमेरिका पत्रकार संघ उत्तर अमेरिकामा रहेका समस्त नेपाली संघसस्थाहरुसंग समन्वय गर्दै, समुदायलाइ सूसूचित गर्ने अभियानमा सक्रिय छ र यो हाम्रै समाजको एक अभिन्न अंग हो भन्ने सन्देश प्रवाह गर्न हामी सफल भएका छौं । यस सन्दर्भमा अमेरिकाका विभिन्न शहरहरुमा नेजाले अमेरिकामा नेपाली पत्रकारितालाई उत्प्रेरणा मिल्ने एवं सामुदायिक संस्थाहरुसंग हातेमालो गर्ने विभिन्न कार्यक्रमहरु संचालन गरेको छ, जसलाई म २ भागमा विभाजन गरी व्याख्या गर्ने अनुमती चाहन्छु ।

नेजालाइ एनआरएनए अमेरिकाको स्वागतः
नयाँ कार्यसमिति चयन भए लगत्तै एनआएएनए अमेरिकाले डालसमा नेजाको नवनिर्वाचित कार्यसमितिलाइ स्वागत कार्यक्रम आयोजना गरेको थियो । नेजा कार्यसमितिका अधिकांश सदस्यहरु उपस्थित सो कार्यक्रमले नेजा एनआरएनए सम्बन्ध थप मजबुत बनाउन सहयोग गरेको थियो । सो कार्यक्रम संयोजनको लागी एनआरएनए मिडिया संयोजक बाल जोशिलाइ हार्दीक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

१. नेपालमा नेजाको साखवृद्दिः
नयाँ कार्र्यसमिति चयन लगत्तै अगष्ट २०१८ मा अध्यक्ष सुदिप पन्तले नेपाल पुगी विभिन्न राष्टिय संघसस्थाहरु तथा संचारसंस्थाहरुसग भेटघाट तथा अन्र्तक्रिया गर्नुभएको थियो । त्यसअवसरमा नेपाल पत्रकार महासंघको सभाकक्षमा एक अन्तक्रिया आयोजना गरी तत्कालिन संचारमन्त्री कृष्णबहादुर महरा, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, निर्वतमान अध्यक्ष तथा नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्ट लगायतको उपस्थितिमा अमेरिकामा नेपाली पत्रकारिताको विकास र पत्रकारको एकतामा नेजाले खेलेको भूमिकाको जानकारी गराउनुभएको थियो । त्यस अवसरमा नेजा ग्रामिण पत्रकारिता पुरस्कार समेत प्रदान गरिएको थियो । नेपाल पत्रकार महासंघ सगको सहकार्यमा वितरण गरिने सो पुरस्कार कुम्भ राईलाई प्रदान गरिएको थियो ।

साथै अध्यक्ष पन्तले, जेसीज, लायन्स, उद्योग बाणिज्य संघ जस्ता प्रतिनिधिमुलक संघ संस्थाहरुसंग अन्तक्रिया गरी नेजाले गरेका कामहरुको बारेमा नेपालमा सकारात्मक प्रभाव पार्न सफल हुनुभएको थियो, त्यस्तैं यो संस्थाका सचिव सुरज भण्डारी नेपाल जानुभएको समयमा नेपाल पत्रकार महासंघका विभिन्न पदाधिकारीहरुसग भेट गरी अन्तरक्रिया गर्नुभएको थियो यी कार्यक्रमहरुले हामीले प्रवासमा गरेका कर्मको साखः अवश्य बढाएको छ ।

क) सामुदायिक पत्रकारिताको उत्प्रेरणामा नेजा
अमेरिकामा नेपाली पत्रकारिताको इतिहास आफैँमा पुरानो छैन तर यसको विकासक्रम र आजको स्थिति भने पक्कै पनि प्रशंसनिय छ । डिजिटल पत्रिकाको विकासले यसलाई अझ उत्साहजनक स्थितिमा पुर्याएको हो । पत्रकारिताको मापन स्वयं पत्रकारितामा संलग्न रहनेले आत्ममुल्याकंनको पाटो हो तर पनि नेजाले समाजले मिडिया र पत्रकारलाई सम्मानित ढंगले बुझ्नका लागि आवश्यक पहल गर्दै आएको छ र आगामी दिनमा समेत गर्नेछ ।
नेजाले विभिन्न समयमा संचालन गरेका विचार गोष्ठी तथा अन्तरक्रियाहरुले हाम्रो पत्रकारिताको बिकासलाई थप गतिशिल बनाएको छ जसको संक्षिप्त बिवरण यसरी पेश गर्न चाहन्छु ।

१. बर्तमान कार्यसमितिले सबैभन्दा पहिलो कार्यक्रम न्यूयोर्कमा गरेको हो । जुलाई २६, २०१८ मा भएको सो कार्यक्रममा पत्रकार कबिर राणासंग न्यूयोर्कका पत्रकार र समाुदायीक अगुवाहरुले प्रत्यक्ष अन्तक्र्रिया गरेका थिए । त्यस अवसरमा प्रवासको नेपाली पत्रकारिता, छापा संचारमाध्यमले आजको युगमा भोगिरहेका चुनौतीहरु र अनलाइन पत्रिकाको विश्वसनियताको बारेमा बहस भएको थियो । ज्याक्सन हाइट्मा सम्पन्न कार्यक्रममा सहभागी पत्रकार तथा सामुदायीक अगुवाले अनलाइन पत्रिकाको प्रभाव र पहुँच शक्तिशाली भएको तर्क पेश गरेता पनि पत्रकार राणाले छापा पत्रकारिताको विश्वसनियता अझ कमजोर नभएको तर्क पेश गरेका थिए उनको यो भनाइलाई धेरै संचारमाध्यमहरुले समाचारमा समेत विशेष स्थान दिएका थिए । महासचिव किरण मरहठ्ठाले संयोजन गरेको सो कार्यक्रमको संचालन पूर्व क्षेत्रीय संयोजक कल्पना घिमिरेले गर्नुभएको थियो ।

२. जुलाइ २८ तारिख अर्काे कार्यक्रम डालसमा आयोजना गरियो जसमा प्रमुख बक्ताको रुपमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य सहभागी रहनुभएको थियो । डालासका स्थानीय अगुवाहरुको ठुलो उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाल र प्रवासको पत्रकारिता, प्रवासका पत्रकारका चुनौतीहरु, समुदायको अपेक्षा र समाचार सन्तुलनको बारेमा व्यापक बहस भएको थियो । कार्यक्रममा अध्यक्ष आचार्यले नेजालाई कुनै पनि प्रकारको सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरेका थिए । करिब १ सय जना सहभागी उपस्थित सो कार्यक्रमको संचालन सचिव सुरज भण्डारीले गर्नुभएको थियो भने संयोजन क्षेत्रीय संयोजक रामचन्द्र भट्ट र सभापतित्व उपाध्यक्ष बिकासराज न्यौपानेले गर्नुभएको थियो ।

३. नेजा सामुदायिक अन्तक्रियाकै सन्दर्भमा अर्को कार्यक्रम क्षेत्रीय संयोजक गोकुल ढकालको संयोजकत्वमा लस एन्जल्समा सम्पन्न भयो । अगष्टमा आयोजित सो कार्यक्रममा करिब १ सय को संख्यामा पत्रकार, व्यवसायी तथा अन्य सामुदायीक अभियन्ताहरुको सहभागीता रहेको थियो । कार्यक्रममा नेपाली कला, संस्कृतिको संरक्षण तथा विस्तारमा नेपाली मिडियाले सकारात्मक भूमिका निर्वाह गरेको भन्दै सहभागीहरुले प्रशंसा गरेका थिए । कार्यक्रम नेजा अध्यक्ष सुदिप पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो ।

४. अगस्ट, २०१८ मै न्यूयोर्कका पत्रकार र नेपाल पत्रकार महसंघका अध्यक्ष गोवीन्द आचार्य विच एक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको संयोजन महासचिव किरण मरहठ्ठाले गर्नुभएको थियो भने नेजा सल्लाहकार आगंछिरिगं शेर्पाले सहजीकरण गर्नुभएको थियो ।

५. नयाँ बर्ष २०१९ को सुरुवातमै नेजा डिसि मेट््रो क्षेत्रका साथीहरुको पहलमा भर्जीनियामा एक भव्य अन्र्तक्रिया सम्पन्न भयो । जनवरीमा सम्पन्न कार्यक्रममा अध्यक्ष सुदिप पन्त, संस्थापक अध्यक्ष गिरिश पोखरेल, सल्लाहकार गौतम दाहाल, योगेश उपाध्याय पत्रकारहरु राजेश मिश्र, हरी अधिकारी लगायतको उपस्थिति थियो । सचिव सुरज भण्डारीले संचालन गर्नुभएको कार्यक्रमको संयोजन क्षेत्रीय संयोजक लिला ओझा र सदस्यहरु निदेश अधिकारी तथा बाबु खरेलले संयुक्त रुपमा गर्नुभएको थियो । कार्यक्रमले नेजाले आगामी दिनमा निर्वाह गर्नुपर्ने भूमिका, समुदायलाई जोड्न मिडियाको दायित्व तथा नेपाली मिडियाको व्यवसायिकताको बारेमा सहभागीहरुले तार्किक बहस गरेका थिए ।

६. न्यूयोर्कमा अर्काे भब्य अन्तक्रिया कार्यक्रम सम्पन्न
भर्जीनियाको कार्यक्रम लगत्तैं अर्को दिन जनवरीमै नेजा सामुदायीक अन्र्तक्रिया नाम दिइएको सो कार्यक्रममा नेपाली महाबाणिज्यदुतावास न्यूयोर्कका बाणिज्यदुत कृसु क्षेत्री, नेपाली अवैतनिक महबाणिज्यदुत ऋषि ढकाल, अध्यक्ष सुदिप पन्त, सचिव सुरज भण्डारी, संस्थापक अध्यक्ष गिरिश पोखरेल, सल्लाहकार गौतम दाहाल, पत्रकार राजेश मिश्र तथा स्थानीय व्यवसायी, समाजिक अभियन्ता तथा एनआरएनए नेताहरु गरी १ सय १० जनाको उपस्थिति थियो । सो अन्र्तक्रियामा सहभागी अधिकांश सामाजिक अभियन्ताहरुले आफ्नो गतिविधिले मिडियामा उचित स्थान नपाएको भन्दै रोष प्रकट गरे पछि पत्रकार राजेश मिश्रले सामाजिक अभियन्ताको विभाजित मानसिकता र संकिर्णताको बारेमा लामो टिप्पणी गर्नुभएको थियो । निक्कै घोचपेच र तातो बहसमाझ सम्पन्न कार्यक्रमले पत्रकारको तटस्थता, मिडियामा आचारसंहिता र एनआरएनए र मिडियाको सहकार्यको बारेमा बिशेष निश्कर्ष निकालेको थियो । महासचिव किरण मरहठ्ठाले संचालन गर्नुभएको कार्यक्रमलाई संयोजन क्षेत्रीय संयोजक कल्पना घिमिरेले गर्नुभएको थियो भने व्यवस्थापन कोषाध्यक्ष मच्छेदेवी गुरुगंले गर्नुभएको थियो ।

७. पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसंग अन्तरक्रिया
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई सग समसामयिक विषयमा केन्द्रीत रहेर डलास टेक्सस आसपास रहने पत्रकारहरुको सहभागितामा सेप्टेम्वरमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । उपाध्यक्ष विकास राज न्यौपानेको अध्यक्षता र सचिव सुरज भण्डारीको संचालनमा भएको कार्यक्रमको संयोजन क्षेत्रीय संयोजक रामचन्द्र भट्टले गर्नुभएको थियो ।

८. परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसग अन्तरक्रिया
नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसग टेक्ससको डलासमा अन्तरक्रिया तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरिएको थियो । सेप्टेम्वरमा गरिएको अन्तरक्रियामा दर्जन बढी पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रम अध्यक्ष संस्थाका उपाध्यक्ष विकाराज न्यौपानेले र संचालन सचिव सुरज भण्डारीले तथा संयोजन क्षेत्रीय संयोजक रामचन्द्र भट्टले गर्नुभएको थियो ।

९. अमेरिकामा विभिन्न अधिकारीहरुसग छलफल तथा अन्तरक्रिया
अमेरिकाको न्यूयोर्क शहरमा अमेरिकाको न्यूयोर्क सिटी काउन्सील सदस्यहरु तथा अमेरिकाको मुल धारको राजनिति अगाडि बढिरहेका व्यक्तित्वहरुसग अन्तरक्रिया गरिएको थियो । सो अवसरमा सिटी काउन्सील सदस्यहरुले न्यूयोर्क शहरको कुनैं एक स्ट्रिटको नाम नेपाली पन झल्कने गरी राख्न आफूहरु तयार रहेको जनाउनुभएको थियो ।

नेजा एनआरएनए चुनाबी बहसः
बिगत देखि नै संचालन गर्दै आएको नेजा एनआरएनए बहस यसपटक अझ विस्तार गरियो । नेजाको मार्च मा बसेको कार्यसमितिको सातौँ बैठकले एनआरएनएको चुनावी बहस भर्जीनिया, लस एन्जलस, डालस र न्यूयोर्कमा बहस संचालन गर्ने गरी पश्चिम क्षेत्रीय संयोजक गोकुल ढकाललाई संयोजक तोक्यो । अन्य क्षेत्रीय संयोजकहरु सदस्य रहेको सो समितिले भर्जीनियामा गत अप्रिल १४ मा र लस एन्जलसमा अप्रिल २१ मा बहस संचालन गरिसकेको छ भने, डालसमा यही साधारणसभाको दौरान मे ५ मा र न्यूयोर्कमा मे ११ मा गरिने छ ।

भर्जीनिया डिबेटः भर्जीनिया डिबेटमा अध्यक्षका प्रत्यासीहरु सुर्य लम्साल, संजय थापा र तत्कालीन प्रत्यासी अर्जुन बन्जाडेको उपस्थिति रहेको थियो । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष, क्षेत्रीय उपाध्यक्ष, महासचिव, महिला संयोजक, सचिव र बोर्ड अफ डाइरेक्टर गरि १७ जना उम्मेदवारले आफ्ना विचारहरु राख्नुभएको थियो । २ घन्टा ३० मिनेट चलेको कार्यक्रमको संयोजन क्षेत्रीय संयोजक लिला ओझा तथा सदस्यद्धय निदेश अधिकारी र बाबु खरेलले गर्नुभएको थियो भने संचालन किरण मरहठ्ठाले गर्नुभएको थियो ।

लस एन्जसल डिबेटः भर्जीनियाकै शैलीमा सम्पन्न लस एन्जल्स डिबेटमा अध्यक्षका ३ प्रतिस्पर्धीहरु सुनील शाह, सुर्य लम्साल र संजय थापाको उपस्थिति रहेको थियो । क्षेत्रीय संयोजक गोकुल ढकालले संयोजन गरेको कार्यक्रमलाई किरण मरहठ्ठाले संचालन गर्नुभएको थियो । बिभिन्न पदका २१ जना प्रत्यासिले सो कार्यक्रममा मन्तब्य राख्नुभएको थियो ।

प्रवासमा रहने नेपालीहरुको प्रतिनिधिमुलक संस्थाको रुपमा रहेको गैर आवासीय नेपाली संघ अमेरिकाको आसन्न निवार्चनका उम्मेद्वारहरुको भनाई मतदाता गैर आवासीय नेपाली र उम्मेद्वारहरुलाई मतदाता तथा गैर आवासीय नेपालीले प्रश्न गर्न सकुन् भन्ने अभिप्रायःले नेजाले पुलको रुपमा यो कार्यक्रम गरिएको हो । यसले समुदायमा एनआरएनएको हिजो, आज र भोलीको अवस्था बारे बुझ्न सघाउ पुगेको छ ।

पत्रकार जयदेव गौतम सहयोग अभियान
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले स्थापनादेखिनै सक्रिय रहदैं आउनुभएका पत्रकार जयदेव गौतमको उपचारमा सहयोगका लागि नेजाले आफ्नो सक्रियतामा रकम संकलन गरी हस्तान्तरण गरेको थियो । संस्थाको तर्फवाट ५ सय कोषमा राखेर गो फन्ड मी मार्फत रकम संकलन गरी अमेरिकी डलर ५४६९ पत्रकार गौतमलाई उपलब्ध गराइएको थियो । संस्थाका डि.सी. मेट्रो क्षेत्रकी संयोजक लिला ओझा, संस्थापक अध्यक्ष गिरीश पोखरेल, सदस्यहरु निदेश अधिकारी, बाबु खरेल, लेखनाथ भण्डारी लगायतले यसमा समन्वयकारी भूमिका खेल्नुभएको थियो ।

यसैगरी अमेरिकाको सानफ्रान्सिस्कोमा भएको एनआरएनए विज्ञ सम्मेलनमा सहभागि हुन नेपालवाट अमेरिका आउनुभएका पत्रकार सरोज दाहाल अचानक विरामी हुनुभई भर्ना गरिएकाले त्यसका लागि उहालाई सहयोग गर्न नेजाले पहल गरेको थियो ।

नेजा आकस्मिक कोष
संस्थाको आफ्नैं आकस्मिक कोष हुदा आवश्यक परेको खण्डमा संस्थाका सदस्यहरुलाई सहयोग पुर्याउन सकिने गरी नेजा आकस्मिक कोषको आवश्यकता खड्किएको छ । सधैंभरी संस्थाको नियमित खातावाट सहयोग गर्न संभव पनि नहुने र संस्थामा समेत सिमित रकम मात्रै हुने भएकाले त्यसवाट सहयोग गर्न सहज नहुने देखिन्छ । यसका लागि आकस्मिक कोष बनाउने अवधारणा अगाडि बढाउदैं त्यसलाई मूर्त रुप दिन यो कार्यसमितिले कार्य अगाडि बढाउनेछ । कार्यसमितिका हरेक साथीहरुबाट निश्चित रकम जम्मा गरि खाता खोलिनेछ र यसमा साधारण सदस्यबाट पनि डोनेसनको अपेक्षा गरिएको छ । हामीले आफ्नो तर्फबाट संकलन गरिसके पश्चात समुदायमा सहयोगको पहल गरिने छ ।

नेजा सामुदायीक पत्रकारिताको निरन्तरताः
उत्तर अमेरिकामा रहेर पत्रकारितामा संलग्न पत्रकारहरुलाई सामुदायिक पत्रकारितामा अझ बढी उत्प्रेरित गर्ने उद्देश्यले नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले सामुदायिक पत्रकारिता पुरस्कारको स्थापना गरी वितरण गर्दै आएको छ । यसको स्थापनामा टेक्ससका व्यवसायी गौरी राज जोशी संस्थापक रहनुभएको आमा फाउण्डेशनले सहयोग गर्दै आएको छ । यसका लागि आभार व्यक्त गर्दछौं । सो पुरस्कार छनौट गर्नका लागि म स्वयंको संयोजकत्वमा पत्रकार होम लम्साल र ज्योति देवकोटा सदस्य रहनुभएको एक मुल्याकंन समिति बनाइएको थियो । त्यस समितिमा रहनुहुने पत्रकारद्धयलाई समेत धन्यवाद दिन चाहन्छु । सो पुरस्कारका लागि पत्रकार शिव शर्मालाई छनौट गरिएको थियो ।

छात्रवृत्ति स्थापना कार्यक्रम सुरुवातको तयारीः
अमेरिकामा आमसंचार तथा पत्रकारिता अध्ययनरत् विद्यार्थीलाई सहयोग पुर्याउनु उद्देश्यले छात्रवृत्ति कोष स्थापना गर्ने तयारी अगाडि बढाइएको छ । यसका लागि नेजासग सहकार्य गर्न व्यवसायी यमुना भट्टराइले इच्छा जाहेर गर्नुभएको छ । उहासगको छलफल टुंगोमा पुगे लगत्तैं ३ हजार राशीको अक्षयकोष बनाएर अगाडि बढ्ने संस्थाको तयारी रहेको छ ।

छात्रवृत्ति कार्यक्रममा एनआरएनए अमेरिकासग सहकार्य
नेपाल अमेरिका पत्रकार संघ (नेजा) र गैर आवासीय नेपाली संघ अमेरिका सग सहकार्य गरेर छात्रवृत्ति कार्यक्रमलाई अगाडि बढाउने गरी छलफल अघि बढेको छ । एनआरएनए अमेरिकाले प्रदान गरिरहेको छात्रवृत्ति कार्यक्रम पनि नेजासग समन्वय गरि प्रदान गर्ने बिषयमा यूवा संयोजक स्वराज खातीसंग छलफल समेत भैसकेकोछ ।

सामुदायिक अन्तरक्रिया कार्यक्रम
नेजालाई समुदायसग जोडेर अघि बढाउनुपर्ने आवश्यक रहन्छ । यसका लागि संस्थाले विभिन्न राज्य र शहरहरुमा विभिन्न समयमा अन्तरक्रियात्मक कार्यक्रम अघि बढाउनेछ । यसले नेजाको समाजमा छवी बढाउन र समुदायसग जोड्न भूमिका खेल्नेछ ।

लेखनवृत्ति, तालिम तथा सेमिनार
पत्रकारहरुलाई लेख्नलाई उत्प्रेरित गर्नका लागि लेखनवृत्ति, फेलोसीप र छात्रवृतिका लागी सहजिकरण गर्ने अवधारणा अगाडि सार्दै त्यसका लागि विभिन्न विश्वविद्यालयहरु, दात्रि निकाय र गैरसरकारी संघसस्थाहरुसंग छलफल अधिबढाइएको छ । भने विभिन्न विषयमा तालिम तथा सेमिनार गर्ने तर्फ संस्थाले ध्यान पुर्याउनेछ ।

अन्त्यमा, अध्यक्ष एवं कार्यसमिति, सल्लाहकार ज्यूहरु, सदस्य ज्यूहरु तथा उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यो प्रतिवेदन तयार पार्न सहयोग गर्नुहुने सचिव सुरज भण्डारी ज्यूलाई पनि धन्यवाद व्यक्त गर्दछु ।

धन्यवाद ।